कर्जा तिर्ने म्याद फेरी थपियो, असारसम्म कर्जा नियमित हुने ऋणिलाई चैत मसान्तसम्म मौका
काठमाडौं, ३० पुस । गत असार मसान्तसम्ममा कर्जाको व्याज र सावा किस्ता नियमित भएका ऋणिले यहि पुस मसान्तमा कर्जा नतिर्दा पनि छुट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुस ३० गते बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै गत असार मसान्तसम्म कर्जाको व्याज र सावा किस्ता नियमित तिर्दै आएका ऋणिलाई व्याज र सावा किस्ता तिर्न थप तीन महिना समय थप्न निर्देशन दिएको छ । त्यस्ता ऋणिले चैत मसान्तसम्ममा कर्जाको व्याज तथा सावाको किस्ता तिरेमा उनीहरुलाई कुनै पनि हर्जना, जरिवाना, थप शुल्क नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । गत असोज मसान्त र यस पुस मसान्तमा कर्जाको व्याज, सावा किस्ता नतिरे पनि असार मसान्तसम्म नियमति भएका कर्जालाई चैत मसान्तसम्म असल कर्जामा राख्न र त्यसका लागि थप प्रोभिजन नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले पुस मसान्तसम्म पाकेको व्याज माग मसान्तसम्म ऋणिले भुक्तानी दिएमा पुस मसान्तसम्मको आम्दानीमा राख्न पाउने सुविधा पनि राष्ट्र बैंकले दिएको छ । त्यस्तै, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र उर्जा लगायत क्षेत्रका ऋणिले कर्जा पुर्नरतालिकीकरण गर्न वा पुनरसंरचना गर्न कार्ययोजनासहित लिखित माग गरेमा एक वर्षको लागि पुनरसंरचना गरिदिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै, एकिकृत निर्देशन २०७२ अनुसार सुस्म निगारानीमा राखिएका कर्जाको २०७३ असार मसान्तसम्म ४ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेमा २ प्रतिशत मात्र गर्न पाइने भएको छ ।
एक्लो गभर्नरले सफलतापूर्वक कति दिन चलाउन सक्लान केन्द्रीय बैंकलाई ?
काठमाडौं, ३० पुस । गत ८ पुसमा नेपाल राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरले अवकास पाए । दुबै गभर्नरले अवकास पाउने दिन आफू अन्तरगतको विभागका टेलिफोनै गरेर कुनै फाइल भए ल्याउन कार्यकारी निर्देशकहरुलाई भनेका थिए । नेपाल राष्ट्र बैंकमा १६ विभाग छन् । यी विभाग अन्तरगको विषय हेर्नको लागि दुबै डेपुटी गभर्नरलाई जिम्मेवारी तोकिने गरिएको छ । आफू मातहतका विभाग अन्तरगतको फाइल डेपुटी गभर्नरले हेरेर राय सुझाव सहित निर्णय गर्न मिल्ने भए आफैले निर्णय गर्ने र आफूभन्दा माथिल्लो निकाय गभर्नरकोमा या संचालक समितिमा पेश गर्नुपर्ने भए गभर्नर मार्फत पेश गर्ने प्रचलन छ । डेपुटी गभर्नर रिक्त भएको एक महिना पुग्न लागेको छ । यसविचमा २ सयजति बैंक वित्तीय संस्थाको बार्षिक साधारणसभाको स्वीकृति दिनुपर्ने समय छ । यस्तै बैंक वित्तीय संस्थाको पूजी बृद्धिको योजनाको कारण मर्जर र एक्विजिसनका प्रश्ताव अति धेरै पर्न थालेका छन् । सवै फाइलको अध्ययन गर्नुपर्ने हुन्छ । यस्तै चालु आर्थिक बर्षको अवस्था निकै भिन्न छ । गत १२ बैशाखको भूकम्प पछि देशको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको थियो । त्यसमा पनि साउनको चौथो सातादेखिको तराइ मधेशको आन्दोलन र असोज पहिलो सातादेखिको भारतको अघोषित नाकाबन्दीले नेपाली अर्थतन्त्रमा निकै ठूलो भूकम्प ल्याइदिएको छ । सवै प्रतिकूलतामा राष्ट्रिय अर्थतन्त्रले केन्द्रीय बैंकको सहयोगी भूमिकाको अपेक्षा गरेको छ । राष्ट्र बैंकले सकारात्मक प्रयासहरु पनि गरेको छ । गत १२ बैशाखको भूकम्पको कारण उद्योग ब्यवसायमा नकारात्मक प्रभाव परेको भन्दै बैंक तथा वित्तीय संस्थाको कर्जाको किस्ता तिर्ने समय असोज मसान्तसम्म सारिएको थियो । असोज पहिलो सातादेखि नै अवस्था झन प्रतिकूल बन्यो । राष्ट्र बैंकले कर्जाको किस्ता तिर्ने समय पुस मसान्तसम्म सारेको छ । यो म्याद आजवाट सकिदैछ । बैंकको नजरले हेर्ने हो भने किस्ताको म्याद अब बढाउनु हुदैहुन्नथ्यो । बैंकले पैसा पाउन छोडेको झण्डै बर्ष दिन पुग्न लागि सकेको छ । आफ्नो खर्च भने भइरहेको छ । घरभाडा तिर्नै परेको छ । कर्मचारीलाई तलब दिनै परेको छ । निक्षेपकर्तालाई ब्याज दिनु परेकै छ । यस्तो अवस्थामा किस्ता रोकिनु हुदैनथ्यो । भयो पनि त्यस्तै । तर उद्योगी ब्यवसायीको नजरले हेर्ने हो भने असोज मसान्तमा तिर्न नसक्ने ऋणीले अहिले किस्ता कसरी तिर्न सक्छन् भन्ने प्रश्न आउछ । आन्दोलन र नाकाबन्दी जारी छ । उद्योग प्रतिष्ठान खुल्न सकेका छैनन् । सरकारले दिने भनेको राहत र पुनरुत्थानको सहयोग अझै प्राप्त भएको छैन । यसैकारण असोज मसान्तमा भन्दा अहिले यस्तो सुधार भयो भनेर भन्ने आधार सरकारी अधिकारीसँग छैन । यस्तो जटिल अवस्थामा दुबै डेपुटी गभर्नर नभएको केन्द्रीय बैंकले समयमै र उचित निर्णय गर्न समस्या पर्न सक्छ । तर सरकार र केन्द्रीय बैंकको नेतृत्वविच डेपुटी गभर्नर नियुक्तिको विषयमा सहमति हुन नसक्दा पद रिक्त छ । यसरी लामो सयमसम्म केन्द्रीय बैंकको डेपुटी गभर्नर जस्तो महत्वपूर्ण पद रिक्त राख्नु अर्थतन्त्रको लागि अर्काे जोखिम हुन सक्छ । महत्वपूर्ण नीति निर्माण गर्नुपर्ने गभर्नर दैनिक प्रशासनिक काममा अल्मलिनु पर्ने अवस्था धेरै दिन रहन दिनु हुदैन ।
यसकारण पाएन प्रभु र ग्राण्डले मर्जरको अन्तिम स्वीकृति
काठमाडौं, २८ पुस । नेपाल राष्ट्र बैंक संचालक समिति बैठकले नभ्याएको भन्दै प्रभु र ग्राण्ड बैंकको मर्जरको अन्तिम स्वीकृति दिएन । सोमवारको संचालक समिति बैठकमा दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिन प्रस्ताव भएपनि समय नपुगेकोले अर्काे बैठकमा निर्णय गर्ने भन्दै स्वीकृति नदिइएको हो । ‘सोमवारको बैठकमा प्रभु र ग्राण्ड बैंकको मर्जरको अन्तिम स्वीकृति दिने प्रस्ताव पनि थियो, तर समय कम भएको भन्दै संचालकहरु उठेपछि अर्काे बैठकमा निर्णय गरिने सहमति भएको छ,’ राष्ट्र बैंकका एक संचालकले भने । सुरुमा प्रभु बैंकले ग्राण्ड बैंक खरिद गर्ने प्रस्ताव राष्ट्र बैंक समक्ष गरेको थियो । तर राष्ट्र बैंकले खरिद गर्न नदिए दुबै बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार दुबै बैंकले साधारणसभा गरी मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । सोमवारको संचालक समिति बैठकले माछापुच्छ«े बैंक र जनता बैंकलाई मर्जरको स्वीकृति दिएको छ । राष्ट्र बैंकको आगामी संचालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेमा केहि साता भित्रनै संयुक्त कारोवार सुरु गरिने प्रभु बैंकले जानकारी दिएको छ । मर्जर पछि बैंकको नाम प्रभु बैंक नै राखिने सहमति भइसकेको छ ।