४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स, कात्तिकमा मात्रै १.३३ खर्ब रुपैयाँ

काठमाडौं । ४ महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन गत वर्षको तुलनामा ३१.४ प्रतिशत बढी हो ।  कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जबकि गत वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।  समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ रहेको थियो ।   राष्ट्र बैंकका अनुसार कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९७३ जना र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ जना रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ४७ हजार ४७८ जना र ९४ हजार १०५ जना मात्रै थियो । 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभाबाट १९ प्रतिशत लाभांश पारित

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश ३९औँ वार्षिक साधारण सभाबाट पारित गरेको छ । सोमबार काठमाडौंको आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले बैंकको हाल कायम चुक्तापूँजीको १९ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो  । सभाले यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित गर्‍यो ।  सभामा सम्बोधन गर्दै बैंकका अध्यक्ष वेणुगोपाल रंगनाथनले लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे । उनले नेपालमा एकमात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक विविधताको माध्यमबाट व्यापार र समृद्धि प्रवर्द्धन गर्ने उद्देश्यमा दृढ रहेको बताए । हाल बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकले नेपालमा आर्थिक वृद्धिमा योगदान पुर्याउँदै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ ।  साधारणसभाले आव २०८१/८२ को मुनाफाबाट      सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेसँगै अब उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । सभाले अध्यक्ष पाण्डेबाट  प्रस्तुत भएको आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यस्तै कम्पनीको लेखा परिक्षकको प्रतिवेदन, सहित २०८२ आषाढ मसान्तको वासलात, २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आव २०८२/८३ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गरि निजको पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ । साथै सभाले प्रवन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।