एनआईसी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन् । यसबारे बैंक र रिसोर्टबीच छुट सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, बैंकका ग्राहकहरूले हिमालय दृष्य रिसोर्टमा भोजन तथा पेय पदार्थ उपभोग गरी डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यस सुविधाको लाभ लिन ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यो सहकार्यले ग्राहकहरूलाई विशेष सेवा दिनुका साथै मुलुकमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ । डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत यो सम्झौताले योगदान पुर्‍याउने बैंकको भनाइ छ ।

स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशत बराबरको २ करोड ३१ लाख रुपैयाँ अर्थात् २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न नियामक निकायबाट अनुमति पाएको छ । सो परिमाणमध्ये १० प्रतिशत अर्थात् २३ हजार १०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, ०.५० प्रतिशत अर्थात् १ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । उक्त समूहहरूलाई छुट्याएपछि बाँकी रहेको १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । १० कित्ताका दरले आवेदन दिने हो भने १९ हजार ५१९ जना आवेदकलाई सेयर प्राप्त हुने अनुमान गरिएको छ । आईपीओमा साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

३५ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बुधबार ४० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४० दिनका लागि सो निक्षेप खिच्न लागेको हो ।   अहिले कुल निक्षेप ७१ खर्ब माथि पुगेको छ ।  निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।   बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८२/८३ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन, मुद्रास्फीति नियन्त्रण, मौद्रिक नीति कार्यान्वयन गर्न, ब्याजदरमा सन्तुलन ल्याउन, वित्तीय प्रणालीमा स्थायित्व ल्याउन, सरकारी ऋण व्यवस्थापन गर्न निक्षेप संकलन गर्ने गरेको छ । यस्तै बैंकहरूले अत्यधिक कर्जा प्रवाह नगरोस् भनेर नियन्त्रण गर्न  लगानी बजारमा असन्तुलन आउन नदिन र आर्थिक अस्थिरता रोक्न समेत निक्षेप संकलन गर्ने गरेको छ ।