विकासन्युज

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्नुहुने कार्यक्रम पनि रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्नेछन् । महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ । भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौँबाट प्रस्थान गर्नेछन्।

मुगुमा एकै परिवारका आमासहित तीन छोराछोरी मृतावस्थामा फेला

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन् । मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे घटनास्थलमा प्रहरी पुगेको बताए। घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ । श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । कसले के उद्देश्यले हत्या ग¥यो खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रनाउ थापाले बताए। प्रारम्भिक अनुसन्धानअनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दशैंको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ । छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ ।

पर्यटक आकर्षित गर्दै बागलुङको बेलढुङ्‍गा

बागलुङ । बेलढुङ्‍गा  बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्‍गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा गरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा रहेको यस क्षेत्रमा मोटरबाटो तथा पदमार्गमार्फत सहजै पुग्न सकिने हुँदा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । एक दशक अगाडिसम्म सुनसान रहेको बेलढुङ्‍गा अहिले चर्चित बन्दै गएको छ । हरेक वर्ष हजारौँ पर्यटक पुग्ने यस ठाउँमा काठेखोला गाउँपालिकाले पनि पर्यटन पूर्वाधारका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । पर्यटन पूर्वाधार निर्माणपछि पर्यटक बढ्ने क्रम जारी छ । समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुङ्‍गा मा दशैं र तिहार बीचमा बढी पर्यटक आउने गरेको पाइन्छ । विद्यार्थी, प्राध्यापक तथा अन्य सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी बढी आउने गरेको स्थानीयको भनाइ छ । मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरधाम र बागलुङको कालिका मन्दिर, पञ्चकोट तथा शालिग्राम सङ्ग्रहालय नजिकै रहेको हुँदा पर्यटक दैनिक बेलढुङ्‍गा पुग्ने गरेका छन् । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँमा ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्‍गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍यो । हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरुले बेलढुङ्‍गामा चहलपहल निकै हुने गर्छ । अहिले पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको सङ्ख्या अझ बढ्दो छ । बेलढुङ्‍गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास ‘होमस्टे’ छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । हरेक दिन पर्यटक बेलढुङ्‍गा  आउने गरे पनि असोज अन्तिम सातादेखि भीड नै लाग्ने गरेको स्थानीय गोपाल श्रीसले बताए । पछिल्लो केही दिनयता दैनिक दुई सयभन्दा बढी पर्यटक बेलढुङ्‍गा  आउने गरेको उनको भनाइ छ । अधिकांश पर्यटक दिउँसो आउने र साँझ फर्कने हुँदा ओखले गाउँमा रहेको सामुदायिक घरबासमा कम पाहुना मात्रै बस्ने गरेको उनले बताए । ‘पहिले–पहिले बेलढुङ्‍गा मा यस्तो चहलपहल हुँदैनथ्यो, अहिले त विकास भएर पनि होला, प्रचार पनि धेरै भएर होला, घुम्न आउनेको सङ्ख्या प्रत्येक वर्ष बढिराखेको छ, यस वर्ष निकै बढी आएको पाएका छौँ,’ उनले भने, ‘अहिले यो ठाउँ निकै व्यवस्थित पनि भएको छ, बागलुङ र म्याग्दी दुई तिरबाट मान्छेहरु आउने गर्छन्, दुई जिल्लाबाहेक पोखरा, काठमाडौँलगायत ठाउँबाट पनि यहाँ घुम्न आउँछन्, यो ठाउँ निकै सुन्दर रहेको हुँदा कहिलेकाहीँ विदेशी पर्यटक पनि फाटफुट आउने गरेका छन्, केही दिन भयो दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आइरहेका छन् ।’ स्थानीय घरबास सञ्चालक मायाकुमारी छन्त्याल श्रीसले दशैंदेखि पाहुनको चाप पनि बढ्न थालेको बताइन् । पाहुनालाई स्थानीय उत्पादन कोदोको सेलरोटी, लोकल कुखुराको मासु, आलुलगायत परिकार खुवाउने गरेको श्रीसको भनाइ छ । घरबास सञ्चालनमा आएपछि बेलढुङ्‍गा आउने पर्यटकलाई निकै सहज भएको उनले बताइन्। पछिल्लो केही दिनयता पाहुन नभएको रात नै नभएको उनको भनाइ थियो । उनले भनिन्, ‘बेलढुङ्‍गा मा पर्यटक बढेपछि हाम्रो होमस्टे पनि राम्रो चलेको छ, पहिले कम मात्रै पर्यटक आउँदा हामीहरुलाई होमस्टे चलाउन गाह्रो थियो, यहाँ आउने पाहुनाले स्थानीय उत्पादनका परिकारको माग गर्नुहुन्छ, यहाँ उपलब्ध परिकार उनीहरुलाई दिने गरेका छौँ, दिनदिनै पर्यटक आउने क्रम जारी छ, हरके दिन पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।’ दशैं-तिहारका लागि क्याम्पस बिदा भएको हुँदा बेलढुङ्‍गा  घुम्न आएको पर्वतका निशान कार्कीले बताए । सामाजिक सञ्जालमा बेलढुङ्‍गा को फोटो र भिडियोहरु निकै भाइरल भएको हुँदा १३ जनाको समूह बनाएर यहाँ घुम्न आएको उनको भनाइ थियो । बेलढुङ्‍गादेखि सूर्योदय पनि देखिने हुँदा एक दिन बागलुङ र अर्को दिन म्याग्दीमा बास बसेर अवलोकन गर्ने कार्कीको भनाइ छ । बेलढुङ्‍गाको अवलोकनपछि ढोरपाटन पुग्ने योजना रहेको उनले बताए । ‘बिदाको समय घुमौँ भनेर एक हप्ताको यात्रा तय गरेका छौँ, यसपालि बागलुङ, म्याग्दी र पर्वतका पर्यटकीय ठाउँ घुमौँ भन्ने छ, दोस्रो दिन बेलढुङ्‍गा  पुगेको निकै रमाइलो रहेछ, हिमालहरु नजिकैबाट देख्न पाइँदोरैछ, वातावरण पनि शान्त,’ उनले भने, ‘पहिले पनि यहाँ आउने चाहना थियो तर समय नमिलेको हुँदा आउन सकेको थिएन, यसपालि चैँ मज्जाले घुमियो, ठाउँ हेरियो ।’ बेलढुङ्‍गा बाट, धौलागिरि, माछापुच्छ्रे अनगिन्ती हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । बागलुङ, पर्वत, कास्की, गुल्मीलगायत ठाउँहरु पनि सहज रुपमा देख्न सकिन्छ । काठेखोला गाउँपालिकाले पनि बेलढुङ्‍गा को प्रवद्र्धन गर्न थालिरहेको छ । गत वर्ष विनियोजन गरेको रु दुई लाख ५९ हजारबाट बेलढुङ्‍गा लाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने दुई सय ६० मिटर स्लेट ढुङ्‍गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल मार्गसमेत बनाइएको छ । रासस

५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा ५० रुपैयाँको सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका हुन् । बुधबार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा ५० रुपैयाँमा एउटा सिक्री किनेका थिए । सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए । तर फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का साथी अमित मल्लिक मिलेर वसन्तलाई छुरा हानेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरु भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ । दीपक र अमित दुवै जना पिपरा गापा–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए । मामाघर बस्दै आएका  बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो । बिहीबार राति एक स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको नेतृत्वमा खटिगएको प्रहरी टोलीले हत्याको आरोपमा मामाघरमा लुकी बसेका दीपक र अमितलाई पक्राउ गरेको थियो । हत्या गर्न प्रयोग गरिएको छुरा र रगत लत्पतिएको उनीहरुको कपडा पनि प्रहरीले फेला पारेको छ । रासस

दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही

दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ । दमौलीबाट काठमाडौं छुट्ने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरुको भाडा फिर्ता गराइएको छ । दमौलीबाट काठमाडौंसम्मको भाडा छ सय ५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले  एक हजार रुपैयाँसम्म लिने गरेको गुनासो आएको छ । विष्टले भने, ‘दसैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ ।’ चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे। यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाडौं जाने यात्रुहरुबाट एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ । रासस

मधेशमा बढ्यो मखानको बिक्री

महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री बढेको छ  । कोजाग्रत पूर्णिका दिन पान र मखान (पोखरी, तलाउमा फलाइने फल विशेष) खाने/ख्वाइने परम्परा मधेशमा रही आएको छ । एक दिनअघि नै यस क्षेत्रका गाउँ नगर बस्तीका बजारमा पान र मखानको बजार जमेको हो । कोजाग्रत पूर्णिमा शनिबार मनाइँदैछ । कोजाग्रत पर्वमा मखान र दूध खाने मैथिल परम्परा छ । मखान शक्तिवद्र्धक पौष्टिक आहार मानिन्छ । यसैगरी, कोजाग्रत पूर्णिमाका दिन सबैजसोले पान खाने भएकाले यस भेगमा एक दिनअघिदेखि नै पानका पातको बिक्री बढेको हो । अहिले पान पसले टाढाटाढाबाट पानका पात जुटाउन व्यस्त छन् । कोजाग्रत  पूर्णिमाका दिन मखान खाएर पान खाने आम प्रचलन छ । पर्व विशेषलाई नै दृष्टिगत गरेर प्रत्येकजसो बजारमा आजदेखि नै मखानको बिक्री बढेको हो । महोत्तरीका बस्ती/बस्तीमा आज बिहानदेखि ‘मखान लेबै मखान’ (मखान लिनोस् मखान) भन्दै मानिसहरु घरघरैजसो  हिँडेका भेटिन्छन् । त्यसैगरी, आफ्नै घरमा लगाइएको पान टिपेर बजारका पान पसलमा पात पु¥याउन ससाना बालबालिका पनि रमाइलो मान्दै हिँडेका देखिन्छन् । पर्वलाइ लक्षित गरी सबैजसो बजारमा व्यापारीले मखान फिजाएर राखेका छन् । मखानको बिक्री त एक/दुई दिनपहिले देखि नै सुरु भएको भङ्गाहा नगरपालिका–५ सीतापुरबजारमा किराना पसल चलाउँदै आउनुभएका नागेन्द्र साह बताए । जिल्लाका बर्दिबास, औरही, सम्सी, सीतापुर, मटिहानी, जलेश्वर, रामगोपालपुर,  बलवा, पिपरा र लोहारपट्टीसहितका बजारमा मखान बेच्ने/किन्नेकै भीड लागेको छ । महोत्तरीका मटिहानी र रामगोपालपुर नगरपालिका क्षेत्र मखान उत्पादनका उर्वरक्षेत्र मानिन्छन् । पर्वविशेषले आफ्नो उत्पादनले महत्व पाउँदा मखान किसान यो पर्वका बेला खुसी देखिन्छन् । कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीमा विचरण गर्न आउने र साँझपख जुन घरमा दीप प्रज्वलित गरिएको छ, त्यहाँ प्रवेश गर्ने विश्वासले घरघरमै दीप प्रज्वलित गरेर देवीलाई पनि मखान र पानसहितका सामग्रीले पूजाआराधना गरिने मैथिल परम्परा छ । कोजाग्रतमा रातभरि जाग्राम (जागा) बस्नुपर्ने पुरानो विश्वास भएकाले कोजाग्रत दिनका लागि यस क्षेत्रमा नाचगानसहितका मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजन हुन्छन् । विभिन्न पर्वमा खास महत्वका फरक/फरक पूजा सामग्री र नैवेद्य चढाउने परम्पराभित्र कोजाग्रतमा भने पान र मखानको महत्व हुने गरेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताए । पान र मखान दुवै सम्पन्नता र सौन्दर्यका प्रतीक मानिन्छन् । त्यसैले कोजाग्रत पर्वमा यिनको महत्व बढेको उनको  भनाइ छ । कोजाग्रत पर्वमा कहिल्यै पान नखाने व्यक्तिले पनि विधिकै लागि पान खाने गरेका छन् । पान सौन्दर्य र सम्पन्नतासँगै प्रसन्नताको प्रतीक पनि मानिने मैथिल जनविश्वासले पर्वविशेषमा यसको महत्व बढेको ८० वर्षीय प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झाले बताए । रासस

नेशनल लाईफले गर्यो भुकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले गत असोज १६ गते आएको भूकम्पबाट क्षतीग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हद सम्म भएपनि राहत मिल्ने धारण व्यक्त गरे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा सम्पन्न भएको हो । विद्यालयका प्रधानाधयापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले उक्त विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिए । यस्तै उनले आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनीलाई र आफ्नो विद्यालयसम्म आई सहयोग हस्तान्तरण गर्ने प्रमुख कार्यकारी अधिकृत खत्रीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल

काठमाडौं । दशैँ मनाउन गाउँ गएका फर्किन थालेका छन् । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ । काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ । दशैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भएपनि बिस्तारै गाउँ गएकाहरु उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ । गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिएको देख्न सकिन्छ ।