नेप्से परिसूचक १८ अंकले घट्दा साढे २६ अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु २६ अर्ब नाँघेको छ । नेप्से परिसूचक १८.४४ अंकले घटेर दुई हजार ९६४.२० को बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर दुई लाख तीन हजार ६५८ पटक खरिदबिक्री हुँदा रु २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो । विकास बैंक समूह १.२३, उत्पादन तथा प्रशोधन १.०८, म्युचुअल फण्ड ०.३९ र व्यापार समूह १.४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.७१, वित्त १.९९, होटल तथा पर्यटन १.७९, जलविद्युत् १.०९, लगानी १.६६, जीवन बिमा १.३५, निर्जीवन बिमा ०.६७ र अन्य समूह ०.८६ प्रतिशतले घटेको छ । आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ६.३४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको रु एक अर्ब दुई करोड तीन लाख ३५ हजार ९२३ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक प्रमोटरको सेयर २१ लाख २० हजार ९१२ कित्ता किनबेच भएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा छुट
काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेजबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौतापछि एनआईसी एशिया बैंकका ग्राहकहरूले देशभर रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरूमा सेवा लिएर डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्न ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ अथवा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । छुट सुविधा उपभोग गर्न सकिने सैलुन शाखाहरूमा नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशी भवन र वीरगञ्जस्थित रुङ्टा मल रहेका छन् । बैंकले लिजा श्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नुका साथै मुलुकको डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएको छ ।
मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति ल्याउनुभएको दुई साता बित्दा पनि बजारमा लगानी बढ्न सकेको छैन । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्न लागेको हो । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ ८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । मौद्रिक नीतिपछि बजारमा लगानी ब्यापक बढ्ने अपेक्षा गरिएपनि त्यसो हुन सकिरहेको छैन । जसकारण अधिक तरलतापछि निक्षेप खिच्न बाध्य भइरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । उनीहरुकाअनुसार राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएपनि सरकारको वित्त नीति कार्यान्वयन प्रभावकारी हुन नसक्दा लगानीको वातावरण बन्न सकिरहेको छैन ।