विकासन्युज

मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो साँझ ५ः३२ बजेदेखि लाइन अवरुद्ध भएको हो । उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, गोरखा जिल्ला तथा मुग्लिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ । समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो । टोलीले राति १२ः४५ बजे लाइन पुनः सञ्चालनमा ल्याए पनि फेरि अर्थिङ प्रणालीमै समस्या देखिएपछि आज बिहान ६ः४७ बजे ट्रान्सफर्मर पुनः बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी वेनी नेपालीले जानकारी दिए । उनका अनुसार वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ । साथै, ट्रान्सफर्मर मर्मत गर्न सकिने अवस्था भए मर्मत गर्ने, अन्यथा आवश्यक परे ट्रान्सफर्मर नै परिवर्तन गर्ने तयारी गरिएको छ । हाल पोखरा ग्रिडको प्राविधिक टोली मार्किचोक सबस्टेसनमै रहेर मर्मत तथा व्यवस्थापनको कार्य गरिरहेको छ । 

एभोकाडो किलोको ८०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, गोलभेँडा साना (टनेल) रु ७८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३२, आलु रातो (गोलो) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ४५, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ४५, चिचिन्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ४० र पिँडालु प्रतिकिलो रु ५० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो प्रतिकेजी रु १२०, तोरीसाग प्रतिकिलो रु ४०, चमसुरको साग प्रतिकेजी रु १२०, मेथीको साग प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३३०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, निगुरो प्रतिकिलो रु ८०, कुरिलो प्रतिकिलो रु ३३०, रातो बन्दा प्रतिकिलो रु ५०, सजीवन प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १३०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी २८०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो रु ४५०, आँप (दसहरी) प्रतिकिलो रु अङ्गुर (हरियो) प्रतिकिलो रु ३२०, तरबुजा (हरियो) प्रतिकिलो रु ३८, भुइँकटहर प्रतिगोटा रु २३०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, माछे खुर्सानी प्रतिकिलो रु ७०, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी सुकेको प्रतिकिलो रु १४०, माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।

डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न आदेश

काठमाडौं । डाबर नेपाल प्रालिलाई बजारमा बिक्री वितरण गर्न राखिएका मह फिर्ता लिन आदेश दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालद्वारा उत्पादित मह बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको हो । विभागले वैशाख ५ गते जारी गरेको आदेशअनुसार बजार अनुगमनका क्रममा संकलित नमुना प्रयोगशालामा परीक्षण गर्दा सो ब्याचको मह न्यूनस्तरको पाइएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही अघि बढाइएको हो । आदेशमा उल्लेख भएअनुसार ब्याच नम्बर एनबी००४७७ रहेको ५०० ग्राम डाबर हनीमा गुणस्तर मापदण्ड पूरा नभएको पाइएको छ । उक्त उत्पादन डाबर नेपालको जितपुर सिमरा बाराबाट उत्पादन गरिएको हो । विभागले सो ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न, बिक्री वितरण रोक्न तथा उपभोक्तासमक्ष नपुग्ने व्यवस्था गर्न सम्बन्धित उत्पादक तथा वितरकलाई निर्देशन दिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ अनुसार उपभोक्ता स्वास्थ्यमा जोखिम हुन सक्ने खाद्य पदार्थ बजारबाट हटाउने अधिकार प्रयोग गर्दै यो निर्णय गरिएको विभागले जनाएको छ ।

सुमेरु सहकारीको सम्पत्ति व्यवस्थापन: पहिलो चरणमा ६०-६० करोडका २ प्याकेज

काठमाडौं । सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका बचतकर्ताहरूलाई रकमको सट्टा सम्पत्ति व्यवस्थापनमार्फत समाधान दिने प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु सहकारीसँग सम्बन्धित सम्पत्तिहरू व्यवस्थापनका लागि बचतकर्ता तथा इच्छुक समूहहरूबाट प्रस्ताव आह्वान गरेको हो । समितिका अनुसार सुमेरु सहकारी संस्थाको पूर्ण लगानी रहेको सुमेरु मार्ट, सुमेरु अस्पताल (धापाखेल), सुमेरु सिटी अस्पताल (पुल्चोक), एसियन कलेज र शंकरापुर कलेज लगायतका सम्पत्तिहरू सोही सहकारीका सञ्चालक तथा कर्मचारीहरूको सेयर संरचनामा सञ्चालन हुँदै आएका थिए । ती सम्पत्तिहरू बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको धितोका रूपमा समेत प्रयोग गरिएको र हाल कर्जा भुक्तानी नियमित नहुँदा लिलामी प्रक्रियामा पुगेका छन् । लिलामीमार्फत बिक्री गर्दा सम्पत्तिको वास्तविक मूल्य प्राप्त नहुने तथा बचतकर्ताको रकम असुलीमा असर पर्ने देखिएपछि बैंकहरूसँगको समन्वयमा सम्पत्तिहरूलाई प्याकेजका रूपमा व्यवस्थापन गर्ने प्रस्ताव अघि सारिएको समितिले जनाएको छ । यस व्यवस्थाअन्तर्गत बचतकर्ताहरूले आफ्नो बचत रकम मिलानमार्फत सम्पत्तिमा स्वामित्व लिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । पहिलो चरणमा तयार गरिएको प्याकेजअन्तर्गत ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल प्रालिको नाममा रहेका विभिन्न कित्ता जग्गा तथा खाली जमिन, साथै सुमेरु सिटी अस्पताल, एसियन फाउन्डेसन प्रालि र शंकरापुर एकेडेमी प्रालिका नाममा रहेका जग्गा तथा भवनहरू समावेश गरिएको छ । समितिले उक्त सम्पत्तिहरूका लागि न्यूनतम ६० करोड रुपैयाँको एकमुस्ट प्रस्ताव माग गरेको छ । प्रस्तावकर्ताले कुल रकमको ७० प्रतिशत बचत मिलानमार्फत व्यवस्थापन र ३० प्रतिशत नगद रकम बैंक तथा साना बचतकर्ताको फिर्ताका लागि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । समितिका अनुसार इच्छुक बचतकर्ता समूहसँगै बाह्य व्यक्ति वा संस्था समेतले न्यूनतम मूल्यभन्दा बढी रकम कबोल गरी ७ दिनभित्र प्रस्ताव पेश गर्न सक्नेछन् । प्रस्ताव स्वीकृत भएमा १५ दिनभित्र सम्पूर्ण रकम बुझाउनुपर्नेछ भने प्रस्तावसँगै कुल रकमको १० प्रतिशत धरौटी अनिवार्य गरिएको छ ।

बागमती किनारका २८ सम्पदा पुनर्निर्माण, पुराना बासिन्दाले १५ दिनभित्र दाबी गर्नुपर्ने

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति पुगेका काठमाडौं महानगरपालिका वडा नं। ११ र १२ अन्तर्गत टेकुदेखि थापाथलीसम्म बागमती नदी किनारमा रहेका ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण सम्पन्न भएको छ ।  अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एशियाली विकास बैंकको ऋण सहयोगमा बागमती सुधार आयोजना अन्तर्गत २८ वटा सम्पदाको जीर्णोद्धार तथा पुनर्निर्माण सम्पन्न गरेको हो । समितिका अनुसार पुनर्निर्माण गरिएका संरचनाहरूमा नारायण सत्तल, हनुमान सत्तल, माछेशा सत्तल, कालमोचनघाट सत्तल, वेरागी सत्तल, उदासी सत्तल, सन्यासी सत्तल, सीताराम सत्तल तथा मन्दिर, तीन देवल मन्दिर, तीन देवल सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण सुभद्रा मन्दिर तथा शिव मन्दिर (क) र (ख) लगायतका ऐतिहासिक संरचना रहेका छन् । समितिले ती संरचनामा पहिले बसोबास गर्दै आएका व्यक्तिहरूमध्ये पुनर्निर्माणपछि फर्केर बसोबास गर्न नपाएका व्यक्तिहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ । अबको १५ दिनभित्र आफ्नो परिचय खुल्ने कागजातसहित कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय भवन १४ तलाको बन्ने

काठमाडौं । नेपाल प्रहरीकाे १४ तलाको भवन बन्ने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा प्रहरी महानिरीक्षक सचिवालय भवन निर्माण हुने भएकाे हाे । भवन नेपाल प्रहरीको स्वामित्वमा रहेको ६२ हजार ४८१.५४ वर्गमिटर क्षेत्रफलको जग्गामा निर्माण गरिनेछ । भवनको ‘बिल्टअप एरिया’ ११ हजार ३३१.०६ वर्गमिटर रहनेछ । भवनको लम्बाइ ५५.९ मिटर, चौडाइ ३६.८५ मिटर तथा प्लिन्थ लेभलदेखि उचाइ ५०.४० मिटर रहने जनाएको छ । बेसमेन्ट बाहेक भवनमा १४ तला रहने प्रस्ताव गरिएको छ । भवन निर्माणमा प्रचलित मापदण्डअनुसार खुला क्षेत्र, पार्किङ लगायतका पूर्वाधार समावेश गरिने जनाएको छ । साथै, भवन सञ्चालनका लागि दैनिक १५ हजार लिटर भूमिगत पानी उपयोग हुने र फोहोर पानी व्यवस्थापनका लागि १५ हजार लिटर क्षमताको प्रशोधन प्लान्ट जडान गरिनेछ । वातावरण संरक्षण नियमावली, २०७७ अनुसार सार्वजनिक गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन गृह मन्त्रालय, संघीय संसद सचिवालयको पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, जिल्ला समन्वय समिति काठमाडौं र काठमाडौं महानगरपालिकामा अध्ययन गर्न सकिनेछ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उक्त प्रतिवेदनमाथि सर्वसाधारणसँग राय/सुझाव माग गरेको हो । मन्त्रालयका अनुसार प्रस्तावक नेपाल प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको सिफारिससहित ईआईए प्रतिवेदन स्वीकृतिका लागि पेश गरेको हो ।

सेनाको हेलिकप्टरदेखि बेलिब्रिजसम्म स्ट्यान्डबाइ

काठमाडौं । नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ । प्रदेशस्थित सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ । यसले बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको छ । विपद्को समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको जनाइएको छ । काठमाडौंबाहेक सुर्खेत र इटहरीमा एक/एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मनसुनको सुरुआतसँगै सातै प्रदेशमा परिचालन हुन सक्ने गरी अन्य हवाई साधनहरू काठमाडौंमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ । मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधनलाई उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना रहेको सेनाले जनाएको छ । बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न स्थानमा ‘बेलिब्रिज’ तयारी अवस्थामा राखिएको छ । धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक/एक सेट बेलिब्रिज राखिएको सेनाले जनाएको छ । साथै गाडीमार्फत सजिलै आवश्यकता भएको स्थानमा पुर्याएर तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुलहरू गौचरस्थित ब्यारेकमा राखिएका छन् । विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई गौचर ब्यारेक, काठमाडौंमा तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ । उक्त टोलीलाई हवाई साधनमार्फत तुरुन्त प्रभावित क्षेत्रमा परिचालन गर्न सकिनेछ । मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको छ । यसका साथै प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्री व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ । आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ तथा ‘अपरेटर’सहितका सवारीसाधन तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । यसले पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतजस्ता कार्यमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । विपद् व्यवस्थापन केवल एउटा निकायको प्रयासबाट मात्र सम्भव नहुने भएकाले स्थानीय समुदाय र सबै सरोकार भएका निकायबीच समन्वयात्मक तथा योजनाबद्ध प्रतिकार्य आवश्यक रहेको नेपाली सेनाले जनाएको छ । विगतका मनसुनजन्य विपद्बाट सिकेका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई सहभागी गराएर तयारीलाई अझ प्रभावकारी बनाइएको छ । यसै क्रममा सेनाको नेतृत्व तथा पहलमा नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा केन्द्रीय तहको एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो । उक्त अभ्यासमार्फत विपद्सम्बन्धी गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको थियो । यसखालका अभ्यास क्रमशः प्रदेश तथा जिल्ला तहसम्म सञ्चालन गरिने जनाइएको छ । यसैगरी, स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गरिएको छ । यस्ता अभ्यास र तालिमले विपद्को समयमा नागरिक र सुरक्षा निकायबीच समन्वयलाई अझ बलियो बनाउने विश्वास गरिएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार प्रत्येक वर्ष दोहरिने मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि पूर्वतयारी योजनाअनुसार संयुक्त अभ्यास सञ्चालन गर्दै आवश्यकताअनुसार सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी योजनाको सफल कार्यान्वयनमार्फत जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना कटिबद्ध रहेको छ । मनसुनजन्य विपद्को चुनौती बढ्दै गइरहेको वर्तमान अवस्थामा सेनाले गरेको यो व्यापक पूर्वतयारीले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउनाका साथै नागरिकमा सुरक्षा र भरोसाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा हुने, तराई सफा रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभावका कारण देशको पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बुधबार केही जिल्लामा भारी वर्षासमेत भएको थियो । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ । साथै मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू-भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू-भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।