भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन

काठमाडाैं । भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेकाे छ । सात सदस्यीय एसोसिएसनको सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् भने सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् । भक्तपुरमा अटोमोबाइल्स सम्वन्धि काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको लागी एसोसिएसन गठन गरेको अध्यक्ष खर्वुजाले बताए । एसोसिएसनले भावी दिनहरुमा व्यवसायीहरुको हकहितका साथै सामाजिक कामहरु पनि गर्ने योजना रहेको उनले सुनाए । साथै व्यवसायीहरुको लागि शीपमूलक तालिम दिने योजना रहेको पनि उनले बताए । उपभोक्ता हाम्रा देवता हुन्, अध्यक्ष खर्वुजाले भने, त्यसकारण उनिहरु नठगिउन् भन्नेमा पनि हामी विशेष ध्यान दिनेछौं । अटोमोबाइल्ससँंग सम्बन्धित अटोमोबाइल्स शोरुम, अटोमोबाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोवाल्स पार्ट तथा लुब्रिकेन्टस् विक्रीवितरण, मर्मत तथा वर्क सप (अटोमोबाइल्स मर्मत तथा सम्भार)मा काम गर्ने व्यवसायीहरु एसोसिएटमा आवद्ध हुनसक्ने जनाइएको छ ।

नेपालमा होण्डाको नयाँ एमेज २०२१ सार्वजनिक

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी होण्डाको एमएमसि एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ । कम्पनीको अनुसार यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलइडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा रहेको एलइडी डिआरएलस्का साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्प निकै आकर्षक रहेको छ । नयाँ एमेज पेट्रोल र डिजल दुवै भेरियन्टका साथ ७ स्पिड सीभीटी गियर बक्समा उपलब्ध छ । यसका साथै यसमा डायमन्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोय व्हील, रियर मल्टिभ्‍यू क्यामेरा पनि रहेको छ । कम्पनीको अनुसार यस कारले सुरक्षाका लागि एनसीएपीबाट चार स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सी सेप्ड एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्यान्डल यसको विशेषता रहेको हो ।

नाडामा सबैलाई समेटेर अघि बढ्छुः करण चौधरी, अध्यक्षका उम्मेदवार

काठमाडौं । करण चौधरी सुजुकी ब्राण्डका सवारी साधनको विक्रीका लागि नेपालको आधिकारिक बिक्रेता तथा चौधरी समूहको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । नाडा अटो मोबाइल्स एसोसिएसनको आगामी कार्यकालका लागि चौधरीले अध्यक्ष पदमा प्यानल सहित उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनलाई टाटा, यामाहा, हिरो, होण्डा, महिन्द्रा, जीप, स्कोडा, पेउगोट लगायत ब्राण्डका आधिकारिक विक्रेताहरुको समर्थन छ । चौधरीले आफूलाई नाडाको हालका कार्यसमितिका ८० प्रतिशतभन्दा बढी सदस्यहरुको साथ रहेको घोषणा नै गरिसकेका छन् । उनै चौधरीसँग नाडा निर्वाचन लक्षित गरी विकासन्युजका लागि समुन्द्र घिमिरेले कुराकानी गरेकी छन् । नाडाको नयाँ नेतृत्वका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ, तपाईका एजेन्डाहरु के कस्ता छन् ? मैले विभिन्न चरणमा पनि भन्दै आएको छु, नाडाको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि पछि भनेको थिए । धेरै मान्छेले मलाई उम्मेद्वारी घोषणा गरेपछि सर्वसहमतिको बाटो बन्द गर्नुभयो भन्नुभएको थियो । मैले सबैलाई भन्दै आएको छु, मैले उम्मेद्वारी घोषणा गरेपछि सर्वसहमतिको बाटो बन्द गरेको छैन । २३ गते बिहानसम्म म सहमतिको पखाईमा नै छु । कसरी सकारात्मक भएर अगाडी बढ्ने भन्नेतर्फ मेरो ध्यान केन्द्रीत छ । मेरो एजेण्डाहरु यकदम सफा र स्पष्ट छन् । नाडाको नयाँ नेतृत्वको कार्यकाल २ वर्षको हो । मैलै दीर्घकालीन रुपमा सोचेर एजेण्डा ल्याउदा मैले सम्पूर्ण अटो व्यवसायीलाई आश्वासन मात्र दिएको हुन्छ । मेरो एजेण्डा भनेको नै अटो व्यवसायी र अटो मोबाइल्स व्यवसायीको हितमा काम गर्ने भन्ने हो । दुई वर्ष एकदम छोटो समय हो । मेरो पहिलो प्राथमिकता नै कोभिड–१९ बाट प्रभावित व्यवसायलाई व्यवस्थित गर्नु हो । कोभिडको लहर कम भैसक्यो भनिरहँदा विश्वका अधिकांश देशमा पुनः ओमिक्रोनको त्रास फैलिएको छ । व्यवसायका लागि कसरी हित गर्न सकिन्छ, मेरो पछिलो ध्यान यसमै रहन्छ । हामी उद्योगी व्यवसायीको मुख्य समस्या भनेको नीतिगत स्थीरता नहुनु हो । सरकारलाई भनेर अटो क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा कसरी ल्याउने, अहिले भन्सार प्रशासनले सन्दर्श मूल्य सूची सार्वजनिक गरेको छ, पार्टस् तथा लुव्रिकेन्ट क्षेत्रमा देखिएका समग्र समस्याको दीर्घकालीन समाधान खोज्नु मेरो एजेण्डा हो । म हाल नाडाको कार्यसमितिको उपाध्यक्ष हुँ । मैले समग्र युवाको जोश र जागर अनुसार काम गर्ने प्रण गरेको छु । तपाई वर्तमान कार्यसमितिको उपाध्यक्ष हुनुहुन्छ, अहिलेको कार्यसमितिले गर्न नसकेका कामहरु पूरा गर्ने योजना केही छ ? पहिलो त कोभिड–१९ संक्रमण जोखिमको त्रासले अहिलेको कार्यसमितिले सोचे अनुसारका केही काम गर्न सकेन । नयाँ कार्यसमिति निर्माण भए लगतै कोभिडको असर नेपालमा देखिन सुरु भैहाल्यो । हामीले नाडामा आबद्ध सम्पूर्ण व्यवसायी तथा कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउन सफल भयौं । सुरक्षित राख्न सक्यौं, कोभिडको समयमा यही नै मुख्य उपलब्धी भयो । हाम्रा अधिकांश पार्टस व्यवसायीहरुले कोभिडको समयमा धेरै समस्या भोग्नुभयो । कोेभिडकै कारण व्यवसाय नै अस्तव्यस्त बन्यो । त्यो अवधिको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने योजना थपिएको छ । अहिलेको मुख्य समस्या नै कोभिडले थला परेको अटो मोबाइल्स क्षेत्रलाई पुरानै गति दिनु हो । नाडाले प्रादेशिक संरचना बनाएको छ । यसको कार्यविधि बनिसकेको छैन । प्रादेशिक योजनालाई कसरी अगाडी बनाउने भन्नेतर्फ मेरो ध्यान केन्द्रीत हुन्छ । नाडाका हालका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा प्रादेशिक संरचनामा लैजान संरचना तयार पार्नुभयो । उहाँले आउने अध्यक्षलाई कार्यविधि बनाउने जिम्मा सुम्पनु भएको छ । प्रादेशिक संरचना पूरा गर्न धेरै समय लाग्छ । कार्यविधि बनाएर नाडालाई प्रादेशिक संरचना अनुसार सञ्चालन गर्नु नै मेरो मुख्य काम हुनेछ । निर्वाचन जित्ने आधारहरु के के छन् ? नाडा भनेको एउटा व्यवसायिक संस्था हो । अरु जे भएपनि अटोमोबाइल्स व्यवसायीले सोच्नुपर्ने कुरा कसरी नाडा बलियो हुन्छ भन्ने नै हो । मेरो व्यक्तिगत चिनारी भन्नुपर्दा म मेकानिकल क्षेत्रबाट अटोमोबाइल्स क्षेत्रमा प्रवेश गरेको हूँ । सामान्य कर्मचारीको रुपमा प्रवेश गरेको म अहिले चौधरी गुप्रको कार्यकारी निर्देशन भएको छु । एउटा पब्लिक लिमिटेड कम्पनीमा समेत आवद्ध छु । म संलग्न पब्लिक कम्पनीले कोभिडको समयमा समेत ३० प्रतिशतभन्दा बढि डिविडेन्ड खुवाउने कम्पनीको रुपमा चिनिएको छ । म सक्षम छु । मेरो काम गर्ने शैली, आजको दिनसम्म मैले गरेको परिश्रम र मेहनत राम्रो छ । यसले नाडा हाक्न सक्छ भन्ने हाम्रा समग्र साथीहरुलाई विश्वास छ भने मलाई जिताउनुस, तपाईले सोचे जस्तै नाडा बनाउने मेरो मुख्य भूमिका रहन्छ । मैले अन्तिम समयसम्म पनि सहमतिको लागि लविङ गर्नेछु, यदि भोटिङ नै हुनुपर्ने अवस्था आयो भने म नाडा हाक्न सक्षम छु, मलाई भोट गर्दिनुस् । विगतमा नाडामा सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने अभ्यास देखिन्छ, यसपाली प्यानलसहित निर्वाचन हुँदैछ । निर्वाचनपछि नाडा फुट्ने हो कि भन्ने चिन्ता पनि व्यवसायी माझ देखिन्छ । निर्वाचनको हारजितसँगै नाडा फूट्ने सम्भावना छ ? योभन्दा अगाडीको कार्यकालमा सर्वसहमति भएको हो । त्योभन्दा अगाडी अध्यक्षमा निर्वाचन नै भएको थियो । उतिबेला अहिलेको जस्तो प्यानल नै बनाएर उम्मेद्वारी घोषणा गरिएको भने थिएन । गत वर्षको तुलनामा हाल सदस्य धेरै भएर नै धेरै प्रचार भएको हो । फुट आउने छुटिने मुख्य कारण नै निर्वाचन भन्ने गरिएको छ । तर आजको दिनसम्म सबैलाई मेरो आग्रह छ, नाडा तपाई हामी सबै व्यवसायीको साझा संस्था हो, सबै मिलेर जाउँ । नाडामा हाल ३२ सय सदस्य छन् । सदस्यताको हिसाबले सबै क्षेत्रलाई समेट्नका लागि १ सय जनाको कार्यसमितिको आवश्यकता छ । तर, हाल पूर्वअध्यक्ष गरी २९ जनाको मात्र कार्यसमितिका रुपमा प्रतिनिधित्व छ । यसमा समेट्दा समेट्दै पनि केही व्यवसायीहरु छुट्न सक्छन । तर, मनबाटै सबैलाई समेट्ने मेरो इच्छा छ । दुई समूहबीच निर्वाचन भएपनि नाडा फुट्नुपर्ने कुनै कारण म देख्दिनँ । नाडा हामी सबै व्यवसायीको हो, म सजिकै फुट्न कहाँ दिन्छु र ! निर्वाचनको तयारीकै बीचमा ठूलो संख्यामा सदस्यता विस्तार भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा सदस्यता विस्तार गरेर ९ सयबाट किन ३२ सय बनाइयो ? मेरो मुख्य धारण भनेको नै अटो मोबाइल क्षेत्रका सम्पूर्ण व्यवसायीलाई समेट्नुपर्छ भन्ने हो । हामी अटो मोबाइल्स व्यवसायीको हकहितको कुरा मात्र गछौं । तर उनीहरुलाई सहभागिता र भूमिका केही दिदैनौं । उनीहरुको पनि आवाज समेट्नु पर्छ भनेर हामीले सदस्यता विस्तार गरेका हौं । यो व्यवसायीको माग हो । सदस्यता विस्तार गरेर सम्पूर्ण व्यवसायीलाई नाडामा जोड्नु गर्वको कुरा हो । नाडामा ठूला साना सबै व्यवसायी छन्, ठूला व्यवसायीले सानालाई महत्व दिएनन्, अवसर दिएनन् भन्ने गुनासो साना व्यवसायीको छ । यस्तो मतभेद कसरी हटाउने योजना बनाउनु भएको छ ? मैले अध्यक्ष हुनु अगाडी नै सबैलाई भेटेर भोट मागिरहेको छु । मैले अहिलेदेखि नै व्यवसायीलाई भेटेर उनीहरुको कुरा सुन्न थालिसकेको छु । उहाँहरुले मलाई अध्यक्षमा भोट दिएपछि उहाँहरुलाई धन्यावद दिन म पुनः गैहाल्छु । धन्यावादसँगै उहाँहरुलाई भएको समस्याकोे विषयमा कुराहरु भैहाल्छ । उहाँहरुले दिएको सुझाव र समस्या समाधानको लागि सुझाएको उपाए अनुसार सहयोग गर्छु । सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने भन्दै नेपालमा नै गाडी एसेम्बल गर्ने उद्योगलाई सहुलियत घोषणा गरिसकेको छ, सरकारी नीतिअनुसार गाडी एसेम्बलिङमा नाडाको भूमिका कस्तो रहला ? नेपालमा नै एसेम्बलिङ उद्योग खोल्न सरकारले सहयोग गर्ने घोषणा गरिसकेको छ । यसको कार्यनीति बनाउन बाँकी छ । एसेम्बलिङको धेरै चरणहरु छन्, त्यो सबै पूरा गर्नुछ । पहिला २ पांग्रेको मात्र कुरा आएको थियो, अहिले यति वर्षमा सबैले एसेम्बल उद्योग नेपालमा राख्नु पर्ने कुराहरु आएका छन् । यो सबैकोे नीति बनाएर आवश्यक छलफल गर्ने जिम्मा नाडाको नै हो । देखिएका समस्याका लागि तत्काल ३ समिति बनाउनुपर्ने मैले आवश्यकता देखेको छु । एउटा, मेड इन नेपाल, कर्मचारीमा देखिने समस्याको व्यवस्थापन र रिटेलर्समा देखिएको समस्या समाधानका लागि समिति गठन गरेर तत्काल काम गर्नुपर्ने देखिन्छ । तपाईले अघि भन्नुभयो नि, साना व्यवसायीका समस्या कसले सुनिदिने भनेर । साना व्यवसायी भनेको नै रिटेलर्स हो, उहाँहरुको कमिटि बनाएर नाडामा त्यसको सुनुवाई हुनेछ । सवारी साधनमा सबैभन्दा बढी कर लगाउने देशको सूचीमा नेपाल पर्छ । भन्सार, अन्तशुल्क, भ्याट, सडक दस्तुर, वातावरणीय प्रदुषण शुल्क लगायत सबै कर सवारीधनीले तिर्नुपर्छ । करको दर कम गर्न नाडाले किन हस्तक्षेपकारी भूमिका खेल्न सकेन ? नाडाले विभिन्न समयमा ज्ञापन पत्र समेत बुझाएको छ । नाडासँग सुझाव माग भएको समयमा नाडाले कर घटाउन माग राख्दै आएको छ । कर घटाउनका लागि नै धर्ना तथा आन्दोलन गर्न थाल्यौ भने हाम्रो भगवान भनेको नै ग्राहक हो । उहाँहरुलाई असर पर्नसक्छ । आयात गर्न छोडियो भने पनि असर पर्छ । असर पर्ने त आखिर ग्राहकलाई नै हो । सरकारको मुख्य आयस्रोत भनेको नै कर हो । अटो मोबाइल क्षेत्रबाट सबैभन्दा धेरै कर सरकारलाई नै गएको छ । उहाँहरुको आयस्रोत खुम्चाईदियो भने त उहाँहरुलाई असर गर्ने भैहाल्यो । त्यसलाई कसरी ब्यालेन्स गरेर फाइदा लिने हो त्यो आफ्नो ठाउँमा छदैछ । यहाँले हेर्नुहुन्छ भने, सरकारले विगतको समयदेखि नै सोचेर सन्तुलित भएर कर बढाएको छ । कुन ग्राहको लागि कति इन्जिन क्षमताको गाडी आवश्यक हो, त्यो उहाँहरुलाई थाहा नहुन सक्छ । आजको दिनमा नाडाले शिक्षा दिनुपर्नेछ, यो निरन्तर हुनु पर्ने कार्य हो । नाडा जस्तो अर्गनाईजेसनले सरकारसँग जहिले पनि हातेमालो गरेर अगाडी बढ्नुपर्छ । विगतमा पनि यस्तो काम भएको छ । आगामी दिनमा पनि भइरहनु पर्छ । नाडाकै पहलमा विद्युतीय सवारी साधनलाई सरकारले प्राथमिकतामा राखेको छ, नाडाकै पहलमा पहिलाको तुलनमा अहिले मूल्य धेरै घटाइएको छ । विद्युतीय क्षेत्रलाई प्रोत्साहन गर्नुको मुख्य कारण नै उपभोक्ता हित केन्द्रीत नै हो । नाडाको अध्यक्ष बन्न तपाईले हतार गर्नुभयो भन्छन् नि अग्रजहरुले ? हतार भन्नेकुरा कस्तो चिज हो भने, कसैको दृश्यबाट हतार लाग्न सक्ला, कसैको दृश्यबाट जेनुन भन्ने लाग्न सक्छ । त्यसो भन्ने हो भने त आजभन्दा १६ वर्ष पहिले म मेकानिक भएर व्यवसायमा छिरेको हो । त्यो समयमा मैले हतारमा मेकानिकलको पढाई गर्दा गर्दै व्यवसायमा छिरेको भन्लान नि । अन्त्यमा, एउटा व्यक्तिगत चरित्रको प्रश्न । करण चौधरीले साना व्यवसायीलाई वास्ता गर्दैन भन्ने आरोप छ तपाई माथि । यदि अध्यक्ष हुनुभयो भने साना व्यवसायीलाई हेर्ने तपाईको नजर कस्तो हुन्छ ? यो आरोप प्रत्यारोप भन्ने चिज निर्वाचनमा हुँदो रहेछ । मेरो लागि यो पहिलो निर्वाचन हो । मलाई पछि पार्न यस्तै विभिन्न खाले कुराहरु निकालिएको छ । आजसम्म मलाई जति जनाले भेट्नुभएको छ, जति जनाले मसँग समन्वयमा काम गर्नुभएको छ, उहाँहरुले मलाई भन्दिनुहोस्, म स्वीकार्न तयार छु । तर, मैले काम गर्ने प्राइभेट संस्थामा त साथीहरुलाई नोक्सान भयो भने मैले सहयोग गर्ने गरेको छु भने संस्थाको अध्यक्ष भइसकेपछि कसैप्रति भेदभाव गर्छु होला र ? यो त मलाई नचिन्नेहरुले लगाएको आरोप मात्रै हो । मलाई अहिलेसम्म प्रत्यक्ष रुपमा तिमीले यो गतल काम गर्यौं भनेर कसैले भनेका छैनन् । मैले केही गल्ती गरे भने मलाई प्रत्यक्ष भन्नुस् भनेर मैले नै आग्रह गर्ने गरेको छु, अहिले पनि गरिरहेको छु ।