नेपाल वेयरहाउजिङ्गले मंसिर १० गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले मंसिर १० गतदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् २७ हजार ५ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा छिटोमा मंसिर १३ गते र ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
आजदेखि नयाँ ब्याजदर लागू, बचत गर्दा यी बैंकले बढी ब्याज दिने
काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज मंसिर १ गतेदेखि लागू भएको छ । मंसिर महिनाका लागि बैंकहरुले कात्तिक मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको ब्याजदर घटेको देखिन्छ । १३ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने एक बैंकले भने ब्याजदर बढाएको छ । साथै, ६ वटा बैंकले कात्तिकको ब्याजदरलाई मंसिरमा लागू गर्ने भएका हुन् । मंसिरमा माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको हो । बैंकले मंसिर महिनाका लागि १.११३ प्रतिशत ब्याजदर बढाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत प्रदान गर्ने छ । सिटिजन्स बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छन् । सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९५ प्रतिशत र संस्थागततर्फ ७.९५ प्रतिशत, सिद्धार्थ बैंकले ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत, कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत, प्राइम बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत र नेपाल बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याज प्रदान गर्ने छन् । नेपाल एसबिआई बैंकले ०.०९७ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत, हिमालयन बैंकले ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत, एनएमबि बैंकले मंसिरका लागि १.२४३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत, ग्लोबल आइएमई बैंकले मंसिरका लागि ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत तोकेको छ । यस्तै, कृषि विकास बैंकले मंसिरका लागि ०.०४८ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.९१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत, नबिल बैंकले ०.९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, सानिमा बैंकले ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यस्तै, प्रभु बैंकले मंसिर महिनाका लागि ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, एभरेष्ट बैंकले ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत र एनआईसी एशिया बैंकले २.०३५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत प्रदान गर्ने छ ।
इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह कब्जा
काठमाडौं । इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ । इजरायली रक्षा बलले बिहीबार जनाए अनुसार नौसेना, आर्मर र ईन्जिनियरिङ् बलहरूको संयुक्त आक्रमण र वायुसेनाको सहयोगमा करिब १० को प्रयत्नमा टनेल शाफ्टहरू नष्ट गरिएको र आतङ्कवादी पूर्वाधारका चारवटा भवनहरू पनि ध्वस्त पारिएको छ । हमासले आफ्नो नौसेनालाई प्रशिक्षण दिन र नौसैनिक आक्रमणहरू सञ्चालन गर्न यो सुविधा प्रयोग गरेको आइडिएफले जनाएको छ । नागरिक नौसेना एंकरेज को आवरणमा हमासले प्रशिक्षण र आक्रमण गर्ने उद्देश्यका लागि त्यो ठाउँको फाइदा उठाएको बताइएको छ । साथै नागरिक जहाजहरू र गाजाको नौसेना प्रहरी डुङ्गाहरू पनि प्रयोगमा ल्याइएको बताइएको छ । इजरायली सेनाले दशजना आतङ्ककारीलाई मारेको छ र एंकोरेज क्षेत्रका सबै भवनहरू खाली गरेको दाबी गरेको छ । सन् २०१० को मावी मारमारा आक्रमणको घटनाहरूको सम्मान स्मारक पनि ढालिएको छ । बन्दरगाह कब्जा गर्न संलग्न इजरायली नौसेनाका १३ औं फ्लोटिलाका केही लडाकुहरूले मावी मारमारामा पनि पुगेका थिए । इजरायली नौसेनाले गाजा नाकाबन्दीलाई प्रतीकात्मक रूपमा तोड्न खोज्ने छ जहाजको फ्लोटिलालाई पनि रोकेको थियो । सो क्रममा फ्लोटिलाको सबैभन्दा ठूलो जहाज मावी मारमारामा हिंस्रक झडपमा परेको थियो । सन् २००७ मा हमासले गाजा माथि नियन्त्रण कब्जा गरेपछि इजरायली नौसेनाले इरानी हतियारहरू समुद्री मार्गबाट स्ट्रिपमा तस्करी गर्ने प्रयासहरूलाई रोकेको थियो । एजेन्सी
अमेरिकाको साझेदार र मित्र बन्न चीन तयार छ : राष्ट्रपति सी
US President Joe Biden greets Chinese President Xi Jinping before a meeting during the Asia-Pacific Economic Cooperation (APEC) Leaders’ week in Woodside, California on November 15, 2023. Biden and Xi will try to prevent the superpowers’ rivalry spilling into conflict when they meet for the first time in a year at a high-stakes summit in San Francisco on Wednesday. With tensions soaring over issues including Taiwan, sanctions and trade, the leaders of the world’s largest economies are expected to hold at least three hours of talks at the Filoli country estate on the city’s outskirts. (Photo by Brendan Smialowski / AFP) काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन् । “यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उनले भने । राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उनको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उनीहरूले दुई मुलुकबीचको तनावलाई कम गर्ने वाचा गरेका छन् । उच्चस्तरीय सैन्य हटलाइनलाई पुनः सक्रियताका साथ सुरु गरी दुवै पक्षले लक्जरी फिलोली एस्टेटमा वार्तापछि धेरै सम्झौताको घोषणा गरेका छन् । “हामीले धेरैभन्दा धेरै पुल बनाउनु पर्छ र जनता–जनताबीच कुराकानी गर्नका लागि अधिक सडक बनाउनुपर्छ”, करिब ४ सय व्यापारिक नेता, सरकारी अधिकारी र शिक्षाविदहरूको उपस्थितिमा चिनियाँ राष्ट्रपति सीले भने, “हामीले विभिन्न अवरोध सिर्जना गर्नु हुँदैन वा भयावहको प्रभाव सिर्जना गर्नु हुँदैन ।” सो अवसरमा उपस्थित हुने अतिथिहरूमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, ब्ल्याकरकका लरेन्स फिङ्क र पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला थिए । चीनको कडा व्यापारिक निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राख्दै अमेरिका–चीन व्यापार परिषद् र अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा सीको टिप्पणीलाई ध्यानपूर्वक हेरिएको थियो । अमेरिकी कम्पनीहरूले तीव्ररूपमा चीनमा लगानी गर्नबाट पन्छिरहन खोजेसँगै सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौंको सबैभन्दा तल्लो स्तरमा पुगेको अमेरिकी र युरोपेली उद्यम लबीहरूले बताएको छन् ।
भूकम्प पीडितलाई इयूको २८ करोड ८० लाख रुपैयाँ सहयोग
काठमाडौं । युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ । अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो ।
अष्ट्रेलियाद्वारा भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग
काठमाडौं । अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब ५ करोड ९ लाख रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ । नेपालस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ । उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सहयोग गर्नेछ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भने, “पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दुछु । अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।”
छठ पर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’
काठमाडौं । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि हिजो बिहीबार नै गरेका हुन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थालिने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी)देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला÷पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् । श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् । हिजो बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो व्रत यसपालि पर्सी आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन आउने सोमबार बिहान सूर्योदयसँगै गरिने छ । मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । जन–जन परिचालित हुने यो लोकपर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको देखिन्छ ।
६ लघुवित्तको लाभांश घोषणा, अधिकतम २० प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षमा आधा दर्जन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । पुँजी बजारमा सूचीकृत लघुवित्तहरूमध्ये ६ वटा लघुवित्तले तिहारअघि नै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हालसम्म आरएसडिसी लघुवित्त, युनिक लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यस्तै, युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, सपोर्ट लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्त वित्तीय संस्थाहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।