नबिल, ग्लोबल र एनआईएमबिबीच कडा प्रतिस्पर्धा, १० बैंकको नाफा घट्दा नेपाल बैंकको ४५७ प्रतिशत बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १.६७ प्रतिशत अर्थात् ८१ करोड २० लाख रुपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको वैशाखसम्ममा २० वटा बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका छ । गत वर्षको वैशखमा ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । १० महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको वैशाखमा यस बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा २.५८ प्रतिशत अर्थात् १४ करोड १३ लाख रुपैयाँ बढेको हो । ग्लोबल आइएमई बैंकले वैशाखसम्ममा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस बैंकले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २९.८९ प्रतिशत अर्थात् १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो । यस्तै, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)ले ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकले ३३.१४ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ९८ लाख रुपैयाँ बढी नाफा गरेको हो । यस अवधिमा नेपाल बैंक नाफा वृद्धिमा आक्रामक देखिएको छ । नेपाल बैंकको १० महिनामा खुद नाफा ४५७ प्रतिशत अर्थात् २ अर्ब ६९ करोड ८४ लाख रुपैयाँ बढेर ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकको नाफा ५९ करोड ३ लाख रुपैयाँ मात्रै थियो । १० महिनाको अवधिमा एभरेष्ट बैंकको ३०.९६ प्रतिशत बढेर ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको १८.७४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १०.१९ प्रतिशत बढेर २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकका अनुसार १० महिनामा सानिमा बैंक ७.१० प्रतिशत बढेर १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ, एनएमबि बैंकको ५.५५ प्रतिशत बढेर २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १.६९ प्रतिशत बढेर २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, यस अवधिमा विभिन्न १० बैंकको नाफा घटेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा धेरै नाफा घटेको छ । एनआईसीको ७७.८७ प्रतिशत घटेर ४७ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, हिमालयन बैंकको ६९.३३ प्रतिशत घटेर ६८ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकको ६६.२७ प्रतिशत घटेर ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकको ३५.७३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३०.९२ प्रतिशत घटेर १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ, प्रभु बैंकको २०.०९ प्रतिशत घटेर २ अर्ब १४ लाख रुपैयाँ नाफा गरेका छन् । यस्तै, सिटिजन्स बैंकको २१.४० प्रतिशत घटेर १ अर्ब १८ करोड १५ लाख रुपैयाँ, प्राइम बैंकको १९.८४ प्रतिशत घटेर २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.९८ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको २.८७ प्रतिशत घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
हिमालयन बैंकबाट पाकिस्तानको हबिब बाहिरिने, बिक्रीमा राख्यो ३ अर्ब १५ करोडको सेयर
काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बिक्री गरेर बाहिरिने भएको छ । लामो समयदेखि बैंकबाट सेयर बिक्री गरेर बाहिरिन खोजेको हबिब बैंकले अन्नतः आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको हो । हिमालयन बैंकमा सबैभन्दा ठूलो सेयरधनी हो पाकिस्तानको हबिब बैंक लिमिटेड । बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेसँगै हिमालयन बैंकबाट बाहिरिने पक्का भएको हो । यद्यपी सेयर खरिद कसले गर्ने भन्ने निधो भइसकेको भने छैन । हबिब बैंकले हिमालयनमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा ३ अर्ब १५ करोड ९८ लाख ४ हजार ७२ रुपैयाँ बराबरको सेयर बिक्री गरेर हबिब बैंक बाहिरिने भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गरी लिन पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्नेछ । सोही व्यवस्था अनुसार उक्त सेयर खरिदका लागि हिमालयन बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । तर, ३५ दिनभित्र संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । विगतमा पनि हबिबले सेयर बिक्रीमा लागि थुप्रै प्रयास गरेको थियो । तर, राष्ट्र बैंकले अनुमति नदिँदा सेयर बिक्री गरेर हबिब हिमालयनबाट बाहिरिन सकेको थिएन । साथै, विगतमा हिमालयन रिइन्स्योरेन्स कम्पनीले उक्त सेयर खरिद गर्ने चर्चा पाएको थियो ।
साना साना विषयमा हस्तक्षेप नगर्न बीमा कम्पनीका अध्यक्षलाई ओझाको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र प्राधिकरणबाट जारी भएका नीति निर्देशनहरू कार्यान्वयनमा व्यवस्थापनलाई जिम्मेवार बनाउन र सशक्त भूमिका निर्वाह गर्न बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिएका छन् । बीमा प्राधिकरणको आयोजनामा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा व्यवसायको विस्तारका लागि आमजनतालाई लक्षित गरी नयाँ-नयाँ बीमालेख ल्याउन निर्देशन दिए । अध्यक्ष ओझाले भने, ‘बाध्यकारी बीमाको दायराबाट बाहिर ननिस्किएसम्म बीमा बजार विस्तार हुन सक्दैन । बचतमा आधारित बीमामा केन्द्रित नभई टर्म इन्स्योरेन्स र नयाँ नयाँ जोखिम बहन गर्नेखालका बीमामा जानुपर्छ, नयाँ विकास गरिएका बीमालेखलाई शीघ्र स्वीकृति दिन प्राधिकरण तयार छ ।’ बीमा कम्पनीको लगानी विविधीकरणका लागि थप क्षेत्र खोल्न प्राधिकरण तयार रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा कम्पनीले गर्ने लगानी जनताको पैसा रहेको र लगानी गर्दा जिम्मेवारी पूर्वक गर्नुपर्ने बताए । लगानी सुरक्षित र दिगो लाभमा आधारित हुनुपर्ने, लगानी उपयुक्त छ/छैन भनेर संचालक समितिले हेर्नुपर्ने र बीमकका लगानी शाखालाई थप जिम्मेवार बनाउनु पर्ने उनको भनाइ छ । कानून बमोजिम बीमा व्यवसायको विकास एवं विस्तारका लागि सहजीकरण गर्न र गुनासो नआउने गरी सेवा प्रवाह गर्न प्राधिकरण प्रतिवद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले अस्वस्थ प्रतिस्पर्धा नगर्न, स-साना विषयमा पनि हस्तक्षेप गर्नुपर्ने अवस्था आउन नदिन, तोकिएकै समयमा वित्तीय विवरण बुझाउन र बीमा बजारलाई विधि बमोजिम संचालन गर्न बीमकका संचालक समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराए । अध्यक्ष ओझाले लागत नबढ्ने र सहज हुने गरी बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान-१७ (एनएफआरएस) लागू गर्न आवश्यक सहजीकरण गर्ने जानकारी दिए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा व्यवसायको प्रवर्द्धन र बीमितको हित रक्षाका लागि प्राधिकरणले नियामकीय भूमिका सँगसँगै सहजकर्ताको समेत भूमिका निर्वाह गर्दै आएको बताए । प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले बीमकमा संस्थागत सुशासन कायम गर्न संचालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले बीमकको वित्तीय विवरण, वित्तीय अवस्था र लगानी विविधीकरणका सम्बन्धमा संचालक समितिको भूमिका सम्बन्धी छुट्टा छुट्टै प्रस्तुति दिएका थिए ।