विकासन्युज

मर्ज भएका बैंकहरुको नाफा एक अर्बभन्दा बढी, कूल नाफाको ५२ प्रतिशत हिस्सा

काठमाडौं । पछिल्लो समय दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भए । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड दियो । जसको कारण गत वर्ष १४ वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा सामेल भएर ७ बैंकमा सीमित भए । नबिल र नेपाल बङ्गलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन र सिभिल बैंक, प्रभु र सेञ्चुरी बैंक, कुमारी र एनसीसी बैंक, लक्ष्मी र सनराइज बैंकबीच मर्जर तथा एक्विजिशन सम्पन्न भयो । मर्जर पश्चात् अधिकांश बैंकहरुले बिजनेश ग्रोथमा फड्को मारेको देखिन्छ । यद्यपी मर्जरमा सामेल भएका केही बैंकहरुको भने खासै सिनर्जी नआएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले साउन र भदौमा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् । जसमध्ये मर्जरमा सामेल भएका ७ बैंकले भने २ महिनाको अवधिमा साढे ८ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मर्जर भएका ७ बैंकले ८ अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको नाफा गरेका हुन् । जुन कूल नाफाको ५२ प्रतिशत हिस्सा हुन आउँछ । साथै, दुई महिनाको अवधिमा १ अर्बभन्दा बढी नाफा गर्ने बैंकहरु पनि मर्जरमा सामेल भएका संस्था नै छन् । ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंकले एक अर्बभन्दा नाफा गरेका हुन् । भदौसम्म सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ । यस बैंकले सबैभन्दा बढी १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको छ । यस्तै, नबिल बैंकले भदौमा १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क छ । यस्तै, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख रुपैयाँ, कुमारीले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख रुपैयाँ र प्रभु बैंकले ६६ करोड ४१ लाख रुपैयाँ बराबर खुद नाफा गरेका छन् ।

भिजन लुम्बिनीले कात्तिक १६ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता भर्ने ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको थियो । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ९१ हजार २५० कित्ता विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको थियो । अब दोस्रो चरणमा कम्पनीले स्थानीयले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सहित २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्री खुला गरेको हो । साथै, ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् आवेदन दिन सक्ने छन् ।

धमाधम ऋण तिर्दै वायुसेवा निगम, जहाजहरु पनि नियमित उडान भर्दै

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका २ न्यारोबढी र २ वाइडबडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये २ न्यारोबढी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र २ वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको हो । यसअघि निगमले २०७९ असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार निगमको आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको र नगद प्रवाहमा सुधार भएपश्चात् प्रमुख इन्जिन मर्मत खचर्, नियमित तथा आकस्मिकरुपमा हुने जहाज मर्मतसम्भार खर्चसमेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना बक्यौता रकमसमेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरीएको छ । निगमले दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजनासमेत अन्तिम चरणमा रहेको जनाएको छ । ती जहाजमार्फत नेपालका दुर्गम क्षेत्रमा सेवा विस्तार गरिनुका साथै पर्यटन प्रवद्र्धनको साथै निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने विश्वास लिइएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका आफ्ना सबै जहाज सञ्चालनमा आएको जनाएको छ । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड रहेका ती जहाज सबै सञ्चालनमा आएको निगमले जनाएको छ । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि समान २ थान वाइडबडी र न्यारोबडी गरी कूल ४ वटा जहाज छन् । असोज २९ गतेदेखि नै निगमका सबै जहाज नियमित उडानमा रहेकाले चाडपर्वका अवसरमा यात्रुलाई गन्तव्यमा पुग्न सहज हुने निगमले उल्लेख गरेको छ ।

यसपटक पनि सांसदले पाएनन् दसैं भत्ता

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो । २०७७ सालमा कोरोना महामारीका बेला संसद् सचिवालयका पदाधिकारी र सांसदलाई दसैं भत्ता दिएपछि व्यापक विरोध भएको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद् सचिवालयले दसैं भत्ता दिने गरेको थियो । २०७७ पछि सरकारले सांसद र संसद् सचिवालयका पदाधिकारीलाई दसैं भत्ता दिने विषयमा कुनै निर्णय नगरेकाले सांसद् र संसद् सचिवालयका पदाधिकारीले दसैं भत्ता नपाएको सचिवालयले जनाएको छ । यस पटकको दसैंमा पनि भत्ता नदिने कार्यलाई संसद् सचिवालयले निरन्तरता दिएको छ । संसद् सचिवालयका एक अधिकारीका अनुसार सरकारले भत्ता दिने निर्णय नगरेपछि संसद् सचिवालयले नदिएको बताए । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ मा संसद् सचिवालयका पदाधिकारी, सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ता दिने व्यवस्था छैन । मन्त्रिपरिषद्बाट निर्णय गरी दसैं भत्ता दिइएको विषयलाई महालेखाले बेरुजुमा राखेको थियो । मुलुकमा नीतिगत भ्रष्टाचार भएको भन्दै महालेखाले बेरुजुमा राख्दै आए पनि त्यसको सुनुवाइ गरिएको थिएन । तर २०७७ सालमा सामाजिक सञ्जालबाट सांसदलाई दसैं भत्ता उपलब्ध गराउने कुराको कडा विरोध भएपछि सरकार पछि हटेको हो । मन्त्रिपरिषद्को निर्णयबाट सांसदले २०७४ र २०७५ सालमा पनि दसैं भत्ता बुझेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

१० प्रतिशत ब्याज पाइने कुमारी बैंकको ५ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । कुमारी बैंकले आज कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गरेको यस ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ५ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

एनसेलले ल्यायो रिचार्जमा बोनस अफर, ८००० एमबीसम्म डेटा पाइने

काठमाडौं । एनसेल आजियाटाले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहककालागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन् । बडादशैं २०८० को उपलक्ष्यमा ल्याइएको यो योजना अन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागी यो आकर्षक अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले २०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । यो योजना आज (कार्तिक १ गते) देखि लागु भई कार्तिक १५ गतेसम्म सञ्चालनमा रहने छ । रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २००० एमबीदेखि ८००० एमबी बोनस डेटा प्राप्त गर्नेछन् । २०० देखि ४९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै, ५०० रुपैयाँभन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४०० अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुप प्राप्त डेटा भोलुम २ दिनको दिनको लागि मान्य रहने छ । यो योजना अन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफर मार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुनेछैन । अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्त हुनेछ । यस रिचार्जमा बोनस अफरले ग्राहकलाई भ्यालु एड गर्दै सुलभ दरमा आफ्ना परिवार र साथीभाईसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

२०औं हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि, १५० स्टल हुने

काठमाडौं । नेपाल हस्तकला महासंघले मंसिर ७ गतेदेखि ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ आयोजना गर्दै छ । महासंघका अनुसार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुने हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो । नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उर्जागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले बर्सेनी यो मेला आयोजना गर्दै आएको छ । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्याउने मेलाको लक्ष्य रहेको छ । मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने आयोजक नेपाल हस्तकला महासंघले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिने जनाइएको छ । जसअनुसार भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट सहभागिता रहने महासंघले जनाएको छ । व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन् । यस्तै, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा विक्रीमा रहने उनले बताए । ‘सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रममा समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ,” अध्यक्ष शाक्यले भने, “मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निशुल्क स्टल प्रदान गरिने छ ।’ मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जस अन्तर्गत परम्परागत विधा तर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’ मा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने छ भने प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिने उल्लेख छ । मेलाको अवसरमा आर्थिक वर्ष २०७९/८०को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पुर्याउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने उल्लेख छ । मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा १० जना जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई चाँदीको फ्रेमसहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । मेलाकै सन्दर्भमा हस्तकलाका विविध बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गराउने र कलाकारहरुको व्यापार व्यवसायलाई प्रवर्द्धन गराउने उद्देश्यले महासंघको कला प्रदर्शनी समितिबाट कला प्रदर्शनी २०८० आयोजना गरिने जनाइएको छ । एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुने मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन हुने उल्लेख छ । यस्तै, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत सांस्कृतिक सम्पदाको उजागर गर्ने मेलाको लक्ष्य रहेको छ । मेलाबाट अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरुसंग ब्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने अबसर प्राप्त गर्न महासंघ अध्यक्ष शाक्य बताउँछन् । यसरी प्रत्येक वर्ष ब्यापार मेलाको आयोजना हुँदा उत्पादकहरुले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्न प्रेरित हुने तथा हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिवारे जानकारी आदान प्रदान हुने उनको विश्वास छ । महासंघका अनुसार हाल नेपाली हस्तकलाका वस्तुहरु वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कूल बजार २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको महासंघको दावी छ ।  

कामना सेवा र पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सेवा सम्झौता, शुल्क एक लाखमात्रै

काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेका छन् । उक्त सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोवाईल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोवाईल बैंकिङ एप भित्र रहेको इन्ष्टा फण्ड ट्रान्सफरमार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर (फण्ड ट्रान्सफर) गर्दा सेवा शुल्क वापत मात्र एक लाख रुपैयाँ लाग्नेछ । यो योजना २०८० कार्तिक १ गतेदखि लागू भई पुस मसान्तसम्म लागु हुने समेत बैंकले जनाएको छ । नेपाल पेमेण्ट सोलुसनले नेपाल राष्ट्र बैंकवाट स्वीकृती लिई भुक्तानी सेवा प्रदायकको रुपमा सेवा प्रदान गरिरहेको छ । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।