विकासन्युज

बिर्तामोडको आकाशमा उडे रकेट र चन्द्रयान, ४० लाखमा बन्याे एआई ल्याब

काठमाडौं । विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण । आँखै अगाडि एकपछि अर्को गर्दै सरर्र उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानको नमूना देखेर विद्यार्थीहरू एकाएक चकित परे । नहोस् पनि किन, किताबका पानामा मात्र सीमित हुने विज्ञान र प्रविधिको संसार सोमबार बिर्तामोड-१ स्थित ग्रीन फिल्ड वर्ल्ड स्कुलको प्राङ्ग्रणमै प्रत्यक्ष रूपमा देख्न पाइएको थियो । अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित भारतको एरोबे कम्पनीको प्राविधिक सहकार्यमा आयोजित सो विशेष हवाई प्रदर्शनीमा विद्यार्थी मात्र होइन, उपस्थित अभिभावक र स्थानीय पनि रोमाञ्चित बने । ‘एरोबे रोबोटिक्स’को प्रयोगात्मक अभ्यास अन्तर्गत आयोजना गरिएको यो प्रदर्शनीले सबैलाई आधुनिक प्रविधिको कौतुहल र सम्भावनासँग प्रत्यक्ष साक्षात्कार गराएको थियो । आकाशमा रकेट र चन्द्रयान उडाउनु केवल एक दिनको रमाइलो मात्र थिएन, विद्यालयले आफ्ना विद्यार्थीलाई प्रविधिको भविष्यसँग स्थायी रूपमा जोड्ने आधार तयार पारेको छ । प्रदर्शनीसँगै विद्यालय परिसरमा करिब ४० लाख रुपैयाँको लगानीमा निर्मित ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को औपचारिक उद्घाटन पनि गरियो । विद्यालयका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत र पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद भट्टराईले विशेष समारोहबीच उक्त आधुनिक प्रयोगशालाको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष गोपाल कुमार बस्नेतले आजको शिक्षा प्रणाली अब परम्परागत पाठ्यपुस्तकमा मात्र सीमित रहन नसक्ने स्पष्ट पारे । ‘भविष्यका चुनौतीसँग प्रतिस्पर्धा गर्न हाम्रा विद्यार्थीलाई सुरुदेखि नै सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो । अबका विद्यार्थीले केवल अरूले बनाएको प्रविधि प्रयोग गर्ने मात्र होइन, आफैं नयाँ प्रविधिको सिर्जना गर्ने क्षमता विकास गर्नुपर्छ । यो ल्याब उनीहरूको कल्पनाशक्तिलाई व्यवहारमा उतार्ने थलो बन्नेछ,’ उनले भने ।  डा शरद भट्टराईले आधुनिक शिक्षामा गरिएको यो दूरदर्शि लगानीले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा गुणात्मक सुधार ल्याई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे । विद्यालयले अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री शिक्षण वातावरण निर्माणमा देखाएको यो अग्रसरता प्रशंसनीय रहेको उनको भनाइ छ ।  विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार ल्याबमार्फत विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षासँग प्रत्यक्ष जोड्दै अनुसन्धान र नवप्रवर्तनको क्षमता अभिवृद्धि गराइनेछ । ‘विश्वभर तीव्र रूपमा विकास भइरहेको रोबोटिक्स र एआईसम्बन्धी ज्ञान विद्यालय तहदेखि नै दिन पाउनु हाम्रा लागि गर्वको विषय हो,’ उनले भने । विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले प्रयोगशालामा विद्यार्थीले रोबोट निर्माण, प्रोग्रामिङ, कोडिङ, डिजाइन थिंकिङ र स्वचालन प्रविधि जस्ता व्यावहारिक सीप सहज रूपमा सिक्ने जानकारी दिए । विद्यालयका सहायक प्रधानाध्यापक रोजीना कार्कीका अनुसार नेपालमा पहिलोपटक प्रतिष्ठित ‘एरोबे कम्पनी’ सँग सहकार्य गरेर यस प्रकारको आधुनिक ल्याब सञ्चालनमा ल्याइएको हाे । उनले विद्यार्थीहरूले विभिन्न तहअनुसार रोबोटिक्स, इलेक्ट्रोनिक्स र स्वचालित प्रणालीसम्बन्धी परियोजनामा सहभागी भई सृजनात्मक काम गर्ने क्षमता निखार्ने विश्वास व्यक्त गरिन् । 

सुदूरपश्चिमको तराई र अन्य ५ प्रदेशको पहाडमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र  सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेस तथा कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी प्रदेशका तराई र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२ अर्बमा ९ मेगावाटको खिम्ती-घ्वाङ आयोजना बन्दै, एनएमबि बैंकको १.२४ अर्ब लगानी

काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैंकिङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका थिए । कम्पनीका अनुसार दोलखाको जिरी नगरपालिका-१ र रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ भएर बहने खिम्ती-घ्वाङ खोलामा निर्माण भइरहेको उक्त आयोजना २०८४ साल चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रूख कटानको अनुमति मन्त्रिपरिषदबाट प्राप्त भइसकेको छ । आवश्यक जग्गा खरिद, पहुँच मार्ग, गोदाम, आवास गृह निर्माणलगायत पूर्व तयारीको काम सम्पन्न भइसकेको छ । यस्तै, सिभिल, हाइड्रो-मेकानिकल र इलेक्ट्रो-मेकानिकल निर्माणको ठेक्का सम्झौतापछि हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । कुल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ बैंक ऋणबाट व्यवस्थापन गरिनेछ भने बाँकी ५६ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ । त्यसमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी रकम पनि चाँडै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए ।  कम्पनीका अनुसार गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘हाइड्रो सेलेक्ट’ उपकरण प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुनेछ ।

सुनसरी घटनापछि बालेनले भने- मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति तथा दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।  उनले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु अत्यन्त गम्भीर विषय भएको बताउँदै घटनाबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे । साथै, सम्पूर्ण घटनाको गम्भीर समीक्षा भइरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उनले बताए ।  प्रधानमन्त्रीले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् । उनले भने, ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर र आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ। एकअर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ ।’ प्रधानमन्त्रीले मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु भएको उल्लेख गर्दै सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, कसुरदारलाई कानुनी दायरामा ल्याउनु तथा पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु रहेको बताए । उनले उक्त दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै यी सबै काम यथाशीघ्र सम्पन्न गरिने विश्वास व्यक्त गरे ।

८० चिकित्सकमध्ये ७१ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन् । शनिबार वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि मृतकका परिवार र आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा प्रमोद राममाथि कुटपिट गरेका थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा चित्र रञ्जन साहका अनुसार अस्पतालमा कार्यरत ८० चिकित्सकमध्ये ७१ जनाले मङ्गलबार सामूहिक राजीनामा दिएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका डा. रामको हाल काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको विरोधमा वीरगन्जका चिकित्सकहरूले आइतबारदेखि आन्दोलन गर्दै आएका छन् ।

सुनसरी घटना: रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । आज बिहान ८ सिंहदरबार स्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।  उनका अनुसार  बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक  दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको छ ।  महामन्त्री आचार्यले भने, ‘बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गर्नुभएको छ ।’ 

क्यूआर कोडबाट पर्यटकलाई सूचना

काठमाडौं । पर्यटकीय क्षेत्रको चिनारीसँगै सुरक्षित यात्राका लागि पर्यटकलाई विभिन्न जानकारी दिने उद्देश्यले पोखरामा ‘क्यूआर कोड’ सञ्चालनमा ल्याइएको छ ।  गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा सुरू गरिएको उक्त ‘क्यूआर कोड’ मार्फत  पर्यटकले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षासम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण र भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले आपत्कालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै सुरक्षित यात्रा लागि ‘क्यूआर कोड’ ले सहयोग पु¥याउने बताए ।  पर्यटकहरूको सुरक्षामा प्रहरी संवेदनशील रहेको जनाउँदै उनले होटल तथा भाडाका कोठामा लामो समय बस्ने व्यक्तिहरूबाट हुनसक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहनुपर्ने बताए ।  पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो शर्त भएको बताए । ‘क्यूआर कोड’ जस्ता सूचना प्रविधिका माध्यमका सहायताले पर्यटकको यात्रा सहज र सुरक्षित बन्ने उनको भनाइ छ ।  व्यवसायी र प्रहरीबीचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने उनले बताए ।   

सुनसरी घटनाबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा घटेको दुःखद घटना र त्यसपश्चात् उब्जिएको संवेदनशील परिस्थितिबारे साझा रणनीति तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ ।  रास्वपा सभापति रवि लामिछानेको पहलमा बुधबार (भोलि) बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा उक्त छलफल आयोजना गरिएको हो ।  बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेतृत्वका दलहरूलाई समेत आमन्त्रण गरिएको छ । सभापतिको सचिवालयका अनुसार सबै दललाई औपचारिक पत्राचार गरिनुका साथै सभापति लामिछाने स्वयंले शीर्ष नेताहरूसँग टेलिफोन संवाद गरी बैठकमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।  घटनापश्चात् सामाजिक द्वेष फैलिन नदिन र शान्ति सुरक्षा कायम राख्न राजनीतिक वृत्तबाट साझा सन्देश दिनुपर्ने आवश्यकता महसुस गरी बैठक डाकिएको रास्वपाले जनाएको छ ।