सरकारको नीति अटोबजारमैत्री भएन : नाडा अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले सरकारको नीतिहरू औद्योगिकमैत्री नभएको बताएका छन् । नाडाको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रले ठूलो योगदान दिएको भन्दै सरकारले पनि अटोबजारमैत्री नीति तर्जुमा गर्नुपर्नेमा अध्यक्ष चाैधरीले ध्यानाकर्षण गराए । उनका अनुसार नेपालको अर्थतन्त्रमा अटोमोबाइलको योगदान २१ प्रतिशत, प्रत्यक्ष रोजगारी १ लाख, अप्रत्यक्ष रोजगारी १० लाख, बीमा क्षेत्रमा ५० प्रतिशत योगदान र विज्ञापन क्षेत्रमा ४० प्रतिशत छ । तर, यति ठूलो योगदान गर्ने अटो क्षेत्रको लागि सरकारले अटोमैत्री नीति नबनाएको उनको गुनासो थियो । अध्यक्ष चाैधरीले विशेषगरी विद्युतीय गाडीमा कर बढाएको, झन्झटिलो कर प्रणाली रहेको र राष्ट्र बैंकले मौद्रिक नीतिमा यस क्षेत्रको लागि केही पनि उल्लेख नगरेकोमा गुनासो गरेका थिए ।
साढे १० करोडको लगानीमा सञ्चालनमा आयो २० वटा विद्युतीय माइक्रोबस
काठमाडौं । सामाखुसी यातायात प्राइभेट लिमिटेडले १० करोड ३० लाख रुपैयाँ लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० वटा माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए । ‘काठमाडौं उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,’ उनले भने । सामाखुसी यातायातले हाल ८० वटा माइक्रोबस तथा ५० वटा ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ । काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले बताए । प्रालिले हाल ३५० जना चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
मुस्ताङको ९ हजार फिट उचाइमा भिजी मोटर्सको फास्ट चार्जिङ स्टेसन
काठमाडौं । भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका- ४ जोमसोममा रहेको उक्त चार्जिङ स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गरे । उक्त चार्जिङ स्टेसनमा ३२ किलोवाट क्षमताको एउटा डीसी फास्ट चार्जर राखिएको छ । यसले ४५ मिनेटमै विद्युतीय सवारीसाधनको ब्याट्री फुल चार्ज गर्न सक्छ । यसबाट विद्युतीय सवारीसाधन लिएर मुस्ताङ पुग्ने यात्रु तथा मुस्ताङका विद्युतीय सवारी प्रयोगकर्तालाई सुविधा हुने अपेक्षा गरिएको छ । भिजी मोटर्स प्रालि नेपालका लागि एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक हो । भिजी मोटर्सले एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधन आयात गरी बिक्री वितरण गरिरहेको छ । एसआरएम एकपटकको फुल चार्जमा ३०० किलोमिटर कुद्ने भ्यान हो र यो ११ सिटर, २ सिटर र ५ सिटरमा उपलब्ध छ । एसआरएमका भ्यानहरू स्कुल, कलेज, कर्पोरेट हाउस, होटल, ट्राभल कम्पनी, अस्पताल, सरकारी निकाय, कमर्सियल ट्रान्सपोर्टर, नगरपालिका लगायतका लागि निकै उपयोगी छन् । एसआरएम भ्यानमा शक्तिशाली लिथियम ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले जोलङको ईए फोर, ईए फाइभ र ईए सिक्स नेपाली बजारमा भित्र्याएको छ । जोलङ ईए फाइभ १७ सिटको मिनी भ्यान हो । ६०.१ किलोवाट आवरको ब्याट्री रहेको यो भ्यानले एकपटकको चार्जमा ३०० किलोमिटर माइलेज दिन्छ । ईए सिक्स २० सिटको भ्यान हो । यसमा ८६.१ किलोवाट आवरको ब्याट्री छ, जुन एकपटकको चार्जमा ४०० किलोमिटर कुद्छ ।