एक महिनामै थपियो ९१५ विद्युतीय गाडी, बढ्न थाल्यो आयात
काठमाडौं । जेठ महिनामा मात्रै ९ सय १५ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठ महिनासम्मको तथ्यांक अनुसार विद्युतीय गाडीको आयातमा बृद्धि भएको हो । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्नुअगाडी उल्लेख्य मात्रामा विद्युतीय गाडी भित्रिएको थियो । जेठ १४ गतेसम्म विभिन्न भन्सार नाका हुँदै ८८३ वटा विद्युतीय गाडी नेपाल आएको थियो । जेठ १५ गतेपछि भने ३२ वटा मात्रै गाडी भित्रिएको तथ्यांकले देखाउँछ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा बृद्धि हुन थालेको छ । विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनाको अबधिमा झन्डे ४ हजार वटा विद्युतीय गाडीको आयात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको ११ महिना (गत साउनदेखि जेठ मसान्तसम्मको) को अबधिमा ३ हजार ८७० विद्युतीय गाडी नेपाल भित्रिएको हो । विभागको तथ्यांक अनुसार ११ महिनाको अबधिमा सबैभन्दा धेरै विद्युतीय गाडीहरु भारतबाट भित्रिएका छन् । भारतबाट १ सय किलोवाटका २ हजार १७९ वटा गाडी नेपाल भित्रिएका हुन । भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट १०० किलोवाट क्षमताका एक हजार २२१, दक्षिण कोरियाबाट ३४० किलोवाट क्षमताको २४० र इन्डोनोसियाबाट ११ वटा गाडी नेपाल भित्रिएका छन् । यस्तै, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ३५ वटा, चीनबाट ४३, युकेबाट २ वटा विद्युतीग गाडीहरु नेपाल भित्रिएका हुन । यस्तै, चीनबाट २०० देखि ३०० किलोवाट क्षमताका ५ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन । भारतबाट ५१ देखि १ सय किलोवाट क्षमताका २६, युकेबाट १०१ देखि २०० किलोवाट क्षमताका ५ वटा र युकेबाटै २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । पछिल्लो समय भारबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ । गत बैशाख महिनासम्म २ हजार ९५५ वटा विद्युतीय गाडी भित्रिएको थियो । सवा ११ अर्बका गाडी भित्रिए चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा सवा ११ अर्ब बराबरको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार जेठ मसान्तसम्म ३ हजार ८७० वटा विद्युतीय गाडी नेपाल भित्रदा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बराबरको गाडी भित्रिएका हुन । उक्त विद्युतीय गाडी आयातबाट सरकारले तीन अर्ब ५ करोड ११ लाख ८२ हजार रुपैयाँ बराबर राजश्व संकलन भएको छ ।
शुक्रबारदेखि टाटा मोटर्सका शोरूममा एक्सचेन्ज विक-एण्ड शुरु हुँदै
काठमाडौं । शुक्रबारदेखि टाटा मोटर्सका शोरूममा एक्सचेन्ज विक-एण्ड शुरु हुने भएको छ । असार महिनाको ८, ९, १०, ११ र १२ गते काठमाडौं लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुममा एक्सचेन्ज विक-एण्डू विशेष एक्सचेन्ज क्याम्प संचालन हुँदैछ। शुक्रबार देखि शुरु हुने गरि विशेष एक्सचेन्ज क्याम्प संचालन भईरहेको हुँदा सबै ग्राहकमा शोरुम पाल्नु भई आफ्ना गाडी संग टाटा मोटर्सका सर्वाधिक लोकप्रिय विद्युतीय गाडीहरु साटेर फाइदा उठाउन हुन आमन्त्रण गरिएको छ। एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनि अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाईएका नयाँ मोडेल का नेक्सन ईभी र टिगोर ईभी संग साट्न सकिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुममा ईन्स्योरेन्स सुविधा, बैंकिंग सुविधा का साथै गाडी मुल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ता हरुको पनि सहभागिता हुनेछन । टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाईनेछ ।
‘जोखिम भारलाई ७५ प्रतिशत बनाऔं, सावा र व्याज तिर्न नसकेका व्यवसायीलाई समय दिऔं’
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन (नाडा) ले जोखिम भारको व्यवस्थालाई पुरानै अर्थात ७५ प्रतिशत नै कायम गर्न आग्रह गरेको छ । नाडाले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत हाल १५० प्रतिशतसम्म रहेको उक्त भारको सीमा घटाएर ७५ प्रतिशतमा झार्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको हो । बिहीबार राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भटेरै नाडाले विभिन्न ५ बुँदे सुझाव दिएको हो । जसमा जोखिम भारको सीमा घटाउनेदेखि हायर पर्चेज लोनमा एलभीआरको सीमा बढाउने लगायत व्याज तिर्न नसकेका व्यवसायीलार्य समय थप्नु पर्नेसम्मका सुझाव छन् । यस्ता छन् ५ बुँदे सुझाव बैंक तथा वित्तीय क्षेत्रमा लगानीका हिसाबले नेपालको अटोमोवाइल क्षेत्र सबैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको छ । हाल विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेको कारण बैंक तथा वित्तीय निकायहरुको तरलताको अवस्थामा सुधार भए पछि पनि यो क्षेत्रमा ऋण लगानी गर्ने अवस्था नरहेको हुँदा व्यवसायीहरुलाई ठूलो मर्का पर्न गएको नाडाले बताएका छन् । जसको कारण सवारी साधनहरुको आयातमा समेत कमी आई सरकारको राजश्वमा समेत नकारात्मक प्रभाव पर्न गएकोले जोखिम भारको व्यवस्थालाई पुरानै अर्थात ७५ प्रतिशत नै कायम गर्न सुझाव नाडाको सझाव छ । नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्याल्यू रेसियो (एलभीआर) को हालको ५० प्रतिशतको सिमालाई वृद्धि गरेर ८० प्रतिशत पुर्याउने व्यवस्था गर्नुपर्ने सुझाव छ । चालु पुँजी कर्जा निर्देशिकामा रहेको व्यवस्था अनुसार चैत मसान्तसम्म सावा र व्याज बुझाएका व्यवसायीहरुलाई व्याज र किस्ता बुझाउने समय थपका लागि नीतिमा आएको हुँदा उक्त समयभित्र अर्थात चैतभन्दा अगाडी नै सो सावा र व्याज तिर्न नसकेका व्यवसायीहरुलाई समेत सो समय थप गरी दिने व्यवस्था गर्न नाडाको आग्रह छ । दुई करोडभन्दा माथीको व्यवसायमा कूल कारोबारको २५ प्रतिशत मात्रै बैंकबाट लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पूनरावलोकन गर्न नाडाले आग्रह गरेको छ । व्यवसायीहरुले डीओ पाएर नामसारी र सवारी साधनहरुको डेलिबरी गरेपछि बैंकहरुले भुक्तानी गर्ने समयावधि तोकिनु पर्ने र यसका लागि हप्ता दिनभित्र भुक्तानी हुने व्यवस्था मिलाउनु पर्ने नाडाको सुझाव छ । यी सुझावहरु सम्बोधन भएमा नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुने र त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव देशको राजश्वमा पनि पर्ने नाडाको दावी छ ।