भारतले दुई सय रुपैयाँको नोट सेप्टेम्बरदेखि ल्याउँदै
एजेन्सी । भारतले दुई सय रुपैयाँ दरका भारतीय नोट जारी गर्ने भएको छ । बुधबार त्यहाको अर्थ मन्त्रालयले आगामी सेप्टेम्बरदेखि लागू हुनेगरी दुई सय रुपैयाँको नोट जारी गर्ने बताएको छ । भारतिय रिजर्भ बैंक (आरबीआई) ऐन १८३४ को धारा २४ को उपधारा १ ले दिएको अधिकारको उपयोग गर्दै केन्द्रिय सरकारले नोट जारी गर्न लागेको अर्थ मन्त्रालयले भारतको सरकारी अखवार ‘गजेट अफ ईण्डिया’ मार्फत सूचना जारी गरेको छ । पछिल्लो सातादेखि भारतीय बजारमा २ हजार रुपैयाँको भारतीय नोटको अभाव देखिन थालेको थियो । कालोधन लुकाउन साना दरका नोटको तुलनामा ठूला दरका नोट लुकाउन सजिलो पर्ने अनुमान गरिँदै आएको छ । गत अगस्ट १८ तारिखमा भारतीय रिजर्भ बैंकले महात्मा गान्धीको तस्विर रहेको पचास रुपैयाँको नोट ल्याउने बताएको थियो । नयाँ नोटको आधारभुत रंग फ्लोरोसेन्ट ब्लू कलरको हुनेछ । नयाँ नोटको साइज ६६ बाइ १३५ एमएमको हुनेछ । यो नोटको पछाडी भारको कर्नाटका राज्यमा रहेको ढुंगाको रथको चित्र रहनेछ । गत नोभेम्बर ८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले पुराना पाँच सय र हजार दरका नोटलाई प्रतिबन्ध लगाएको थिए । भारतमा गत नोभेम्बर महिनामा गरिएको विमुद्रीकरणपछि नयाँ मुद्राको व्यापक अभाव भएको थियो । यस वर्षको जुलाई ७ मा सार्वजनिक गरिएको एक तथ्यांकले भने बजारमा करिब ८४ प्रतिशत नयाँ मुद्रा पुगेको देखाएकोे छ ।आरबीआई जाली नोटलाई नियन्त्रणमा राख्ने कोसिस गरिरहेको छ । यसका लागि पहिलोपटक भारतीय रिजर्व बैंकले दुई सय रुपैयाँको नोट ल्याउने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
सिद्धार्थ इन्स्योरेन्सको सिईओमा वीरेन्द्र वैदावर नियुक्त
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा वीरेन्द्र वैदवार नियुक्त भएका छन् । कामू सिईओको रुपमा कार्यरत वैदवारलाई भदौ १ गतेको सञ्चालक समिति बैठकले आउदो ४ वर्षका लागि सिईओ बनाएको हो । बैदवार विगत १० वर्षदेखि सोही कम्पनीको कार्यरत छन् । बरिष्ठ प्रबन्धकबाट सो कम्पनीमा प्रवेश गरेका उनी सहायक महाप्रवन्धक हुँदै करिव तीन वर्ष कामु प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका छन् । उनको नेतृत्वमा कम्पनीको प्रर्फमेन्स धेरै राम्रो देखिएकोे छ । कुल प्रिमियम आम्दानी लगायत धेरै सूचकांकका सिद्धार्थ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । बैद्यवारले आगामी चार वर्ष सो कम्पनी हाँक्ने अख्तियारी पाएका छन् ।
सूर्या लाइफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दे
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन लगायत अन्य वित्तीय विवरण पारित गर्न सूर्याले भदौ २७ गते नवौ वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिले पारित गरेपछि चुक्तापुँजी निश्कासन गर्ने तयारी सूर्याको छ । आर्थिक वर्ष ०७२/०७३ को नाफाबाट कम्पनीले सेयरधनीलाई १० प्रतिशत अर्थात ६ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । कम्पनीको चुक्तापुँजी ६५ करोड ६२ लाख ५० हजार रुपैयाँ छ । बोनस सेयर वितरणपछि कम्पनीको पुँजी ७२ करोड रुपैयाँ पुग्ने छ । सूर्या गत आर्थिक वर्षमा ९ करोड ६९ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । जीवन बीमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । गत आवसम्ममा १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्कमार्फत आर्जन गरेको छ । यसको बीमालेख संख्या ८ लाख ८ हजार रहेको छ । बोनस दर प्रति हजार रु ३५ देखि ७० रुपैयाँसम्म रहेको छ । यसको प्रति सेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा रहेको छ ।