विकासन्युज

छठ पर्व विधिवत् सुरु

सिरहा । तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ । निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले सिरहा जिल्लाको बजारमा रौनकता थपिएको छ । जिल्लाको माडर, बरयारपट्टि, ठाडी नाका नजिक रहेको भारतीय बजारका साथै सिरहा बजार, कल्याणपुर, भगवानपुर, सुखिपुर, लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैयालगायत स्थानीय बजारमा पूजाको सामग्री किनमेल गर्नेको घुइँचो लागेको छ । आर्थिक मन्दीले व्यपार बन्द भइरहेको बेला तिहार र छठ पर्वमा भइरहेको व्यापारले आशाको दियो बलेको लहानका व्यापारी रञ्जित साहले बताए । उनले जिल्लाका मुख्य बजार क्षेत्रका पसलहरु बन्द भइरहेको अवस्थामा दशैंभन्दा पनि तिहार र छठमा राम्रो व्यापार भइरहेको बताए । जिल्लाका व्यापारीलाई प्रोत्साहन दिनका लागि सीमा क्षेत्रमा हुने तस्करी रोक्नुपर्ने उनको भनाइ छ । श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि पूजाका सामग्रीमा डोम समुदायले बनाएका ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ वर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्री किन्न बजारमा घुइँचो लागेको हो । तराई मधेसमा उल्लासका साथ मनाइने यो पर्वमा परिवारका सबै सदस्यलाई नयाँ कपडा लाउने र मीठो परिकार खाने गरिन्छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेसमा धुमधामसँग मनाइने छठ पर्व पछिल्ला दिनहरुमा देशैभरि मनाउन थालिएको छ । छठ मनाउन यतिबेला तराईका गाउँसहरमा रहेका पोखरी, नदी, तलाउ जस्ता जलाशयको सरसफाइ गर्ने, सिङ्गार्ने, क्रम सुरु भइसकेको छ । छठको पहिलो दिनलाई अरबा–अरबाइन भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजदेखि सात्विक भोजन गरी व्रत बस्ने परम्परा छ । यो पर्व आज नेहाय खाय (नुहाएर खाने) विधिबाट सुरु भएको छ । भोलि खरना (खिर खाने) र पर्सि आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिई विधिवत् रूपमा सम्पन्न हुनेछ ।

जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी

जाजरकोट । भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो । उनकी छोरी घाइते भइन् । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किएकी छन् । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो । भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन् । घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैँ हुने गरेको छ । आमा देउमा भग्नावशेषमा परिणत भएको घरभित्र रहेका मालसमान निकाल्न लागेकी छन् । घरभित्र भएका कुनै पनि सामान देउमाले सग्लो पाएकी छैनन् । अहिले उनको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ । संयोगले भूकम्प गएको समयमा देउमाका छोरा नवीनसहित अन्य घरका आफन्त छिमेकी गाउँ मैदेमा तिहारको लागि रोटी तयार गर्नका लागि गएका गएको थिए । घरमा आमा, छोरीमात्र भएको समयमा आएको भूकम्पले छोरीलाई घाइते बनायो भने आमाले छोरीलाई उद्धार गर्न सफल भएको बताइन् । त्यस्तै छिमेकी कर्णबहादुर रानाले दाइ नै गुमाउनुपर्‍यो । माटाले निर्माण गरेका कच्ची घरमा सुतेको कर्णका दाइ रवीन्द्र (गाउँमा बोलाउने नाम) बोल्न नपाइ भूकम्पको झड्कामै ज्यान गएको थियो । अहिले घुयलनेटाको पूरै गाउँ शोकमा रहेको छ । घाइते भएका र मृतकका आफन्त अहिले पनि सामूहिकरूपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरूको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ । यो सदरमुकामभित्रको पालिका भए पनि अति दुर्गम बस्तीभित्र पर्दछ । जनयुद्धकालमा समेत यहाँको बस्तीमा धेरै पटक बमबाढी गरिएको थियो । पटकपटक पीडा खप्दै आएको यो गाउँ फेरि पनि भूकम्पको मारमा परेको छ । डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोगसमेत देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताए । भेरी नगरपालिका–४ खलङ्गास्थित कस्तुरी बोर्डिङ स्कुलको प्राङ्गणमा त्रिपालमा एक सातादेखि बसिरहेकी १८ दिनकी सुत्केरी विमला तिरुवा त्रिपालमा दैनिकी चलिरहेको छ । चिसो र आवश्यक स्याहारसुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी रहेका छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हात खुट्टा सुनिएको छ । कुशे गाउँपालिका–९ निवासी १८ वर्षीय उनी सदरमुकामस्थित गोरख तिरुवा सदरमुकाममा भाडामा बस्दै आएको समयमा भूकम्पले घर भत्किएपछि अहिले त्रिपालमै सहारामा खुला चौरमा रहेकी छन् । भूकम्प जानुभन्दा तीन अघि सुत्केरी भएकी उनी दैवले हात थाम्दा बाँचेको बताउँछिन् । श्रीमान् वीरेन्द्र ज्याला मजदूरी गरेर परिवारको समस्य समाधान गर्दै आउनुभएको उनको भनाइ छ । भूकम्प गएदेखि त्रिपालको सहारामा रहेको यो परिवारले नयाँ भाडामा बस्नका लागि घर पाएको छैन । पाँच जनाको परिवारलाई कामै गरेर जीवन धानिरहेको यो परिवार अहिले कामविहीन मात्र होइन, घरमा खाने कुरा नभएर हैरानमा रहेको छ । त्रिपालकै सहारामा बसिरहेको अर्को हेमन्त जंग सिंहको परिवारलाई त्यस्तै खालको समस्य रहेको छ । एउटा त्रिपालभित्र सबै परिवारका सदस्य बस्दा दैनिक समस्य हुँदै आएको छ । साना नानी, बाबु त्रिपालभित्र बिरामी भएका छन् भने ठूलालाई समेत बस्न मुस्किल परिरहेको छ । भेरी नगरपालिका–१ डिँगा कि २१ वर्षीया पुष्पा सिंहको दुई महिना अगाडि मात्र निर्माण गरेको घर भूकम्पले भत्किएपछि त्रिपालमा बस्दै आएकी छन् । दुई महिनाको छोरासहित बस्दै आएकी उनको दैनिकी पनि समस्याले गाजेको छ । छोरीलाई आँखा पाक्ने रोगले हैरान बनाएको छ । पुष्पाले भनिन्, ‘अरु नदेखिने समस्य त के हामीलाई थाहा छैन ।’ धन्न घर भत्किँदा बाचेको जिन्दगी त्रिपालको सहारामा कसरी बाँच्ने संघर्ष सुरु भएको उनले बताइन् । ‘त्रिपालबाट पनि शीत चुहिन्छ । जसका कारण छोरी बिरामी परेकी हो । न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै । घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने ?,’ उनले भनिन्, ‘राहतका नाममा अहिलेसम्म एक सरो त्रिपालबाहेक केही पाएका छनौँ । चिसो र भोकले मर्ने बेला भो ।’ त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन्। उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको कमी भएको बताइन् । ‘जाजरकोटका ९५ प्रतिशत मानिस घरबाहिर छन् । शौचालय भत्किएका छन् । पोषणको अभाव छ । सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन नसकेको छैन । शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ । धेरै मानिस मानसिकरूपमा डराइरहेको अवस्था छ,’ नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले भने । प्रमुख रावतले गर्भवती र सुत्केरीलाई तत्काल पोषिला खानेकुरा दिएर रोग प्रतिरक्षा शक्ति बढाउनु अवस्था रहेको बताए । स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिको व्यवस्थाका लागि पहल भइरहेको उनको भनाइ छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन् । पालिकाका स्वास्थ्य संस्थासमेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकैपटक उपचार गर्न सम्भव नहुने देखिएको छ । नलगाडको नगर अस्पताल त्रिपालमा चलिरहेको छ । बिरामीलाई भर्नादेखि सबै काम त्रिपालबाट भइरहेको छ । त्यस्तै बारेकोटको लिम्सास्थित १० श्ययाको अस्पतालसमेत त्रिपालमा चलिरहेको छ । जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षीत पुगेको छ । रासस

पुँजीगतभन्दा चालू खर्च दोब्बर, चार महिनामा २० प्रतिशतमात्रै बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड ४० लाख रुपैयाँबराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको वार्षिक बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्मको खर्चको अवस्था हेर्दा चालुतर्फ २३.७५, पुँजीगततर्फ ९.९३ र वित्तीय व्यवस्थातर्फ १७.७२ प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबर विनियोजन गरेको थियो । जसमध्ये हालसम्म २ खर्ब ७१ अर्ब १७ करोड ४७ लाख रुपैयाँबराबर खर्च भएको छ । पुँजीगत शीर्षकमा ३ खर्ब २अर्ब ७ करोड ४४ लाख रूपैयाँ बराबरको बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा २९ अर्ब ९८ करोड ९४ लाख रुपैयाँबराबर मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँबराबरको बजेट विनियोजन भएकामा हालसम्म ५४ अर्ब ४६ करोड ९९ लाख रुपैयाँबराबर खर्च भएको छ । सामान्यतया वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको रकम सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुने गरेको छ । चालु आर्थिक वर्षमा पूँजीगत शीर्षकमा भन्दा वित्तीय व्यवस्था शीर्षकमा बढी बजेट विनियोजन भएको थियो । सुरुवाती चार महिनाको खर्चको अवस्था हेर्दा पूँजीगतभन्दा वित्तीय व्यवस्था शीर्षकमा झन्डै दोब्बर बराबर खर्च भएको देखिएको छ । अर्थात् नेपालले पुँजी निर्माणमा गर्ने खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गरिरहेको खर्चको अंश बढी छ । पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २०.०८ प्रतशित बराबर छ । चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँबराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा २ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँबराबर राजस्व उठाएको छ । जसमा कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड २२ लाख र गैरकर राजस्व २२ अर्ब ३३ करोड ७८ लाख रुपैयाँबराबर छ । त्यस्तै, चालु आर्थिक वर्षका लागि ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ५.५२ प्रतिशत अनुदान लिएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् । नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए । ‘हामीले गर्दै नगरेको कामको मूल्य चुकाउन सक्दैनौँ, जसले कार्बन उत्सर्जनमा कमजोरी गरेको छ, उसले हाम्रो अधिकारका रुपमा जलवायु कोषमार्फत क्षतिपूर्ति दिनुपर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘कोप–२८ मा नेपालले सहयोगको याचना मात्रै गर्ने होइन, हामीलाई हाम्रो अधिकार चाहियो भन्ने हो ।’ उनले यसलाई मागका रुपमा नभई अधिकारकैरुपमा राख्ने तयारी गरिएको जानकारी दिए । यही मङ्सिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा कोप–२८ सम्मेलन आयोजना हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा हुने सम्मेलनमा राष्ट्रिय अनुकूलन योजनाको विस्तृत रुप, राष्ट्रिय निर्धारित योगदानमा आधारित कार्यान्वयन योजना र कोप–२८ को एजेण्डाका बारेमा छलफल हुनेछ । नेपालले कोप–२८ मा उठाउने विषय र प्राथमिकताका सम्बन्धमा उच्चस्तरीय सत्रलाई यही मङ्सिर १६ गते प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले कोप–२८ सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानि र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर कम गर्न छ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव गरिएको जानकारी दिए। यस सम्मेलनमा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत मुद्दालाई प्राथमिकतामा राखेको छ । कार्यक्रममा प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रको विकास तथा विस्तार, व्यवस्थित पर्यटकीय गतिविधि सञ्चालन, सगरमाथाको सुरक्षा र सफाइलाई प्रभावकारी रुपमा लैजान सरोकारवालाको सहभागितामा आवश्यक कार्यविधि बनाइने विश्वास दिलाए । कालापथ्थर क्षेत्रमा दीप प्रज्वलन हस्तान्तरण र झण्डोत्तलन गर्नु आफैँमा पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खुम्बु क्षेत्रमा गरेको भ्रमणले विश्वको ध्यानाकर्षण भएको बताए । ‘महासचिव गुटेरेसले खुम्बु क्षेत्रमा पुगेर जलवायु परिवर्तनको असर प्रत्यक्ष हेरेको, यहाँका जनता र प्रतिनिधिसँग अन्तक्र्रिया गरेर जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको समस्यालाई विश्वव्यापीकरणका लागि महत्वपूर्ण योगदान मिलेको छ,’ उनले भने । आफूले संयुक्त राष्ट्र सङ्घको ७६औँ महासभालाई अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दा नेपालमा जलवायु परिवर्तनको चर्को असरका बारेमा प्रष्टसँग राखेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले जलवायुसम्बन्धी अन्य मञ्चमा पनि नेपालले प्रष्टसँग कुरा राख्ने विश्वास दिलाए । ‘महासभामा मैले हामीले गर्दै नगरेको कामका निम्ति मूल्य चुकाउनुपर्ने विडम्बनाका बारेमा स्पष्टसँग राखेको छु, यसलाई प्रत्यक्षरुपमा अनुभूत गर्न र उक्त मुद्दालाई विश्वव्यापीकरण गर्न राष्ट्र सङ्घका महासचिव गुटरेससँग अपिल गरेँ,’ उनले भने, ‘मेरो पहिलो निमन्त्रणामै राष्ट्रसङ्घका महासचिव तुरुन्तै नेपाल आउनुभयो, खुम्बु क्षेत्रको अवलोकन र स्थानीयसँग अन्तक्र्रिया गर्नुभयो, यो निकै महत्वपूर्ण छ ।’ प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणमा सरकार गम्भीर रहेको बताए । उनले विश्वमाझ नेपालाई चिनाउने सगरमाथा र लुम्बिनीको संरक्षण र प्रवद्र्धन गर्न सरकारले भरमग्दुर प्रयार गर्ने बताए । ‘खुम्बु क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई मैले गम्भीररूपमा लिएको छु, केही सयम अगाडि अर्थमन्त्रालयबाट चतरादेखि लुक्लासम्म सडक निर्माण गर्ने गरी बजेट विनियोजन भएको छ, सडक निर्माणलाई तीव्र बनाउन सरकारले विशेष ध्यान दिनेछ,’ प्रधानमन्त्री दाहालले भने । स्थानीय तहले पनि विभिन्न ढङ्गबाट उक्त क्षेत्रमा ट्रयाक खोल्ने काम भएकामा आभार प्रकट गर्दै उनले उक्त सडकलाई स्तरोन्नति गर्न सरकारले सहयोग गर्ने बताए । विश्व समुदायमाझ नेपालको प्रतिष्ठा अभिवृद्धिका लागि खुम्बु क्षेत्रले भूमिका अतुलनीय रहेको उनको भनाइ छ ।

लप्सीफेदीमा प्रहरी पोष्ट राख्न गएका सुरक्षाकर्मीमाथि ढुंगामुढा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटक–पटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सरकारले काठमाडौं शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधिन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा सचिव दिनेशकुमार घिमिरेलगायत मन्त्रालयका उच्च अधिकारीले पटकपटक जायज माग पूरा गर्ने र सबस्टेसन र प्रसारण लाइन निर्माणका लागि सहमति जनाउन आग्रह गरेका थिए । स्थानीयवासी र उनीहरूका प्रतिनिधिलाई वार्तामा सहभागी भए पनि कुनै पनि विषयमा सहमति जनाउन अटेर गरेको मन्त्रालयको भनाइ छ । सरकारको पछिल्लो निर्णयका आधारमा शुक्रबार बेस क्याम्प स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गरेका थिए । त्यस क्रममा केही प्रहरी घाइते भएका थिए । प्रहरीले आक्रामणमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । नेपाल विद्युत प्राधिकरणले शङ्खरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००र२२०र१३२र११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ । सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीका करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिवापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ । प्रभावित जग्गाधनीभन्दा पनि असम्बन्धित व्यक्तिहरूले विगत तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै एक गैरसरकारी संस्थाको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको नेपाल विद्युत प्राधिकरणको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैर सरकारी संस्था र असम्बन्धित व्यक्तिहरूका उक्साहटका कारण सबस्टेसन निर्माणको बिरोध भइरहेको जानकारी दिए । सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले लप्सीफेदीसम्म विद्युत ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सबस्टेसन निर्माण गर्न नसकिएमा उक्त विद्युत प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ । प्राधिकरणले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकाले सबस्टसेन अन्यत्र सार्न नसकिने प्रष्ट पार्दै आएको छ । जग्गाधनीहरूले छिटो मुआब्जा चाहियो भन्दै राजीखुसीले रकम बुझ्का थिए । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋण सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो । नयाँ खिम्ती–काठमाडौं ४०० केभी तथा लम्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन र चार वटा सबस्टेसन गरी अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ रहेको छ । लप्सीफेदी र चाँगुनारायण सबस्टेसन निर्माणका लागि पहिलो ठेक्का सम्झौता २८ मङ्सिर २०७४ (१४ डिसेम्बर २०१७) मा भएको थियो । ठेकेदारले लप्सीफेदी सबस्टेसन निर्माणका लागि एक वर्ष काम गरेको थियो । तर, ठेकेदारको काम सन्तोषजनक नभएपछि ठेक्का तोडी ४ मङ्सिर २०७७ ९१९ नोभेम्बर २०२०० नयाँ ठेक्का लगाइएको थियो । पहिलो ठेकेदारले काम गर्दा लप्सीफेदीमा कुनै विरोध भएको थिएन । तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ । अवरोधका कारण हालसम्म सबस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन । रासस

नेपाली छुर्पी विश्व बजारमा पुर्‍याउँदै भोजपुरका युवा

भोजपुर । भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो । दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बनेका छन् । आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उनले बताए। ‘यहाँको छुर्पी बाध्य बजारमा जान थालेको अवस्था छ,’ राईले भने, ‘भोजपुरका डेरीबाट पनि आवश्यक पर्दा दूध लैजाने गरेका छौँ । बाँकी रहेको दूधको छुर्पी बनाउँछु । यहाँ उत्पादन भएको छुर्पी कुकुरका लागि विदेशका विभिन्न देशमा निर्यात हुने गरेको छ ।’ आफू स्वरोगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ । उत्पादित दूधलाई बजारसम्म पुर्‍याउन समस्या भोग्दै आएका किसानलाई अहिले सहज भएको छ । व्यवसायी राईले किसानको घररघरमा पुगेर दूध सङ्कलन गरेर बिक्री पनि गर्दै आएको बताए । ‘यो ठाउँका मानिसमा दूध बिक्री गर्ने चलन थिएन,’ राईले भने, ‘मैले व्यवसाय सञ्चालन गरेपछि उनीहरूलाई सहज भएको छ । किसानको घरसम्म पुगेर दूध सङ्कलन गरेर ल्याउँछु ।’ व्यवसायी राईले दैनिक २ सय ५० देखि ३ सय लिटरसम्म दूध सङ्कलन गर्दै आएका छन् । पौवादुङमा गाउँपालिकाको विभिन्न क्षेत्रसँगै अरुण गाउँपालिको माचुङ, सोर्‍याङलगायत ठाउँमा पुगेर दूध सङ्कलन गर्दै आएको उनले जानकारी दिए। यी क्षेत्रका एक किसानले मासिक ५ हजारदेखि ३० हजार रुपैयाँसम्मको दूध घरबाट नै बिक्री गरिरहेको राईको भनाइ छ । आफूले पशुपालनको लागि ६० रोपनी जग्गा लिजमा लिएको राईले जानकारी दिए। ‘विगतमा घरमा नै दूध खपत गर्दै आएका किसान अहिले व्यावसायिक बनेको अवस्था छ,’ उनले भने, ‘दूध बिक्री भएपछि किसान पशुपालनमा लागेका छन् । उत्पादित दूधको बजारीकरणमा कुनै समस्या छैन ।’ यहाँका किसानको घर÷घरबाट सङ्कलन भएको दूधलाई भोजपुर सदरमुकामका डेरीले पनि लैजाने गरेको राईको भनाइ छ । छुर्पी प्रतिकेजी १ हजार १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ । नौनी घ्यू प्रतिकेजी ७ सय र खरुवा घ्यू प्रतिकेजी १ हजार ३ सय रुपैयाँमा बिक्री गर्दै आएको उनकी श्रीमती रमला राईले बताइन् । उत्पादित घ्यूँको बजारीकरणमा भने केही समस्या रहेको उनको भनाइ छ । राज्यको तर्फबाट सहयोग भए व्यवसायलाई थप विस्तार गर्न सहज हुने उनको भनाइ छ । आफ्नै ठाउँमा डेरी सञ्चालन भए पनि दूध बिक्री गर्न सहज भएको स्थानीय पशुपालक कृषक विक्रम राईले बताए । दूधको बेचबिखनमा सहज भएसँगै गाईपालनलाई थप विस्तार गरेको उनको भनाइ छ । ‘अहिले दूध बिक्रीको लागि सहज अवस्था छ,’ उनले भने, ‘फर्मबाट नै दूध बिक्री गर्छु । विगतमा हाम्रो ठाउँमा दूध बिक्री गर्ने चलन नै थिएन । अहिले दूध बेचेर घर खर्च धान्ने अवस्था बनेको छ ।’ गाउँमा नै डेरी स्थापनाले किसानलाई सहजता भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए। किसानले दूध बिक्री गरेर घर खर्च टार्ने अवस्था बनेको उनको भनाइ छ । ‘विगतमा पनि हाम्रो क्षेत्रमा प्रशस्त मात्रामा दूध उत्पादन हुन्थ्यो,’ वडाध्यक्ष तामाङले भने, ‘तर, बिक्री गर्नका लागि बजार थिएन । अहिले किसानलाई दूध बिक्रीको लागि कुनै समस्या छैन ।’ गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। यो कार्यक्रमअन्तर्गत विगतका आर्थिक वर्षमा किसानलाइ १३ वटा उन्नत जातको भैँसी वितरण गरेको अध्यक्ष राईको भनाइ छ । ‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘हामीले किसानलाई उन्नत जातको भैँसी वितरण गरिसकेका छौँ । अहिले यहाँ उत्पादन भएको दूध सदरमुकामसम्म जान थालेको छ । यही दुग्ध उद्योग खोलेर पनि किसानले दूधको परिकार बेच्न थालेका छन् ।’ गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए। भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

रास्वपा आजदेखि घरदैलो अभियानमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि घरदैलो अभियान थालेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो । ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने उनले जानकारी दिए। अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ । ‘चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौँ,’ उनले भने । यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत अभियानमा सहभागी हुनेछन् । उनले भने, ‘एक सय ३१ निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन हुनेछन् ।’

धनगढीमा विद्युत सर्ट हुँदा आगलागी, अस्पतालसहित ८ पसलमा क्षति

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१ मुख्य बजारमा रहेको सारथी अस्पताल प्रालि र सँगै जोडिएका पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको समान जलेर नष्ट भएको छ । गए राति करिब १ बजे लागेको आगो आज बिहान मात्र निभाइएको थियो । अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ । आगलागीबाट सारथी अस्पतालसहित भण्डारीको भण्डारी जनरल स्टोर, टेकेन्द्र शर्माको मधुमाला बेबी सपगोदाम, वासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगतबहादुर बलायरको सुभिक्षा देवी सपिङ सेन्टर, यशोदा साउदको न्यू सदिक्षा इन्टर प्राइजेज, गौरी भण्डारीको भण्डारी सु सेन्टर, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा रहेको मालसामान जलेर नष्ट भएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र पुनर्वास नगरपालिकाका चारवटा दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।