अछाममा टेम्पो दुर्घटनामा दुईजनाको निधन, चार घाइते
अछाम । अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
नेपाल बैंक ८७ वर्षमा प्रवेश, चुक्ता पुँजी १४.६९ अर्ब पुग्यो
काठमाडौं । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड ८६ वर्ष पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार, चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा सो बैंक स्थापना भएको थियो । अहिले बैंकको चुक्ता पुँजी १४ दशमलव ६९ अर्ब पुगेको बैङ्कका सूचना अधिकारी प्रकाशकुमार अधिकारीले जानकारी दिए । २०८० आषाढ मसान्तसम्म बैंकले दुई खर्ब ४४ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गरेको थियो। बैंकको जगेडा कोषमा २१ दशमलव ८८ अर्ब रुपैयाँ पुगेको छ भने पुँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र नेटवर्क ३६ दशमलव ५८ अर्बभन्दा बढी रहेको छ । बैंकले हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी २ सय २८ शाखा, ५८ वटा विस्तारित काउन्टर तथा २ सय ४ वटा एटिएम बुथमार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै बैंकले करिब तीन हजार छ सय जना मानिसलाई रोजगारी प्रदान गरेको छ ।
जापानी अर्थतन्त्र सङ्कुचनमा
एजेन्सी । जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ । विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचित भएको प्रारम्भिक आँकडाले देखाएको छ । यो माइनस शून्य दशमलव एक प्रतिशतको सहमति प्रक्षेपणभन्दा खराब हो । लगातार कम उपभोक्ता खर्च र वैश्विक अर्थतन्त्रको कमजोरीले जापानको निर्यातमा असर गरेका कारण लगातार दुई त्रैमासिकमा वृद्धिपछि यो गिरावट आएको हो । समीक्षा अवधिमा निर्यातमा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । यो अघिल्लो चौमासिकको तीन दशमलव नौ प्रतिशतभन्दा कम हो । त्यस्तै आयातमा एक प्रतिशतले वृद्धि हुँदा समग्र विकासमा प्रभाव परेको छ । निजी आवासीय तथा कर्पोरेट लगानीसहित निजी मागमा शून्य दशमलव छ प्रतिशतले गिरावट आएको छ । ब्लुमबर्ग न्युजका अनुसार जापानको अर्थतन्त्र गत वर्षको तेस्रो चौमासिकको तुलनामा यस वर्षको सोही अवधिमा दुई दशमलव एक प्रतिशतले सङ्कुचन भएको छ । बजारको अपेक्षा भने माइनस शून्य दशमलव चार प्रतिशत थियो । बढ्दो महँगीले उपभोक्ताहरू त्रसित भएकाले दुई वर्षअघि पदभार सम्हालेपछि प्रधानमन्त्री किसिदाको पोल रेटिङ सबैभन्दा तल्लो तहमा पुगेको छ । उनले यसै महिना अर्थतन्त्रलाई बढावा दिन र मुद्रास्फीतिको पीडा कम गर्ने उद्देश्यले एक सय ७० खर्ब येन (एक खर्ब १३ अर्ब २० करोड अमेरिकी डलर) को प्रोत्साहन प्याकेज घोषणा गरे । कोभिड–१९ को महामारीसँग जुध्न सरकारले पछिल्लो तीन वर्षमा अर्थतन्त्रमा अर्बौं डलर लगानी गरिसकेको छ । पछिल्लो योजनामा प्रतिव्यक्ति ४० हजार येनको आम्दानी र आवासीय कर कटौती तथा कम आम्दानी भएका परिवारलाई ७० हजार नगद हस्तान्तर गरिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमानअनुसार आंशिकरूपमा येनको गिरावटका कारण जर्मनी यो वर्ष जापानलाई उछिनेर विश्वको सबैभन्दा तेस्रो ठूलो अर्थतन्त्र बन्न तयार छ । यद्यपि जर्मनीको अर्थतन्त्र पनि यो वर्ष कमजोर भइरहेको छ ।
आफन्त गुमाएका र घरबारविहिन भएका भूकम्पपीडितको आँगनमा आएन तिहार
फाइल तस्बिर रुकुम पश्चिम । जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहिन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया भुमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजुको समेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पुर्णगाउँमा मृत्यु भएको थियो । उनीहरू बिरामी माइजुलाई भेट्न त्यहाँसम्म पुगेका थिए । यता आठबीसकोट नगरपालिका १३ हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठूलो ब्रजपात परेको छ । आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदैछ । उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ । यति बेला धेरै ठाउँमा तिहारको रौनक छ । ठाउँठाउँमा देउसीभैलो खेलिरहेका छन्, रमाईलो गरिरहेका छन् । तर लक्ष्मण जस्तै सयौँ भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन । भूकम्पले घरपरिवारमा पु¥याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबीसकोट १३ हम्पाका लक्ष्मण शाहीले बताए । उनले भने, ‘अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहार सँगै बसेर सुखदुःख साटिन्थो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले ब्रजपात पर्यो, खुसीसमेत लुटेर लग्यो ।’ तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबीसको नगरपालिका १३ भल्माका हरिबहादुर ओलीले बताए । तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षीत बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताए । त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले बताइन् । यो वर्ष तिहारले नछोए पनि विनाशकारी भूकम्पबाट बाच्न सफल भएकोमा भने मल्लले खुसी व्यक्त गरिन् । उनले पनि सम्बन्धित निकायलाई अस्थायी बसोवासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गरिन् । भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनर्निर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार सम्बन्धित स्थानीय तहलाई सोही बमोजिम तयारी गर्न भनिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तिहारलगतै अस्थायी पुनर्निर्माणको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।
झापाको एउटै फार्मबाट तीन करोडको केरा बिक्री
झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गरेका हुन् । दुवै ठाउँमा रोपिएका केराका बोट लहलह भएर फस्टाएका छन् । भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले जानकारी दिए । उनका अनुसार भद्रपुरको केराखेतीमा दसैँ र तिहारको समयमा २८ हजार घरी केरा पाकेको थियो । ती सबै काठमाडौँ, वीरगञ्ज, चितवन र पोखराको बजारमा बिक्री भइसकेको छ । बजारमा प्रतिघरी केरा औसत रु एक हजार दुई सयमा बिक्री भएको छ । फार्ममा फलेका सबै केरा कम्पनी आफैँले बजारमा पुर्याएर बिक्री गरेको हो । भद्रपुरको फार्मबाट मात्र तीन करोड ३६ लाखको पाकेको केरा बिक्री भएको अध्यक्ष उप्रेतीको भनाइ छ । ‘उत्पादन सुरु भएको पहिलो वर्षमै भद्रपुरको खेती नाफामा गयो’, खेतीबाट उत्साहित अध्यक्ष उप्रेती भन्छन्, ‘अर्को यामदेखि अझ धेरै नाफा पाउने आशा जागेको छ । पहिलो यामको केरा बजारीकरण गर्न समस्या भयो । आउँदो याममा बढीभन्दा बढी फाइदा लिने कम्पनीको योजना छ ।’ भद्रपुर–५ मा रहेको केराफार्मको जग्गा जिल्लाकै पुरानो भद्रपुर गौशालाको स्वामित्वमा छ । उक्त जग्गा वार्षिक पाँच लाख भाडा तिर्ने सम्झौतामा लिइएको हो भने गौरादहमा धेरै व्यक्तिको निजी जग्गा एकमुष्टरूपमा वार्षिक १० लाख भाडा तिर्ने शर्तमा कम्पनीले लिएको हो । अध्यक्ष उप्रेतीका अनुसार भद्रपुरको फार्ममा ३० हजार र गौरादहमा ८० हजार केराका बोट हुर्किएका छन् । ‘जी नाइन’ नामक उन्नत जातको केराको बिरुवा टिस्युकल्चर प्रविधिबाट नर्सरीमा उमारिएका हुन् । प्रतिबिरुवा ३५ मा खरिद गरिएको उनले बताए । वीरगञ्ज, खुदुनाबारी र गौरीगञ्जमा टिस्युकल्चर प्रविधिबाट केराको बिरुवा उमार्ने नर्सरी रहेका छन् । कम्पनीले तिनै नर्सरीबाट बिरुवा किनेको हो । एकपटक हुर्काएको बिरुवाले पाँच वर्षसम्म नयाँ बिरुवा उमारेर निरन्तर उत्पादन दिइरहन्छ । गौरादहको फार्ममा हाल केरा पाक्न थालेका छन् । उन्नत जातको यो केरा नौ महिनामा पसाउन थाल्छ भने एक वर्षभित्रै पाक्छ । ठूला घरी र पोटिला कोसा धेरै हुने भएकाले यसले सजिलै बजार पाउने गरेको अर्का सञ्चालक कमल थापाको भनाइ छ । केराखेतीमा लागेका युवामध्ये जैसवाल बिर्तामोडको कृषि थोक बजारका ४० वर्षदेखिका अनुभवी व्यापारी हुन् । उनलाई बजारीकरणको राम्रो ज्ञान छ । पहिलो खेती भएकाले कतिपय कठिनाइ भने झेल्नु परिरहेको थापाले बताए । ठूलो लगानीमा केराखेती गरे पनि श्रीगणपति एग्रिकल्चर प्रालिले हालसम्म सरकारी अनुदान र प्रोत्साहन पाउन सकेको छैन । ‘कुलिङ च्याम्बर नहुँदा पहिलो याममा पाकेको केरा बजारमा बिक्री भइनसक्दै बिग्रिएर नष्ट हुने समस्या झेल्नुपर्यो’ थापाले खेतीको अनुभव सुनाउँदै भने, ‘पाकिसकेका केराका घरीलाई टिकाउन कुलिङ च्याम्बर चाहिएको छ ।’ झापाको उत्पादनलाई काठमाडौँको बजारसम्म पुर्याउन तीन दिनसम्म लाग्ने र ढुवानीमा प्रतिगाडी ५० हजारसम्म भाडा लाग्ने भएकाले ढुवानीको गाडी पनि आवश्यक परेको अर्का सञ्चालक प्रकाश निरौला बताउँछन् । सरकारले लागत सहभागितामा कुलिङ च्याम्बर र ढुवानीको गाडी खरिदमा अनुदान दिए व्यवसायमा मद्दत पुग्ने उनको भनाइ छ । भारतीय बजारबाट सस्तो दाममा भित्रिने केराले स्वदेशी उत्पादनलाई बजारमा ठूलो चुनौती खडा गरेको कृषकहरूको अनुभव छ । भारतीय केराको आयात रोकिदिने हो भने स्थानीय उत्पादनले बजार पाउने उनीहरू बताउँछन् । स्वदेशमै रोजगारी सिर्जना गर्ने र कृषिमा प्रोत्साहन गर्ने सरकारको कार्यक्रम भए पनि वास्तविक किसानले मल, बीउ, सिँचाइ, उपकरण र बजारीकरणमा अनुदान पाउन नसक्नु दुःखलाग्दो विडम्बना भएको सञ्चालक निरौला बताउँछन् । चालीस वर्षदेखि विर्तामोडमा व्यापार गर्दै आउनुभएका दारोगा जैसवाल भारतबाट कृषि प्राविधिक ल्याएर केराखेतीमा लगाउनुपरेको बताउँछन् । सरकारले सिँचाइका लागि पाइप र रासायनिक मलखाद बेलैमा चाहिए जति अनुदानमा पाउने हो भने नेपाली युवाले रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उनको भनाइ छ । भद्रपुर गौशालाका एक सयभन्दा बढी गाईवस्तु पालिएको हुँदा त्यहीको गोबर खरिद गरेर मलखादको समस्या केही हदमा टरेको भए पनि रासायनिक मलको सधैँ अभाव रहने जैसवालले जानकारी दिए । ‘कृषि, कृषि भनेर सरकारले चर्को स्वरमा भनेको भन्यै गरेको सुनिन्छ, यहाँ हामीले केही पाएकै छैन’, उनी भन्छन्, ‘हामीलाई कृषि उपकरण, ट्रयाक्टर, ढुवानी गर्न गाडी, सिँचाइका लागि पाइपलगायत सामग्री चाहिएको छ ।
हजारौँ बिरामी र आश्रय लिएका नागरिक रहेको अस्पतालमा इजराइली सेनाद्वारा आक्रमण
एजेन्सी । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ । इजराइली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन् । इजराइल डिफेन्स फोर्स (आइडिएफ) ले आफ्नो सेनाले उक्त अस्पतालको ‘निर्दिष्ट क्षेत्रमा हमासविरुद्ध सटिक र लक्षित’ कारवाही गरिरहेको बताएको छ । अस्पतालभित्र रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारी युसेफ अबुल रेसले अस्पताल परिसरभित्र ट्याङ्क तथा आकस्मिक र स्वागत भवनहरूमा दर्जनौँ सैनिक र कमान्डोहरूलाई देख्न सकिने एएपफीलाई बताएका छन् । अल–शिफा अस्पताललाई ‘सुरक्षित गरिनुपर्छ’ भन्ने अमेरिकाको कडा चेतावनीपछि इजराइलले गुप्तचर सूचना र ‘अपरेसनल आवश्यकता’ का आधारमा छापा मारिएको बताएको छ । स्थानीय अधिकारीहरूका अनुसार हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण उक्त अस्पताल परिसरभित्र रहेका छन् । प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् । एनेस्थिटकबिना नै चिकित्सा प्रक्रियाहरू भइरहेको भन्दै उनीहरूले खानेकुरा तथा पानीको अभाव भएका परिवारहरू कोरिडोरमा बस्ने गरेका र सडेका शवका दुर्गन्ध फैलिरहेको बताएका छन् । अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले भने, ‘अस्पताल परिसरमा शवहरू छरपस्ट छन् र शवगृहमा अब बिजुली छैन ।’ कमान्ड पोस्ट र हतियार भण्डारण गर्न हमासले अस्पताललाई ढालका रूपमा प्रयोग गर्दै आएको इजराइलले लगातार दाबी गर्दै आएको छ तर उक्त दाबीलाई हमासले अस्वीकार गरेको छ । सेनाले हमासको उक्त प्रयोगले अस्पतालको ‘अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित स्थिति’ लाई ‘जोखिम’ मा पारेको बताएको छ । प्यालेस्टिनी लडाकू समूहले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अल–शिफा अस्पतालमा इजराइली आक्रमणका लागि ‘पूर्णरूपमा जिम्मेबार’ भएको आरोप लगाएको छ । गाजामा कुनै अधिकार नभएको तर ऐतिहासिकरूपमा प्यालेस्टिनीहरूको प्रतिनिधि निकाय प्यालेस्टिनी प्राधिकरणले ‘अस्पतालभित्र गरिएको नरसंहारविरुद्ध’ चेतावनी दिएको छ ।
भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा घट्यो
एजेन्सी । भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ४ दशमलव ८७ प्रतिशत रहेको छ । सेप्टेम्बरमा, सीपीआई ५.०२ प्रतिशत थियो । खाद्य मुद्रास्फीति पनि सेप्टेम्बरको ६.६२ प्रतिशतबाट अक्टोबरमा ६.६१ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । अधिकारीहरूकाअनुसार सबै राज्यहरू समेट्ने १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट मूल्य डेटा सङ्कलन गरिएको छ । अक्टोबर २०२३ को महिनामा, एनएसओ (राष्ट्रिय तथ्याङ्क कार्यालय) ले ९९.८ प्रतिशत गाउँ र ९८.६ प्रतिशत सहरी बजारबाट मूल्य सङ्कलन गरेको छ भने बजारअनुसार मूल्यहरू ग्रामिण क्षेत्रमा ८९.० प्रतिशत र शहरीका लागि ९२.० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अक्टोबरमा खुद्रा मुद्रास्फीतिमा भएको सहजता मुख्यतया खाद्यान्नको मूल्यमा आएको तिब्र्र कमी, विशेषगरी तरकारीको मूल्य र एलपीजी मूल्य कटौतीको प्रभावलाई दिइएको छ ।
वायु प्रदूषण बढेपछि दिल्लीमा पटाका बिक्रीमा प्रतिवन्ध
एजेन्सी । दीपावलीको अवसरमा दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ । दिल्ली सरकारले कडा प्रतिवन्ध लगाए पनि दिवाली पर्व मनाउन पटाका पड्काउने लगायतका गतिविधि पनि दिल्लीमा वायु प्रदूषण फेरि डरलाग्दो स्तरमा पुगेको हो । दिल्ली वरपरका क्षेत्रहरूले पनि खतरनाक वायु प्रदूषण स्तर रिपोर्ट भएको छ । दिल्लीबाट करिव १५० माइल टाढा रहेको विश्वका सात आश्चर्य मध्येको एक ताजमहल धुवाँको बाक्लो तहले घेरिएको देखियो । दिवाली पर्वको केही दिन अगाडि, दिल्ली सरकारले वायु प्रदूषणलाई नियन्त्रणमा राख्नको लागि राष्ट्रिय राजधानीमा पटाका बिक्रीमा प्रतिवन्ध लगाएको छ । दिल्ली प्रदूषण नियन्त्रण बोर्डले भन्यो कि, शहरले पटाकाहरू पड्काएपछि प्रदूषण स्तरमा तिब्र रुपमा बढेको छ ।