११.९३ प्रतिशत बढ्यो जीवन बीमाको नाफा, एशियनको आक्रामक वृद्धि, २ कम्पनीको घट्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरूले ९ महिनामा पौने ५ अर्ब रुपैयाँ नाफा गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीले ४ अर्ब ८८ करोड ७२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३६ करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको नाफा ११.९३ प्रतिशत बढेको हो । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । नेपाल लाइफले चैत मसान्तसममा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ नाफा गरेको हो । जुन जीवन बीमा कम्पनीहरूमध्येकै सबैभन्दा धेरै हो । गत वर्षको चैतमा यस कम्पनीले ६० करोड ३ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो । तर, यस अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि भने एशियन लाइफले गरेको छ । एशियन लाइफको ५९.५० प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा यस कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ नाफा गरेको थियो । रिलायबल नेपाल लाइफको ३६.८७ प्रतिशत बढेर ४६ करोड ५७ लाख ६९ हजार रुपैयाँ, सूर्यज्योति लाइफको ३१.८९ प्रतिशत बढेर २९ करोड ५७ लाख ५० हजार रुपैयाँ, अमेरिकन मेट लाइफको २७.६० प्रतिशत बढेर ३४ करोड ५१ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, सिटिजन लाइफको २७.१३ प्रतिशत बढेर ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) को २२.६५ प्रतिशत बढेर २३ करोड ६० लाख २२ हजार रुपैयाँ, सानिमा रिलायन्सको १०.७६ प्रतिशत बढेर ३३ करोड ७६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् । यस्तै, आइएमई लाइफको १०.४८ प्रतिशत बढेर ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँ, हिमालयन लाइफको ८.४९ प्रतिशत बढेर ४७ करोड २४ लाख रुपैयाँ, नेशनल लाइफको ५.१८ प्रतिशत बढेर ४० करोड ८५ लाख २२ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ नाफा गरेका छन् । तर, समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफको नाफा भने घटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ३७.१० प्रतिशत घटेर १ करोड ५४ लाख १९ हजार रुपैयाँ र सन नेपाल लाइफको ३३.३५ प्रतिशत घटेर ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँ मात्रै नाफा गरेका हुन् ।
सन नेपाल लाइफको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज बैशाख ३० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गरेको छ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो । त्यसैले बैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको सेयरमा आवेदन दिन पाउनेछन् । इन्स्योरेन्स कम्पनीको सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । सेयरधनीहरूले बिक्री प्रबन्धकसँगै सन नेपाल लाइफको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन् । केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ ।
बीमा बिक्री होइन, खरिद गर्ने सेवा हो, एग्रीगेटर अतिआवश्यक छ [अन्तर्वार्ता]
नेपाली बीमा बजार विस्तारै सुधारोन्मुख अवस्थामा छ । पछिल्लो केही वर्षयता बीमा क्षेत्रले उल्लेखनीय प्रगति गर्दैै आए पनि त्यो पर्याप्त छैन । कुल जनसंख्याको ५० प्रतिशतमा पनि बीमाको दायरा पुग्न सकेको छैन । अर्कोतिर बीमाप्रति मानिसको बुझाइ सकारात्मक छैन । अहिले नेपालको बीमा क्षेत्रमा पोलिसी सरेण्डर, ढिला दाबी भुक्तानीलगायत समस्या विद्यमान छन् । समयअनुसार हरेक क्षेत्रमा परिवर्तन आवश्यक छ, नयाँ व्यवस्था, नयाँ कार्यक्रम, नीतिको प्रयोग जरुरी छ । यो क्षेत्रको विकास र उन्नतिको लागि फरकपन दिने उद्देश्यसहित स्थापना भएको कम्पनीमध्ये एक हो ‘बीमा दोकान’ । बीमा दोकानले बीमा क्षेत्रमा केही पृथक गर्ने प्रयास गरिरहेको छ । समय समयमा विभिन्न स्कीमहरू सार्वजनिक गर्नेदेखि सन्देशमूलक सामग्रीहरू पस्किरहेको हुन्छ । बीमा दोकान, यसको उद्देय, नयाँ स्कीम र चुनौतीलगाय विषयमा केन्द्रित रहेर विकासन्युजका लागि बबिता तामाङले बीमा दोकानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईश्वर श्रेष्ठसँग कुराकानी गरेकी छन् । के हो बीमा दोकान ? यसको स्थापना र उद्देश्यमाथि प्रष्ट पारिदिनूस् न । बीमा दोकान आजभन्दा सात वर्षअघि सुरु भएको हो । हामीले त्यसभन्दा अघि (१२/१३ वर्षअघिदेखि नै बीमा क्षेत्रमा फरकपन दिनुपर्छ भनेर काम गरिरहको थियौं । त्यही बेलादेखि नै हामीले बीमा बजारमा अनुसन्धान गरिरहेका थियौं । त्यसैलाई मूर्त रूप दिनको लागि सात वर्षअघिबाट कम्पनीमार्फत नै काम गर्ने भनेर स्थापना गरी हामी अघि बढेका हौं । हामी जुन अवधारणसहित बीमा क्षेत्रमा आयौं, त्यसअनुसार सर्वसाधारणमा जान अझै बाँकी छ । हाम्रो कम्पनीको मुख्य थिम नै धेरै कम्पनीको विभिन्न पोलिसीहरू एकै ठाउँबाट बिक्री हुनुपर्छ भन्ने हो । उदाहरणको लागि मार्ट, बजार या दोकान । त्यसअनुरूप हाम्रा ग्राहकले सहजै बुझ्न सकोस् भनेर कम्पनीको नामाकरण पनि बीमा दोकान भनेर गरेका हौं । बीमा बजारमा यो अवधारणाले काम गर्नुपर्छ भनेर आउने कम्पनी सम्भवतः हामी नै पहिलो हो । हामी एग्रीगेटरको अवधारणामा काम गर्छाैं । हामीले अरूले भन्दा पृथक माध्यम अपनाएर काम गरिरहेका छौं । जसले गर्दा धेरै ग्राहकहरूले अनलाइन, फोन र भौतिक रूपमै उपस्थित भएर बुझ्न खोज्नुहुन्छ । उहाँहरूमध्ये कति जनाले पोलिसी लिनुहुन्छ, कतिले बुझ्नुमात्रै हुन्छ त कतिले पछि गर्छु भन्ने जवाफ दिनुहुन्छ । बुझ्न खोज्नु मात्रै बीमा क्षेत्रको लागि राम्रो कुरा हो । किनभने आजको दिनसम्म हेर्ने हो भने बीमा बजार सम्बन्धको आधारमा चलिरहेको छ । सम्बन्ध बिना व्यवसाय छैन । हामीले सम्बन्धको आधारभन्दा फरक ढंगबाट काम गर्छौं । हाम्रोमा ग्राहक आफैले बुझ्न आउनुहुन्छ । हामीले अज्ञात बजारबाट व्यवसाय ल्याउँछौं । तपाईंहरूले प्राधिकरणबाट इजाजत लिएर काम गर्नु भएको हो ? हामीले तत्कालीन बीमा समिति (हाल बीमा प्राधिकरण) बाट इजाजत लिएर नै सञ्चालनमा छौं । बीमा दोकानले प्रदान गर्दै आएका सेवा के के हुन्, कसरी काम गर्दै आउनुभएको छ ? हाम्रो मुख्य उद्देश्य जति पनि जीवन र निर्जीवन बीमा कम्पनीहरू छन्, ती कम्पनीसँग टाइअप गरेर ग्राहकलाई धेरै विकल्प प्रदान गर्ने भन्ने नै हो । ‘ए’ भन्ने ग्राहकलाई आवश्यक पर्ने पोलिसी ‘बी’ लाई नचाहिन सक्छ । ‘ए’ र ‘बी’ दुवैलाई उपयुक्त हुने पोलिसी तेस्रो पक्षलाई नचाहिन सक्छ । हामी ग्राहकको आवश्यकता के हो त त्यसलाई बुझेर सेवा दिन्छौं । नेपालको बीमा बजारमा आजसम्म हेर्ने हो भने रिर्टनबेस भएर पोलिसी बेचिन्छ र किन्न लगाइन्छ । हाम्रो प्राथमिकतामा त्यो पर्दैन । हाम्रो अवधारणा रिर्टनबेसभन्दा पनि कभरेज हो । रिर्टन हेरेर मात्रै बीमा गर्नु हुन्न भन्ने हाम्रो मान्यता हो । रिटर्नकै लागि त अन्य वित्तीय संस्थाहरूमा लगानी गर्न सकिन्छ, जसबाट बीमाले भन्दा बढी रिटर्न दिन्छ । हामी बीमा क्षेत्रलाई मर्यादित र दिगो पोलिसीमा फोकस गरेर काम गर्दै आएका छौं । आजको दिनमा जति जनाले बीमा गर्नुभएको छ, उहाँहरूमध्ये धेरैले नबुझिकनै गर्नुभएको छ, रिटर्न पाउँछु भनेर गर्नुभएको छ । बीमा आवश्यक हो किनभने एकछिनमा कसलाई के हुन्छ थाहा छैन । अझ नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यहाँ एक जनाले काम गरेर ५ जना पालिनुपर्ने हुन्छ । एक जनालाई तलमाथि हुनेबित्तिकै आश्रितको अवस्था के हुन्छ ? त्योे हामीलाई थाहा भएकै कुरा हो ।मासिक एक लाख कमाउनेले न्यूनतम एक करोडको पोलिसी किन्नुपर्छ । तर मार्केटमा जसरी पोलिसी बिक्री भइरहेको छ, त्यो खालको पोलिसी एक लाख कमाउनेले लिन सक्दैन । किनभने १ करोडको पोलिसी किन्नुपर्यो भने ६ लाख त प्रिमियम नै तिर्नुपर्छ । त्यसलाई समाधान गर्ने तरिकारले हामीले काम गर्न खोजिरहेका छौं । हामी प्याकेजमा पोलिसी बेच्छौं त्यो पनि बीमितको आवश्यकता हेरेर । तपाईँले कुराकानीको सुरुवातमै भन्दै हुनुहुन्थ्यो, हामी अरूभन्दा पृथक तरिकाबाट काम गर्दैछौं । तपाईंहरूको कम्पनीले बेलाबेला ग्राहकमाझ ल्याउने विभिन्न स्कीमहरूले पनि त्यो अनुभूति गराउँछ । जस्तै ‘७० प्रतिशत कममा बीमा गर्न सकिने’ र ‘२९० रुपैयाँमा २५ लाखको बीमा’ यी स्कीमबारे प्रष्ट पारिदिनूस् न । यस्तो खालको स्कीम बीमा क्षेत्रमा निकै जरुरी छ । अन्तर्राष्ट्रिय बजारमा पनि यस्तो अभ्यास धेरै नै छ । यो पार्टमा भारतको अभ्यास एकदमै राम्रो छ । हामीले ल्याएका स्कीमको कुरा गर्ने हो भने यो एउटा विज्ञापन हो ।विज्ञापनको काम भनेको मान्छेलाई आकर्षित गर्ने र बुझ्न आउने ठाउँसम्म ल्याउने हो । ग्राहकले हाम्रो स्कीमलाई हेरेर बुझ्न आउनुहन्छ अनि हामीले बुझाउने हो । जसरी तपाईंलाई ७० प्रतिशत कममा बीमा गर्न सकिन्छ भन्ने कुरा के हो भन्ने कुराको उत्सुकता भयो, त्यसरी धेरै जनालाई यस्तो उत्सुकता हुन सक्छ । अनि उहाँहरू यसरी नै बुझ्न आउनुहुन्छ । यो एउटा ‘हुक प्वाइन्ट’ हो । धेरै जनाले यस्ता स्कीमहरूलाई हेरेर आ–आफ्नै धारणा बनाइरहनुभएको हुन्छ । विभिन्न कमेन्टहरू गरिरहनुभएको हुन्छ कि यो गलत हो । अझ कतिपयले यही स्कीमलाई हेरेर बीमा खत्तम हो भन्नुहुन्छ । मुख्य कुरा मान्छेले कसरी र कति बुझ्छ भन्ने कुरा हो । आज मान्छेले कुनै कुरा हेरेर मात्रै धारणा बनाइरहनु हुन्छ । वास्तविकता के हो बुझ्न खोज्नुहुन्न । आफ्नै धारणा सही नै हुन्छ भन्ने पनि हुँदैन नि । हामी प्याकेज सिस्टममा पोलिसी बेच्छौं । प्याकेजमा टर्म, इन्डोमेन्ट, होल पोलिसी सबै आवश्यकताअनुसार राखिएको हुन्छ । त्यसैले यो बुझ्नूस् कि ७० प्रतिशत कममा बीमा गर्न सकिने भन्नुको मतलब ७० प्रतिशत छुट भन्न खोजेको होइन । आजको मार्केट ट्रेन्ड जुन छ त्योभन्दा ७० प्रतिशत डाउनमा त्यही सुविधा दिन खोजेको हो । अहिले हाम्रोमा बढी चलेको प्याकेज होल, टर्म र मेडिकल पोलिसी हो । हामीले एउटै प्याकेजमा यी सुविधा उपलब्ध गराउँछौं । उदाहरणमार्फत थप प्रष्ट पार्न चाहेँ । मानौं २० देखि २५ लाख रुपैयाँसम्मको पोलिसी किन्न सक्ने पैसा तपाईंसँग छ । त्यही समयमा त्यही पैसाले करोडको कभरेज गर्दैछ भने तपाईंको लागि कुन बढी फाइदा भयो ? करोडको कभरेज गर्ने चाहिँ भएन र ? २५ लाखको बीमा चाहिएको छ जसको मानौं २ लाखको प्रिमियम तिर्नुपर्ने हुन्छ । त्यही २५ लाखको बीमा हामी ६० देखि ७० हजार रुपैयाँमा मात्रै बेच्छौं । हामीले प्रष्ट रूपमा के भन्छौं भने ७० प्रतिशत डाउनमा अर्थात १ लाख पाउने चीज ३० हजारमा पाइरहनुभएको छ भने बाँकी ७०/७५ हजार रुपैयाँ रिर्टन बढी आउने क्षेत्रमा लगानी गर्न सकिन्छ । बीमा दोकानजस्तै अन्य एग्रीकेटर कम्पनीहरू कति छन् ? केही छन् । उहाँहरूले पनि हामीले जस्तै काम गरिरहनुएको छ । तर हामीले जुन यूएसपी बनाएर काम गरिरहेका छाैं, उहाँहरूले छैन । उहाँहरूको आफ्नै यूएसपीमा रहेर काम गरिरहनुभएकाे छ । हामीले जुन लेभलमा काम गरिरहेका छाैं त्यो कसैले गर्न सकेको छैन । हामीले नेपालको बीमा बजारमा सुहाउँदो प्लानमा काम गछौैं । हामीले भारतको मार्केटलाई हेरेर नेपालमा काम गर्न सकिँदैन । भारत टेक्नोलोजी फ्रेण्डली छ । नेपाल पनि छ तर त्यो लेभलमा छैन । हालसम्म कति बीमा कम्पनीहरूसँग सहकार्य गर्दै आउनुभएको छ ? कति जना ग्राहकमाझ पुग्न सकेका छौं ? अहिलेको व्यवस्थाअनुसार हामीले धेरै कम्पनीको पोलिसी बेच्न पाउँदैनौं । हाम्रो अवधारणा धेरै कम्पनीको पोलिसीको बिक्री भएपनि प्राधिकरणको नियम विपरीत जानुभएन । एग्रीगेटरको लागि छुट्टै निर्देशिका बन्दैछ । त्यो आइसकेपछि हामी धेरै कम्पनीसँग सहकार्य गरेर अघि बढ्नेछौं । अहिले जीवन र निर्जीवन एउटा/एउटा कम्पनीसँग मात्रै हाम्रो सहकार्य छ । सबै कम्पनी उस्तै छन् । सबैलाई सम्मान गर्छाैं । तर, हामी ग्राहकको आवश्यकता बुझेर प्याकेज सिस्टम दिन्छौं । यस सम्बन्धमा नियामक निकायसँग कसरी समन्वय गर्दै आउनुभएको छ ? समन्वय राम्रो छ । हामीले यस विषयमा भेट्दाखेरि कुरा राखिराखेका हुन्छौं । आधिकारिक रूपमा पत्र नै काटेर हामीले केही गरेका छैनौं । अर्को पार्टमा उहाँहरूले नै एग्रीगेटरको सम्बन्धमा निर्देशिका बनाउँदैछौं भनेपछि हामीले थप कुरा राख्नुपरेन । बरु सुझाव आवश्यक परेको खण्डमा र उहाँहरूले हामीलाई सम्झिनुभएको खण्डमा हामीले गर्नुपर्ने काम हामी गरिहाल्छौं । एग्रीगेटरको अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ ? हामीले ग्लोबल्ली हेर्ने हो भने बढी बेचिने पोलिसी भनेको टर्म पोलिसी नै हो । नेपालमा पनि विस्तारै टर्म पोलिसी नै बढी जान थालेको छ । भारतमा जुनबेला एग्रीगेटर कम्पनीको अवधारणा आइसकेको थिएन, त्यतिबेला इन्डोमेन्ट होल पोलिसीहरू नै बढी बिक्री हुने गर्थे । भारत टेकफ्रेण्डली भए पनि कुल व्यवसायको १ प्रतिशत पनि बीमा पोलिसी बिक्री हुँदैन । कुल व्यवसायको ०.५ को रेसियोमा पोलिसी बजारले लिएको छ । भारतमा सन् २००५ देखि नै एग्रीगेटरको अभ्यास छ । भारतमा सन् २०१३ मा त एग्रीगेटरले कानुनी रूपमै मान्यता पायो । हाम्रो बल्ल बन्दैछ । हामी भारतभन्दा १२ वर्ष पछाडि नै छौं । नेपाल भारतलगायत दक्षिण एसियाली देशहरूमा अहिले पनि पूर्ण रूपमा पोलिसी अनलाइनबाटै लिन सक्ने व्यवस्था भइसकेको छैन । विस्तारै त्यो हुँदैछ । नेपालमा पनि पूर्ण रूपमा अनलाइन गर्न सकेको छैन । किनभने सबै प्रक्रिया पूरा गरे पनि अन्तिममा साइन गर्न र ल्याप्चे लगाउन भएपनि भौतिक उपस्थित हुनैपर्छ । हामीले त्यसलाई अलि सहज बनाउन दैनिन ईएमआईलाई फोकस गर्याैं । जुन संसारमा कसैले अभ्यास गरेको छैन । दैनिक ईएमईमा भनेको के हो, कसरी जोडिने ? हामीले एकैचोटी ठूलो रकममा बीमा प्रिमियम तिर्ने बोझलाई कम गर्नको लागि र निम्न वर्ग, साना व्यवसायीहरूलाई पनि बीमाको दायरमा ल्याउनको लागि दैनिक ईएमआईको सुरुवात गरेका हौं । अहिलेसम्म हामीले तीन/चार हजार पोलिसी बिक्री गरिसकेका छौं । हामीले गत असारबाट मात्रै यसलाई बजारमा ल्याएका हौं । दैनिक ईएमआई गर्दा आजको दिनमा जसरी सरेण्डर बढ्दै गएको छ त्यसलाई न्यूनीकरण गर्नमा ठूलो भूमिका खेल्छ । किनभने पहिलो काम हामीले एक लाख पाउने पोलिसीलाई २५ देखि ३० हजारमा लिन सक्ने बनाएका छौं । त्यसैले एक लाख रुपैयाँ तिर्न तयार हुनेले २५/३० हजार आरामले तिर्न सक्छन् । सानो चटपटे बेच्ने व्यवसायीदेखि साग बेच्ने दिदीबहिनी यसमा जोडिन सक्नुहुन्छ । ईएमआईमा एकमुष्ठ रकम तिर्नुपर्ने झन्झट छैन । जसले गर्दा बीमितलाई पैसा तिरेको जस्तो अनुभूति पनि हुँदैन । अर्कोतिर सुरक्षा पनि भइरहेको हुन्छ । दैनिक ईएमईमा भएको काराणले गर्दा त्यो क्लाइन्टसँग कुनै न कुनै माध्यमबाट टचमा भइरहेको हुन्छ, एकैचोटि प्रिमियम तिर्ने बेलामा मात्रै होइन । यो तरिकाले काम गरिरहेको छौं । दैनिक ईएमआईमा जोडिसकेपछि दैनिक पैसा जम्मा गर्नुपर्छ, के प्रिमियम पनि दैनिक नै जम्मा गर्न मिल्ने हो र ? हामीले बीमितलाई दैनिक ईएमआईमा पैसा जम्मा गराउन लगाए पनि प्रिमियम भने वार्षिक नै तिर्ने हो । त्यसमा हामीले एउटा प्याटर्न बनाएका छौं । त्यसको लागि हामीले ग्राहकको ९० देखि १२० दिनको क्यासफ्लो हेछौं । त्यसैको आधारमा कर्जास्वरूप हामी आफैले नै बीमितको प्रिमियम तिर्छौं । किनभने ९० देखि १२० दिनमा ग्राहकले जम्मा गर्नुभएको रकम प्रिमियम तिर्नको लागि पर्याप्त हुँदैन । यसले गर्दा ग्राहकलाई पूरा पैसा जम्मा नगरीकनै पोलिसी आफ्नो हातमा आउँछ । ३५ वर्षको उमेर पुगेका बीमितले २० वर्षको पोलिसी लिनुभयो, जसको २५ लाखको जीवन बीमा र पाँच लाखको मेडिकल बीमा हुन्छ । त्यसमा ईएमआईमा दैनिक २९० रुपैयाँ जम्मा गरे पुग्छ । त्योभन्दा बढी उमेरको छ भने अलि बढी तिर्नुपर्ने हुन्छ । यो पहिलो वर्षको लागि हो । दोस्रो वर्षदेखि दैनिक १७५ रुपैयाँ जम्मा गरे हुन्छ । एग्रीगेटरका प्रमुख चुनौती के के हुन्, कसरी समाधान गरेर अघि बढ्दै हुनुहुन्छ ? जतिबेला हामी बीमा उद्योगमा केही नयाँ गर्नुपर्छ भनेर एग्रीगेटरको अवधारणा लिएर लिएर काम गर्दै थियौं । त्यतिबेला सुरुमा हामीलाई योजना पत्ता लगाउन नै समय लाग्यो । दोस्रो, बीमा क्षेत्रप्रति मान्छेको हेर्ने दृष्टिकोण नै गलत छ । उहाँहरू मरेपछि पैसा के काम भनेर तर्क गर्नुहुन्छ । हामी अलि पृथक, आकर्षक तरिकाले विभिन्न क्याम्पेएनहरू गरिरहेका हुन्छौं, बीमा कम्पनीका अभिकर्ता साथीहरू गलत तरिकाले परिभाषित गरिदिनुहुन्छ । जसले हामीलाई दुःख लाग्छ । कम्तीमा यही क्षेत्रकै मान्छेले सकारात्मक सोच्नुपर्छ लाग्छ । मैले आजसम्म जति पनि बीमा अभिकर्ता साथीहरू भेटेको छु, उहाँहरू रिर्टनको बेसमा पोलिसी बिक्री गर्न खोज्नुहन्छ । आफ्नै चिनजानको गरौं न भनेर गइरहनुभएको हुन्छ । त्यस्तो मानसिकताले गराएको बीमा पोलिसी कसरी दीर्घकालीन हुन सक्छ ? त्यही कारण नै हो अहिले सरेण्डरको दर उच्च रूपमा बढेको हो । हामीले सामना गर्नु परेको अर्को चुनौती बीमाले समयमै भुक्तानी दिँदैन, बीमा झन्झटिलो प्रक्रिया भन्ने विषयमा छ । यसलाई हामीले विस्तारै चिर्दै अघि बढेका छौं । बाधा, अड्चन धेरै नै छन् । बीमा अभिकर्ता र एग्रीकेटरमा फरक के छ ? नेपालको बीमा बजार यो तहसम्म आइपुग्नुमा बीमा अभिकर्ताको ठूलो हात छ । बीमा अभिकर्ताले जुन काम गर्ने हो हामीले पनि गर्ने त्यही नै हो । तर हामीले गर्ने कामको तरिका फरक छ । धेरैजसो बीमा अभिकर्ताले चिनजानकै मान्छेलाई बीमा गराइरहेका हुन्छन्, जुन हामी गर्दैनौं । हामी विभिन्न क्याम्पेनहरू गर्छौं, मार्केटमा नयाँ मान्छेहरुसँग प्रत्यक्ष रूपमै भेट्छौं । हामी दैनिक ईएमआईमा ग्राहकलाई जोड्छौं, जसले दैनिक थोरै थोरै पैसा जम्मा गर्दै जानुहुन्छ, यसले गर्दा एकैपटक प्रिमियम तिर्ने बेलामा मात्रै नभएर बीमितसँग हामी विभिन्न माध्यमबाट लिंकमा भइरहन्छौं । पोलिसी बेच्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई दीर्घकालीन रूपमा लैजान सक्नु ठूलो कुरा हो । पोलिसी बेचिसकेपछि पनि ग्राहकलाई आवश्यक सेवा दिनु जरुरी हुन्छ । त्यसलाई ध्यानमा राखेर काम गछौं । आगामी योजना के के छन् ? कसरी अघि बढ्ने सोचमा हुनुहुन्छ ? हामीले अहिलेसम्म वेब पोर्टल लञ्च गरेका छैनौं । साउनमा लञ्च गर्ने तयारी गरेका छौं । पोर्टलबार्ट पोलिसी दिन मिल्ने सिस्टम हामीले बनाउँदैछौं । त्यस्तै प्याकेज पनि हामी सिस्टममै राख्छौं । त्यस्तै पार्टनर प्रोगाम लञ्च गर्दैछौं । जुन अभिकर्ता मोडल जस्तै हुन्छ । अर्को विभिन्न अर्गनाइजेसनहरूसँग सहकार्य गरेर जाने सोच बनाएका छौं । आगामी दिनमा जसरी अहिले बीमा बजारले नदेखिएको समूह छ, त्यो समूहलाई प्राथमिकतामा राखेर बीमामा ल्याउने योजना छ । त्यसअनुरूप काम गरिरहेका छौं । आजको दिनसम्म जति गरेका छौं, त्यो पर्याप्त होइन । अब चाहिँ पूरा तयारीका साथ हामीले जुन अवधारणासहित कम्पनी सुरु गर्याैं त्यसलाई अन्तिम रूप दिनेछौं । बजारमा हामी आक्रामक तरिकाले जाने तयारी गरिरहेका छौं । हामी दैनिक ईएमआईमा पनि भएको हुँदा त्यसलाई अझ प्रभावकारी र सहज होस् भन्ने हिसाबले पेमेन्ट गेटवसँग पनि साझेभदारी गरेका छौं । एग्रीगेटर किन आवश्यक ? हरेक कुराको एउटा समय हुन्छ । परिवर्तन हुनु जरुरी छ । नेपालमा फिनटेक इन्डष्ट्री आउनुअघि डिजिटलाइजसेन थिएन । सबै म्यानुअल थियो जुन एकदमै झन्झटिलो । तर जब ईसेवालगायत डिजिटल पेमेन्ट गेटवेको सुरुवात भयो । त्यसले बजारमा ठूलो प्रभाव पार्यो । दैनिक कामकाज एकदमै सहज बन्दै गयो । अहिले त हरेक कुरा डिजिटल्ली नै हुन्छ । आज क्यास बोक्ने बानी नै हराएर गएको छ । बीमा क्षेत्र पनि त्यही हो । परिवर्तन जरुरी छ । हिजोको दिनमा हाम्रा बीमा अभिकर्ताहरूले जसरी काम गर्नुहुन्थ्यो अब त्यसरी हुँदैन । हामी जस्तो अर्गनाइजेसनले जुन तरिकाले क्याम्पेएन गर्दैछौं, भोलिका दिनमा हामीलाई हेरेर जो कोही अभिकर्ताले प्याकेज सिस्टममा पोलिसी बेच्न थाल्नुभयो भने त्यो उद्योगको लागि सकारात्मक प्रभाव हो भने हाम्रो लागि सफलता हो । यो अभियान हो, व्यवसाय मात्रै होइन । जसले गर्दा बीमाप्रति मान्छेले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । हाम्रो काम व्यवसाय ल्याउने मात्रै होइन, त्यसमा हाम्रो फोकस छैन । हामी जसरी हुन्छ ग्राहकलाई बीमाबारे बुझाउने र बुझेर मात्रै बीमा गराउने भन्नेमा छौँ । आजको दिनमा बीमाको परिभाषा बीमा किन्ने चिज होइन, बेच्ने चीज भनेर परिभाषित गरेको छ । हामी केही समयपछि बीमा बेच्ने चीज होइन, किन्ने चीज भनेर जनताको मानसिकता विकास गराउने कुरामा लागिपरेका छौं ।