गोल्डेन ड्रेगनका नयाँ मोडलहरू नेपाल भित्रिँदै
काठमाडौं । गोल्डेन ड्रेगनका विद्युतीय भ्यानका थप मोडल नेपाली बजारमा उपलब्ध हुने भएका छन् । नेपालका लागि आधिकारिक वितरक आर्क्स ग्रुपले गोल्डेन ड्रेगनका विद्युतीय माइक्रोबस बिक्री–वितरणका लागि उपलब्ध गराउने जनाएको छ । १४ सिटे माइक्रोबसको मूल्य ५७ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । गोल्डेन ड्रेगनमा १५ सिटर र १६ सिटर माइक्रोबस समेत उपलब्ध हुनेछन् । यी माइक्रोबसको मूल्य ५५ लाख र ६२ लाख रुपैयाँ रहने छ । त्यसैगरी, आर्क्स ग्रुपले जुबाओ ब्रान्डका माइक्रोबस समेत बिक्रीका लागि उपलब्ध गराउने भएको जनाएको छ । ११ सिटर र १४ सिटर यी माइक्रोबसको मूल्य क्रमशः ४५ लाख ५० हजार र ४९ लाख ५० हजार रुपैयाँ हुनेछ । यी भ्यानहरू लामो र छोटो दूरीका विभिन्न यातायात सञ्चालक, ट्राभल एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यावहारिक हुने विश्वास गरिएको छ । आर्क्स ग्रुपले नेपाली बजारमा हाइगर बस, हाइलोङ ईभी भ्यान लगायतका अन्य विभिन्न ब्रान्डको समेत कारोबार गर्दै आइरहेको छ।
टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘१२:१२ एक्सचेन्ज क्याम्प’ आयोजना गर्न लागेको छ । सिप्रदी ट्रेडिङका अनुसार बिहीबारबाट तीन दिनसम्म आयोजना हुने यस क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउन पेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिने छ । यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिख टाटा मोटर्सको देशैभर रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्ने सिप्रदीले जनाएको छ । साथै, १२:१२ एक्सचेन्ज क्याम्पमा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्ने बताइएको छ । यस अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन गर्नुका साथै टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
काठमाडौं । अटोमोबाइल कम्पनी स्टेलान्टिस र चिनियाँ ब्याट्री कम्पनी सीएटीएलले संयुक्त रूपमा ब्याट्री प्लान्ट निर्माण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै कम्पनीले मंगलबार संयुक्त रूपमा स्पेनमा ४.१ बिलियन यूरो (४.३ बिलियन डलर) को ठूलो आकारको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्लान्ट निर्माण गर्ने योजना घोषणा गरेका हुन् । ५०-५० को संयुक्त उद्यम ५० गिगावाट घण्टाको उत्पादन क्षमतामा पुग्न सक्ने जनाइएको छ, जुन युरोपको इलेक्ट्रिक सवारीसाधन बजार र सरकारी समर्थनको विकासमा निर्भर छ । यो उत्तरपूर्वी स्पेनको प्लान्ट स्टेलान्टिसको जारागोजा साइटमा निर्माण हुने र २०२६ को अन्त्यसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ । स्टेलान्टिसले यो प्लान्टले युरोपमा ‘सर्वोत्तम एलएफपी मान्यता’ सुदृढ गर्ने जनाएको छ । र यसले उच्च गुणस्तर र किफायती इलेक्ट्रिक सवारीसाधन उत्पादनमा टेवा पुर्याउने उद्देश्य राखेको छ । यो कदम युरोपका अटोमेकरहरूका लागि चुनौती हो । पहिला नै यूरोपमा किफायती मोडलहरूको अभाव र चार्जिङ स्टेशनहरूको विस्तारमा ढिलाइ भइरहेको छ । स्टेलान्टिसका अध्यक्ष जोन एल्कानले भने, ‘हाम्रो पार्टनर सीएटीएलसँगको यो महत्त्वपूर्ण साझेदारीले स्वच्छ र नवीकरणीय ऊर्जा क्षेत्रमा नयाँ ब्याट्री उत्पादन ल्याउनेछ, जसले दिगो विकासलाई प्रवर्द्धन गर्नेछ ।’ सीएटीएलका अध्यक्ष रोबिन झेङले भने, ‘हाम्रो उन्नत ब्याट्री प्रविधि र स्टेलान्टिसको लामो अनुभवले यो परियोजना सफल हुने विश्वास छ ।’ एल्कानले स्पेनी अधिकारीहरूलाई उनीहरूको समर्थनको लागि धन्यवाद पनि दिएका छन् । स्टेलान्टिसको सेयर मंगलबार बिहान ०.३ प्रतिशतले बढेको छ । स्टेलान्टिस र विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादकहरूमध्ये एक सीएटीएलले युरोपमा विद्युतीय सवारी उत्पादनको लागि एलएफपी ब्याट्री सेल र मोड्युलहरूको स्थानीय आपूर्तिको लागि गत वर्ष नोभेम्बरमा गैर-समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । ‘मलाई विश्वास छ कि हाम्रो अत्याधुनिक ब्याट्री टेक्नोलोजी र उत्कृष्ट अपरेशनले जारागोजामा स्थानीय रूपमा व्यवसाय सञ्चालन गर्ने स्टेलान्टिसको दशकौं लामो अनुभवसँग मिलेर उद्योगमा ठूलो सफलताको कथा सुनिश्चित गर्नेछ,’ सीएटीएलका सीईओ र अध्यक्ष रोबिन जेङले भने । ‘सीएटीएलको लक्ष्य शून्य-कार्बन प्रविधिलाई विश्वभर पहुँचयोग्य बनाउनु हो, र हामी हाम्रा साझेदारहरूसँग थप नवीन सहयोग मोडेलहरू मार्फत सहयोग गर्न तत्पर छौं,’ उनले थपे ।