आज धनतेरस : सुनचाँदी र नयाँ भाँडाकुँडा किन्न ग्राहकको भीड
काठमाडौं । आज कात्तिक द्वादशी, अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याइ राख्ने प्रचलन रहेको छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ । विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ । घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको हो । सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दीपावली’ पर्व शुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड देखिन्छ । आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।
सरकारको खर्च ३ खर्ब मात्रै, खातामा पौने २ खर्ब रुपैयाँ
काठमाडौं । सरकारले तीन महिनाको अवधिमा पौने ३ खर्ब रुपैयाँ खर्च गरेको छ । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को असोजसम्मको तथ्याङ्क अनुसार असोजमसान्तसम्म २ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कलाई आधार मान्दै सरकारी खर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.६ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा भने ०.९ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चालु खर्च २ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ, पँुजीगत खर्च १७ अर्ब ८३ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ४९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब १९ अर्ब १२ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व समीक्षा अवधिमा ५.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व १ खर्ब ९९ अर्ब ४६ करोड र गैर कर राजस्व १९ अर्ब ६५ करोड रुपैयाँ परिचालन भएको छ । सरकारको खातामा पौने २ खर्ब रुपैयाँ मात्रै नगद जम्मा रहेको तथ्याङ्क छ । असोजसम्म राष्ट्र बैंकमा सरकारका विभिन्न खातामा १ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।
तीन महिनामा आयातमा १.७ प्रतिशतले वृद्धि, निर्यात भने २.३ प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयातमा १.७ प्रतिशतले वृद्धि भएको छ भने निर्यात भने २.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले सो तथ्यांक देखाएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ९.४ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, अलैंची, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु आयात १.७ प्रतिशतले वृद्धि भई ४०७ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः २.४ प्रतिशत र ४२.४ प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकतर्फको आयात २२.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले वृद्घि भई ३६६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १०.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४५ अर्ब ५८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४ अर्ब ५९ करोड बराबरको भएको थियो ।
मूल्यवृद्धि १ प्रतिशत घट्यो
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा मूल्यवृद्धि घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ प्रतिशत मूल्यवृद्धि घटेर ७.५० प्रतिशतमा झरेको हो । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ । यसैगरी खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ । त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.२५ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत रहेको थियो । यस्तै, असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.७३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ५.३० प्रतिशत, १.३२ प्रतिशत र २.९७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.३४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.५९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति १ खर्ब र चालु खाता ५९ अर्ब रुपैयाँले बचत
काठमाडौं । चालुु आर्थिक वर्षको तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब बचत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को असोजसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ५९ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्व ५९ करोड रुपैयाँ कायम थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाख रुपैयाँले धनात्मक थियो ।
विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब पुग्यो, एक वर्षको आयात धान्न सक्ने
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिति बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवको असोज मसान्तम्म ६.७ प्रतिशतले विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको असार मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर मात्रै रहेको थियो । अमेरिकी डलरमा विदेशी मुद्राको सो सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई १४३३ अर्ब ३६ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८० असोज मसान्तमा ८.३ प्रतिशतले वृद्धि भई २०९ अर्ब ७३ करोड कायम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।
३ महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । तीन महिनाको अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को असोजसम्मको तथ्याङ्क अनुसार रेमिट्यान्स ३० प्रतिशत वृद्धि भई ३ खर्ब ६५ अर्ब रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो ।
भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा !
मलेखु । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला परेको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । तिहार लक्षित बजार अनुगमनको क्रममा व्यापारीले आफैँ तयार गरी बिक्रीका पसलमा पु¥याएको विभिन्न किसिमका भाइ मसलाका ‘प्याकेट’मा म्याद सकिएका गुणस्तरहीन खानेकुरा भेटिएपछि यस्ता खाद्य सामग्री बिक्री नगर्न सचेत गरिएको उनले बताए । ‘तिहारमा प्रयोग हुने भाइ मसलामा म्याद गुज्रिएका चकलेट, किसमिस, काजु, सुपारीलगायतका सामग्री फेला परेको छ’, उनले भने, ‘सचेत गराउँदा अटेर गरेर बिक्री गरेको पाइए सर्वसाधारणको स्वस्थ्यमा असर पुग्ने सामग्रीको प्रयोग गरेको अभियोगमा कारबाही गर्नेछौँ ।’ व्यापारको मौका छोपेर व्यापारीले गुणस्तरहीन सामान हालेर महँगोमा भाइ मसला बनाएर बिक्री गर्न थालेको पाइएपछि जिल्लामा अनुगमनमा कडाइ गरिएको छ । व्यापारीले त्यस्ता सामान किनबेच गर्दा बिलसमेत लिने दिने नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताए । विभिन्न किसिमका सामान जम्मा गरेर आफैँले प्याकिङ गरिरहेकोसमेत फेला परेको उनले जानकारी दिए । तिहार लक्षित भाइ मसलाका सामान सदरमुकामका होलसेल पसलबाट गाउँगाउँमा समेत सप्लाइ भइसकेको हुनसक्ने भएकाले उपभोक्ता आफैँ सचेत रहन पनि आग्रह गरिएको छ ।