जनतालाई आइएमईको मालिक बनाउने प्रण
आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रूपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरू खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या भर्खरै बढ्न सुरु गरेको थियो । जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पुर्याउन झेलिरहेका समस्याहरू देखेका हामीहरुले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो । नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना–कुनाका जो कोहीको पहिलो रोजाइ बन्न पुगेको छ । त्यतिमात्र होइन आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ । पैसा पठाउने भनेको आइएमइ गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ । हाम्रा लागि योभन्दा अर्को खुसीको कुरा अर्को के होला ? हामीले आइएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन । डलर कारोबारको अनुमति सहज थिएन । सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रूपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन सुरु गर्यो । निःस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा हामीलाई सुरुवातका केही वर्षमै आइएमईले पुष्टि गरिसकेको थियो । मैले यसअघि पनि भन्ने गरेको छु कि हामीले व्यवसाय सुरु गर्ने मुख्य ३ वटा सुत्र छन् । पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो आम जनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो जुन आर्थिक रूपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ । त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्दछ । यही विश्वास र यही सुत्रले आज हामीलाई अहिलेको अवस्थामा पुर्याएको छ भन्ने हामीलाई लाग्दछ । हाम्रो यो आत्मविश्वासमा हामीलाई माया र सद्भाव दर्शाउनुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूको विश्वासको निकै ठूलो महत्व छ । एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको छ । यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ । आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरू, केबुलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरू सक्रिय छन् । आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रूपमा आइएमईको योगदान अवश्य धेरै नै छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि हाम्रा बैंक तथा वित्तीय संस्थाको रहेको छ । हामीले आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौँ । अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ । हामीलाई यहाँसम्म पुग्न निरन्तररूपमा यहाँहरूको साथ सहयोग रह्यो । यसका लागि हामी यहाँहरू सबैप्रति कृतज्ञ छौँ । निजी क्षेत्रलाई रेमिट्यान्स व्यवसायमा सहजीकरण, गाइडेन्स, सहयोग र अनुमति प्रदान गर्न सहयोग गर्ने नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर दीपेन्द्र पुरुष ढकाल, डा. तिलक रावल, विजयनाथ भट्टराई, कृष्णबहादुर मानन्धर, डा. युवराज खतिवडा, दीपेन्द्र बहादुर क्षेत्री, डा. चिरञ्जिवी नेपाल, वर्तमान सञ्चालक रवीन्द्र पाण्डेलगायत धेरै व्यक्तिहरूलाई म स्मरण गर्न चाहन्छु । तत्कालीन समयमा रेमिट्यान्स कम्पनी स्थापनाको कुरा अगाडि बढाउन यहाँहरूको भूमिका महत्वपूर्ण रह्यो । त्यसैगरी, थाइल्यान्डका लागि तत्कालीन नेपाली राजदूत जनक बहादुर सिंह, पूर्वराजदूत दीपक धिताल, तत्कालीन डीसीएम नारायण मैनाली, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय सबैको सकारात्मक सहयोग रहेको छ । त्यसैगरी, मलेशियाको केन्द्रीय बैंक, बैंक निगारा र त्यसका गभर्नर डा. जेटी र उहाँको टिमलाई विशेष धन्यवाद दिन चाहन्छु । हामी नेपाल राष्ट्र बैंकका साथै मलेशियाको केन्द्रीय बैंकमा पनि यसरी रेमिट्यान्स कारोबारको अनुमति पाउने पहिलो संस्था थियौँ । अझ, मलेशियाको केन्द्रीय बैंकले त हामीलाई अनुमति दिएसँगै ५ वर्षसम्म कुनै पनि रेमिट कम्पनीलाई अनुमति दिएको थिएन । हामीलाई सुरुवाती दिनमा सहयोग गर्ने मलेशियाका एस सी भ्याटबिलोलाई विशेष सम्झन चाहन्छु । साथै, मेरो भाइ हेमराज ढकाल, भाइहरू अर्जुन र खिलेन्द्र, अंकलहरू दिवाकर र रुद्र, तत्कालीन समयमा उच्च व्यवस्थापनमा रहेर काम गर्नुभएका चन्द्र टण्डन, सुमन पोखरेल, दामोदर खनाल, प्रशन्न बास्कोटा, अहिलेको उच्च व्यवस्थापन लगायत सम्पूर्ण कर्मचारी साथीहरूमा हार्दिक आभार व्यक्त गर्दछु । अहिले आइएमईसँग जोडिएका २० हजार बढी कर्मचारीहरू हुनुहन्छ । लाखौँ सेवाग्राही हुनुहुन्छ । हामीले आइएमईलाई चाडै नै पब्लिकमा लैजाँदैछौ । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरूको पूर्ण पालना गर्दै हामी अगाडि बढ्ने गरेका छौँ । अझ भन्नुपर्दा हामी त्यस्तो नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ । राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउदा होस् वा बिग मर्जरको नीति ल्याउदा होस् । यी नीतिहरूको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ । यस हिसाबले भन्दा हामी कार्यान्वयनकर्ता नै हौँ । त्यसको फलस्वरूप विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूको संगमसहित नेपालकै सबै भन्दा ठूलो वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक बनेको छ । अहिले राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । त्यस नीतिको पनि हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ । हामीले रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आज दुईवटा रेमिट कम्पनीबीच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ हुँदैछ । हामीलाई विश्वास छ आगामि दिनमा हाम्रो सेवा थप सहज र सुरक्षित बनाउँदै जानेछ । यसै अवसरमा आज म नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियामक निकाय, ग्राहकवर्ग तथा अन्य सरोकारवालाहरूलाई यहाँहरूको निरन्तर सहयोगका लागि धन्यवाद पनि व्यक्त गर्न चाहन्छु । खासगरी नेपाल राष्ट्र बैंकका गभर्नरज्यू, डेपुटी गभर्नरज्यूहरू, कार्यकारी निर्देशकज्यूहरू र निर्देशकज्यूहरूलगायत सम्पूर्ण टिमप्रति आभारी छौँ । यहाँहरूको निरन्तरको सहयोगले आज हामी अहिलेको अवस्थासम्म आइपुगेका छौँ । रेमिट्यान्सको आकार बढेको छ । डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ । यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको महसुस हामीले गरेका छौं । यसमा नेपाल राष्ट्र बैंकलले पनि पक्कै केही गर्नेछ । साथै, आजकै दिनदेखि मैले यस आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट बिदा लिने पनि जानकारी गराउन चाहन्छु । यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै बाहिरबाट पनि यस संस्थालाई आवश्यक पर्ने सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछु । (आएमई र जीएम रेमिटको एकीकृत कारोबारमा अध्यक्ष ढकालले राखेको विचारको सम्पादित अंश)
आधुनिक आमाहरू यस कारण मान्दैनन् स्तनपान गराउन
बच्चा जन्मिँदा हरेक आमाले बच्चालाई दूध चुसाउँछन्, यो नियमित प्रक्रिया हो । वर्षौंदेखि चलिआएको चलन अहिले विस्तारै हराउँदै गएको छ । भ्रामक सूचना र व्यस्त जीवनशैलीलगायत विभिन्न कारण महिलाहरू बच्चालाई जन्म दिएर दूध चुसाउन छोड्न थालेका छन् । यसो गर्नु आमा र बच्चा दुवैका लागि राम्रो होइन । स्तनपानको कुरामा नेपालको स्वास्थ्यमा ठ्याक्कै उल्टो देखिन थालेको छ । जहाँ स्वास्थ्यको सहज पहुँच छैन, बिरामी परेका बेला अस्पताल जानसक्ने अवस्था छैन त्यहाँका महिलाले बच्चालाई दूध चुसाइरहेको पाइन्छ भने जहाँका महिला शिक्षित छन्, अस्पताल नजिक छन् उनीहरूले बच्चालाई जन्म दिएर दूध नचुसाउने गरेको पाइन्छ । स्वास्थ्यका सूचांककमा हेर्ने हो भने नेपाल प्रगति गर्दै गएको छ । तर, स्तनपान गर्ने रेट भने नेपालमा घट्दै गएको छ । आजभन्दा १० वर्ष पहिले ७० प्रतिशतमा रहेको स्तनपान गराउने दर अहिले ५५ प्रतिशतमा झरेको छ । यसलाई हामीले सकारात्मक रूपमा लिन मिल्दैन । स्तनपान आमा र बच्चा दुवैका लागि फाइदा जनक छ । तर, अझ भन्नुपर्दा बच्चाका लागि आमाको दूध अमृत समान हुन्छ र आमाको दूध बच्चाको पहिलो खोप पनि हो । जन्मेदेखि ६ महिनासम्म लगातार आमाको दूध खान पाएका बालबालिका हृष्टपुष्ट हुन्छन् । सुरुमा आउने बिगौते दूधमा धेरै किसिमको एन्टिबोडिज हुन्छ । जसले बच्चाहरूलाई लाग्न सक्ने पखाला निमोनिया हुने सम्भावना कम हुन्छ । यति मात्र होइन धेरै किसिमको रोग लाग्नबाट समेत बचाउँछ भने रोगबाट लड्न क्षमता पनि बढाउँछ । जसले दुध खान पाउँदैन त्यस्तो बच्चालाई विभिन्न किसिमका रोग पनि लाग्न सक्छन् । आमाको दूधमा बच्चालाई चाहिने पोषण हुन्छ । कुनै बच्चा समय अगावै जन्मेको हुन्छ भने कुनै समय पछि जन्मेको हुन्छ । हरेक बच्चालाई चाहिने पोषण फरक-फरक हुन्छ । आमाको भन्दा बाहेक अन्य गाईभैंसीको दूधमा बच्चालाई चाहिने किसिमको पोषण हुँदैन । जसले गर्दा बच्चालाई असर गर्छ । आमालाई पनि फाइदै फाइदा बच्चा जन्मिसकेपछि दूध चुसाउँदा बच्चालाई जस्तै फाइदा आमालाई पनि हुन्छ । बच्चा जन्मनेबित्तिकै नियमितरूपमा दूध चुसाउने आमामा बच्चा जन्माइसकेपछि हुने ब्लिडिङ कम हुन्छ भने सुत्केरी भइसकेपछि साल नआउने समस्या पनि हुन्छ । बच्चा जन्माउनेबित्तिकै दुध चुसाउँदा साल निस्किनमा मद्दत गर्छ । ६ महिनासम्म बच्चालाई दूध चुसाइराख्ने आमालाई परिवार नियजोनमा पनि सहयोग पुग्छ । यस्तै, स्तन क्यान्सर, ओभरीको क्यान्सर हुने सम्भावना पनि कम हुन्छ । मुटरोग, कोलिस्टाेर लगायतका रोग लाग्ने सम्भावना पनि कम हुन्छ भन्ने अध्ययनले देखाएको छ । यस्तै, नियमित बच्चालाई दूध चुसाउने आमाको शरीर पहिलेको अवस्थामा आउन पनि यसले मद्दत गर्छ । स्तनपान गराउँदा बच्चा र आमालाई मात्र फाइदा नभइ सोसाइटीलाई पनि फाइदा छ । यतिमात्र नभइ आर्थिकरूपमा पनि यसको फाइदा छ । आर्थिकरूपमा फाइदा दूध नचुसाउने आमाहरूले बच्चालाई दूधको सट्टा बजारमा पाइने बट्टाको दुध अथवा अन्य खाने कुरा खुवाउँदा आर्थिक बोझ पनि थपिन्छ । बाहिर बजारमा पाइने खानेकुरा बच्चालाई खुवाउँदा रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । एकातिर आमाले आफ्नाे दूध नखाुवाउँदा र बाहिरको दूध किन्नुपर्दा आर्थिकरूपमा पनि भार भयो भने अर्काेतिर बाहिरको खानेकुरा खुवाउँदा बिरामी भई औषधी उपचार गर्नुपर्ने भार झन थपिन्छ । तर, आमाले आफ्नै दूध नियमित खुवाउने हो भने यस्तो रोग पनि लाग्दैन र विभिन्न फाइदा पनि हुन्छ । हामीले स्तनपानमा एक रुपैयाँ लगानी गर्यौँ भने ३० देखि ४० प्रतिशत बढी यसले फाइदा दिन्छ पनि भनिन्छ । स्तनपान भनेको कम लगानीमा धेरै फाइदा हुने चिज हो । तर, नेपालमा यसो हुन सकेको छैन स्तनपान गराउने संख्या घट्दै नेपालमा ५५ प्रतिशत महिलाले मात्र जन्मेको एक घण्टामा बच्चालाई दूध चुसाउँछन् । आजभन्दा करिब १० वर्ष पहिले ७० प्रतिशत महिला बच्चा जन्मेको एक घण्टा भित्र दूध चुसाएको पाइन्थ्यो । यस्तै ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउने रेट ५६ प्रतिशत छ । सन् २०११ को डाटामा ७० प्रतिशत थियो भने अहिले घटेको छ । पहिलेभन्दा बढ्नुपर्ने ठाउँमा अहिले झन घटिरहेको छ । तर, २ वर्षसम्म आमाको दुध खुवाउनुपर्छ भन्नेमा भने अहिले पनि ९४ प्रतिशत छन् । तथ्यांक हेर्दा के देखियो भने सुरुवातमा आमाको दूध खुवाउनुमा कमी देखियो । सुरुमा आमाले बच्चालाई दूध चुसाउन गाह्रो हुन्छ । त्यसमा फेरि पहिलो बच्चा हो भने त्यस्तो आमालाई झन गाह्रो हुन्छ । यसका लागि बच्चा पेटमा भइसकेपछि कहाँ चेकजाँच गराउने, कतिपटक गराउने भनेर जसरी जानकारी दिइन्छ त्यसैगरी बच्चालाई दूध अनिवार्य खुवाउनुपर्छ, यो यो तरिकाले दुध खुवाउन सकिन्छ भन्ने कुरा पनि सिकाउनुपर्ने आवश्यकता छ । स्तनपानबारे महिलालाई अगाडि नै मानसिकरूपमा तयार गर्नुपर्छ । यसो गर्दा उनीहरूलाई पहिले नै थाहा हुन्छ । अस्पतालमा पनि बच्चा बच्चा जन्मनेबित्तिकै दूध चुसाउन सल्लाह दिनुपर्छ । थापाथली अस्पतालले यो प्रयास गरिरहेको छ । अप्रेसन गरेका महिलालाई भने अलि समस्या हुन्छ । यस्तो बेला त्यस्ता महिलाहरूलाई सहयोग गर्ने सहयोगी पनि हुनुपर्छ । अर्को कुरा अस्पतालमा सुत्केरी भएका महिलाहरूलाई अस्पतालबाट घर जानुअघि नै दूध चुसाउन सिकाउनु स्वास्थ्यकर्मीको अनिवार्य काम हो । सुदूरपश्चिम र कर्णाली प्रदेश अगाडि सहर बजारभन्दा ग्रामिण क्षेत्रका महिलाहरू बच्चालाई बढी दुध चुसाउँछन् । एक तथ्याकंअनुसार कर्णाली र सदूरपश्चिम प्रदेशमा सुत्केरी भइसकेपछि ६ महिनासम्म बच्चालाई नियमित दूध चुसाउने दर बढी छ । बागमती, लुम्बिनीभन्दा विकट ठाउँमा दूध चुसाउने दर बढी छ । यसमा पनि कारण पक्कै होला । हुन सक्छ त्यहाँ बच्चालाई खुवाउन मिल्ने बजारको जस्तो अप्सन नभएर अथवा बच्चा जन्मेपछि दूध चुसाउनुपर्छ भन्ने परम्परागत धारणा पनि हुनसक्छ । जेसुकै भए पनि सहर बजारभन्दा ग्रामीण क्षेत्रमा दूध चुसाउने दर बढी छ । आयका हिसाबले हेर्ने हो भने न्यून आयकाभन्दा उच्च आय भएका र अशिक्षितभन्दा शिक्षित आमाहरूले बच्चालाई दूध कम चुसाउने गरेको पाइएको छ । कसैको दूध आउनै गाह्रो बच्चा जन्माइसकेका सबै आमाकाे पहिले नै दूध आउँदैन । हाम्रोमा पहिलो पटक दूध आएन भने दूध चुसाउनै छाड्ने चलन छ । तर, त्यसो गर्नु हुँदैन । नर्मल बच्चा जन्माएका आमालाई दूध चुसाउन धेरै समस्या हुँदैन । तर, अप्रेसन गरेर बच्चा जन्माएका आमालाई भने बच्चा जन्माउनेबित्तिकै दूध चुसाउन पनि गाह्रो हुन्छ । अर्को कुरा कतिपय महिलाहरूमा दूध नआउने गरेको पाइन्छ । यसो हुनु भनेको दूध चुसाउँदा आमा र बच्चाको अवस्था नमिलेको हुन सक्छ । दूध चुसाउने तरिका नजान्दा पनि धेरै महिलामा दूध नआउने समस्या देखिन्छ । तर, हामीले प्रयास गर्दै गयौं भने फेरि दूध आउन थाल्छ । कुन पोजिसनमा राख्दा बच्चालाई दूध चुसाउन सजिलो हुन्छ भन्ने केही तरिका छन् । त्यो नमिल्दा पनि चुसाउन नसकेको हो । पहिलो बच्चा जन्माउँदा कतिपय महिलालाई दूध चुसाउन गाह्रो हुन्छ । बच्चालाई दिनमा वा घण्टामा यति पटक मात्र चुसाउनुपर्छ भन्दा पनि बच्चाले मागेअनुसार मात्र चुसाउनुपर्छ । हामीले एकैपटक धेरै भने खुवाउनु हुँदैन । स्थानीय तहको भूमिका नेपालमा यो समस्या सबैलाई जग जाहेरै छ । यसको समाधानका लागि आमा एक्लैको प्रयास मात्रले हुँदैन । परिवार, समाज, सरकार र मिडिया सबैको उत्तिकै भूमिका हुन्छ । यसमा सबैभन्दा पहिले आमाले बुझ्नुपर्ने हुन्छ । त्यसपछि अस्पतालमा आएपछि स्वास्थ्यकर्मीले सहयोग गर्नुपर्याे । अर्को कुरा यसमा सबैभन्दा बढी भूमिक स्थानीय सरकारको हुनुपर्छ । उसले यसका लागि सचेतनामूलक कार्यक्रम मात्र गर्ने हो भने धेरै सहयोग हुन्छ । विश्वका कतिपय देशमा ब्रेस्ट फिडिङ सपोर्ट ग्रुप छन् । उनीहरूले भोलेन्टियर राखेका हुन्छन् । कसैलाई दूध चुसाउन गाह्रो पर्छ भने उनीहरूले त्यहाँ फोन गर्छन् र भोलेन्टियरले सहयोग गर्छन् । त्यसमा अस्पतालबाट रिटायर्ड स्वास्थ्यकर्मी हुन्छन् । महिलाको कुनै समस्या आयो भने सकेसम्म फोनमै सल्लाह दिइन्छ । समस्या जटिल रहेछ भने घरमै पुगेर पनि सहयोग गरिन्छ । हाम्रो अहिलेको स्थानीय सरकारले पनि यस्तो ग्रुप बनाउन सक्छ । यसले समस्या भएका महिलालाई सहयोग पुग्छ । साथै, बच्चा र आमालाई भएको कुनै समस्या छ भने पनि पहिचान हुन्छ । हरेक ठाउँमा स्थानीय समूहले सहयोग समूह बनाउन सक्यो भने यसले सहज हुन्छ । अहिले पनि धेरै ठाउँमा बच्चालाई दूध खुवाउने क्रममा विभिन्न मान्यताहरू हाबी भएका छन् । कुनै ठाउँ बिगौते दुध बच्चालाई खुवाउनु हुन्न भन्ने छ भने कुनै ठाउँमा दूध चुसाउँदा शारीरको बनावट बिग्रने भन्ने गलत सोच छ । यस्तै कारण अहिले पनि स्तनपानसम्बन्धी सही सूचना नागरिकहरूले पाउन सकिरहेका छैनन् । (वरिष्ठ परामर्शदाता तथा बाल रोग विशेषज्ञ डा.शैलेन्द्रवीर कर्मचार्यसँग गरिएकाे कुराकानी )
सफल संस्था र खुसी कर्मचारी
कुनै पनि संस्था चाहे त्यो व्यावसायिक होस् वा गैर व्यावसायिक, सञ्चालन तथा व्यवस्थापनको लागि मानव संसाधनको संलग्नता अपरिहार्य रहेको हुन्छ । संस्थामा अन्य श्रोत र साधनहरु पर्याप्त मात्रामा रहेता पनि त्यसको अधिकतम् उपयोग तबमात्र सम्भव हुन्छ जब त्यस संस्थामा मानव संसाधनको प्रभावकारी रुपमा व्यवस्थापन गरिएको हुन्छ । प्रभावकारी मानव संसाधन व्यवस्थापन तब मात्र कल्पना गर्न सकिन्छ जब ‘दि राइट पर्सन प्लेस एट दि राइट पोजिसन’ हुन्छ । संस्थाको लक्ष्य प्राप्तिका लागि कर्मचारीहरुले संस्था सञ्चालन गर्ने दायित्व, जिम्मेवारी, कार्य तथा कामको आधारमा फरक–फरक तर महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । मानव संसाधन व्यवस्थापन (एचआरएम) संस्थाको मानव पूँजीलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने एक प्रक्रिया हो । यसले मानव संशाधन (कर्मचारीहरु) को भर्र्ना, प्रशिक्षण, विकास, मूल्यांकन, पुरस्कृत तथा दण्ड सजाय लगायतका क्रियाकलापहरु मार्फत समग्रमा संस्थाको उद्देश्य प्राप्तिमा योगदान गर्दै कार्यरत कर्मचारीहरुको कल्याण सुनिश्चित गर्ने कार्यहरुलाई समावेश गर्दछ । कुशल एवं सफल एचआरएमको उद्देश्य कर्मचारीहरुले उच्च स्तरको कार्यसम्पादन प्रदर्शन गर्ने, संस्थाका लक्ष्यहरु सजिलै प्राप्ति गर्ने, प्रतिस्पर्धीहरुको बिचमा संस्थालाई अग्रस्थानमा ल्याउने तथा कर्मचारीहरुको सन्तुष्टि र संस्था प्रतिको लगाव उच्च स्तरको बनाउने रहेको हुन्छ । अत: संस्थाको उद्देश्य प्राप्तिको लागि एचआरएमले देहाय बमोजिमका कार्यहरु कुशलतापूर्वक सम्पादन गर्नु पर्ने हुन्छ । मानव संसाधन (कर्मचारी) व्यवस्थापनका कार्यहरु : क) कर्मचारी योजना : संस्थाले तय गरेका उद्देश्य, व्यावसायिक योजना, नीति, बजेट तथा कार्यक्रमका आधारहरुमा निर्धारण गरिएका अल्पकालीन तथा दीर्घकालीन लक्ष्यहरु प्राप्तिका लागि गर्नुपर्ने कार्यहरुको विवरण सहित आवश्यक पर्ने जनशक्तिको बिश्लेषण तथा मूल्यांकन गरी कर्मचारी आवश्यकताको योजना तयार गर्नु पर्दछ । संस्थामा प्रभावकारी कर्मचारी योजना तयार गरी बढ्दो प्रतिस्पर्धात्मक वातावरणमा योग्य कर्मचारीबाट सही समयमा सही ठाउँबाट सेवा प्रदान गर्न तयार अवस्थामा रहनु पर्दछ । ख) दक्ष कर्मचारीको भर्ना छनोट प्रक्रिया : संस्थाको कर्मचारी योजना अनुसार आवश्यक कर्मचारी भर्ना छनौटका प्रक्रियाहरु अपनाउनु पर्ने हुन्छ । जसको लागी संस्थामा एक पदपूर्ति समितिको गठन गरी सोही समितिबाट कर्मचारी छनौटका कार्यहरु सम्पादन गरि नियुक्तिका लागि कार्यालय प्रमुख/आख्तियार प्राप्त पदाधिकारी समक्ष सिफारिस गर्नुपर्ने हुन्छ । संस्थाले योग्य र दक्ष उम्मेदवारहरुलाई आकर्षित गर्न तथा भर्ना/छनोटलाई प्रभावकारी एवं पारदर्शी बनाउन पदपूर्ती कार्यविधि तयार गरी सोही अनुरुप विज्ञापन गर्ने, आवेदन संकलन गर्ने, परीक्षा, अन्तर्वार्ता लिने, परीक्षण गर्ने, नियुक्तका लागि सिफारिस तथा नियुक्ति गर्ने गर्नु पर्दछ । ग) कर्मचारीको प्रशिक्षण, वृद्धि विकासका कार्यक्रम : संस्थाले नियुक्त कर्मचारीहरुबाट उत्कृष्ट नतिजाको अपेक्षा गरेको हुन्छ । कार्यरत कर्मचारीहरुको ज्ञान सीप र क्षमता विकासका लागि संस्थाले कार्यस्थल वा कार्यस्थल भन्दा बाहिर विभिन्न प्रशिक्षण कार्यक्रम, तालिम तथा गोष्ठी हरुमा सहभागी गराई चुस्त दुरुस्त रुपमा कर्मचारी राख्नु पर्ने हुन्छ । वृत्ति विकासका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तिगत तथा व्यावसायिक क्षमता विकासमा तथा नेतृत्व विकास गर्ने गराउने गर्नु पर्दछ । घ) कार्यसम्पादनको आधारमा पुरस्कार तथा सुधारात्मक कदमको व्यवस्था : संस्थामा कार्यरत कर्मचारीको कार्यसम्पादन उच्च स्तरको राख्नका लागि संस्थाले त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा कार्य सम्पादन मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्छ । कार्यसम्पादन मुल्यांकनका आधारमा कर्मचारीलाई आवश्यक पृष्ठपोषण गर्ने, पुरस्कृत गर्ने दण्ड सजाय, पदोन्नती (बढुवा) लगायतका कार्यहरु नियमित रुपमा गर्नुपर्छ । त्यसैगरी कर्मचारीको कार्य सम्पादन मुल्याँकनको आधारमा आवश्यक सुधारात्मक कदमहरु समेत चाल्नु पर्दछ । संस्था सदैव कर्मचारीहरुको उच्च मनोवलका साथ उच्च स्तरको कार्यसम्पादन गर्न अभिप्रेरित गर्न सक्नु पर्दछ । ङ) कर्मचारी लाभ तथा प्रोत्साहनका कार्यक्रमहरु : संस्थाले कार्यरत कर्मचारीहरुको आर्थिक कल्याण सुनिश्चितका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने हुन्छ । यसका लागि संस्थामा कर्मचारी सेवा सुविधा समितिको गठन गर्नु पर्ने हुन्छ । संस्थाले सकेसम्म श्रम ऐन तथा विनियमावलीमा तोकिएका न्यूनतम् व्यवस्था भन्दा माथि रहेर कर्मचारीहरुको सेवा सुविधा निर्धारण गर्न सक्नु पर्दछ । संस्थाले कर्मचारीहरुलाई प्रतिस्प्रधात्मक तलब (पारिश्रमिक) प्रोत्साहनमुलक भत्ताहरु, बिमा, औषधी उपचार खर्च, अवकास पछि पाउने उपदान रकम लगायत बिभिन्न वित्तीय तथा गैर वित्तीय लाभका प्याकेजहरुको माध्यमबाट कर्मचारीहरुलाई सन्तुष्ट बनाउन र उनीहरुको संस्था प्रतिको निष्ठा उच्च राख्न निरन्तर प्रयासरत रहनु पर्दछ । च) सकारात्मक सोच तथा सम्बन्धको विकास : संस्थामा कार्यरत कर्मचारीहरुलाई संगठनात्मक संरचनाका आधारमा बिभिन्न पद तथा श्रेणीमा बिभाजन गरिएको हुन्छ । संस्थाको उद्देश्य तथा लक्ष्य प्राप्तिका लागि माथिल्लो पदका कर्मचारीहोस वा तत्लो तहका कर्मचारीहरु सबैंको बराबर तथा महत्वपूर्ण योगदान रहेको हुन्छ । संस्थामा हुने पदिय श्रृखला बिचमा सुमधुर सम्बन्ध कायम गर्न बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना गर्ने, खुल्ला संचारको बातावरण सृजना गर्ने, गुनासो सुनुवाई गर्ने, बिबाद समाधान गर्ने, कर्मचारी सन्तुष्टि तथा खुसीकाे सर्वेक्षण तथा मापन गर्ने, कर्मचारीहरुसँग हरेक क्रियाकलापमा सहकार्य गर्ने लगायतका कार्यहरु गर्दा संस्था भित्र सकरात्मक कार्य बातावरणको सृजना हुने भएको सो तर्फ संस्थाको कर्मचारी व्यवस्थापन हरतहले प्रयत्नशील रहनु पर्ने हुन्छ । संस्थाले तोकिएको समयावधि भित्र निर्धारित लक्ष्य प्राप्त गरेको छ भने त्यस्तो संस्था नै सफल संस्था हो । संस्था सफल हुनको लागि आवश्यक विभिन्न स्रोतहरु मध्ये मानव स्रोतको महत्वपूर्व भुमिका रहेको हुन्छ । त्यसैले भन्ने गरिन्छ “संस्था सफल हुनु भने कै कर्मचारी सफल हुनु हो” । अर्थात कर्मचारी र संस्थाको सफलता एक अर्काका पर्यायवाची हुन् । तसर्थ संस्थाको सफलताको वाहकका रुपमा रहेका कर्मचारीहरुको कुशल व्यवस्थापन गर्न संस्थाका सञ्चालक तथा उच्च तहका कर्मचारीहरु प्रयन्नशिल रहनु पर्दछ । जसका लागि संस्थाले कर्मचारीहरुमा गर्ने खर्चलाई केवल खर्चको रुपमामात्र नलिई एउटा दीर्घकालिन लगानीको रुपमा लिन सक्नु पर्दछ । आज कर्मचारीहरुको बृद्धी विकास तथा व्यवस्थापनमा भएको सानो कमीकमजोरी भोलिका लागि ठूलो समस्या नहोस । तसर्थ संस्था सञ्चालनका लागि अवश्यक र्निजीव संयन्त्रलाई सजीव बनाई उपलब्धी हासिल गराउने मानव संसाधनको कुशल, पारदर्शी, नीति नियमसँगत रुपमा संस्थागत हितलाई ध्यान दिएर गरौं हाम्रालाई होईन राम्रालाई भर्ना छनौट तथा वृद्धी विकासमा अवसर दिऔं, संस्थागत लक्ष्य हासिल गरौं न की आफ्नो व्यक्तिगत लक्ष्य । (लेखक बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत छन् ।)