होटल पार्क ल्याण्डले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले साधारण सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बुधबार डिल्लीबजार, काठमाडौंमा सम्पन्न एक समारोहमा सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच आईपीओ तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । होटल पार्क ल्याण्ड लिमिटेडका अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्डको सार्वजनिक निष्काशन आईपीओको बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा फैलिएको होटल पार्क ल्याण्ड लिमिटेडले विगत १८ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल होटलमा ३२ कोठा छन् र गैडाचोकबाट ३५० मिटरको दूरीमा रहेको छ । कम्पनीले छिट्टै आफ्नो क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रमा १०५ कोठा सहित चारतारे होटलमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।
एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । एनसीएचएलले मंगलबार राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचएलका पूर्व तथा वर्तमान अध्यक्ष र सञ्चालकहरूका साथै अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय, अध्यागमन विभाग, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा भुक्तानी सेवा अपरेटर (पीएसओ)का प्रमुखहरूको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ साल पौष ८ गते स्थापना भएको एनसीएचएलले नेपालमा राष्ट्रिय भुक्तानी, क्लियरिङ्ग तथा सेटलमेन्ट प्रणाली विकास गर्दै आएको छ । प्रारम्भिक चरणमा म्यानुअल चेक क्लियरिङ्गलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न २०६८ सालमा एनसीएचएल–ईसीसी सञ्चालनमा ल्याएको संस्थाले नेपाल राष्ट्र बैंकको रणनीति अनुरूप आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू क्रमशः सञ्चालनमा ल्याउँदै आएको छ । वार्षिकोत्सव समारोहमा एनसीएचएलले कम्पनीमा १० वर्ष सेवा पूरा गरेका हेड–पेमेन्ट सिस्टम छवि सापकोटालाई दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । साथै, संस्थाका पूर्व अध्यक्ष अनिल केशरी शाह र अशोक शम्शेर जबरालाई एनसीएचएलको स्थापना र विकासमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा एनसीएचएलले विभिन्न नवीन डिजिटल प्रोडक्ट तथा सोलुसनको अनावरणसमेत गरेको छ । सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकका लागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंकसँगको सहकार्यमा कर्पोरेट पे २.०, माछापुच्छ्रे बैंकसँगको सहकार्यमा कार्ड सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजीसँगको सहकार्यमा थर्ड पार्टीज नेट सेटलमेन्ट सार्वजनिक गरिएको हो । एनसीएचएलले वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैर–बैंक संस्थालाई १३ विधामा ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शन’ अवार्ड प्रदान गरेको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीतर्फ क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन ईएफटी कार्ड सर्भिसेस्’, ग्लोबल आईएमई बैंकलाई ‘एक्सिलेन्स इन अल्टरनेट डिजिटल च्यानल’ र नबिल बैंकलाई ‘एक्सिलेन्स इन डिजिटाइजिङ बिजनेस विथ कर्पोरेटपे’ अवार्ड प्रदान गरिएको छ । नेपाल सरकारको खर्च तथा राजस्व कारोबार डिजिटाइज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई विशेष सम्मान गरिएको छ भने ई–भिसाको अनलाइन भुक्तानीका लागि अन्तर्राष्ट्रिय कार्ड पेमेन्ट गेटवे सक्षम बनाउन योगदान पुर्याएको भन्दै गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागलाई समेत सम्मान गरिएको छ । हाल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजत प्राप्त एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा तथा १०० भन्दा बढी गैर–बैंक संस्था प्राविधिक सदस्यका रूपमा आबद्ध छन्। एनसीएचएलका प्रणालीमार्फत गत आर्थिक वर्ष १८६ खर्ब रुपैयाँभन्दा बढीको २१ करोड १२ लाखभन्दा बढी भुक्तानी कारोबार फछ्र्यौट भएको छ । अघिल्लो वर्षको तुलनामा कारोबार संख्या ६७ प्रतिशत र कारोबार रकम १९ प्रतिशतले वृद्धि भएको एनसीएचएलले जनाएको छ ।
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार २५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि १६ दिनका लागि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा बुधबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।