हरेक बिहान भिजाएको बदाम खाँदा ‍‍शरीरमा यी फाइदा

काठमाडौं । बदाम स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । यसमा प्रोटिन, फाइबर, भिटामिन, खनिज र ओमेगा- ३ फ्याटी एसिड हुन्छ । जुन शरीरको लागि आवश्यक पोषक तत्व हो । बिहान खाली पेटमा रातभर पानीमा भिजाएर राखेको बदाम खाँदा धेरै समस्याबाट बच्न सकिन्छ । भिजाएको बदाम खानुका धेरै फाइदा छन् । आउनुहोस् भिजाएको बदाम खाँदा के-कस्तो फाइदा हुन्छ, यसबारेमा चर्चा गराैं । कोलेस्ट्रोल नियन्त्रणमा बदाम खानाले एलडीएल भनिने खराब कोलेस्ट्रोलको स्तर कम गर्न र राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्छ । यसैगरी, उच्च घनत्व एचडिएलको स्तर बढाउन मद्दत गर्छ । बदाममा एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि हुन्छन्, जसले मुटुसम्बन्धी रोगबाट बचाउन मद्दत गर्दछ । तौल नियन्त्रणमा बदाममा क्यालोरी धेरै भए पनि यसले तौल बढ्ने र मोटोपनको जोखिम कम गर्न मद्दत गर्छ । बदाममा पाइने प्रोटिन र फाइबरले तपाईंलाई चाँडै पेट भरिएको महसुस गराउन मद्दत गर्छ। त्यसैले तपाईंले आफ्नो भोक मेटाउँदै आफ्नो क्यालोरी सेवनलाई राम्रोसँग नियन्त्रण गर्न सक्नुहुन्छ । रगतमा चिनी नियन्त्रण  मधुमेहका बिरामीहरूले आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्नु धेरै महत्त्वपूर्ण छ । बदाममा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ र यसमा फाइबर पनि हुन्छ, त्यसैले बदाम खाँदा यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । छालाको लागि पनि फाइदाजनक बदाममा प्रोटिन, भिटामिन, खनिज, फाइबर र ओमेगा–३ फ्याटी एसिड पाइन्छ । त्यसैले यसलाई खाँदा तपाईंको छाला पनि स्वस्थ रहन्छ । यसमा पाइने पोषक तत्वहरूले बुढ्यौलीका लक्षणहरूलाई टाढा राख्छ ।

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण निसीखोलाका केही दुर्गम गाउँमा अझै स्वास्थ्य जागरण पुग्न नसकेको हो । निसीखोलामा घरमै हुने सुत्केरीको सङ्ख्या पालिकाको तथ्याङ्कमा आउन नसक्दा झनै समस्या थपिएको छ । गत वर्ष निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएको तथ्याङ्क भए पनि घरमै हुने सुत्केरीको तथ्याङ्क सङ्कलनमा समस्या छ । अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको छ । अशिक्षा, गरिबी र भौगोलिक विकटताका कारण निसीखोलामा होमडेलिभरी पछिल्लो समय चुनौती बन्दै आएको निसीखोला स्वास्थ्य शाखाले जनाएको छ । जनचेतनामूलक कार्यक्रम गरिरहेको पालिकाले सबै गर्भवतीलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन नसकेको स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले जानकारी दिइन् । ‘घरमै सुत्केरी हुनेको सङ्ख्या दुर्गमका तीन गाउँमा बढी पाइएको छ’, प्रमुख घर्तीमगरले भनिन्, ‘तथ्याङ्कमा गत वर्ष आठ जना घरमै सुत्केरी भएको पाइन्छ, चालु आर्थिक वर्षमा समेत सात जना घरमै सुत्केरी भएका छन्, घुम्ती गोठमै सुत्केरी भएका समेत छन् ।’ गत आर्थिक वर्षमा निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएका थिए । बागलुङको अधिकांश स्थानीय तह शून्य होमडेलिभरी उन्मुख रहेका छन् । निसीखोला गाउँपालिकामा भने घरमै सुत्केरीलाई मुख्य समस्याको रूपमा लिइएको छ । यहाँको दूर–दराजमा अझै पनि अस्पतालको पहुँचमा आउन नचाहने, अशिक्षा, गरिबीलगायत कारण घरमै सुत्केरी हुने गरेको पाइएको छ । घरमै सुत्केरी हुने महिला अधिकांश दलित समुदायका रहेको स्वास्थ्य शाखा प्रमुख मगरले बताइन् । मगरका अनुसार बालविवाह र घरमै सुत्केरी निसीखोलाको चुनौतीको विषय रहेको छ । उनीहरू अस्पताल आउनै नमान्ने, गर्भवती भएको जानकारी नदिने र महिला स्वास्थ्य स्वयंसेविकालाई ढाँट्ने गर्दछन् । निसीखोला गाउँपालिका–६ चुसिवाङ गाउँमा मात्रै १२ आमामध्ये छ आमा घरमै सुत्केरी भएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मनिमला घर्तीले जानकारी दिइन्। उनका अनुसार घरमै सुत्केरी हुनेमध्ये न्यून आय भएका तथा दलित समुदायका महिला बढी छन् । ‘चेतना भयो भनेत स्वास्थ्य संस्थामा सुविधा थियो, उहाँहरूले गर्भवती भएको जानकारी नै गराउन चाहनुहुन्न, परिवारको समेत सहयोग हुँदैन, त्यसमाथि बालविवाह हुन्छ’, प्रमुख घर्तीले भनिन्, ‘घुम्ती बसाइका कारण खर्कमा जाने महिलाहरू उतै सुत्केरी भएर आउँछन्, गाउँपालिका र स्वास्थ्य कार्यालयले जनचेतना फैलाउन थालेको छ, खासगरी गर्भवती भएपछि सम्पर्कमा आए त्यसपछिको खोजी हामीले र स्वास्थ्य संस्थाले गर्दथ्यौँ, तर कतिपयले जानकारी गराउनै मान्नुहुन्न ।’ निसीखोला गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा संस्थागत सुत्केरी भएका दुई सय १३ मध्ये ५८ सुत्केरी २० वर्षभन्दा मुनिका भेटिएका छन् । यस्तै चालु आर्थिक वर्षमा समेत १८ जना २० वर्षभन्दा मुनिकाले बच्चा जन्माइसकेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालबिबाहलाई लुकाउनसमेत संस्थागत सुत्केरी हुन नचाहने गाउँपालिकामा रहेका छन् ।

काभ्रेका किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन् । यहाँका १६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार ३४४ अर्थात् ९५.३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि गत माघ २२ देखि यही फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप कक्षा ६-१० विद्यालय समूहका तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका बालिकाका लागि उक्त खोप लगाइएको हो । अशिक्षा तथा चेतनाको कमीलगायत विविध कारण लक्ष्यअनुसार केही प्रतिशत खोप लगाउने बालिकाको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ । ‘केही बाललिकाले खोप लगाउनै नमानेको विद्यालयबाट जानकारी आयो, सायद अशिक्षा तथा चेतनाको कमी नै शतप्रतिशत खोप सम्पन्न गर्न नसकेको होला !,’ कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भने । उनका अनुसार भौगोलिक विकटतालगायत समग्रमा खोप कार्यक्रम सफल भएको मानिएको छ । जिल्लाको २५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका छात्रालाई उक्त खोप लगाएको हो । जिल्लाको १३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लक्ष्यको ९९ प्रतिशत खोप लगाएको देखिन्छ । कार्यालयको तथ्याङ्कानुसार सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा ८१ प्रतिशत तथा धुलिखेल नगरमा ८५ प्रतिशत बालिकाले खोप लगाएका छन् । ४५० बालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा चौँरीदेउरालीमा ३६४ ले मात्रै खोप लगाए । सदरमुकामस्थित धुलिखेल नगरमा भने एक हजार चार सय १६ बालिकामध्ये १ हजार २०४ बालिकाले मात्र खोप लगाएका छन् । यस्तै खानीखोला, नमोबद्ध, भुम्लु र तेमाल गाउँपालिकाका ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् । बनेपा र पाँचखाल नगर तथा बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत बालिकालाई खोप दिइयो । रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरमा ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत बालिकाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष २ हजार २ सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये १ हजार ३ सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।