लाङटाङ-भोटेकोशी आयोजनामा भित्रियो २० अर्ब लगानी
काठमाडौं । रसुवामा निमार्णाधीन लाङटाङ-भोटेकोशी जलविद्युत् आयोजनाले २० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याएको छ । कूल एक सय २० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन अवस्थामा छ । आयोजनाका प्रवद्र्धक रहेका नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काका अनुसार चीनको बैंक अफ चाइनाबाट झण्डै १९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । आयोजनाको कूल लागत २४ अर्ब ९५ करोड ४४ लाख ७३ हजार रुपैयाँ बराबर रहेको छ । आयोजनामा संस्थापक लगानीकर्ताहरुले पाँच अर्ब नौ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबर लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा स्वपुँजीका रुपमा पाँच अर्ब नौ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबर भित्रीसकेको छ । १९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको रकम भने ऋणमा ल्याइएको हो । सांसद खड्काका अनुसार आयोजनाको सम्पूर्ण वित्तीय व्यवस्थापन भइसकेको छ । सो आयोजनाका लागि विद्युत् विकास विभागले आगामी फागुन २ गतेसम्म वित्तीय व्यवस्थापन गर्ने समयसीमा प्रदान गरेको थियो । आयोजनामा चिनियाँ कम्पनीको ९० प्रतिशत र नेपाली पक्षको दस प्रतिशत लगानी रहेको छ । आयोजनाका लागि आवश्यक रकम भित्र्याउने सम्बन्धमा प्रवद्र्धक कम्पनी लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजना र चीनको निर्यात आयात बैँक सिचुआन शाखाबीच गत पुस २३ गते सम्झौता भएको थियो । कांग्रेस सांसद खड्काको पहलमा अगाडि बढाइएको उक्त आयोजना चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । विसं २०७६ पुसमा शिलान्यास भएको उक्त आयोजना निर्माणको काम अहिले धमाधम भइरहेको छ । सांसद खड्काले देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने लक्ष्यका साथ आफूले ऊर्जा क्षेत्रमा लगानी भित्र्याएको जानकारी दिए । सरकारले राखेको विद्युत् विकासको लक्ष्यलाई साकार पार्ने उद्देश्यका साथ आफूले पनि जलविद्युत् आयोजना निर्माण गरिरहेको जानकारी दिँदै उनले भने, ‘सरकारले गर्नुपर्ने काममा मेरोतर्फबाट पनि सानो सहयोग होओस् भन्ने ध्येयका साथ वैदेशिक लगानी भित्र्याइएको हो ।’ रसुवाको फङ्लुङखोला र भोटेकोशीको दोभानदेखि करिब एक सय ५० मिटरमाथि भोटेकोशी नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । उक्त आयोजनामा चार हजार आठ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिने छ । स्थानीय चिलिमेखोला र भोटेकोशीको सङ्गमस्थलमा विद्युत्गृह निर्माण गरिने आयोजनाले जनाएको छ । परियोजनाको निर्माण कार्य कोरोनालगायत काबु बाहिरको परिस्थितिका कारणले असर परे पनि हाल २० प्रतिशत बराबरको भौतिक प्रगति भएको छ । विद्युत् विकास विभागले आवश्यक प्रक्रिया पूरा भएको जनाएको छ । आयोजना शीघ्र निर्माण गर्ने गरी प्रवद्र्धक कम्पनीले गति दिएको छ । आयोजनाबाट उत्पादित बिजुली सुक्खायाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा खरिद गर्ने सम्झौता २०७४ पुस ७ गते भएको थियो । रसुवाको स्याफ्रबैँसी नजिकै आयोजनास्थल भएकाले पनि उपकरण ढुवानी, निर्माण सामग्रीको जोहो गर्न सहज भएको छ । आयोजनाबाट उत्पादित बजिुली करिब पाँच किलोमिटर लामो एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब सवस्टेशनमा जोडिनेछ । नदी प्रवाहमा आधारित सो आयोजना चार वर्षभित्र निर्माण गर्ने लक्ष्यका साथ सुरु भएको हो । सरकारले स्वपुँजी २० प्रतशत भन्दाघटी र विदेशी पुँजी ८० प्रतिशत भन्दाबढी नहुने गरी एक सय मेगावाटभन्दा ठूला आयोजनामा अमेरिकी डलरमै विद्युत् खरिदबिक्री सम्झौता गर्ने निर्देशिका ल्याएको थियो । सो अनुसार नै लाङटाङ भोटेकोशी आयोजनाका हकमा अधिकतम दस वर्षसम्म अमेरिकी डलरमा भुक्तानी गर्ने र त्यसपछि नेपाली रुपैयाँमै भुक्तानी गर्ने गरी सम्झौता भएको छ । यसैगरी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रुपमा रहेको रसुवागढी र साञ्जेनले निर्माण गरेका तीन आयोजना अन्तिम चरणमा पुगेका छन् । कूल एक सय ११ मेगावाट क्षमताको सो आयोजनाले वार्षिकरुपमा छ सय १३ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्नेछ । साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गतको १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पनि निर्माण भएको छ । यसैगरी रसुवका आमाछोदिङ्गो गाउँपालिका–५ मा निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङमा गत पुस ११ गते बुधबारदेखि पानी भर्ने काम सुरु भएको छ । सो आयोजनाको परीक्षणको काम हाल भइरहेको छ । यस्तै लाङटाङ खोलामा २० मेगावाट क्षमताको लाङटाङखोला जलविद्युत् आयोजना निर्माणको क्रममा छ । रसुवामा मात्रै कूल पाँच सय ८४ मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् । त्यसमध्ये २२ मेगावाट क्षमताको चिलिमे २०७१ सालदेखि सञ्चालनमा छ । जलविद्युत् आयोजनाका लागि केन्द्रका रूपमा स्थापित सो जिल्लामा पहिचान भएका अन्य आयोजनालाई पनि शीघ्र निर्माणको प्रक्रियामा अगाडि बढाउने सरकारको लक्ष्ये छ । रासस
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
वीरगञ्ज । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो । सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए । उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् । संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार दुई सय पाँचजनाको स्क्रिनिङ गरिएको जानकारी दिए । जसमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधबार दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले बताए । भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरुको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ । एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनले बताए। हेल्थ डेस्कमा हाल दुई स्टाप नर्स, तीन हेल्थ असिस्टेन्ट, दुई ल्याब टेक्निसियन र एक ल्याब असिस्टेन्ट गरी आठजना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलागनलगायत राज्यमा पुनः कोरोना सङ्क्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रासस
विदेश भ्रमणमा नेपालीको २८ अर्ब बढी खर्च, अर्काको पैसामा घुम्छन् सरकारी कर्मचारी
काठमाडौं । नेपालीहरू विदेश घुम्ने अभ्यास बढ्दै गएको छ । विभिन्न सरकारी तथ्यांक अनुसार नेपालीहरूले विदेश भ्रमण गरेर अर्बौं रुपैयाँ खर्च गरिरहेका छन् । विश्व महामारीकारूपमा फैलिएको कोरोना भाइरसको समयमा केही सुस्ताएको विदेश भ्रमण अहिले पुनः बढ्दै गएको देखिन्छ । चालु आर्थिक वर्ष (आव)को ५ महिनामा विदेश भ्रमणमा २८ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीहरूले वैदेशिक भ्रमणमा गर्ने खर्च वार्षिक बढ्दै गएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालीहरूले विदेश भ्रमणमा १८ अर्ब ६७ करोड रुपैयाँ मात्रै खर्च गरेका थिए । यस्तो छ ५ वर्षको तथ्यांक नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आव ०७९/८० मा नेपालीहरूले विश्वका विभिन्न मुलुकहरूमा भ्रमणको लागि ४४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेका छन् । आव ०७८/७९ मा नेपालीहरुले विदेश भ्रमणमा २९ अर्ब ६२ करोड, आव ०७७/७८ मा ७ अर्ब ८४ करोड, आव ०७६/७७ मा २७ अर्ब ३३ करोड र आव ०७५/७६ मा ४३ अर्ब २६ करोड खर्च गरेका छन् । तथ्यांकअनुसार विश्वभर कोभिड-१९ महामारी छाएको बेलामा नेपालीहरुको विदेश भ्रमणमा खुम्चिएको देखिन्छ । महामारी पछिका वर्षहरूमा भने संख्या र खर्च पनि बढ्दै गएको छ । स्पोन्सरमा घुम्छन् सरकारी कर्मचारी अघिल्ला वर्षहरूको तुलनामा चालु आवको हालसम्म संघीय सरकार मातहतका मन्त्रालयहरुबाट हजारौं कर्मचारीले विदेश भ्रमण गरेका छन् । विकासन्युजलाई प्राप्त केही मन्त्रालयको विवरणअनुसार संघीय मन्त्रालयमा कार्यरत निजामती कर्मचारीहरूले विभिन्न अन्तर्राष्ट्रिय निकायहरूको कार्यक्रमको अवसरमा विदेश भ्रमण गरेका छन् । पछिल्लो ८ महिनामा स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयका ४४० जना कर्मचारीले विदेश भ्रमण गरेका छन् । १७८ वटा विदेश भ्रमणका कार्यक्रम मध्ये ११० वटा कार्यक्रम मात्रै विश्व स्वास्थ्य संगठन अन्तर्गतका विभिन्न निकायहरूले आयोजना गरेर खर्च व्यहोरेको छ । शहरी विकास मन्त्रालयको तर्फबाट ७ महिनाको अवधिमा ४५ जनाले विदेश भ्रमण गरेका छन् । जसमध्ये अधिकांश कार्यक्रमको खर्च आयोजक पक्षले व्यहोरेको छ भने केही खर्च नेपाल सरकार र केही संस्थाको तर्फबाट व्यहोरेको देखिन्छ । बैशाख महिनादेखि मंसिर महिनासम्म १२३ जना पदाधिकारी तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट विदेश भ्रमण गरेका छन् । जसमध्ये अधिकांश भ्रमणको खर्च आयोजकले नै व्यहोरेको छ । उद्योग वाणिज्य मन्त्रालयको तर्फबाट पछिल्लो ६ महिनामा ६० जना कर्मचारीले विभिन्न विदेशी निकायहरूले आयोजना गरेका कार्यक्रममा भ्रमण गरेका छन् । ती भ्रमणहरूमध्ये केही कार्यक्रमको खर्च विदेशी निकायले गरेका छन् भने केही नेपाल सरकारको तर्फबाट व्यहोरेको देखिन्छ । परराष्ट्र मन्त्रालय भने कुटनीतिक क्षेत्रमा सहभागिता जनाउनुपर्ने निकाय हो । वैशाखदेखि मंसिर मसान्तसम्म सो मन्त्रालयको तर्फबाट २७ जना पदाधिकारी र कर्मचारीले भ्रमण गर्दा नेपाल सरकारको तर्फबाट ३७ लाख २० हजार रुपैयाँ खर्च भएको देखिन्छ ।
अर्जेन्टिनामा सबैभन्दा बढी महँगी, मुद्रास्फीति २११ प्रतिशत नाघ्यो
काठमाडौं । कुनै पनि देशका लागि मुद्रास्फीति धेरै संवेदनशील हुन्छ । यसमा अलिकति गडबडी भयो भने जनताको बजेट बिग्रिन्छ । तर, कुनै देशमा मुद्रास्फीति २०० प्रतिशतभन्दा बढी माथि पुग्यो भने त्यहाँका जनताको के हालत हुन्छ ? ल्याटिन अमेरिकी देश अर्जेन्टिनाका जनता पनि यस्तै डरलाग्दो समस्याको सामना गरिरहेका छन् । त्यहाँ मुद्रास्फीति करिब २११ प्रतिशतले बढेको छ । हरेक साना ठूला वस्तुको भाउ आकाश छुन थालेको छ र जनताको गोजी खाली भएको छ । रोयटर्सको रिपोर्टअनुसार अर्जेन्टिनाको मुद्रा पेसोको अवमूल्यन भएको छ । राष्ट्रपति जेभियर मिलीको नयाँ सरकारले पेसोको मूल्य आधा घटाएको छ । जसका कारण मुद्रास्फीतिमा तीव्र वृद्धि भएको छ । र, यसले सन् २०२३ मा २११ प्रतिशतको आंकडा पार गरेको थियो । सरकारी तथ्यांक निकाय इन्डेकका अनुसार मुलुकमा मुद्रास्फीति तीन दशकयताकै उच्च विन्दुमा पुगेको छ । जानकारीका अनुसार देशको अवस्था यति नाजुक छ कि वार्षिक तथ्यांकका आधारमा मुलुकमा मुद्रास्फीति छिमेकी मुलुक भेनेजुएलाजस्तो अवस्थामा पुगेको छ । अर्जेन्टिना दक्षिण अमेरिकामा सबैभन्दा बढी मुद्रास्फीति भएको देश बनेको छ । देशको ब्याजदर पनि करिब १३३ प्रतिशतले बढेको छ । जेभियर मिलीको सरकारले गरेका प्रयासले पनि जनतालाई राहत दिएको देखिँदैन । सन् २०२२ मा मुलुकको मुद्रास्फीति ९५ प्रतिशत थियो । यो एक वर्षमा दोब्बरभन्दा बढी भएको छ । डिसेम्बर २०२३ मा मासिक मुद्रास्फीति दर २५.५ प्रतिशत पुगेको थियो भने नोभेम्बरमा १२.८ प्रतिशत थियो । ३० प्रतिशत पुग्ने सरकारको डर थियो । गत हप्ता मात्रै आईएमएफले अर्जेन्टिनालाई ४.७ अर्ब डलर सहयोग गर्ने निर्णय गरेको थियो । देशमा खाद्यवस्तु पनि महँगो भएको छ । अर्जेन्टिनाको क्रय शक्ति डिसेम्बरमा लगभग १० प्रतिशतले घटेको छ। त्यस्तै, मुलुकमा वस्तुको बिक्री १३.७ प्रतिशतले घटेको छ । यो अवस्थामा फेब्रुअरी मसान्तसम्म सुधारको सम्भावना देखिँदैन ।
घोराही सिमेन्ट्सको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश दिने
काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्रीले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आव २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/८१ को मङ्सिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्रि गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिएका छन् । आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४।२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको वोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ । त्यस्तै कम्पनिको सञ्चालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुदै व्यक्तिगत कारणले २०८० कार्तिक २ गते राजीनामा दिएकाले सोहि मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन् । योसँगै कम्पनीको संस्थापक समुहमा ५ जना सञ्चालक भएका छन् ।
घाटामा चल्दै सरकार, आम्दानीभन्दा खर्च ४८ अर्ब बढी
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख रूपैयाँबराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रूपैयाँ बराबर राजश्व उठाउने लक्ष्य लिएकोे छ । कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो । ६ महिनामा कर राजश्वतर्फ ३३ दशमलव ९८ प्रतिशत अर्थात् ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख रूपैयाँ उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाख रूपैयाँ बराबर असुली भएको छ । चालु आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख रूपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ । चालु आवका लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा रु पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो । चालुगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रूपैयाँ बराबर बजेट छुट्याइएकामा ३८ दशमलव ३१ प्रतिशत अर्थात् रु चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो । त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा ३ खर्ब दुई अर्ब ७ करोड ४४ लाख बराबर छुट्याइएकामा १६.३ प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख रूपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रूपैयाँ बराबर बजेट विनियोजन भएकामा २६.२ प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख रूपैयाँ बराबर खर्च भएको छ ।
आईएमई इलेक्ट्रिकको डिलर्स मिट सम्पन्न
काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ । गत शुक्रबार होटल एभरेष्टमा सम्पन्न सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश मन्दी समापनको अवस्थामा पुगेको समयमा विश्वकै एक प्रतिष्ठित लुब्रिकेन्टसँग जोडिएर आईएमई ग्रुप नयाँ बाटोमा प्रवेश गरेको बताए । आईएमई अटोमोबाइल डिभिजनका सीईओ हेमन्त पुराणिकले विगत २५ वर्ष अघिदेखि विभिन्न व्यवसायमा संलग्न आईएमई ग्रुप अब लुब्रिकेन्ट व्यवसायमा समेत प्रवेश गरेको बताए । उच्च गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्ड मोटुलसँग जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे । मोटुल इन्डिया प्रालिका सीईओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भारत र अन्य देशमा प्रतिष्ठित रहेको मोटुल ब्रान्डलाई नेपालमा समेत प्रतिष्ठित बनाउनका लागि आवश्यक कार्य गर्ने उनले बताए । मोटुल इन्डियाका मार्केटिङ डाइरेक्टर प्रितम गोश्वामीले रियल सिन्थेटिक ब्रान्ड प्रयोग गर्ने पहिलो कम्पनी मोटुल भएको बताउदै ‘युवाहरुको ब्रान्ड’ को पहिचान बनाएको मोटुलको विभिन्न विशेषता वारेमा जानकारी प्रदान गरे । आईएमई अटोमोबाइल डिभिजनका कार्यकारी निर्देशक निशान ढकालले डिलरहरुसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा विभिन्न डिलरहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने नयाँ उत्पादन र स्किम समेत सार्वजनिक गरिएको थियो । स्किममा राम्रो प्रतिकृया दिदै, डिलरहरुहरुले ठुलो मात्रमा अर्डर गरेका थिए । भारतमा उत्पादन हुने फ्रेन्च लुब्रिकेन्ट ब्रान्ड मोटुल विश्वका १७५ भन्दा बढी देशमा बिक्री–वितरण भइरहेको छ । टु–ह्विलर, फो–ह्विलर,ट्रक, बस, ट्रयाक्टर देखि हेभी ड्युटी कमर्सियल भेइकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सवै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई इलेक्ट्रिकको भनाइ छ । सिन्थेटिक लुब्रिकेन्टका लागि आवश्यक एस्टर कोर टेक्नोलोजी मोटुलसँग मात्र छ । एस्टर कोर टेक्नोलोजीका कारण लामो समय सम्म इन्जिन प्रयोग भइरहेमा पनि समस्या आउदैन । मोटुल ब्रान्डलाई युवाहरुसँग जोडिएको ब्रान्ड पनि भनिन्छ । यसै अनुसार विभिन्न इभेन्ट, रेसिङ आदिमा समेत मोटुलको लगानी रहेको पाइन्छ ।
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेको उस्तै छ पीडा
पोखरा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौंमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौंमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए । उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०ः५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए । दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमान्को नाम देख्दा पनि उनलाई विश्वास लागेको थिएन । ‘उनी (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ’, प्रतिभाले भनिन्, ‘आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।’ दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । ‘त्यो बेला त्रिभुवन काठमाडौं जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन’, प्रतिभाले श्रीमान् काठमाडौं जानुअघिको दिन सम्झँदै भनिन्, ‘सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।’ प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगथै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् उनी । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ । ‘म आफ्नो भविष्यबारेमा अहिले केही भन्नसक्ने अवस्थामा छैन ।’ दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । ‘अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ’, प्रतिभाले पीडा सुनाइन् । सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहेकी छैनन् । ‘भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उनको प्रतीक्षा गरिरहेक थिएँ’, उनले भनिन्, ‘तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।’ गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छिन् । अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । दुई साताअघि दुबईबाट नेपाल आएका शाही तत्काल कामविशेषले केरला पुगेका थिए । अनिलले आफू पोखरा आउने बित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाएका थिए । प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए । सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन् । ‘मानवीय त्रुटिका कारण भएको दुर्घटनाका दोषीले सजाय पाउनै पर्छ’, उनले भने । दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ । आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ । रासस