आइएमई लाइफको लाभांश घोषणा, कति दिने भयो नगद ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए ।  उनका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब रुपैयाँको १०.५२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरिएको हो ।  कम्पनीले प्रस्ताव गरिएको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव न्यौपानेले बताए ।   

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव सुदर्शन आचार्यले जानकारी दिए ।  उनका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशतका दरले ७० करोड १६ लाख ३७ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको हो ।  कम्पनीले प्रस्ताव गरिएको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव आचार्यले बताए । 

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी प्रसाद न्यौपाने नियुक्त

काठमाडौं । काभ्रेपलाञ्चोकस्थित नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सहायक प्रमुख कार्यकारी अधिकृत ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले न्यौपानेलाई कायम मुकायम सीईओ पदको जिम्मेवारी दिने निर्णय गरेको हो । यस अघि कामु सीईओ भागनागरायण साहुले मंसिर २४ गते स्वैच्छिक अवकाश लिएपछि उक्त जिम्मेवारी न्यौपानेलाई सुम्पिएको हो । न्यौपानेले २०५५ सालमा लघुवित्त क्षेत्रमा सेवा प्रवेश गरी निर्घन उत्थान लघुवित्त वित्तीय संस्थामा फिल्ड सहायक पदबाट करियर सुरु गरेका थिए । २०६१ सालमा नेरुडे लघुवित्तमा अधिकृत पदमा प्रवेश गरेका न्यौपाने यसअघि जनशक्ति व्यवस्थापन विभाग प्रमुख र कम्पनी सचिवको रूपमा पनि कार्यरत रहेकाछन् । मर्जरपछि उनले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख लगायत कार्यकारिणी तहका जिम्मेवारीहरू सफलतापूर्वक बहन गरिसकेका छन् । करीब अढाई दशक लामो अनुभव भएका न्यौपाने लघुवित्त क्षेत्रका अनुभवी पेशेवर हुन् । सञ्चालक समितिको विश्वास अनुसार, प्रमुख कार्यकारी अधिकृतका रूपमा उनले नियामकीय निर्देशनहरू पालना गर्दै संस्थाले उत्कृष्ट सेवा प्रदान गर्ने, सेयरधनीलाई यथोचित प्रतिफल दिने र कर्मचारी व्यवस्थापनलाई सुदृढ बनाउने काम गर्नेछन् । न्यौपानेले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, ग्राहक सेवामा नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सुविधा उपलब्ध गराउने र लगानीकर्तालाई उचित प्रतिफलसहित बजारमा संस्थाको सम्मानजनक उपस्थिति अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।