४ महिनामा साढे ८ अर्बको ईभी गाडी भित्रियो, ७२ प्रतिशत चाइनाबाट आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिना (साउनदेखि कातिकसम्म) ८ अर्ब बढीको विद्युतीय गाडी (ईभी) आयात भएको छ । चार महिनामा ८ अर्ब ३७ करोड रुपैयाँ बढीको ३ हजार ४ सय ८७ वटा ईभी गाडी (कार, जीप र भ्यान) आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार अधिकांश ईभी गाडी चाईनाबाट भित्रिएका छन् । यो चार महिनामा चाईनाबाट मात्रै २ हजार ५ सय १० वटा ईभी गाडी भित्रिएका छन्, जुन कुला ईभी गाडी आयातको ७१.९८ प्रतिशत हो । चाईनाबाट धेरै जसो ५१ देखि १०० वाटका गाडी भित्रिएका छन् । यसैगरी, भारतबाट ९ सय ६९ वटा गाडी भित्रिएका छन् । भारतबाट १०० वाटसम्मका गाडी भित्रिएका हुन् । जर्मनीबाट ६ र अमेरिकाबाट २ वटा गाडी भित्रिएका हुन् । जर्मनीबाट १०१ देखि २०० वाटसम्मका ४ वटा र २०१ वाटदेखि ३०० वाटसम्मका २ वटा गाडी भित्रिएका छन् । अमेरिकाबाट भने १०१ वाटदेखि २०० वाटसम्मका २ वटा गाडी भित्रिएको विभागको तथ्यांकले देखाउँछ । कति क्षमताका ईभी गाडी कति भित्रिए ? विभागको तथ्यांकअनुसार ५० किलो वाटसम्मका १ हजार ४० वटा गाडी भित्रिएका छन् भने ५१ वाटदेखि १०० वाटसम्मका २ हजार १ सय १५ वटा, १०१ देखि २०० वाटसम्मका ३ सय १६ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ६ वटा ईभी गाडी भित्रिएका छन् । उक्त गाडी आयातबाट ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
५० औं वर्षमा प्रवेश गर्यो हिट्को प्रालि, इभीका लागि पनि आवश्यक सामग्री उपलब्ध गराउँदै
काठमाडौं । हिट्को प्रालि ५०औं वर्षमा प्रवेश गरेको छ । विसं २०३२ को मंसिर ७ गते स्थापना भएको हिट्को प्रालि ४९ वर्ष पुरा भएर ५० वर्षमा प्रवेश गरेको हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदिपमान प्रधानले जानकारी दिए । हिट्कोले सेल्स सर्भिसका लागि आवश्यक उपकरण उपलब्ध गराउँदै आएकाे छ । कम्पनील हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्सजस्ता उपकरण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण पनि उपलब्ध गराएकाे छ । हिट्कोले पछिल्लो समयमा इलेक्ट्रिक गाडीको सर्भिस सेन्टर निर्माणका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराउँदै आएको प्रधानले बताए । उसले बीवाईडी, नेटा, एमजी, हुन्डाई, एसआरएम, एमएडब्लु आदिसँग सहकार्य गरिरहेको छ । सरकारी निर्माण कार्यमा प्रयोग हुने आवश्यक उपकरण आपूर्ति गर्ने उद्देश्यका साथ हिट्को प्रालिको स्थापना भएकाे भए पनि यसले अन्य प्रकारका उपकरणसमेत आयात गर्न थालेकाे थियाे । हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ । पछिल्लो समय अटोबजार इलेक्ट्रिक भेइकलमा सिफ्ट भएसँगै कम्पनीले ईभीकै लागि भनेर विशेष प्रकारका उपकरण र अन्य सामग्रीको उत्पादनसमेत गरिरहेको छ । प्रदिपमान प्रधानका बुवा अक्षतमान प्रधानले कम्पनीको स्थापना गरेका थिए ।
बीवाईडीको ३० औं वार्षिकोत्सवको दिनमा नेपालभर १०० युनिट डेलिभरी
काठमाडौं । बीवाईडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इन्कले बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोडौं एनईभी विश्वव्यापी उत्पादनको अवसरमा नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गरेकाे छ । यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै विश्वव्यापी अटोमोटिभ इन्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ । साइमेक्स इन्कले बीवाईडी अटो ३, बीवाईडी डल्फिन, बीवाईडी सीलजस्ता मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन् । विश्वव्यापी रूपमा बीवाईडी १ करोड एनइभी उत्पादन गर्ने पहिलो गाडी निर्मातासमेत बनेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको कम्पनी हाल विश्वभर करिव १० लाख कर्मचारी सहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ । बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बन्यो । सन् २००३ मा जियान क्विनचुआन अटोमोटिभलाई प्राप्ति गरेर इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ बीवाईडी अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो ।