मेरो माइक्रोफाइनान्स लघुवित्तले ५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्ने निर्णय गरेको हो । घोषित लाभांशअनुसार लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर तथा लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
अपी पावरको लाभांश घोषणा, पुस २९ गते साधारणसभा हुने
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत कर प्रयोजनार्थ छुट्याइएको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशतका दरले १९१ करोड ३९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय पनि गरेको छ। यी दुवै निर्णय पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो २२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ। सभाले बोनस सेयर तथा हकप्रद सेयर जारी गर्न नियमनकारी निकायबाट आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, हालसम्म भएको स्वपुँजी लगानी अनुमोदन तथा थप स्वपुँजी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १७ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।
एनएलजी इन्स्योरेन्सको ७.३६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४ सय ३२ रुपैयाँ चुक्ता पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशअन्तर्गत कम्पनीले ४ प्रतिशत बोनस सेयर वितरण गर्नेछ, जसको मूल्य १० करोड २६ लाख ८ हजार ९ सय ७८ रुपैयाँ रहेको छ । साथै ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ, जसको मूल्य ७ करोड ६९ लाख ५६ हजार ७ सय ३३ रुपैयाँ रहेको छ । दुवै प्रकारका लाभांशका लागि कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशत, अर्थात् ९४ लाख ५० हजार ८ सय २७ रुपैयाँ छुट्याएको जनाएको छ । कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।