सूर्यज्योति लाइफको नाफा ११ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ११ प्रतिशत बढेर १२ करोड ८० लाख २० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोजसम्म कम्पनीको खुद बीमा शुल्क १८.७४ प्रतिशत बढेर २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  असोजसम्ममा कम्पनीको दाबी भुक्तानी १४.८२ प्रतिशत बढेर ३ अर्ब २६ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले २ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२.२८ प्रतिशत बढेर ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र कुल खर्च १२.१७ प्रतिशत बढेर ३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित छ । नाफासँगै इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ बढेर १०.२२ रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.४२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ ।

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, ग्राहकलाई छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ई–कमर्स प्लेटफर्म दराजबीच अनलाइन खरिदका लागि भुक्तानी सेवा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरूले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट डिजिटल पेमेन्ट तथा फाइनान्स सेवा प्रोजेक्ट लिड रिशव थापाले हस्ताक्षर गरेका छन् । सम्झौता २०८२ साल कार्तिक २५ गते देखि मंसिर ६ गतेसम्म लागू हुनेछ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले दराजमा अनलाइन खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ रुपैयाँसम्म र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट पाउनेछन् । नेपाल बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सुविधा सक्रिय गर्न तथा क्रेडिट कार्डका लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नविनतम प्रविधि र डिजिटल संलग्नता विस्तार गर्ने रणनीतिअन्तर्गत दराजसहितका ई–कमर्स प्लेटफर्महरूसँग सहकार्यलाई निरन्तरता दिँदै आएको छ ।

लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई गर्‍यो सम्मान

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएका थिए । उक्त अवसरमा बैंकले आइतबार एक विशेष कार्यक्रम आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई सम्मान गर्दै उनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । कीर्तिमानी पर्वतारोही शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकका 'निरन्तर सहयात्री' ग्राहकका रूपमा आवद्ध छन् । शेर्पाले आफ्नो ३१औँ आरोहण केवल व्यक्तिगत उपलब्धि नभई परिवार, शेर्पा समुदाय र सम्पूर्ण नेपालीको गौरवको विषय भएको बताए । उनको यो साहसिक उपलब्धिले लुम्बिनी विकास बैंकसहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ ।