पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोड बढी सहयोग
काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ रुपैयाँ सङ्कलन भएको रकम जम्मा गरेको हो । मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण एक करोड, नेपाल वायुसेवा निगम पच्चीस लाख, पर्यटन बोर्ड ५० लाख, पशुपति क्षेत्र विकास कोष २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर दश लाख रुपैयाँ रहेका छन् । त्यस्तै क्यासिनो मोजाङ पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौं पाँच लाख, क्यासिनो वेलिज काठमाडौं पाँच लाख, क्यासिनो प्राइड काठमाडौं पाँच लाख, क्यासिनो प्यालेस काठमाडौ पाँच लाख, क्यासिनो प्यालेस झापाले पाँच लाख रुपैयाँ पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।
एभरेष्ट बैंकले भूकम्प पीडितहरुलाई गर्यो २५ लाख सहयोग
काठमाडौं । एभरेष्ट बैंकले भुकम्प पीडितहरुलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ । उक्त रकमबाट भुकम्प प्रभावितहरुको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६३ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
ओपन एआईद्वारा च्याट जीपीटी-४ टर्वो लन्च, अब तत्कालको जानकारी पनि पाउन सकिने
काठमाडौं । ओपन एआईले च्याट जीपीटी-४ टर्वो लन्च गरेको छ । जसले अब वास्तविक समयमा खोजेको विषयमा समेत जानकारी प्रदान गर्नेछ । जसका बारेमा कम्पनीले यो च्याटजीपीटीको सबैभन्दा उन्नत संस्करण भएको र यसले वास्तविक समयमा सही जानकारी उपलब्ध गराउने बताएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानले आफ्नो पहिलो डेभलपर सम्मेलनमा यो घोषणा गरेका थिए। च्याटजीपीटी गत वर्ष नोभेम्बरमा लन्च गरिएको थियो र अहिले सम्म यसमा सेप्टेम्बर २०२१ सम्मको मात्र जानकारी प्राप्त गर्न सकिन्थ्यो अब भने २०२३ अप्रिल सम्मको जानकारी प्राप्त गर्न सकिने सीइओ साम अल्टम्यानले बताएका छन् । च्याट जीपीटी-४ ले कुनै तस्बिरलाई विश्लेषण गर्ने क्षमता राख्छ । यसका साथै यसले अब तीन सय पृष्ठ सम्म प्रश्नको जवाफ दिने गर्छ । यद्यपी हाल यो डेभलपर्सहरुको लागि मात्रै उपलब्ध भएको र केही समयमा नै आम प्रयोगकर्ताहरुमाझ ल्याउने सिइओ साम अल्टम्यानले बताएका छन् । च्याटजीपीटी-४ प्लस प्रयोगकर्ताहरुको लागि मात्रै हुने र शुल्क तिरेर मात्रै प्रयोग गर्न पाइने छ ।
दुई वर्षमा सकिने पुल तीन वर्षमा आधा मात्रै काम
बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानस्थित बोङ्गाखोलामा पुल निर्माण गर्न थालेको तीन वर्ष बितिसक्यो । अहिले खोलाको दुईपट्टी पिल्लर मात्रै ठडिएका छन् । त्यस बाहेक पुलको कुनै पनि काम हुनसकेको छैन । ठडिएका पिल्लर पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । हरेक वर्ष वर्षातको समयमा बोङ्गाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात सञ्चालन हुन सक्दैनन् । यसवर्ष पनि असारदेखि ठप्प भएका सवारीसाधान कात्तिक लागेपछि मात्रै सञ्चालनमा आएका हुन् । स्थानीय वारपार गर्न झोलुङ्गे पुलको सहायता लिने गरेका छन् । यो खोला पार गरेर मात्रै पालिका केन्द्र पुगिन्छ । भौगोलिक हिसाबले विकट मानिने तमानखोलामा थुप्रै खोला छन् । यहाँ पुल नबन्दा वडा नं १ र २ का केही गाउँबाहेक अन्य वडाका नागरिक बर्खामा पालिकासम्म सिधा यातायात गर्न पाउँदैनन् । पुल निर्माणको जिम्मा पाएको कान्तिपथ कन्ट्रक्सनको लापरबाहीले अहिलेसम्म पुल बन्न नसकेको हो । निर्माण कम्पनी समय–समयमा सम्पर्कविहीन हुँदा करोडौँको योजना अलपत्र हुने गरेको स्थानीयवासीको भनाइ छ । विसं २०७७ पुस १६ गते सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरी काम सुरु गरेको निर्माण कम्पनीले अटेर गरिरहेको छ । विसं २०७९ चैत ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म करिब ५१ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई वर्ष तीन महिनामा सक्नुपर्ने पुल समयावधिसम्म नसकेपछि गतवर्ष चैत ३० गते एक वर्षको लागि म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर अमर अधिकारीले बताए । निर्माण कम्पनीको म्याद अब पाँच महिना मात्रै बाँकी रहेको उनको भनाइ छ । पुल निर्माणका लागि तीन करोड १० लाख ६८ हजार ११३ लागत अनुमान गरेकामा निर्माण कम्पनीले दुई करोड ७१ लाख २७ हजार नौ सय ६४ मा जिम्मा लिएको इञ्जिनीयर अधिकारी बताउँछन् । पाँच महिनाको अवधिमा धेरे मजदूर लगाएर धमाधम काम गरे मात्रै सकिने सम्भावना रहेको उनको भनाइ छ । इञ्जिनीयर अधिकारीले भने, ‘विभिन्न कारण देखाएर अहिलेसम्म कामसक्न सकेको छैन, अब तिहार पछाडि आएर काम गर्छु भनेको छ, हालसम्म ५२ प्रतिशत काम गरेको छ, बाँकी ४८ प्रतिशत काम ध्यान दिएर गर्यो भने चैतसम्म सकिन सक्छ, काम गरेन भने गाह्रो छ, बेसको काम गरिसकेको छ, अझै केही समय म्याद रहेको हुँदा हामीहरुले पनि ताकेता गरिरहेका छौँ ।’ पुल निर्माण सुरु भएको यतिका वर्षसम्म काम सम्पन्न नहुँदा बर्खाको समयमा बढी सास्ती खेप्नु परेको स्थानीयवासी प्रेमबहादुर पुनले बताए । यो खोला पार गरेर मात्रै पालिकाको केन्द्र र ठूला–ठूला सहरमा पुगिने भन्दै ठेकेदारको लापरबाहीले हजारौँ तमानखोलावासीले दुःख पाएको पुनको भनाइ छ । बर्खा लाग्न थालेपछि १०/१५ दिन काम गरे जस्तो गर्ने र त्यसपछि ठेकेदार भाग्ने गरेको उनले बताए । सामान ढुवानी र यात्रा गर्न बढी समस्या हुने पुन बताउँछन् । ‘हिउँदमा त गाडी तर्न सक्छ, यात्रा गर्न र सामान ओसारपसार सजिलै गर्न सकिन्छ, जब असार लाग्छ, त्यसपछि कात्तिकसम्म त गाडी नै चल्दैनन्, यहाँ पुल बन्थ्यो भने त किन समस्या हुन्थ्यो र जति बेला पनि ओहोरदोहोर गर्न सकिन्थ्य’ पुनले भने, ‘यही तालले हो भने त यहाँ पुल बन्ने सम्भावना देखिन्न, वर्षौँ भयो काम सुरु भएको एक वर्षमा एक पटक काम गर्न आउँछ, दुई/चार दिन गरेर भाग्छ ।’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे पनि बेवास्ता गरेको बताए । यहाँ काम गर्न कुनै पनि बाधा अवरोध नभएको भन्दै निर्माण कम्पनीले अटेरी गरिरहेको उनी बताउँछन् । सम्झौताको म्याद सकिएर थप गरेको पनि एक वर्ष बित्न लाग्दा पनि काममा नफर्किएको उनको भनाइ छ । अध्यक्ष बुढा मगरले भने, ‘हामीहरुले धेरै पटक निर्माण कम्पनीका मुख्य व्यक्तिलाई नै धेरै पटक पुलको काम सकिदिनु प¥यो भने भन्यो तर सुनुवाइनै भएन, बाहिरबाट ल्याउने सामग्रीबाहेक अरु अरु यही सहज रुपमा पाइन्थ्यो, काम गर्न समस्यानै थिएन, मजदुर लगाएको भए एकै वर्षमा पुल सकिन्थ्यो, तर तीन वर्षसम्म पनि पुल बन्ने नबन्ने ठेगान छैन, जनताले सास्ती पाइराखेका छन्, निर्माण कम्पनी बेखर छ ।’ रासस
सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा २० प्रतिशत छुट
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २,००० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २,५०० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिनेछ । यो योजना कार्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
इन्डोनेसियामा ७.१ म्याग्निच्युडको भूकम्प
इन्डोनेसिया । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । एसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गरएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो । इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भूभौगर्भिक एजेन्सी (बिएमकेजी) का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो । ‘भूकम्प अत्यन्त तीव्र थियो तर यहाँका मानिस आत्तिएका थिएनन्, हामी भूकम्पको सामना गर्न अभ्यस्त भइसकेका छौँ’, सौमलाकी निवासी ल्याम्बर्ट टाटाङले एएफपीलाई भने, ‘विशेषगरेर सुनामीको कुनै खतरा छैन भन्ने थाहा भएपछि जनजीवन सामान्य भएको छ ।’ प्रशान्त क्षेत्रको ‘रिङ अफ फायर’ मा रहेका कारण इन्डोनेसियाले लगातार भूकम्पको अनुभव गर्दछ । जापानदेखि दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय गतिविधिको चाप हो । गत वर्ष नोभेम्बरमा मुलुकको मुख्य टापु जाभाको घना जनसङ्ख्या भएको पश्चिमी जाभा प्रान्तमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्पमा छ सय दुई जनाको मृत्यु भएको थियो । सन् २००४ मा सुमात्राको तटमा गएको नौ दशमलव एक म्याग्निुच्युडको भूकम्पका कारण आएको सुनामीमा उक्त सम्पूर्ण क्षेत्रमा इन्डोनेसियाका मात्रै एक लाख ७० हजारसहित दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो । रासस
महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख सहयोग रकम प्रदान गरेको हो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थ मन्त्री प्रकाश शरण महतलाई उक्त रकम बाराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावितका लागि ५० लाख सहयोग गर्ने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग गर्ने भएको छ । बैंकले शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भुकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको हो । आज बसेको बैंकको संचालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा जम्मा गर्ने बताएको छ ।