बीमकले यी कार्यमा ढिलाइ गरेको खण्डमा २० लाख जरिवाना तिराउने प्राधिकरणको चेतावनी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकले विभिन्न कार्यमा ढिलाइ गरेको गुनासो प्राप्त भएको भन्दै सूचना प्रकाशित गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गरी कानुनमा व्यवस्था भएको विभिन्न विषयमा सचेत गराउँदै कानुनी व्यवस्थाप्रति सचेत रही कार्य गर्न बीमकहरूलाई ध्यानाकर्षण गराएको हो । बीमकहरूले बीमालेखका शर्त बमोजिम दायित्व निर्धारणमा बेमनासिव ढिलाइ गरेको, बीमितलाई मर्का पर्ने किसिमले दायित्व निर्धारण गरेको, क्षति मूल्यांकनको लागि समयमै सर्भेयर नखटाएको तथा खटिएका सर्भेयरले क्षतिको मूल्यांकनको प्रतिवेदन समयमै नबुझाएको र अनावश्यक कागजात माग गरी हैरानी दिएको भन्ने गुनासो प्राप्त भएको जनाएको छ । प्राधिकरणमा प्राप्त हुने जानकारी, विवरण वा निरीक्षण प्रतिवेदनबाट त्यस्तो कार्य भए गरेको पाइएमा सम्बद्ध बीमकलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (३) बमोजिम २ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जरिवाना गरिने प्राधिकरणले स्मरण गराएको छ । त्यस्तै, सर्भेयरलाई सोही दफाको उपदफा (९) बमोजिम २ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने सक्ने कानुनी व्यवस्था रहेको प्राधिकरणले सचेत गराएको छ ।
कुमारी बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, फोनपेको सहकार्यमा डिजिटल कारोबार सजिलो
काठमाडौं । कुमारी बैंक लिमिटेडले डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत भर्चुअल क्रेडिट कार्ड सहजै सक्रिय गरी प्रयोग गर्न सक्नेछन् । कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी हुने यो कार्डमार्फत फोनपेको क्यूआर मर्चेन्टहरूमा सहज भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकले भुक्तानी गरेपछि ४५ दिनसम्म बिना ब्याज सुविधा पाउने र सेटलमेन्टका लागि १० प्रतिशत वा शतप्रतिशत रकम चुक्ता गर्ने विकल्प समेत रोज्न सक्ने बैंकले जनाएको छ ।
सन नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८० रुपैयाँसम्म दिने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लागि जीवन बीमा कोषको बिमांकीय मूल्याङ्कनका आधारमा नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट असार १५ स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम गरिएको हो । यससँगै कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार २३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८० रुपैयाँसम्म बोनस दर तोकेको छ । सनलाइफ सावधिक जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, ३० वर्षभन्दा माथि अवधिको प्रतिहजार ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । भाग्योदय जीवन बीमालेख र बाल समृद्ध जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकिएको छ । सावधिक सुनौलो जीवन बीमा र सुनौलो बाल समृद्धि जीवन बीमामा ० देखि १९ वर्ष अवधिका प्रतिहजार ३० रुपैयाँ र २० वर्षदेखि माथि अवधिको ५२ रुपैयाँ बोनसदर कायम गरेको छ । नवीन आजीवन जीवन बीमा योजना ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ६२ रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको प्रतिहजार ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा सबै बीमा अवधिमा प्रतिहजार ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ र २० वर्षभन्दा माथि अवधिको प्रतिहजार २५ रुपैयाँ, धनलक्ष्मी बीमा योजनामा ० देखि १९ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ, धनञ्जय जीवन बीमा योजना र नव धनलक्ष्मी जीवन बीमालेखमा ० देखि १४ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ, २० वर्षदेखि माथि अवधिको प्रतिहजार २५ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।