प्रतिशोधको डोको स्याहार गरेर राख्नूहोला, पालो तपाईंहरूको पनि आउन सक्छ : महर
काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले सत्तापक्षलाई एमालेको शीर्ष नेतृत्वमाथि प्रतिशोधको भावना राखेर कदम नचाल्न चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वर्तमान सरकारको शैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउलाई गैरकानुनी र अन्यायपूर्ण भन्दै तत्काल रिहा गर्न मागसमेत गरे । महरले सरकारको कदमले संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्ड दुवैको उल्लंघन गरेको दाबीसमेत गरे । महरले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक विशेषगरी स्वतन्त्रता, समानता र जीवन जिउने अधिकारको विरुद्धमा सरकारले कार्य गरेको आरोप लगाएका छन् । साथै संयुक्त राष्ट्रसंघको मानवअधिकार घोषणापत्र १९४८ मा उल्लेखित प्रावधानहरूसँग पनि यो कदम असंगत रहेको उनको भनाइ थियो । उनले राजनीतिक प्रतिशोधको प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर खतरा भएको उल्लेख गर्दै यस्तो अभ्यास अन्त्य गर्न जोड दिए । महरले वर्तमान सरकारलाई भविष्यप्रति सचेत गराउँदै सत्ता सधैं स्थायी नहुने स्मरण गराए । ‘आज सत्तामा हुनुहुन्छ, भोलि तपाईंहरू पनि पूर्व हुनुहुनेछ । त्यसैले अरूमाथि अन्याय गर्नुअघि त्यसको परिणामबारे सोच्नु जरुरी छ,’ उनले चेतावनी दिए । महरले प्रतिशोध साँध्ने काम गरे अहिलेकालाई फाल्न प्रयोग भएको डोको स्याहार गरेर राख्न पनि आग्रह गरे । उनले भने, ‘त्यो डोको फेरि तपाईंहरूलाई फाल्न आवश्यक पर्न सक्छ ।
आइसीएफसी फाइनान्सको ‘८ प्रतिशत डिबेञ्चर २०८९’ नेप्सेमा सूचीकृत
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको '८ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९' नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भई नेपाल राष्ट्र बैंकबाट 'ग' वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रूपमा इजाजत प्राप्त आइसीएफसी फाइनान्सले जारी गरेको ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको डिबेञ्चर सूचीकरण सम्बन्धी सम्झौता सोमबार नेप्सेमा सम्पन्न भएको हो । प्रति इकाई एक हजार रुपैयाँ अंकित मूल्य रहेको उक्त डिबेञ्चरको कुल ५ लाख कित्ता सूचीकरण गरिएको छ । सूचीकरण सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं तथा आइसीएफसी फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् । नेप्सेमा सूचीकृत उक्त डिबेञ्चर मंगलबारदेखि दोस्रो बजारमा नियमित कारोबारमा आउनेछ । साथै, डिबेञ्चरधनीहरूको अभिलेख राख्ने, नामसारी तथा शेयर रजिष्ट्रेशन सम्बन्धी सेवा प्रदान गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
लीला भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौं । नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । त्यस अवसरमा उनले नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरिन् । एमाले सांसद भण्डारी, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लगायतका सबै दलहरूको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् । उनले संविधान सभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी छन् ।
यस वर्ष २३ स्थानमा बर्डफ्लु
काठमाडौं । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौंमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ । उनले बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदेखिएको बताए । उनका अनुसार ती स्थानमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ । काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्डफ्लु देखिएको थियो । सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा. दाहालले बताए । 'बर्डफ्लु देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपक्षीलाई नष्ट गर्ने काम गरेको छ,' उनले भने, 'हामीले बर्डफ्लु रोग नियन्त्रणमा गरेको कामबाट धेरै नमूनामा बर्डफ्लुको सङ्क्रमण देखिएको छैन ।' सरकारले बर्डफ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्दछ र सो बापत ७५ प्रतिशत क्षतिर्पूति किसानलाई उपलब्ध गराउँदै आएको छ ।
सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति राप्रपाले जनायो आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिन सरकारले गरेको निर्णयको विरोध गरिन् । कुन संसदीय समिति, नीतिगत बहस र कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधामा यो निर्णय गरियो ? उनको प्रश्न छ । ओलीले भनिन्, ‘एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टको लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनको लागि ९५ डलर अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको छ । कुन संसदीय समिति, कुन नीतिगत बहस, कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधामा यो प्रकारको निर्णय लिइयो ? किन यो प्रोजेक्ट नै छनौट गरियो ?’ उनले संसदीय समिति र उपसमिति गठन हुन बाँकी रहेको भन्दै यस्तो अवस्थामा सरकारले गर्ने निर्णय अपारदर्शी हुने शंका गरिन् । उनले उक्त ऋण सरकारले माग गरेको हो कि प्रस्ताव गरिएको हो ? भन्दै सरकारसँग जवाफ माग गरिन् । संसदीय बजेट अनुरोधको लागि सांसदहरूले धाउनु नपर्नेगरी अनलाइन पोर्टल सञ्चालन गर्न समेत उनको माग छ।
मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकका लगानीकर्तालाई मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार गैरआवासीय नेपाली सङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा उनले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा अन्तरराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन आग्रह गरे । राष्ट्रपति पौडेलले भने, 'नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ, भारत र चीनजस्ता विश्वकै ठूलो जनसङ्ख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन्, यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ ।' भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई अङ्गिकार गरेर अघि बढ्नुपर्ने खाँचो औँल्याएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपाली सङ्घले आफ्नोतर्फबाट सहयोग गर्ने नै छ भन्ने विश्वास व्यक्त गरे । उनले गैरआवासीय नेपाली विश्वसम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई हार्दिक बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिए । सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पारेका थिए । रासस
काम हुने आयोजनाको म्याद थपौं, गल्ती गर्नेलाई कारबाही गरौं’: नवनिर्वाचित अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले देशका रुग्ण ठेक्काहरूलाई तीन वर्गमा वर्गीकरण गरी समाधान खोज्नुपर्ने बताएका छन् । सोमबार महासंघमा आयोजित शपथ तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन् । अध्यक्ष पाण्डेका अनुसार स्रोत सुनिश्चित भएका र म्याद थप्दा काम सम्पन्न हुन सक्ने आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ । उनले यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग पनि छलफल भइसकेको जानकारी दिए । अध्यक्ष पाण्डेले मन्त्री लम्सालसँगको भेटलाई उद्धृत गर्दै भने, ‘आयोजनाहरू अघि बढ्ने सम्भावना रहेसम्म ठेक्का तोडेर व्यवसायीलाई कालोसूचीमा राख्ने पक्षमा सरकार छैन । मन्त्रीज्यू यस विषयमा सकारात्मक हुनुहुन्छ । ’ निर्माण कार्यमा ढिलाइ हुनुको पछाडि सरकार वा व्यवसायी जो दोषी भए पनि उनीहरूमाथि कारबाही हुनुपर्ने पाण्डेको अडान छ । ‘यदि व्यवसायीको गल्तीले काम रोकिएको हो भने उनीहरूको १० प्रतिशत धरौटी जफत गरेर भए पनि प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले थपे । वर्तमान समयमा निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था सिर्जना भएको तर्फ पनि उनले ध्यानाकर्षण गराए । यस समस्याका लागि सरकारसँग निरन्तर लबिङ गर्ने र सहकार्यमार्फत निकास निकाल्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
सरकारले संविधान पढोस् तर स्टन्ट गरेर समय बबार्द नपारोस् : नेकपा सांसद दुलाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्शनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले जेनजी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण समेत गराए । दुलालले सरकारलाई संविधान पढ्नसमेत सुझाए । उनले भने, ‘म सम्मानित सदनमा सभामुखमार्फत के भन्न चाहन्छु भने सरकारले यो संविधान पढोस् । समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने जुन संकल्प गरेको छ यो संविधानले त्यसतर्फ राज्यको ध्यान जाओस् । सरकार एक्शनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस् ।’ सरकारले विगतमा जस्तै स्टन्ट गर्दै गए जेनजी पुस्ताको भावनाअनुसार अगाडि बढ्न नसकिने उनको भनाइ छ ।