असार १६ गतेदेखि वित्तीय संस्था विरुद्ध देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञावलीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरुको ज्यादती कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरे । उनले यी माग सम्बोधन नभए असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी दिए । उनले वित्तीय माफियाहरुको विरुद्ध बलिदान दिन समेत तयार रहेको भन्दै विद्रोहमा जाने निर्णय भएको बताए । समितिले शान्तीपूर्ण आन्दोलनलाई कमजोरीका रुपमा नलिन सरकारलाई आग्रह गरेको छ ।
प्रभु बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने
काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड (काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश, जुगल जस्ता मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ । काठमाडौंको कोलाहलबाट केहीबेर बाहिर निस्कन र रमाइलो गर्नका लागि यो एक उत्तम स्थान हो । आन्तरिक एवंम बाह्य पर्यटकका लागि काभ्रे जिल्ला अति उत्तम र रमणीय स्थलको रुपमा प्रख्यात छ । बिहानको सूर्यको उदयदेखि साँझको अस्थायको सुर्यास्थको दृश्य अवलोकन मज्जाले गर्न सकिने बैंकले जनाएको छ ।
साधना र सबैको लघुवित्तले पाए मर्जरका लागि अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो । दुवै संस्थाले ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति पाएका हुन् । गोरखामा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था र तनहुँको बन्दीपुर गाउँपालिका-१, डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाले गत फागुन १९ गते छुट्टाछुट्टै सम्पन्न साधारण सभबाट १ः१ स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए ।