ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम पुँजीको ३० प्रतिशत सेयर जारी गर्ने भएको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका कूल २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल ढुङ्गाना र बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । विसं २०८० साल चैतदेखि ट्रष्ट माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
नेपाल कृषि व्यवसाय लगानीको प्रमुख केन्द्र बन्न सक्ने, नीतिगत स्पष्टता आवश्यक
काठमाडौं । टीम भेन्चर्सले नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) को सहयोगमा ‘कृषि व्यवसायमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी) लगानी रणनीतिहरू: भारतबाट सिकाइ’ शीर्षकको कार्यशाला सम्पन्न गरेको छ । नेपालको कृषि व्यवसाय वित्तीय प्रणालीलाई सुदृढ गर्न र लगानीका महत्त्वपूर्ण आवश्यकता पूर्ति गर्न टिम भेन्चर्सले कार्यशालाकाे आयाेजना गरेकाे हाे । फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) द्वारा वित्तीय सहयाेग प्राप्त सीएएसए कार्यक्रम जसलाई स्वीस कन्ट्याक्ट नेपालले सहयाेग गरेकाे छ । नेपालको कृषि क्षेत्र अहिले दोबाटोमा उभिएको छ- यो क्षेत्र अर्थतन्त्रमा प्रभुत्व जमाए पनि संरचित लगानीको अभाव छ । सरकारले कृषि क्षेत्रमा लगानी वृद्धि गर्दै गए पनि कृषि उत्पादनको जीडीपी योगदान घट्दै जानु, परम्परागत स्रोत विनियोजन बाहिरका प्रभावकारी लगानी रणनीतिहरूको आवश्यकता छ । ३.०५ प्रतिशत वार्षिक वृद्धिदरको सम्भावना भए तापनि वित्तीय सीमितता र लगानी संयन्त्रको अभावका कारण ठूलो मात्रामा पूँजी परिचालन हुन सकेको छैन । नेपाल उद्याेग वाणिज्य महासंघका अनुसार कृषि व्यवसायमा निजी क्षेत्रको योगदान ९५ प्रतिशतभन्दा बढी छ, तर अधिकांश लगानीहरू साना स्तरमा सीमित रहँदा रूपान्तरणकारी हुन सकेकाे छैन । अर्कोतर्फ एनपीईएको तथ्यांकअनुसार सन् २०१२ यता नेपालमा भएको १०१ मिलियन डलर पीईभीसी लगानीमध्ये मात्र ३.९ प्रतिशत कृषि व्यवसायमा प्रवाह भएको छ । यस्ता खालका चुनौतीहरूलाई सम्बोधन गर्न कार्यशालाले नेपालका पीईभीसी प्रणालीका मुख्य सरोकारवालाहरूलाई लगानी तयारी, बजार जडान र कृषि व्यवसायमा वित्तीय अवसरबारे छलफल गर्न एकीकृत मञ्च उपलब्ध गरायो । भारतको पीईभीसी मोडेलबाट सिक्न सकिने मुख्य पाठहरू समेट्दै कार्यशाला लगानीका बाधाहरू हटाउने उपायहरूमा केन्द्रित रह्यो । सहभागीहरूले आविष्कार ग्रुपको ५०० मिलियन डलरकाे भारतीय कृषि व्यवसाय लगानी अनुभवबाट सिक्ने मौका पाएका थिए । जसमा वित्तीय चुनौतीहरू, पूँजी वृद्धि, एक्जिट रणनीति र क्षेत्रीय विविधताको जस्ता विषयवस्तु समेटिएका थिए । यस कार्यक्रमले नेपाली र भारतीय लगानीकर्ताहरूबीच सहकार्यका अवसरहरू पहिचान गर्दै कृषि व्यवसायमा प्रभावकारी पीईभीसी इकोसिस्टम निर्माणका उपायहरूबारे छलफल गरेकाे थियाे । इन्टेलक्याप र आविष्कार क्यापिटलका विशेषज्ञहरूले भारतको कृषि व्यवसाय वृद्धिमा योगदान गर्ने मुख्य कारकहरू प्रस्तुत गर्दै यसमा वित्तीय संस्थाहरूको भूमिका र अनुकूल नीतिगत संरचनाहरू महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए । उनीहरूले सफल लगानी मोडेलहरू र रणनीतिहरू प्रस्तुत गरेका थिए जसलाई नेपालले आफ्नै पीईभीसी प्रणालीलाई सुदृढ गर्न सक्नेछ । नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) का अध्यक्ष ध्रुव तिमिल्सिनाले नेपालको कृषि व्यवसायमा लगानी विशेषज्ञता भित्र्याउने आवश्यकता औंल्याउँदै भने, ‘पीईभीसी लगानी फस्टाउन, नेपालले लगानी-तयारी कृषि व्यवसायहरू, सशक्त शासन, जोखिम न्यूनीकरण संयन्त्र र अनुकूल नीति निर्माण गर्नुपर्छ । भारतका लगानी रणनीतिहरूबाट सिक्दै हामीले नेपालमा विभिन्न अवसरहरू सिर्जना गर्न सक्छौं ।’ सीएएसए कार्यक्रमका कन्ट्री म्यानेजर मनिष विक्रम शाहले सीएएसएको नेपालको कृषि व्यवसाय क्षेत्रमा दिगो लगानी प्रवर्द्धन गर्ने प्रतिबद्धता दोहोर्याउँदै भने, ‘कृषि व्यवसायमा अपार सम्भावना छ, तर सीमित वित्तीय पहुँचले यसको वृद्धिलाई अवरोध गरेको छ । लगानी अन्तर हटाउँदै एसएमई कृषि व्यवसायहरू र साना किसानहरूलाई अवसर सिर्जना गर्न सीएएसए प्रतिबद्ध छ ।’ कार्यशालामा निजी इक्विटी लगानीकर्ताहरू, नेपाल धितोपत्र बोर्डका प्रतिनिधिहरू, पीईबा कोष व्यवस्थापकहरू, कृषि व्यवसाय उद्यमीहरू, लगानीकर्ताहरू र क्षेत्रीय विज्ञहरूकाे सहभागिता रहेकाे थियाे । टिम भेन्चरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेनजिन सोनम गोन्सारले कृषि व्यवसायमा संरचित लगानीको रूपान्तरणकारी सम्भावनाबारे प्रकाश पारे । टिम भेन्चरका लगानी विश्लेषक कृष्णबाबु भट्टराईले कृषि व्यवसाय लगानीका लागि सम्पूर्ण मूल्य श्रृंखला सुदृढ गर्न आवश्यक रहेको बताए । यस कार्यशालाले भारतमा पीईभीसी लगानीहरूले कृषि क्षेत्रमा कसरी महत्त्वपूर्ण मूल्य सिर्जना गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेकाे थियाे, जसले नेपालमा यस्तै संरचना निर्माण गर्ने ठूलो सम्भावना रहेको देखाउँछ । सही नीतिगत वातावरण निर्माण गर्न सकियो भने नेपाल कृषि व्यवसाय लगानीको प्रमुख केन्द्र बन्न सक्छ जसले आर्थिक वृद्धिलाई प्रवर्द्धन गरी देशभरि साना किसानहरूको जीवनस्तर उकास्ने विश्वास गरिएकाे छ ।
सहकारी बैंकका महाप्रबन्धक र लेखा प्रमुखलाई एक अर्ब बढी बचत अपचलनको मुद्दा, नियामकद्वारा व्यवस्थापन कब्जामा
काठमाडौं । पछिल्लो समय नेपालमा सहकारीको रकम अपचलनको विषयय बढिरहेको बेला भारतमा पनि सहकारी बैंकको बचत अपचलनको विषयले भारतीय सहकारी क्षेत्र तरंगित बनेको छ । भारतको यू इंडिया कोअपरेटिभ बैंकका महाप्रबन्धक हितेश मेहता र लेखा प्रमुखले बैंकको एक अर्ब २२ करोड भारतीय रुपैयाँ अपचलन गरेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मुम्बई प्रहरीले उनीहरुलाई १२२ करोड भारतीय रुपैयाँको हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत देबर्शी घोषले दादर प्रहरी स्टेशनमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । मेहतालाई सोधपुछका लागि मुम्बईको दक्षिणी क्षेत्रमा रहेको कार्यालयमा लगिएको छ । उजुरीअनुसार, बैंकका लेखा प्रमुख मेहताले आफ्ना सहयोगीसँग मिलेर प्रभादेवी र गोरेगाँव शाखाबाट रकम हिनामिना गरेको बुझिएको छ । प्रहरीले भारतीय न्याय संहिताको दफा ३१६(५) (बैंककर्मी तथा सार्वजनिक सेवकद्वारा विश्वासघात) र दफा ६१(२) (अपराधी षड्यन्त्र) अन्तर्गत मुद्दा दायर गरेको छ । प्रहरीले पक्राउ गरेपछि भारतको केन्द्रीय बैंक भारतीय रिजर्ब बैंकले सञ्चालक समितिलाई पदमुक्त गरेर व्यवस्थापन आफू मातहत लिएको छ । रिजर्ब बैंकले सो सहकारी बैंकको वित्तीय स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बचतकर्ताहरूको सुरक्षाका लागि लागि काम गरिरहेको छ । न्यू इंडिया कोअपरेटिभ बैंकका २८ शाखाहरू छन्, जसको अधिकांश मुम्बईमा छन् भने दुई वटा सूरत र एउटा पुणेमा रहेका छन् । आरबीआईको कारबाहीपछि ग्राहकहरूमा त्रास फैलिएको छ । धेरैजसो ग्राहकहरू शुक्रबार बिहान आफ्ना बचत झिक्न बैंक शाखामा पुगेका थिए ।