नेपाल लाइफ क्यापिटलले इन्स्योरेन्ससंगको समन्वयमा गर्यो लगानी व्यवस्थापन सम्बन्धी कार्यक्रम

काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । ‘उज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत्र ५ गते नेपालगंज, चैत्र ६ गते कोहलपुर, चैत्र ७ गते धनगढी, चैत्र ८ गते महेन्द्रनगर बजार र कन्चन क्याम्पस गरी उपत्यका बाहिरका ५ स्थानमा कार्यक्रम संचालन गरिएको थियो । सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो । विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधी, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो । कार्यक्रमबाट ५०० जना सहभागीहरु लाभान्वित भएका थिए । नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले पुँजी बजारका असिमित संभावनाहरु तथा यसको बहु–आयामिक पक्षहरुको अध्ययन गरि नेपाली लगानीकर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अवसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।

सिद्वार्थ बैंक र एनबीआईबीच विद्युतीय सवारीमा वित्तीय लगानीको लागि सम्झौता

काठमाडौं । सिद्वार्थ बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच सम्झौता भएको छ । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सिद्वार्थ बैंकबीच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिद्वार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेल र नेशनल बैकिङ्ग इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे । सम्झौता अनुसार नेशनल बैकिङ्ग इन्स्टिच्युटले नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ । नेपालमा बैंक तथा वित्तीय संस्थामा क्षमता अभिवृद्विका लागि नेपाल राष्ट्र बैंक तथा विभिन्न बैंकहरुको सहभागितामा स्थापित नेशनल बैकिङ्ग इन्स्टिच्युटले विभिन्न कार्यक्रमहरु जस्तैः तालिम, सर्टिफिकेशन कोर्ष, सेमिनार,कार्यशाला, गोष्ठि आदि संचालन गर्दै आइरहेकोमा हालका दिनहरुमा अध्ययन,अनुसन्धानका क्षेत्रमा पनि आफ्नो क्रियाशिलता बढाउदै लगेको बैंकले बताएको छ । इन्स्टिच्युटले आगामी दिनमा बैकिङ्ग तथा वित्तिय क्षेत्रका विभिन्न विषयहरुमा अध्ययन, अनुसन्धान गरि मुलुकका बैंक तथा वित्तिय संस्थाहरुलाई आवश्यक सूचना जानकारी तथा तथ्यांङ्क उपलब्ध गराउने लक्ष्य लिएको छ।

मन्दीमा ठूलो लगानीको माग, बीमा कम्पनीको हकप्रद सेयरमा अझै २२ अर्ब थप्नुपर्ने

काठमाडौं । ‘वाणिज्य बैंकको पुँजी २ अर्बबाट ८ अर्ब बनाउँदा  हकप्रद सेयर भर्नका लागि लिएको कर्जा सेयरधनीहरूले अहिलेसम्म पनि तिर्न सकेका छैनन्’ एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले अनौपचारिक कुराकानीमा भन्दै थिए । नियामक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्न निर्देशन दिएपछि धमाधम हकप्रद सेयर जारी गर्दा लगानीकर्ताहरूले ऋण लिएर सेयर खरिद गरेका थिए । तर, त्यो बेला लिएको ऋण अहिलेसम्म पनि चुक्ता गर्न नसकेको ती सीईओले भनाइ छ । हो, यतिबेला बीमा कम्पनीहरूको नियामक नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्न निर्देशन दिएपछि आधा दर्जन बीमा कम्पनीले हकप्रद सेयरको माध्यमबाट तोकिएको पुँजी पुर्याउने गृहकार्य गरिरहेका छन् । मर्जर र बोनस सेयरको माध्यमबाट पुँजी वृद्धि सीमा पूरा नभएपछि बीमा कम्पनीहरू धमाधम हकप्रद सेयरको तयारी गरिरहेका हुन् । तर, अर्थतन्त्र सुस्ताएको बेला एकैपटक यति धेरै कम्पनीको हकप्रद आउने भएपछि लगानीकर्ताहरू पैसाको जोहो कसरी गर्ने भन्ने विषयमा चिन्तित बनेका छन् । दर्जनौं बीमा कम्पनीले हकप्रद सेयर जारी गर्ने भएपछि सेयरधनीहरू फेरी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने तयारी गरिरहेको लगानीकर्ताहरू बताउँछन् । बीमा कम्पनीहरूले हकप्रद सेयरमा करिब २१ अर्ब ६० करोड रुपैयाँ लगानी गर्नु पर्ने भएकाे छ । जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स, एशियन लाइफ, सन नेपाल लाइफ, सूर्यज्योति लाइफले हकप्रद सेयर निष्काशन गरेर पुँजी पुर्याउने तयारीमा छन् । जसमध्ये एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गरेर ५ अर्ब रुपैयाँ पुँजी पुर्याउने भएको छ । कम्पनीको हालको पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । अब कम्पनीले सेयरधनीहरूबाट २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ संकलन गर्ने भएको हो । प्रभु महालक्ष्मी लाइफको पुँजी ४ अर्ब २९ करोड रुपैयाँको १७ प्रतिशत हकप्रद सेयर जारी गरेर ५ अर्ब २ करोडभन्दा पुँजी पुग्ने देखिन्छ । अब कम्पनीका सेयरधनीहरूले ७३ करोड ३ लाख २० हजार रुपैयाँ जोहो गर्नु पर्ने हुन्छ । यस्तै, सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड रुपैयाँ छ । अब लगानीकर्ताहरूबाट १ अर्ब ६ करोड रुपैयाँ बढी रुपैयाँ संकलन गर्नु पर्ने देखिन्छ । एशियन लाइफको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँको ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोडभन्दा बढी पुग्छ । यस आधारमा कम्पनीले सेयरधनीहरूबाट १ अर्ब ३२ करोड ५२ लाख रुपैयाँ उठाउन खोजेको छ । सानिमा रिलायन्स लाइफले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । स्वीकृत २० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी अर्ब बढी अर्थात ५ अर्ब २ करोड ८ लाख रुपैयाँ पुग्ने छ । सूर्यज्योति लाइफको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । कम्पनीले १० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ । मर्जरमा नगएको नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ । सो अनुसार कम्पनीले हकप्रद सेयर जारी गरेमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । सानिमा जीआईसीले २५ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । हाल २ अर्ब रहेको कम्पनीको चुक्ता पुँजी २५ प्रतिशत हकप्रदपछि २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । यूनाईटेड अजोडले ३२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हालको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ छ । स्वीकृति ३२ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ६६ प्रतिशत हकप्रद पछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्ने छ । यी माथिका बीमा कम्पनीका सेयरधनीहरूले ठूलो रकम जोहो गर्नु पर्ने देखिन्छ । अझै प्राधिकरणले पुनर्बीमा कम्पनीलाई पनि पुँजी वृद्धि गर्न निर्देशन दिएपछि संस्थापक लगानीकर्ताहरूलाइ टाउको दुखाइको विषय बनेको छ । हिमालयन रिइन्स्योरेन्सले २० अर्ब पुँजी पुर्याउन ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नेछ । नेपाल पुर्नबीमा कम्पनीका लागि पनि करिब ४ अर्ब  रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नुपर्ने छ । बीमा कम्पनीका लगानीकर्ताहरू पैसाको जोहो गर्न दौडधुप गरिरहेका छन् । साथै जलविद्युत कम्पनीहरूले पनि हकप्रद सेयर जारी गरिरहेका छन् ।