लाइसेन्समा संघ र प्रदेशको आ–आफ्नै नियम
काठमाडौं । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीरकणको व्यवस्था छ । वाग्मती प्रदेश सरकारले बनाएको ऐनमा भने १०/१० वर्षमा नवीरकरण गर्ने व्यवस्था छ । यसैगरी विदेशमा बनाइएका ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपाली चालक अनुमतिपत्र दिइने व्यवस्था सङ्घीय ऐनमा छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा नेपालीकरणको व्यवस्था भए पनि प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयले सोझै अनुमतिपत्र दिन मानेका छैनन् । प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेपछि मात्रै अनुमतिपत्र दिन सकिने कार्यालयले जनाउँदै आएका छन् । चालक अनुमतिपत्र नेपालीकरण, परीक्षा प्रणाली र नवीकरण उदाहरण मात्रै हुन । नयाँ संविधान जारी भएपछि यातायात क्षेत्र खासगरी चालक अनुमतिपत्रमा सङ्घ र प्रदेशबीच कार्यक्षेत्रमा अन्यौलता देखिएको छ । सङ्घले एकाथरी निर्णय गर्दा वा सङ्घीय ऐनमा एकाथरीको व्यवस्था हुँदा प्रदेशले अर्कै किसिमको ऐन बनाएको छ । यातायात प्रदेश सरकारको एकल अधिकार जनाउँदै सङ्घीय सरकारको ऐन, कानून, निर्णय नमान्ने गरेको पाइएको छ । अनुमतिपत्रमा देखिएका समस्या प्रदेश सरकार आफैँ पनि समाधान नगर्ने र सङ्घीय सरकारको निर्णय पनि नमान्दा समस्या आइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । अहिले अनुमतिपत्र छपाइ र सफ्टवेयर बाहेक बाँकी सबै जिम्मेवारी प्रदेश सरकारको हो । सफ्टवेयरमा समस्या आउदा सुधारका लागि विभाग तयार रहेको उनले जानकारी दिए । उनले भने, ‘प्रदेश आफैँले निर्णय नगरेसम्म हामीले सच्याउन सक्दैनौँ ।’ सङ्घीय ऐनसँग प्रदेश ऐन बाँझिएकाले पनि पटकपटक समस्या आइरहेको छ । सङ्घीय सरकारले संविधानअनुसार ऐन बनाउन बाँकी छ भने कतिपय प्रदेशले ऐन बनाएर लागू गरिकसकेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विधेयक छलफलका क्रममा रहेको छ । प्रदेशले बनाएको कानून बाझिँदा कसरी कार्यान्वयन गर्ने भनी समस्या देखिन थालेको उनले बताए । प्रदेशले एकल अधिकारको सूचीमा भएकाले सङ्घीय कानूनको बेवास्ता गरेर ऐन बनाए पनि कार्यान्वयन सजिलो नभएको उनले जानकारी दिए । उनले भने, ‘यातायातका धेरै विषय अन्तर प्रदेश जोडिने भएकाले कार्यान्वयन सजिलो छैन ।’ कानूनकै विषयमा कतिपय अस्पष्टता रहेको र कतिपय विषय कार्यान्वयन सजिलो नभएको महानिर्देशक घिमिरेले बताए । प्रदेशभित्र चल्ने सवारीसाधनको भाडादर निर्धारणको जिम्मेवारी प्रदेश सरकारको हो भने अन्तर प्रदेश चल्ने सवारीसाधनमा भाडादर निर्धारणको जिम्मेवारी सङ्घीय सरकारको हो । कतिपय प्रदेशबीचको दूरी १५ मिनेट मात्रै भएको र प्रदेश प्रदेशबीच फरक–फरक भाडादर कायम हुँदा कार्यान्वयन अप्ठेरो हुनसक्ने उनले बताए । उनले भने, ‘नयाँ बन्ने सङ्घीय ऐनमा पनि यी कुरा समेट्न खाँचो छ ।’ लामो समयदेखि अनुमतिपत्र नेपालीकरण रोकिएकाले सेवाग्राही हैरान छन् । पहिले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले नेपालीकरण गर्दा कतिपय कागजात नक्कली भएकाले कर्मचारी कारवाहीमा परेका थिए । त्यसयता अरु यातायात कार्यालयले पनि नेपालीकरण गर्न मानेका छैनन् । गलत काम गर्ने व्यक्ति कारवाहीमा परेपनि ऐनमा भएको व्यवस्था नै कार्यान्वयन गर्दिन भन्न नमिल्ने महानिर्देशक घिमिरेले बताए । उनले भने, ‘दूतावासबाट सिफारिस ल्याउनु भन्न सकिएला तर कार्यान्वयन नै गर्दिन भन्न मिल्दैन ।’ सङ्घीयताको कार्यान्वयनसँगै यातायात क्षेत्रमा अधिकार क्षेत्रको विवाद देखिन थालेको हो । पहिले सङ्घीय सरकारअन्तर्गत रहेका कार्यालय प्रदेशअन्तर्गत हस्तान्तरण भए पनि कार्यान्वयनमा भने समस्या देखिएको छ । कानून निर्माणदेखि कार्यान्वनसम्ममा दुवै सरकारबीच समन्वय आवश्यक भए पनि आ–आफ्नो तरिकाले चल्दा यसका मारमा सेवाग्राही परिरहेका छन् । रासस
टिभिएस एनटर्किएनको सेलिब्रेसन राइड सम्पन्न
काठमाडौ । टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्किएनको सेलिब्रेसन राइड सम्पन्न भएको छ । ५० हजार एनटर्किएन बिक्रि भएको उपलक्ष्यमा कम्पनीले आयोजना गरेको राइड शनिबार सम्पन्न भएको हो । नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान,कौशलटार र भक्तपुरका टिभियसका शोरुमहरुका विव्रmेता द्वारा स्वागतको पनि आयोजना गरिएको थियो । भेन्युमा पुगे लगत्तै कलाकार रोजिलिन श्रेष्ठ सँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरुसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो । साेहीबीच एनटर्किएन क्लबको पनि गठन भएकाे छ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए । सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबै भन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ । टिभिएसका पाँच प्रकारहरु रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।
पुजा इन्टरनेशनले एक वर्षमा १ हजार टाइगुन बिकाउने, यस्तो छ मूल्य र विशेषता
काठमाडौं । जर्मन कार कम्पनी फक्सवागनले भारतमा उत्पादन गरेकाे नयाँ कम्प्याक्ट टाइगुन गाडी नेपाली बजारमा भित्र्याएको छ । नेपालको लागि फक्सवागनको आधिकारीक बिक्रेता पूजा इन्टरनेशनलले आइतबार नेपाली बजामा सो गाडी भित्र्याएको हो । केही समय अगाडि नै नेपाल ल्याउने तयारी भएको सो गाडी कोभिड–१९ का कारण आइतबार नेपाल ल्याइएको हो । फक्सवागन ग्रुपले भारतमा उत्पादन गरेको कारण नै फक्सवागनको सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा यो नेपाली बजारमा भित्र्याएको गरेको हो । कति छ मूल्य ? कम्पनीले तीन भेरियन्टमा नेपाल ल्याएको टाइगुनको न्यूनतम मूल्य ५० लाख ९० हजारदेखि ६९ लाख ९० हजारसम्म ताेकिएकाे छ । कम्पनीले सुरुवाती चरण (केही दिनका) का लागि मात्र सो मूल्यमा टाइगुन गाडी बिक्री हुने जनाएको छ । टाइगुन १.० लिटर टिएसआई इन्जिनमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले विभिन्न तीन भेरियन्टमा उपलब्ध गराएको छ । टाइगुन कम्फर्ट लाइन भेरियन्टको मूल्य ५० लाख ९० हजार, हाइलाइन अटोमेटीकको ६३ लाख ९० हजार र टप लाइन भेरियन्टको मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । गाडीमा डीआरएलएस इन्टिग्रेटेड एलईडी हेडल्याम्प र इलेक्ट्रोनिक्स सनप्रुफ रुफ छ । डुअल टोन इन्टेरियर्स रहेको गाडीमा स्पोर्टी रेड एम्बिएन्ट लाइटिङ, भेन्टिलेटेड सिट, ३८५ लिटरको बुट स्पेस रहेको जनाईएको छ । गाडीमा सुरक्षालाई विशेष जोड दिदै इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल (स्थिरता नियन्त्रण), गाडीमा ६ वटासम्म एयरब्याग, मल्टी कोलिसन ब्रेक, हिल होल्ड कन्ट्रोल, ३ पोइन्ट सिट बेल्ट, पार्क डिस्ट्यान्स कन्ट्रोल भ्यु क्यामेरा, टायर प्रेसर डिफ्लेसन वार्निङजस्ता विशेष फिचर रहेका छन् । फक्सवागन टाइगुनमा १ लिटर टर्बाेचार्ज्ड इन्जिनद्धारा सञ्चालित छ । जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । पुजा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले टाइगनमा ४० भन्दा बढी एक्टीभ र प्यासिभ सेफ्टी फिचर्स रहेको बताए । उनका अनुसार भारतमा निर्माण गरिएको सो गाडी भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजरगरी विशेष रूपमा टाइगुनको डिजाइन गरिएको हो । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्रहाककालागि उपयुक्त एसयुभी बन्ने कम्पनीको विश्वास छ । कम्पनीले पहिलो १०० ग्राहकलाई नि:शुल्क एसोसिरिज र नगद छुट दिएको छ । १ वर्षमा हजार टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । नेपाली बजारमा टाइगुनले विशेषत: स्कोडा कुशक, हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।