अभिकर्ताले जबरजस्ती ५० लाखको बीमा गराएपछि…
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको धनगढी शाखाकी अभिकर्ता ममता चन्द (नाम परिवर्तित)ले ७ वर्षअघि आफन्त पर्ने केशब चन्द (नाम परिवर्तित) लाई बीमा गर्न आग्रह गरिन् । तर, केशबले आफूसँग पैसा नभएकाले बीमा गर्दिनँ भन्ने जवाफ ममतालाई दिए । बीमा गरेपछि विभिन्न सुविधा सम्पन्न देशमा भ्रमणको अवसर हुने प्रलोभन ममताले देखाइन् । केशबले अझैं पनि मानेनन् । तर, अभिकर्ता ममताले केशबलाई बीमा गर्न पटक-पटक आग्रह गरिन् । उनले यतिसम्मको प्रस्ताव गरिन् कि पहिलो किस्ता तिर्नको लागि पैसा नभए आफूले ऋण दिने बताइन् । त्यसपछि केशबले आफ्नो सवारी लाइसेन्सको फोटोकपी र बीमा पोलिसीमा हस्ताक्षर गरे । अभिकर्ता ममताले आफूखुसी केशब चन्दको नाममा ५० लाख रुपैयाँ बराबरको बीमा पोलिसी जारी गरिन् । प्रत्येक वर्ष ३ लाख ५० हजार रुपैयाँ किस्ता तिर्नु पर्ने गरी अभिकर्ता ममताले पहिलो किस्ता पनि आफैंले भुक्तानी गरिन् । केशबको बीमा गरेको अहिले ७ वर्ष भइसकेको छ । तर, उनले अहिलेसम्म एक किस्ता पनि प्रिमियम शुल्क तिरेका छैनन् । पहिलो पटक तिनै अभिकर्ता ममताले तिरेकी थिइन् । ७ वर्षको अवधिमा अभिकर्ता ममताले केशबलाई बीमा गराएबापत कुनै प्रमाण पनि दिइनन् । तर, ७ वर्षपछि अहिले फोन गरेर आफूले पहिलो किस्ता पैसा तिरिदिएको भन्दै ममताले केशब चन्दबाट ब्याजसहितको रकम माग्न थालिन् । ‘७ वर्षअघि अभिकर्ताले अहिले फर्म भर्छु, जतिबेला पैसा हुन्छ, त्यतिबेला दिनुहोला भन्नुभयो । मैले आफ्नो कागजात दिएँ । तर, अभिकर्ताले मेरो अनुमति नलिई तीन लाख ५० हजार किस्ता तिर्ने गरी ५० लाखको बीमा गराइन्,’ केशब चन्दले नेपाल बीमा प्राधिकरणमा गुनासो गर्दै भने, ‘यो बीचमा अभिकर्ताले मलाई कुनै कागजात दिनु भएन । सम्पर्क पनि गर्नु भएन । ६/७ वर्षपछि धम्की दिन थाल्नु भयो । प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिहरूले समेत धम्क्याउन थाले ।’ आफूले नचाहेरै अभिकर्ताले आफ्नो बीमा गरिदिएको उनको गुनासो छ । ‘यदि अभिकर्ताले बीमा गराएको भए उतिबेला नै कागजातहरू दिएको भए विश्वस्त हुने थिएँ,’ प्रहरी हुँ भन्दै गाली गर्ने र धम्की दिएका अनुभव सुनाउँदै उनले भने, ‘प्रहरी हुँ भन्दै धेरै जनाले फोन गरेर धम्क्याउनु हुन्छ, जेल हालिदिन्छु भन्नुहुन्छ ।’ व्यक्तिको इच्छा विपरित अभिकर्ताले बीमा गर्न नपाउने नेपाल बीमा प्राधिकरणको भनाइ छ । साथै, प्रहरी हुँ भन्दै फोन गरेर धम्क्याउने विरुद्ध भने प्रहरी कार्यालयनमा गएर मुद्दा दर्ता गराउनुपर्ने प्राधिकरणको सुझाव छ । अभिकर्ताले व्यक्तिको इच्छाविपरित जबरजस्ती बीमा गराउने अभिकर्ताविरुद्ध उजुरी दिन पनि सल्लाह दिएको छ । ‘बीमा क्षेत्रका कुनै पनि मुद्दा बीमा प्राधिकरणले हेर्छ । यदि अभिकर्ताले जबरजस्ती बीमा गराएको हो भने उजुरी दिनुहोस् । तर, कुनै अपरिचित व्यक्तिले फलानो हुँ भनेर भन्दै धम्क्याउँछ भने प्रहरी कार्यालयमा गएर मुद्दा दर्ता गर्नुपर्छ,’ प्राधिकरणले भन्यो । डीएसपीको गएको थियो जागिर बिना प्रमाण कुनै पनि प्रहरीले व्यक्तिलाई फोन गरेर धम्याउन पाइँदैन । गैरकानुनी मुलुकी अपराध संहिता २०७४ ले कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा धम्क्याउन नहुने व्यवस्था गरेको छ । त्यस्तो गरेको पाइएमा कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था पनि छ । कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउन नहुने व्यवस्था पनि गरेको छ । तर, केशबलाई ममताको पैसा फिर्ता गर्नका लागि प्रहरी हुँ भन्दै धम्क्याउने गरेको गुनासो प्राधिकरणमा गरेका छन् । बीमासँग सम्बन्धित एक घटनामा एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को जागिर पनि गएको छ । ललितपुरका एक जना व्यापारीलाई महानगरीय प्रहरी परिसर जावलाखेलका एक जना डीएसपीले बिना कारण थुनामा राखेपछि उनको जागिर गएको थियो । पाटनका स्थानीय एक व्यापारीबाट एक जनाले १ करोड रुपैयाँ असुल गर्नु पर्ने थियो । जावलाखेलका डिएसपीले २० लाख रुपैयाँ आफूलाई दिए १ करोड उठाउन सहयोग गर्छु भन्ने प्रतिवद्धता ती व्यक्तिलाई गरे । त्यसपछि डीएसपीले ती व्यवसायीलाई रातभर थुनामा राखे । दोस्रो दिन ती व्यापारीले आफ्ना वकिल बोलाएर डीएसपीले बिना प्रमाण आफूलाई थुनामा राखेको भन्दै मुद्दा हाले । त्यसपछि ती डीएसपीको जागिर समेत गएको थियो । अहिलेको घटना पनि यस्तै भएको बीमा प्राधिकरणको भनाइ छ । प्राधिकरणले केशबलाई तत्काल प्रहरी कार्यालयमा गएर उजुरी गर्न सुझाव दिएका छन् । उनले जबरजस्ती बीमा गराउने अभिकर्ता र फोन गरेर धम्क्याउने विरुद्ध मुद्दा दर्ता गर्न पनि सुझाव दिएको छ ।
आर्थिक संकुचन काबु बाहिर रहेकाले नियन्त्रण गर्नु सबैको दायित्व हो
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्, राजकुमार अर्याल । २ दशकदेखि बीमा क्षेत्रमा आवद्ध अर्याल बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणका पूर्व कर्मचारी समेत हुन् । अर्याल २०६३ सालदेखि २०७४ सालसम्म बीमा प्राधिकरणको कानुन विभाग प्रमुख भएर काम गरेका थिए । साथै, काठमाडौं स्कुल अफ लमा सहायक प्राध्यापक र एपेक्स कलेजमा आंशिक प्राध्यापकका रूमा काम गरेका थिए । सीईओ अर्यालसँग वर्तमान बीमा, व्यसाय, कम्पनीको पुँजी वृद्धिको योजना र आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् । बीमा कम्पनीहरू बलिया हुँदा खोज तथा अनुसन्धानमा काम गर्छन । नयाँ-नयाँ बीमा पोलिसी ल्याउँछन् । बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्ज वा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिसँगै तपाईको कम्पनीले यसतर्फ के-के काम गरिरहेको छ ? एक स्थितिमा निर्धारित पूँजी अर्को स्थितीमा असमायिक हुन्छ । बीमा क्षेत्रको व्यावसायीक इतिहाससँगै नियामकीय पुँजी राख्नुपर्ने अवधारण विकसित भएको हो । हाम्रो सन्दर्भमा पनि प्रारम्भबाटै न्यूनतम पुँजी कायम गरेर मात्र बीमा व्यवसाय गर्न पाइने व्यवस्था थियो । र, नियामकले समयानुकुल हुने गरी पुँजी वृद्धि गरेको पाईन्छ । यसैक्रममा हालको पुँजी कायम भएको हो । पुँजीगत आधार ठूलो हुँदा कुनै पनि संस्थाको स्तरीकरण गर्न सकिन्छ र विश्वसनीयतामा अभिवृद्धी हुन्छ । बीमा प्राधिकरणले तोकेको समयमा यस कम्पनी चुक्ता पुँजी पुर्याउनेछ । पुँजीगत आधार बढ्दा उत्पन्न हुने संस्थागत जोखिम सँगसँगै सरोकारवालाहरूबाट लिने अपेक्षालाई सन्तुलन कायम गरिरहेका छौं । अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्याे । यो संकटबाट माथि उठ्न त्यस कम्पनीले कस्ता किसिमका नविनतम अभ्यास गरिरहेको छ ? जीवन बीमा अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र भएकाले स्वभाविक रूपमा अर्थतन्त्रमा पर्ने असरबाट यो व्यवसाय प्रभावित हुन्छ । यद्यपी जीवन बीमा व्यवसायको आफ्नै विशेषता हुने हुँदा आरोहअवरोह कसरी व्यवस्थित गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । कुनै समस्या कम्पनीको नियन्त्रण अन्तर्गत रहेमा कम्पनीको विषय हुने र काबु बाहिर रहेमा नियामकीय नीतिबाट नियन्त्रण गर्न सकिने हुँदा सबै पक्षको सरोकारको विषय हो । बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक-पटक सुनिन्छ । किन, बीमा कम्पनीहरू आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ? आर्थिक संकुचनको स्थितीलाई आँकलन गर्दा कसले के भन्छन भन्ने भन्दा पनि विषयगत कुरा के हो भनेर हेर्नुपर्ने हुन्छ । समग्र अर्थिक क्रियाकलापको सूचक आधार वित्तीय क्षेत्र हो । बैंक, बीमा र पूँजी बजारका सूचकाङ्कहरूले समग्र स्थिती दर्शाउछ । कुनैपनि क्षेत्रको सुचकाङ्करू औसतभन्दा तल रहँदा जीवन बीमा क्षेत्र श्रृजनात्मक हुँदैन । वित्तीय क्षेत्र एक आपसमा अन्तरनिहित हुन्छ । कुनै-कुनै बेला एक क्षेत्रमा आकषर्ण नहुँदा अर्को क्षेत्रमा जाने त भइरन्छ । तर, छुट्टै हुदैनन् । वर्तमान समयमा बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ? सकारात्मक रूपमा लिनुपर्दा आशावादी रहनुपर्छ । जुनसुकै व्यवसायमा आरोहअवरोह हुँदा पनि त्यहाँ अवसर हुन सक्छन् । अवसर र चुनौती एक साथ रहन्छ भन्ने लाग्छ । जुन किसिमको संकुचन र चुनौतीको कुरा गर्यौ, यो अवस्था पक्कै कठिन होला । यसलाई सामना गर्न सुविधाजनक स्थितीबाट माथी उठ्नुपर्छ । व्यवसायको हरेक पाटोमा सुधार गर्ने कुरा पहिलो अवसर हो । यस्तै किसिमको अवस्थामा अन्य मुलुकले के गरिरहेको छ र कसरी भइरहेको छ भनेर हेर्दा समग्र व्यवसाय प्रणलीमा सुधार गर्न सक्ने अवसर उत्पन्न हुन सक्छ । वर्तमान समयमा बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ? बीमा व्यवसाय संचालन गर्दा के गर्ने, के नगर्ने भन्ने विषय स्पष्ट छन् । कसरी गर्ने भन्ने सम्बन्धमा मौजुदा अवस्थामा व्यवसाय नै गर्न सकिँदैन कि भन्ने खालका समस्या छन् । अथवा सर्वसाधारणको तर्फबा हेर्दा जुनसुकै क्षेत्रमा निराशा व्याप्त छ । यो मनोवैज्ञानिक विषय हो । यसका अतिरिक्त जसरी पनि सुधारात्मक प्रक्रियामा जानुपर्छ । आवश्यक तयारी, दक्ष जनशक्तिको समस्या नै मुख्य समस्या हो । बीमा कम्पनीहरूको संरक्षण र प्रवद्र्धनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ? बीमा व्यवसाय व्यवस्थित, नियमित, विकसित र नियन्त्रित गर्ने उद्देश्यले नियामक निकाय स्थापन भएको हो । अपेक्षित कामहरू भइरहेका छन् । प्राधिकरणकार् नियामकीय भूमिका पनि सुविधाजनक स्थितीभन्दा मथिल्लो स्तरको हन्छ भन्ने अपेक्षा छ ।
निर्देशक लालसहित तीन जनाले पाए बीमा प्राधिकरणबाट अवकाश
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तीन जना कर्मचारीले अवकाश पाएका छन् । निर्देशक दिनेश कुमार लालसहित तीन जना कर्मचारीले आज (जेठ ३२ गते) बाट अवकाश पाएका प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निर्देशक लालसहित उपनिर्देशक कुशुम शर्मा र सहायक निर्देशक सुनिता कार्कीले अवकाश पाएका हुन् । लाल र कार्की प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यरत थिए भने शर्मा बिरगन्ज शाखा प्रमुख थिए । तीनै जनाले ३० वर्षे सेवा अवधि पुरा गरी प्राधिकरणबाट अवकाश पाएका हुन् । केही दिनअघि कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि अवकाश पाएका थिए । उनले ७ वर्षे कार्यकाल पुरा गरी कार्यकारी निर्देशक पदबाट प्राधिकरणबाट अवकाश पाएका थिए ।