हुन्डाईको इलेक्ट्रिक सवारीमा प्रि-बजेट अफर : बीमा, कर छुट र नगद सहुलियत
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हुन्डाईका तीन मोडेलका इलेक्ट्रिक सवारीहरूमा आकर्षक प्रि-बजेट अफर सार्वजनिक गरेको छ । यो अफर जेठ ५ देखि १४ गतेसम्म सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ । उक्त अफरअन्तर्गत ग्राहकहरूले नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओनिक ५ र क्रेटा ईभी खरिद गर्दा निशुल्क बीमा, सडक कर छुट र नगद छुटको लाभ पाउने छन् । कम्पनीले यो अफर नेपाली उपभोक्तामाझ इलेक्ट्रिक सवारीको पहुँच विस्तार गर्ने लक्ष्यसहित ल्याएको हो । तीनवटै मोडेलमा दिइने छुटले यी अत्याधुनिक गाडीहरूलाई अझ किफायती बनाउने कम्पनीको दाबी छ । लक्ष्मी हुन्डाईले देशभर डसी र एसी चार्जरयुक्त ६६ सक्रिय स्टेशनसहितको री-लार्ज चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ । कम्पनीले सेवा, स्पेयर पार्ट्स र बिक्रीपछिको सहयोग पनि सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले इच्छुक ग्राहकहरूलाई नजिकको हुन्डाई शोरूममा सम्पर्क गरी अफरको फाइदा उठाउन आग्रह गरेको छ।
नाफामा सेरेस ग्रुप, गिगाफ्याक्ट्री स्वामित्वका लागि स्टक एक्सचेन्जको स्वीकृति
काठमाडौं । हुवावे टेक्नोलोजिजसँग सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको चिनियाँ कम्पनी सेरेस ग्रुप सन् २०२४ मा पुनः नाफामा फर्किएको छ । उत्कृष्ट सवारी बिक्रीसँगै कम्पनीले रणनीतिक गिगाफ्याक्ट्री अधिग्रहणका लागि स्टक एक्सचेन्जबाट स्वीकृति प्राप्त गरेको कम्पनीले जनाएको छ। कम्पनीले सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षको लागि ५.५ अर्बदेखि ६ अर्ब चिनियाँ युआन (अन्दाजी ७५६ मिलियनदेखि ८२५ मिलियन अमेरिकी डलर) बराबरको नाफा आर्जन हुने अनुमान गरेको छ । अघिल्लो वर्षको २.४५ अर्ब युआन घाटासँग तुलना गर्दा यो महत्वपूर्ण वित्तीय सुधार हो । सेरेसले यो सफलता हुवावे सँगको सहकार्यमा निर्माण गरिएको सेरेस आइटो ब्रान्डका न्यू इनर्जी भेहिकलको तीव्र बिक्री वृद्धिलाई श्रेय दिएको छ । कम्पनीका अनुसार सन् २०२४ मा सवारी बिक्री ९७ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार युनिटमा पुगेको छ । यसमध्ये न्यू इनर्जी भेहिकलको बिक्री तीनगुणा वृद्धि भई ४ लाख २६ हजार ९०० युनिट पुगेको हो । साथै, लंगशेंग न्यू इनर्जी टेक्नोलोजी को अधिग्रहणका लागि ८.१७ अर्ब युआन (१.१२ बिलियन अमेरिकी डलर) बराबरको सेयर बिक्री योजनालाई शांघाई स्टक एक्सचेन्ज ले स्वीकृति दिइसकेको कम्पनीले जनाएको छ । उक्त कम्पनीको प्रमुख सम्पत्ति हो । गिगाफ्याक्ट्री, जसमा हाल सेरेसले आइटो सिरीजका सवारी उत्पादन गर्दै आएको छ । उक्त कारखाना अत्याधुनिक प्रविधियुक्त पूर्ण स्वचालित प्रणालीमा आधारित छ, जसमा ३ हजार भन्दा बढी रोबोटहरू समन्वयमा कार्यरत छन् । गिगाफ्याक्ट्रीको स्वामित्व सेरेसले प्राप्त गरेपछि कम्पनीको उत्पादन प्रक्रियामा स्थायित्व, गुणस्तर नियन्त्रण र प्राविधिक स्वायत्तता उल्लेखनीय रूपमा वृद्धि हुने बताइएको छ । अन्तिम स्वीकृति भने हाल चीनको सेक्युरिटिज रेगुलेटरी कमिसनबाट आउन बाँकी छ । यसबीच, सेरेस ग्रुपको सेयर मूल्य ५.१ प्रतिशतले घटे पनि पछिल्ला १२ महिनामा समग्र रूपमा झन्डै १७ प्रतिशतले वृद्धि भएको उल्लेखनीय तथ्य रहेको बताएको छ ।
ओमोडा एन्ड जेकोले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ नामसहित सीमित अवधिको लागि एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यो योजना आइतबारदेखि शनिबारसम्म (मे १५ देखि २४) ‘ओमोडा इ-फाइभ’ र ‘जेइको जे-सिक्स’ मोडलहरूमा लागू हुने एसपीजीले जनाएकाे छ । यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनुअघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ । ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ अन्तर्गत ग्राहकहरूले विभिन्न फाइदाहरू लिन सक्नेछन् जसमा नि:शुल्क १ वर्षको बीमा, एउटा नि:शुल्क ७ किलोवाटको चार्जर र ब्याट्रि र मोटरमा ८ वर्ष वा एक लाख ६० हजार किमीको वारेन्टी समावेश रहेको छ । ८० प्रतिशत फाइनान्सिङसहित मात्र ५५ लाख ९९ हजारबाट सुरु हुने गाडीहरूको डेलिभरी जेठ १७ तदनुसार मे ३१ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि पुरस्कारको व्यवस्था गरिएको छ । जसअनुसार गाडी डेलिभरि गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् । साथै दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो । एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड, नेपालमा ओमोडा एन्ड जेइकोको नेपालकोलागि आधिकारिक वितरक हो ।