सिद्धार्थ प्रिमियरले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषलाई गर्‍यो ५१ लाख सहयोग

काठमाडौं । सिद्धार्थ प्रिमियरले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बाढी-पहिरोले क्षति भएका जनसमुदायलाई सहयोग गर्न कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा आर्थिक सहयोग स्वरुप ५१ लाख प्रदान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । समारोहमा इन्स्योरेन्सका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

युनाइटेड अजोडका सीईओ श्रवण रावलको निधन, दिनभर काममा, साँझ हृदयघात

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । बुधबार दिनभर कार्यालयको जिम्मेवारी समालेका रावललाई गए राति हृदयघात भएको थियो । स्रोतका अनुसार बुधबार साँझ सोल्टी होटलमा आयोजित एक कार्यक्रममा रावल सहभागी भएका थिए । उक्त कार्यक्रमबाट उनी राति १० बजेपछि घर फर्किएका थिए । अचानक बिरामी परेपछि परिवारले उनलाई नागरिक अस्पताल लगेका थिए । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनको निधन भएको जानकारी दिएका थिए । ६० वर्षीय रावलको श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा अस्ट्रेलियामा रहेको र उनी फर्किएपछि मात्र अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले बतायो । उनको शवलाई पशुपति क्षेत्रको चिस्यान केन्द्रमा राखिएको छ । रावल ढेड वर्षदेखि यूनाइटेड अजोड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । त्यसअघि उनी प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए । नेको, सगरमाथालगायत बीमा कम्पनीहरूमा उनले करिब ३ दशक काम गरेका थिए ।

मेटलाइफ नेपालका बीमितलाई विलम्ब शुल्कमा शत प्रतिशत छुट

काठमाडौं । मेटलाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाबबिना जीवनको सुरक्षा जारी राख्ने अवसर प्रदान गरेकाे छ । ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियानमार्फत मेटलाइफले पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरूको लागि विलम्ब शुल्कमा १०० प्रतिशत छुट र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतित बीमालेखहरूको लागि ६० प्रतिशत छुट प्रदान गर्नेछ । यस पहलले आर्थिक कठिनाइहरूको सामना गरेका बीमालेख धारकहरूलाई उनीहरूको बीमा सुरक्षा पुर्नस्थापित गर्न र उनीहरूको भविष्यको सुरक्षा गर्न सुविधा दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ । मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने,  ‘यो अभियानले हाम्रा ग्राहकहरूलाई अप्रत्याशित जोखिम र चुनौतीहरूबाट जोगाउन मद्दत गर्नेछ । हामी सबै बीमालेख धारकहरूलाई यस अवसरको फाइदा उठाउन र मेटलाइफसँग आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न प्रोत्साहन गर्छौं ।’