बूढानीलकण्ठ क्षेत्रको प्रत्यक्ष निगरानी गर्दै उपत्यका प्रहरी, १८१ वटा सिसी क्यामरा जडान
काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ । प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो । ‘सुरक्षित काठमाडौं उपत्यका : हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सिसी क्यामरा जडान भइ आइतबार उद्घाटन गरिएको हो । गत वैशाख १२ गते पाँच करोड रुपैयाँमा सम्झौता भइ सिसी क्यामरा जडान शुरु भएको थियो । जडान सम्पन्न भएसँगै आइतबारदेखि उपत्यका प्रहरीले सो क्षेत्रको निगरानी सुरु गरिसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्तरुपमा सिसी क्यामराको उद्घाटन गरे । सुरक्षित काठमाडौं योजनाअन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग-चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सात पिटीजेडसहित एक सय ७४ स्थायी सिसी क्यामरा गरी जम्मा एक सय ८१ थान आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा आधारित सिसी क्यामरा जडान गरिएको प्रवक्ता मैनालीले बताए । त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताए । प्रथम चरणमा सिसीटिभी जडान सकिएको र अब पुनः दोस्रो चरणमा समेत सहयोग उपलब्ध गराइने उनले जानकारी गराए । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सिसीटिभी क्यामराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाडौं उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताए । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरु र वडा अध्यक्षहरुलगायतको सहभागिता थियो । रासस
‘असन्तुलित भोजनले नै निम्त्याउँछ क्यान्सर, पुरुषमाभन्दा महिलामा बढी’
गुल्मी-तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाडो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफएनएसी तथा वायोप्सी नै गराए । जहाँ उनी जस्तै गाडो, गठखलो र पिलो भएका थुप्रै बिरामी थिए । मुखबाट रगत र पिप लगातार बहँदा तथा गाउँघरका मानिसले थरिथरिका भयानक कथा सुनाउँदा पनि केही नलागेका रोल्पा थवाङका तेमन बुढा स्वास्थ्य शिविरमा आएका थिए । न यस समस्याले दुःख दिएको छ, न खाना नै मागेको छ, किन पैसाको कुटुरो बोकी चिकित्सकलाई बुझाउने भनी प्रतिवाद गर्दै थिए । क्यान्सर सानो उमेरमा हुँदैन, स्तन क्यान्सर महिलालाई मात्र हुन्छ, गिर्खा देखिनेबित्तिकै क्यान्सर हो, म्यामोग्रामले दुख्छ, क्यान्सर भएपछि मरिन्छ, केमोले झन असर गर्छ, क्यान्सर सरुवा रोग हो भन्नेजस्ता भनाइ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थुप्रै स्वास्थ्य शिविरहरुमा सुन्न पाइन्छ । अन्तराष्ट्रिय क्यान्सर नियन्त्रणका लागि युनियन (युआइसीसी)का अनुसार क्यान्सरबाट वर्षेनी ७० लाख मर्ने गरेका छन् भने एक करोड १० लाख नयाँ क्यान्सरका बिरामी देखा पर्दछन् । मुटु तथा नशा रोगपछि मानिसको ज्यान लिने दोस्रो भयानक रोग पनि हो । यो क्रम जारी रहे वर्षेनी एक करोड बढीको मृत्यु क्यान्सरबाट हुने अनुमान गरिएको छ । वर्तमान विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत कारक तत्व क्यान्सर हो र करिब ९० प्रतिशत क्यान्सर खानपिन, रहनसहन, वातावरण, जीवनशैली आदिको कारणले र १० प्रतिशत शरीरको आन्तरिक कारणले हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठन अनुसार विश्वमा प्रतिवर्ष ६० लाखभन्दा बढी, नेपालमा २५-३० हजार मानिस यस रोगबाट पीडित हुने गरेका छन्, जसमा आधाभन्दा बढी महिला नै पर्दछन् । नेपालमा प्रत्येक एक लाख जनसंख्यामा १०० देखि १२० जना नयाँ क्यान्सरका रोगीहरु प्रत्येक वर्ष थपिने र करिब ७५ हजार क्यान्सरका रोगी हर समयमा नेपालमा भएको अनुमान छ । एकातिर यस्तो भयावह स्थिति छ भने अर्कोतिर क्यान्सर बनाउन सक्ने कारणहरु विगतका दशकमा १२ सय गुणाले उत्पादन तथा प्रचारप्रसारमा वृद्धि भएको तथ्याङ्कले हामी स्वास्थ्यकर्मी मात्र हैन, स्वास्थ्यप्रति सचेत जनता र राष्ट्रलाई नै चिन्ताको विषय बनाएको छ । क्यान्सर के हो ? शरीरको अङ्गप्रत्यङ्गका कोषहरु वा कोषीकाहरु अनियन्त्रित र असामजस्य रुपमा अस्वाभाविक आकार र संख्यामा वृद्धि भएर शरीरलाई प्रतिकूल असर पार्ने, नसर्ने रोगहरुमध्येको सबैभन्दा डरलाग्दो र प्राणघातक रोग क्यान्सर हो । क्यान्सरले आफू नजिकका तन्तुहरुलाई असर पार्नुका साथै शरीरमा एक स्थानबाट अर्को स्थानमा तन्तुमा रगत, लिम्फ आदिबाट सर्न वा असर पार्न सक्दछ । तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । अर्बुदरोग उपचार गर्न सकिने एक दुःख हो जुन पुरुषमा प्रायःजसोको उपचार हुन्छ र महिलामा झन् शुरुमै पत्ता लगाउन सकिन्छ । किन क्यान्सर हुन्छ ? अर्बुदरोग हुने सम्भावना निश्चितरुपले बढाउनेमा रसायनिक विकीरण, विषाणु, हर्मोन, दीर्घकालीन घर्षण, चोटपटक, धातु, प्लाष्टिक पर्दछन् । सुर्ती तथा सुर्तीजन्य पदार्थ जस्तै : धुम्रपान, खैनी, बिडीको सेवन र मादक पदार्थको सेवन यसका मुख्य कारण हुन् । तयारी खाना, बासी खाना र बढी चिल्लो भएको खानाले पनि क्यान्सरको जोखिम बढाउँछ भने विषालु रसायन, आर्सेनिक, निकेल, अस्वेस्टस, अल्कत्रा र तारले पनि क्यान्सर हुन मद्दत गर्दछ । एक्सरे, अल्ट्राभाइलेटजस्ता विकिरण पनि यसका कारण हुन सक्छन् । इबिभी, एचपिभी, एचएसभी–१, सिएमआई, भारिसेला जुस्टरजस्ता भाइरसको प्रवेश तथा भिटामिन ए, ई र सी, खनिज तत्व, फलाम, जस्ता, तामा र म्यागनिजजस्त पोषणको कमी, असुरक्षित यौन व्यवहार एवं हर्मोन र स्ट्रोजेन र टिएसएचका कारण पनि क्यान्सर हुन सक्दछ । कतिपय व्यक्तिमा उमेर पाको हुँदै जाँदा र वंशानुगत आधारमा पनि यो रोग भएको पाइन्छ । आमाबाबु दुवै या एकमा क्यान्सर भएमा सन्तानमा हुनसक्छ जस्तै आँखामा हुने क्यान्सर रेटिनोब्लास्टोमा र स्तनक्यान्सर हरेक व्यक्तिले आफ्नो आहार-विहारमा परिवर्तन गरेमा ४० प्रतिशत क्यान्सर रोक्न सकिन्छ । धुम्रपान वा सुर्तीसेवन फोक्सो र शरीरका अन्य भागमा क्यान्सर बनाउने मुख्य कारण हो । आधुनिक जीवनशैली, रेष्टुरेन्टको विकास तथा पाश्चात्य परम्पराको नक्कलले गर्दा विभिन्न किसिमका सेकुवा तथा मदिराको प्रयोगमा बढोत्तरी भएको छ । पोलेको मासुमा नाइट्रोसमाइन रसायन हुने भएकाले मद्यपानसँगै खाँदा मुख, खाद्य नलीको क्यान्सर हुन सक्छ । रक्सीको साथ चिनीया बदम खानेलाई कोलन (दिशा नली) र कलेजोको क्यान्सर हुन सक्छ । त्यसैगरी गाडीको टायर बाल्दा उत्पन्न हुने धुवाँमा डाइअक्सिन हुने भएकाले क्यान्सर हुन सक्छ । पुरुषको लिङ्गमा जम्मा हुने सेतो पद्धार्थले क्यान्सर गराउन सक्ने भएकाले प्रत्येक पुरुष तथा महिलाले लिङ्ग र योनी सधैँ सफा राख्नुपर्दछ । सफा नराख्दा लिङ्ग र पाठेघरको क्यान्सर हुने जोखिम उच्च रहेको छ । लक्षणहरु के के हुन् त ? क्यान्सर बालबालिकादेखि वृद्धसम्म सबैलाई लाग्न सक्छ । तर पनि जति उमेर बढ्दै गयो त्यति नै क्यान्सर लाग्ने सम्भावना बढ्दै जान्छ । तर क्यान्सरको प्रकृति र किसिममा भने भिन्नताहरु हुन्छन् । नेपालमा देखिएका क्यान्सरहरुमा पुरुषमा मुख तथा घाँटीको, फोक्सोको र ठूलो आन्द्राको सबैभन्दा बढी पर्दछ भने स्त्रीमा पाठेघरको मुखको, स्तन र फोक्सोको क्यान्सर तथा बालबालिकामा रगत र आँखा सम्बन्धी क्यान्सर बढी देखिएको छ । सरकारी आँकडा हेर्दा पुरुषमा फोक्सोको, महिलामा स्तनको र बालबालिकामा रगतको क्यान्सर प्रमुख पाइन्छ । सुरुका आठ लक्षणहरुमा बिना कारण वजन घट्न जाने, अपच वा खाना निल्न गाह्रो हुने, दिशा वा पिसावको बानीमा फरक पर्न जाने, असाधारण रक्तस्राव वा पिप आउने र उपचारबाट पनि पुरानो घाउ निको नहुने हुन्छ । त्यस्तै हतपत निको नहुने खोकी वा घोक्रो स्वर भएमा, कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा र स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आएमा पनि क्यान्सरको लक्षण मान्न सकिन्छ । यस रोगमा अङ्गअनुसार लक्षणहरु पनि फरक-फरक देखिने गर्दछ । क्यान्सर लागिसकेपछि व्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पत्ता हुने र प्यारानियोब्लस्टीक सिन्ड्रोम हुँदै सिकिस्त हुन्छ र अन्त्यमा मृत्यु हुन्छ । निदान कसरी गर्न सकिन्छ ? बिरामीको इतिहास सविस्तार जाँच गरेर, रगत, दिशा, पिसाबको परीक्षण गरेर, सियोले गिर्खाबाट पानी झिकी परीक्षण गरेर (एफएनएसी) तन्तु वा कोषको बायोप्सी गरेर, साधारण तथा स्पेसल एक्सरे अल्ट्रासोनोग्राम, सिटीस्क्यान, एमआरआई र इन्डोसकपिक जाँच गरेर क्यान्सरको निदान गर्न सकिन्छ । क्यान्सरको स्टेजअनुसार उपचार फरक पर्ने भएकाले क्यान्सरको स्टेजिङ गर्ने गरिन्छ । पहिलो र दोस्रो स्टेजको क्यान्सरलाई शुरुको अवस्था तथा तेस्रो र चौथो स्टेजलाई जटिल अवस्था मानिन्छ । पहिलो स्टेजमा रोग उत्पन्न भएकै ठाउँमा सानो रुपमा दोस्रो र तेस्रो स्टेजमा सोही ठाउँमै ठूलो र जटिल रुपमा रहेको तथा चौथो स्टेजमा रोग अन्य भागमा सरेको अवस्था वा मेटास्टासिस हो । उपचार के हुन सक्छ ? कुनै पनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्दछ । यदि शुरुकै अवस्थामा नै क्यान्सरको निदान हुन सक्यो र उपचार शुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकामा भन्दा सफल रहन्छ र क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ । सोलिड ट्यूमरको उपचारमा शल्यक्रिया विकीरण र केमोथेरापिको प्रयोग गरिन्छ भने रगतसम्बन्धी क्यान्सरमा मुख्यतया केमोथेरापी र केहीमा विकिरणको प्रयोग गरिन्छ । निदानमा धेरै समय लाग्ने उपचारको क्रममा बारम्बार अस्पताल आउनु पर्ने, विभिन्न परीक्षणहरु बारम्बार गराउनु पर्ने, विकिरण तथा केमोथेरापीका कुप्रभाव, पाश्र्वे प्रभावले बिरामी तथा आफन्तमा नकारात्मक सोँच ल्याउने भएकोले बिरामी स्वयं आफन्तहरु संलग्न चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुमा धैर्यताको आवश्यकता पर्दछ । क्यान्सरको उपचारमा कुन उपचार गर्दा बिरामीलाई अत्यधिक लाभ हुन्छ भनी निर्णय गर्न क्यान्सर सम्बन्धी विभिन्न विशेषज्ञहरुको आपसी सहकार्य अत्यन्त आवश्यक हुने भएकाले विशेषज्ञहरुको भेला ट्यूमर बोर्ड गठन छ । क्यान्सर लागेको भागलाई चिरफार गरी निकाल्ने विधि शल्यक्रिया, कोषनाशक औषधिहरुको प्रयोगद्वारा गरिने उपचार विधि केमोथेरापी, विकिरणद्वारा क्यान्सर कोषहरु सेकी उपचार गर्ने विधि रेडियोथेरापी, कतिपय क्यान्सरको वृद्धि हुनुमा शरीरमा हर्मोनको उपस्थिति बढी हुनेमा उक्त हर्मोनको भाग हटाइदिएर वा हर्मोनको प्रयोगद्धारा उपचार गर्ने विधि हार्मोनथेरापी र क्यान्सररोग रोक्न सक्ने क्षमतालाई वृद्धि गर्ने विधि इम्युनोथेरापी क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । क्यान्सरबाट कसरी बच्ने ? हालसम्म प्राप्त ज्ञान, सीप र प्रविधिले एक तिहाई क्यान्सर हुनु अगावै रोकथाम गर्न सकिने, अर्को एक तिहाई समयमै पत्ता लगाई उपचार गरी निको गर्न सकिने र बाँकी एक तिहाईलाई निको पार्न नसके पनि यस रोगबाट हुने पीडा कम गरी स्तरीय आयु लम्ब्याउन सकिन्छ । एक अध्ययनअनुसार महिलामा ६० प्रतिशत र पुरुषमा करिब ४० प्रतिशत क्यान्सरको कारक तत्व असन्तुलित भोजन नै हो । शुरुमा उपचार गरे क्यान्सर निको हुन्छ । तैपनि क्यान्सरबाट पाइने दुःख, हुने विकृति र विभिन्न समस्या तथा लाग्ने उपचार खर्चलाई सजिलैसँग नियन्त्रण गर्न सकिने भएकोले रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । –चुरोट, बिडी, खैनी, पान, तम्बाखु र गुटखा जस्ता लागू पदार्थ तथा सूर्तीजन्य पर्दाथको सेवन नगर्ने । –सडेगलेका, बासी, ढुसीपरेका, बेसी रङ्गाइएका, बुट्टाबुट्टी भएका र अखाद्य रङ मिसाइएका खानेकुरा नखाने । –बेसी पोलेको मासु, डढेका खानेकुरा र बढी तातो, चिसो, चिल्लो खाना नखाने, जाँडरक्सी सेवन नगर्ने वा थोरै मात्रा लिने, –प्रत्येक दिन शारीरिक ब्यायाम गर्ने । –स्वच्छ सफा, ताजा, हरियो सागपात, पहेंलो फलफुल, गेडागुडी, रेसाजन्य तथा पौष्टीक पर्दाथ भएको शाकाहारी र सन्तुलित भोजन गर्ने (मासु खानै परे पनि सेतो मासु खाने) । –नक्कली र जथाभावी औषधीको प्रयोग नगर्ने, खाना खाइसकेपछि मुख सधैँ सफा राख्ने, वातावरणीय प्रदूषणबाट जोगिने । –धेरै जनासँग यौन सम्पर्क नराख्ने । –अनावश्यक मोटोपन घटाउने र नियमित शारीरिक व्यायम गर्ने, नून धेरै हालेको खाना कम खाने । अन्तमा, सन २०२२ देखि २०२४ सम्म फेब्रुअरी ४ को ‘नारा क्लोजिङ द ग्याप ईन केयर’ अर्थात क्यान्सरको उपचारमा हुने असमानताको अन्त गरौँ भन्दै मनाईदैछ । स्वास्थ्यप्रति चेतनशील रहने र नियमित स्वास्थ्य परीक्षण गर्ने जस्ता व्यक्तिगत एवं वातावरणीय सरसफाई, उचित खानपान तथा स्वस्थ जीवनयापन गर्नाले क्यान्सर रोगबाट जोगिन सकिन्छ । त्यसैगरी शुरुकै अवस्थामा रोग पत्ता लगाई उपचार गरेमा धेरैजसो क्यान्सर पूर्णतया निको पार्न सकिन्छ र दीर्घायु तथा मानवोचित, जीवनयापनमा सहयोग पुग्दछ । रासस (लेखक स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता हुन् ।)
१५ करोड लगानीमा कृषि पेसामा रमाउँदै धर्मराज, ६५ जनालाई रोजगारी
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गरेका थिए । बूढानीलकण्ठ नगरपालिका-८ काठमाडौंमा परिवारसहित बसोबास गर्दै आएका उनले आफ्नो जन्मथलो विजयखर्कका फरक-फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई-भैँसी, कुखुरा, माछा, फलफूल र तरकारीखेती लगाएका छन्। विजयर्खस्थित उनले आफ्नै जग्गामा १३ बङ्गुर फार्म सञ्चालन गरेका छन् । राजापानीमा दुईवटा बाख्रा फार्म छन् । बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ । जस्ताले छाइएको सिमेन्टेड फार्मभित्र बँदेल पनि पालिएको छ । भूगोल, हावापानीअनुसार माटो परीक्षण गरेर व्यावसायिक कृषि फार्म सञ्चालन गरिएको उनले जानकारी दिए । विजयखर्कको रामबाडीस्थित दुईवटा बङ्गुर फार्ममा ५० का हाराहारीमा बङ्गुर र बँदेल छन् । वरपर कागती, लिची, कटहर, केरा, माछापोखरी, तरकारीखेती लगाइएको छ । विजयखर्ककै भैरमपुरबेँसीमा पाँच बङ्गुर फार्म छन् । जहाँ करिब दुई सय हाराहारीमा बङ्गुर र बँदेल छन् । त्यही सातवटा पोखरीमा माछापालन गरिएको छ । एउटा कुखुरा फार्ममा करिब पाँच सयको हाराहारीमा कुखुरा छन् । आसपासमा अनार, अङ्गुर, आँप, लिची, कटहर, सुन्तला, कागती, एभोकाडो, चेरीमैया, जापानिज कटुस, केरा, अम्बा, रुद्राक्षलगायतको व्यावसायिक खेती लगाइएको छ । बुइपाको स्वाराटोलमा चारवटा बङ्गुर फार्म छन् । जहाँ करिब दुई सयको हाराहारीमा बङ्गुर छन् । सँगै अम्बा, अमला, कागती, सुन्तला, एभोकाडो लगाइएको छ । बुइपाकै तमरुङमा एउटा बङ्गुर फार्म राखिएको छ । सो फार्ममा ५० वटाको हाराहारीमा बङ्गुर छन् । सँगै सिताके च्याउ, किबी, अनार, कागती, सुन्तला, स्याउ, अङ्गुर, कुरिलो र तरकारीखेती लगाइएको छ । बुइपाकै दम्कुमा भैँसीगोठ, सुँगुर खोर, कुखुरा फार्मसँगै कागती, सुन्तला, लिचीलगायतको खेती लगाइएको छ । हरेक ठाउँमा सञ्चालित फार्मबाट उत्पादनसमेत दिन थालेको पाइएको छ । यस्तै राजापानीको खाम्तेलडाँडामा एउटा बङ्गुर फार्ममा ६० बङ्गुर छन् । बङ्गुरसँगै गाई र भैँसीपालन गरिएको व्यवसायी पोखरेल बताउँछन् । राजापानीकै तल्लोबडकामा दुईवटा बाख्रा फार्ममा करिब चार सयको हाराहारीमा बाख्रापालन गरिएको छ । पाँचवटा गाईपालन गरिएको छ । गाई बाख्राका लागि डाले र भुइँघाँस लगाइएको छ । फार्म आसपासमा कागती, सुन्तला, लिची, तरकारीखेती लगाइएको छ । हरेक ठाउँका फार्ममा एक-एक परिवारलाई पारिश्रमिकसहित सेयर सदस्यका रूपमा राखिएको छ । सेयर सदस्यका रूपमा राखिएका नौ घरपरिवारका ६५ जनाले फार्मको हेरचाह गर्ने गरेका छन् । फार्ममा तयार भएका बङ्गुरको मासु बिक्री वितरणका लागि उनले बुइपाको पञ्चदोबाटोमा खानेबस्ने व्यवस्थासहितको होटल र कोल्डस्टोरसहितको मासु कटिङ सेन्टर खोलेका छन् । फार्ममा पाल्नका लागि धरान र चितवनबाट बँदेलको पाठा ल्याइएको हो । प्रतिकेजी एक हजार दुई सयका दरले फार्मबाटै ५६ बँदेल बिक्री भइसकेको उनी बताउँछन् । राजनीतिमा समेत सक्रिय रहेका पोखरेलले काठमाडौँमा विजय इन्जिनियरिङ कन्सल्ट्यान्सी सञ्चालन गर्दै आएका छन् । बहुउद्देश्यीय तरिकाले स्थापना गरिएको कृषि फार्मका लागि संरचना निर्माण तथा सञ्चालनमा अहिलेसम्म एकोहोरो लगानीमात्र भइरहेको पोखरेलले बताए । ‘कृषिमा वास्तविक किसानले अनुदान पाउँदैनन् । अहिले व्यक्तिगतरूपमा लगानीमात्र भइरहेको छ । आम्दानी सुरु भएको छैन । अहिलेसम्म १५ करोडभन्दा बढी लगानी गरिसकेको छ’, उनले भने, ‘जिम्मेवार निकायमा बसेकाहरू कृषिमा सम्भावना छ भनेर गफमात्रै गर्ने गरेका छन् । मैलेचाहिँ आफैँ गरेर देखाऔँ भन्ने हो । फार्मले आम्दानीसमेत दिन थालेको छ । मेरो कृषि फार्म देखेर यहाँका धेरैजना स्थानीय बासिन्दाले आ-आफ्नो क्षेत्रमा व्यावसायिक खेती सुरु गरेका छन् । कृषि पेसालाई व्यावसायिक तथा आधुनिक तरिकाले अपनाउन अभियानसमेत चलाइरहेको छु ।’ फार्ममा उत्पादित अधिकांश कृषि उपज तथा पशुपक्षी काठमाडौं निर्यात हुने गरेको जनाइएको छ । केही समयपछि काठमाडौंको विभिन्न ठाउँमा आफ्नै बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिए । कृषि पेसामा ठूलो धनराशि लगानी गरेका उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस प्रदेश समितिबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको टिकट पाए पनि अन्तिममा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर तीर्थराज भट्टराईलाई सघाए । प्रदेशसभा निर्वाचनमा पनि पोखरेलले खोटाङ प्रदेशसभा (क)मा वाम-लोकतान्त्रिक गठबन्धनको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए । निर्वाचन परिणामअनुसार गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई पराजित भए भने, नेकपा एमालेका पाँचकर्ण राई विजयी भए । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेएका पोखरेललाई केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि अहिले आफ्नै गाउँमा आएर कृषि कर्ममा रमिरहेका छन् । रासस
पुँजी पुर्याउन ४२ प्रतिशत हकप्रद जारी गर्दै एशियन लाइफ इन्स्योरेन्स
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजी ५ अर्ब पुर्याउन लाभांश पश्चात ४२ प्रतिशत अर्थात एक बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । माघ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि अर्थात माघ १२ गते मात्रै बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनससहित ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त ७.७५ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ कायम हुन्छ । उक्त पुँजीको ४२ प्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ नाघ्ने छ ।
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइने
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौं महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो । कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने, ‘शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु गरेका छौँ । एकरदुई दिनमा सीमाङ्कन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइने छ ।’ कामपा–८ गाँचा पोखरीमा तीन रोपनी छ आना एक पैसा, वडा नं ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले जानकारी दिए । कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन् । रासस
क्यामरुनले इन्धनको मूल्य बढायो
काठमाडौं । क्यामरुन सरकारले इन्धनको मूल्य बढाएको छ । शनिबारदेखि लागू हुने गरेर सरकारले इन्धनको मूल्य बढाएको हो । प्रधानमन्त्री कार्यालयका महासचिव सेराफिन म्याग्लोइर फौडाले यसबारेमा जानकारी दिएका हुन् । प्रतिलिटर १.२१ अमेरिकी डलरबाट १.३९ अमेरिकी डलर सम्मको मूल्य बढाएको हो । राज्यले सामना गरिरहेको बढ्दो बजेटको अवरोधलाई आत्मसाथ गर्न र देशको बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा दबाब हुन नदिन मूल्यवृद्धि गरिएको बताए । मूल्यवृद्धिसँगै निजामती कर्मचारीको आधारभूत तलब ५ प्रतिशतले बढाइने र सडक यातायात क्षेत्रमा लाग्ने ‘निश्चित’ कर तथा भन्सार महसुल घटाइने अधिकारीहरूले बताएका छन् ।
निजी सवारीको आयु २५ वर्ष, सवारीधनीको माग बमोजिम रुट परमिट
गण्डकी । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली-२०८० लाई यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोका रुपमा अर्थ्याइएको छ । गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त नियमावली गत बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । एक सय तीन वटा नियम र १३ परिच्छेद रहेको सो नियमावलीमा ३२ अनुसूची रहेको मन्त्रालयका कानुन अधिकृत जीतबहादुर बस्यालले जानकारी दिए । प्रदेश सरकारले सार्वजनिक यातायात सञ्चालन र यातायात क्षेत्रको सेवा प्रवाहसम्बन्धी आफ्नै नियम बनाएको उनको भनाइ छ । सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ र सङ्घबाट विभिन्न समयमा प्राप्त निर्देशन, परिपत्रलगायतलाई आधार मानेर नियमावली तयार पारिएको अधिकृत बस्यालले बताए । नियमावली बनेसँगै विसं २०७६ मा जारी भएको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा आएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सार्वजनिक यातायात सेवालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन नियमावली महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे । ‘राजस्वको स्रोत बढाउन, सेवा प्रवाहलाई चुस्त, छिटोछरितो र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नियमावली सहयोगी बन्नेमा प्रदेश सरकार र मन्त्रालय विश्वस्त छ’, उनले भने, ‘यो नियमावली गण्डकी प्रदेशको यातायात क्षेत्र सुधारका लागि कोशेढुङ्गा सावित हुनेछ ।’ मार्ग इजाजत प्रदेशभर सार्वजनिक सवारीलाई सम्बन्धित सवारी धनी वा व्यवसायी कम्पनीको माग बमोजिम प्रदेशभित्रको मार्ग इजाजत (रुट परमिट) दिइने नियमावलीमा व्यवस्था गरिएको छ । विसं २०७४ यता गण्डकी प्रदेशमा सञ्चालन हुने जिप र ट्याक्सीलाई दुई जिल्लाको मात्र स्थायी मार्ग इजाजत दिइएको थियो । नियमावलीले गरेको व्यवस्था अनुसार अब प्रदेशभर, बहुजिल्ला, एक जिल्ला, निश्चित स्थानीय तह वा क्षेत्र तोकी मार्ग इजाजतपत्र जारी गर्न लागिएको हो । यातायात व्यवसायीलाई एकै ठाउँमा मात्र केन्द्रित हुन नदिन मापदण्ड बनाइने मन्त्रालयले जनाएको छ । नियमावलीमा रहेको सो व्यवस्थाले बागलुङस्थित यातायात व्यवस्था कार्यालयको सेवा लिनसमेत पटके काटेर जानुपर्ने म्याग्दीका ट्याक्सी चालकको बाध्यता पनि हट्ने भएको हो । ट्याक्सीलाई दुई जिल्ला मात्र चल्ने अनुमतिका कारण छिमेकी जिल्लाको सडक प्रयोग गर्दा पनि पटकैपिच्छे अस्थायी मार्ग इजाजत (रुट परमिट) लिनुपर्ने बाध्यता थियो । प्रदेश राजधानी पोखरा गुड्ने म्याग्दीका अधिकांश ट्याक्सीको स्थायी रुट इजाजत हाललाई पर्वतसम्म मात्र छ । म्याग्दी, गोरखा, बागलुङलगायत जिल्लाका ट्याक्सी व्यवसायीले दुई जिल्लामा मार्ग स्थायी इजाजत दिने व्यवस्था हटाइ प्रदेशभरलाई इजाजत खुला गर्न माग गर्दै आएका थिए । म्याग्दीको बेनी यातायात प्रालिका अध्यक्ष कुमार थापाले सार्वजनिक सवारीसाधनको मार्ग इजाजतका सम्बन्धमा नियम खुकुलो पार्न लागिएका खुसी व्यक्त गरे । ‘ट्याक्सी व्यवसायीले पटकपटक उठाउँदै आएको माग हो यो, दुई जिल्ले रुट परमिटका कारण प्रदेश राजधानी पोखरा जानका लागि पनि पटके काट्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘प्रदेश सरकारले ल्याएको नियमावली कार्यान्वयनमा सबै पक्ष गम्भीर र जिम्मेवार भएर लाग्नुपर्छ, यातायात क्षेत्रको सुधार र व्यवस्थापनमा व्यवसायी पनि सहयोगी बन्न चाहान्छौँ ।’ म्याग्दी सदरमुकाम बेनीदेखि पोखरासम्म चल्न पाउने गरी ट्याक्सी दर्ता गरेपनि मार्ग इजाजतलाई दुई जिल्लामा सीमित बनाउने नीतिका कारण ट्याक्सी चालककले अनावश्यक झण्झट बेहार्दै आएका थिए । म्याग्दीदेखि पोखरा चल्ने अधिकांश ट्याक्सीले आकस्मिक बिरामी र पर्यटकलाई सेवा पुर्याउँदै आएका छन् । बिदाका दिन र कार्यालय बाहेकको समयमा अस्थायी मार्ग इजाजतपत्र दिने कर्मचारी नहुुने, यात्रुु बोकेर कर्मचारी खोज्न र कार्यालय जाँदा ढिला भएर यात्रु समयमा गन्तब्यमा पुर्याउन नसक्ने जस्ता समस्या ट्याक्सी चालकले भोग्दै आएका थिए । सवारी धनी र व्यवसायी कम्पनीको माग बमोजिम अब मार्ग इजाजत दिइने भएपछि उक्त समस्या सँधैका लागि अन्त्य हुने भएको हो । मुख्य गरी पोखरा पुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुुङ, मुुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बागलुुङ जिल्लाका ट्याक्सी व्यवसायीले दुई जिल्लामा मात्र स्थायी मार्ग इजाजत दिने व्यवस्था हटाउनुपर्ने माग गर्दै आएका थिए । निजी सवारीसाधनको आयु २५ वर्ष नियमावलीमा नेपालमै पहिलोपटक निजी सवारीसाधनको पनि २५ वर्ष आयु तोकिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए । उनका अनुसार नेपालमा हालसम्म निजी सवारीसाधनको आयु तोकिएको थिएन । सार्वजनिक सवारी साधनको २० वर्षमै पत्रु कायम गरेर लगत कट्टा गर्नुपर्ने व्यवस्था राख्ने तर निजी सवारीसाधन जति वर्ष पनि चलाउन पाउने व्यवस्था असमान पनि देखिएकाले नेपालमै पहिलोपटक निजी सवारीसाधनको आयु तोकिएको मन्त्रालयले जनाएको छ । विद्युतीय सार्वजनिक सवारीसाधनको भने तीस वर्षमा पत्रु कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक तथा अन्य सवारीसाधनलाई विद्युत्मैत्री सवारीसाधनमा रुपान्तरण गर्न मन्त्रालयले आवश्यक मापदण्ड बनाइ जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ । पत्रु कायम हुने ट्याक्सीको लगतकट्टा गरेर अर्को दर्ता गर्दा अनिवार्य रुपमा विद्युतीय हुनुपर्ने गरी मापदण्ड बनाउने तयारी मन्त्रालयले गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनको २० वर्षमा पत्रु कायम हुने र अनिवार्य लगत कट्टा गर्नुपर्ने व्यवस्था सङ्घीय ऐनमा छ । गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनको हकमा २५ वर्षमा अनिवार्य लगतकट्टा गरेपछि मात्रै अर्को दर्ता हुने र बाहिर दर्ता भएकाको हकमा २५ वर्ष पुगेका सवारीसाधनलाई चल्न नदिने नीति अपनाइने प्रवक्ता पौडेलले बताए । ‘राइड सेयरिङ’लाई वैधानिकता निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनले ‘राइड सेयरिङ’ एपमार्फत दिने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउन कानुनी बाटो नियमावलीले खुलाएको छ । नियमावलीको दफा १३ मा उल्लेख भएको निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङग्रे तथा दुईपाङग्रे सवारीसाधनले आवश्यक प्रक्रिया पूरा गरी तोकिएका भाडामा यात्रु बीमा गरेर यात्रु बोक्न पाउने व्यवस्था कार्यान्वयनका लागि मापदण्ड बनाउने तयारी गरिएको प्रवत्ता पौडेलले बताए । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’ यात्रुमाझ लोकप्रिय बन्दै गएपनि नियमन गर्न र वैधानिक बनाउन कानुनको अभाव थियो । नेपालमा पठाओ, टुटल, इनड्राइभ, सहारा, सजिलो, ट्याक्सीमान्डू, क्याब ट्याक्सीलगायत ‘राइड सेयरिङ’ एप सञ्चालनमा छन् । सार्वजनिक सवारीसाधन दर्ताका लागि कम्पनी अनिवार्य नहुने गण्डकीमा कम्पनीमा नगइ पनि व्यक्तिले सार्वजनिक सवारीसाधन चलाउन पाउने भएका छन् । यातायात व्यवसायीले समितिको नाममा एकाधिकार जमाएको भन्दै सरकारले त्यही ऐनको दफालाई टेकेर कम्पनीमा जाने व्यवस्था गरेको थियो । समितिहरुले हाल कम्पनीमार्फत चक्रीय प्रणाली ९आलोपालो० कायमै राखेका छन् । व्यक्तिले मार्गको इजाजत लिन कम्पनीकै सिफारिस लिनुपर्ने व्यवस्थालाई नियमावलीबाट हटाइएको छ । कम्पनीमा जानैपर्ने व्यवस्थाका कारण चर्को मूल्य लिएर ‘रुट’ बिक्री र सिफारिस गर्ने गुनासो यातायात व्यवसायीहरुले गरेका थिए । “सवारी धनीले सार्वजनिक सवारी सञ्चालन गर्न कम्पनीमा आबद्ध नभइकन यातायात कार्यालयमा सवारीसाधन पञ्जिकृत गरी आएमा माग बमोजिमको मार्ग इजाजत जारी गर्न सकिनेछू, नियमावलीमा उल्लेख गरिएको छ । व्यक्तिले स्वतन्त्र रुपमा एक/दुई वटा सावारीसाधन किनेर सार्वजनिक यातायातका रुपमा सञ्चालन गर्न पाउने भएका हुन् । नवीकरणका क्रममा अनिवार्य राजस्व यातायात कार्यालयमा एकै आर्थिक वर्षमा कर तिर्न र नवीकरण गर्न दुई पटक धाउनुपर्ने व्यवस्थाका कारण सेवाग्राहीलाई भएको सास्ती नियमावलीले हटाएको छ । नवीकरण र राजश्व तिर्न दुई पटक आउने सेवाग्राहीलाई भएको झञ्झट र कार्यालयको भिड हटाउन सवारीसाधन नवीकरण गर्दा नै अनिवार्य रुपमा त्यो वर्षको राजश्व तिर्नुपर्ने व्यवस्था ल्याइएको छ । सवारीसाधनको नामसारी गर्दा अनिवार्य रुपमा नागरिकता नै चाहिने व्यवस्था भएकामा नियमावलीले अब राज्यका निकायबाट जारी भएका अन्य परिचयपत्रबाट पनि नामसारी हुने सुविधा दिइएको छ । सार्वजनिक सवारीसाधनको जाँचपास प्रमाणपत्र दिँदा अन्य प्राविधिक परीक्षणका अतिरिक्त अनिवार्य रुपमा प्रदुषण चेकजाँच पनि गर्नुपर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहमा विद्युतीय माध्यमको प्रयोग सङ्घीय सरकारको सरकारी कार्यालय तथा यातायात क्षेत्रका अभिलेखलाई विद्युतीय माध्यममा लैजाने नीतिअनुसार गण्डकी प्रदेशको यातायात कार्यालयका सेवालाई छिटो छरितो बनाउन विद्युतीय माध्यमको प्रयोग गर्न नियमावलीमा आवश्यक नीतिगत व्यवस्था गरिएको छ । यातायात कार्यालयमार्फत कागजातका आधारमा प्रवाह हुने सबै सेवाहरु क्रमशः कागजविहीन सेवाका रुपमा रुपान्तरण गर्दै डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्ने नियमावलीमा उल्लेख गरिएको छ । मिटरमा नचल्ने ट्याक्सीको जरिवाना बढाइयो मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई रु दुई हजारबाट बढाएर रु १० हजार पुर्याइएकामा ६ महिना निलम्बनसम्म गर्न सक्ने व्यवस्था नियमावलीले गरेको प्रवक्ता पौडेलले बताए । हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएको थियो । अबदेखि जरिवानाको न्यूनतम दर रु १० हजार पुर्याउने र छ महिनासम्म मार्ग इजाजत रद्ध गर्ने नियम बनाइएको हो । पोखराका यातायात व्यवसायीसँग भएको छलफलपछि मन्त्रालयले गत गत भदौ १ गतेदेखि ट्याक्सी मिटर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको थियो । ट्याक्सी व्यवसायीले मिटरमा उठे बराबरको भाडा लिएर यात्रु बोक्ने पटक–पटकको प्रतिबद्धता कार्यान्वयन नगरेपछि मन्त्रालयले नियम थप कसिलो बनाएको हो । हाल पोखरामा दुई हजार पाँच सयसहित गण्डकी प्रदेशभर करिब तीन हजार पाँच सय ट्याक्सी सञ्चालनमा छन् । रासस
फेसबुकको सेयर मूल्यमा उछाल, एकैदिन झन्डै २ खर्ब डलरले बढ्यो
एजेन्सी। शुक्रबार फेसबुकको मुख्य कम्पनी मेटाको सेयर बजार मूल्यमा उछाल आएकाे छ । शुक्रबार एकैदिन मेटाको सेयर बजार मूल्यमा १९६ अर्ब डलर अर्थात् २०.३ प्रतिशतले वृद्धि भएको हाे । यो सेयर उछालसँगै मेटा कम्पनीको बजारमूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ । यो अमेरिकी सेयर बजारको इतिहासमा कुनै पनि कम्पनीले गरेको सबैभन्दा ठूलो एकदिवसीय नाफा हो । योसँगै मेटा विश्वकै सातौं मूल्यवान कम्पनी बन्न पुगेको छ । मेटाका संस्थापक मार्क जुकरबर्ग अर्नल्ट, मस्क र बेजोसपछि विश्वकै धनाढ्यहरूको चौथो स्थानमा उक्लिएका छन् । शुक्रबार कारोबारका क्रममा प्रतिसेयर ४८५ डलरसम्म पुगेको मेटाको सेयर बजार बन्द हुँदा ४७४ अमेरिकी डलर रहेको थियो । ३१ अगस्ट २०२१ मा १० खर्ब रहेको मेटाको बजार मूल्य कोभिड–१९ र आर्थिक मन्दीका कारण सुस्ताएको अनलाइन बजारका कारण ओरालो लागेको थियो । वर्ष २०२२ को अन्त्यसम्ममा झन्डै एक चौथाइमा झरेको थियो । त्यतिबेला मेटाको सेयर मूल्य प्रतिकित्ता ९० डलरमा पनि कारोबार भएको थियो । आइतबारमात्रै फेसबुक स्थापनाको झन्डै २० वर्ष पुगेको छ । कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स उत्पादनहरूमा बढ्दो सफल प्रयोग, एक्सलगायत प्रतिस्पर्धी कम्पनीहरूको विज्ञापन बजारमा थपिँदो समस्यालगायतका कारण मेटाको सफलता बढेको अनुमान गरिएको छ । वर्ष २०२२ मा झन्डै ६५ प्रतिशतले बजार मूल्यको मेटाले वर्ष २०२३ भरिमा आफ्नो मूल्य झन्डै १८५ प्रतिशतले बढाउन सफल भएको छ ।