सवारी चालक अनुमति पत्रको फाराम आइतबारदेखि अनलाइनबाटै भर्न सकिने
काठमाडौँ, ९ पुस । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने भएको छ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले राससलाई जानकारी दिए । “कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम हुन्छ”–उनले भने । यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ । रासस
साङयाङको नयाँ शोरुम उद्घाटन, क्रिशमस र नयाँ वर्षमा ५ लाख छुट अफर
काठमाडौं, ३ पुस । कोरियाली कार उत्पादक कम्पनी साङयाङको नयाँ शोरुम उद्घाटन भएको छ । नेपालका लागि कोरियाली राजदुत चो यांगले नक्सालस्थित नयाँ शोरुमको उद्घाटन गरेका हुन् । नेपालमा साङयाङ कारको आयात कर्ता आइएमएस मोटर्स प्रालीले नयाँ शोरुमको सुरुवात गरेको हो । शोरुमको उद्घाटनसँगै क्रिशमस र नयाँ बर्ष २०१७ को उपलक्ष्यमा साङयाङ कारको खरिदमा नगद ५ लाखसम्म छुट अफर पनि घोषणा गरिएको छ । यस्तो छुट अफर १८ डिसेम्बरदेखि ६ जनवरीसम्म लागु हुनेछ । शोरुम उद्घाटन गर्दै नेपालका लागि दक्षिण कोरियाका राजदुत चो यांग जिनले कोरियाली जनताले जस्तै नेपाली जनताले पनि साङसाङ कार चढेर सुरक्षा र आनन्द महशुस गर्न सक्ने दावी गरेका थिए । यसैगरी, आइएमएस मोटर्स्ले नेपालका मुख्य शहरहरुमा आफ्ना डिलरहरुको उपस्थिति बढाएर बजार विस्तार अभियानलाई तिब्र बनाउने बताए । साथै, निकट भविष्यमा कम्पनीले एक्स्क्लुसिभ साङयङ सर्भिस सेन्टरको सुरुवात गर्ने समेत घोषणा गरेको छ । आइएमएस मोटर्सका अध्यक्ष दिपक मलहोत्राले आक्रामक बजार विस्तार अभियान सञ्चालन गर्ने बताएका थिए । हाल नेपालमा साङयङका एक्सएलभी, कोराण्डो, रेक्सटन, एक्टियोन लगायतका लक्जरी एसयुभी कार उपलब्ध गराएको छ । साङयङका कारहरुमा अल्ट्रा हाई स्ट्रेन्थ, बुटस्पेश, डुअल अटोमेटिक एसी, ब्ल्युटुथ कनेक्टिभीटी लगायतका सुबिधा रहेका छन् । साङयङ मोटर कम्पनी दक्षिण एसियाको चौथो ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर पनि चिनिन्छ । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक-अप ट्रक, भ्यान, ट्रक तथा बसहरु निर्माण गर्दै आएको छ ।
काठमाडौंमा मेट्रो रेल सपनाः लगानी नहुँदा अधुरै
काठमाडौं ३, पुस । राजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन । सम्भाव्यता अध्ययन सकिएलगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्न प्रतिवेदन बुझाएको थियो । तर, मेट्रो रेल सञ्चालन गर्न चाहिने लगानी जुटाउन बोर्ड असफल भएको छ । रेल विभागले कोरियन कम्पनीको सहकार्यमा रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । बोर्डका कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले रेल सञ्चालनका लागि लगानी खोज्न नसकिएको स्वीकार गरे । ‘राजधानीमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन चार वर्षअघि नै सकिएको हो । त्यससम्बन्धी प्रतिवेदन बोर्डमा आएपछि लगानी खोज्नुपर्ने हो, तर सकिएन,’ उनले भने, ‘यस्तो किन भयो बुझ्न सकिएको छैन ।’ रेल सञ्चालन गर्न विभागले लगानी जुटाउन नसकेपछि सरकारले लगानी बोर्डलाई जिम्मा दिएको थियो । लगानी बोर्डले रेलवे मार्ग निर्माणको डिटेल प्रोजेक्ट रिपोर्ट ९डिपिआर० तयार गर्न मेट्रो नेपाल प्रालिलाई ठेक्का दिएको थियो । तर, सो ठेकेदार कम्पनीको कार्यविधि चित्त बुझ्दो नभएपछि बोर्डले प्रालिसँगको सबै सम्झौता रद्द गरेको थियो । बोर्डले प्रालिलाई मेट्रो रेल निर्माणको डिपिआर तयारीका लागि टिओआर बनाउन २ फागुन ०६९ मै दिने निर्णय गरेको थियो । प्रालिको टिओआर चित्त बुझ्दो भए रेल निर्माणका लागि टेन्डर आह्वान गर्ने योजनामा बोर्ड थियो । तर, प्रालिले दुई वर्षसम्म पनि चित्त बुझ्दो टिओआर बुझाउन नसकेको बोर्डको दाबी छ । नयाँ पत्रिका दैनिकबाट ।