‘हाइटेक’ नर्सरीमा भ्रष्टाचार, ८४ लाख ८६ हजार रुपैयाँ नोक्सानी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ आलीमा स्थापना गरेको भनिएको ‘हाइटेक’ नर्सरी निर्माणमा अनियमितता भएको भन्दै वन अधिकृतसमेत उक्त कार्यमा संलग्नविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । अख्तियारले दायर गरेको मुद्दामा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई ८४ लाख ८६ हजार रुपैयाँ बराबरको रकम हानिनोक्सानी गरेको दाबी गरिएको छ । डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल र तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्रीले सिम्ता उपभोक्ता समितिलाई भुक्तान गरेको ८४ लाख ८६ हजार रुपैयाँ असुलउपर गर्न र निजहरुमाथि भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय र बिगोबमोजिमको जरिवाना गर्न माग गरिएको अख्तियारले जनाएको छ । साथै, सिम्ता सव–डिभिजन वन कार्यालयका तत्कालीन रेञ्जर कमल चित्रकार र भोजप्रसाद उपाध्यायले सिम्ता उपभोक्ता समितिलाई ढुवानीबापतको रकम उपलब्ध गराउन सिफारिस गरेको भन्दै दुवैमाथि क्रमशः ७१ लाख ७७ हजार रुपैयाँ र ८ लाख ७१ हजार रुपैयाँ बिगो कायम गर्न मागदाबी गरिएको छ । सिम्ता ‘हाइटेक’ नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, सचिव चन्द्रप्रकाश थापा र कोषाध्यक्ष मीना पोखरेल हमालले झुठा बिलहरु पेस गरी डिभिजन वन कार्यालय सुर्खेतबाट भुक्तानी लिएको भन्दै निजहरुबाट पनि ८४ लाख ८६ हजार रुपैयाँ असुल गरी कैद र जरिवाना गर्न आयोगले माग गरेको छ । साथै, सिम्ता नर्सरीका लागि फर्जी कागजात बनाई उपभोक्ता समितिबाट भुक्तानी लिएको भन्दै नाफ सिड्स प्रालिका सञ्चालक गौतम महर्जनविरुद्ध ७१ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना गर्न आयोगले मागदाबी गरेको छ । उक्त नर्सरी निर्माणको कार्य नभए पनि सिफारिस गर्ने सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसी र वडा नं ५ का वडाध्यक्ष मोहनकुमार बिसीविरुद्ध पनि नर्सरी निर्माणमा मतियार बनेको भन्दै निजहरुविरुद्ध ८४ लाख ८६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय हुनुपर्ने मागदाबी गरिएको छ ।
बागमती प्रदेशका ६ जना मन्त्रीद्वारा सामूहिक राजीनामा
काठमाडौं । बागमती प्रदेश सरकारका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्तरुपमा राजीनामा दिएका हुन् । नेपाली कांग्रस संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिलामन्त्री लामा र खानेपानीमन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त हुनुभएको थियो भने अन्य चारजना गत जेठ ७ गते नियुक्त भएका थिए । बागमती प्रदेशमा नेपाल कम्युष्टि पार्टीसहित पाँच दलको समर्थनमा अघिल्लो वर्ष पुस ५ गते नेकपा ९माओवादी केन्द्र० का नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो । सत्तासाझेदार दलहरु एमाले र राप्रपाले सरकार छाडेपछि नेपाली कांग्रेससँग मिलेर गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले सरकार पुनर्गठन गरेका थिए । सङ्घीय सत्ता गठबन्धनमा आएको परिवर्तनले बागमती प्रदेश सरकार पनि एक पटक पुनर्गठन भइसकेको छ । बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल हो भने नेकपा (एमाले) का २७ सदस्य सहित दोस्रो ठूलो दल हो । प्रदेशमा नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । नयाँ गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीले साझेदारी गर्दा बागमती प्रदेशमा ५५ जना सदस्यको समीकरण बन्दछ । एक सय १० सदस्यीय बागमती प्रदेशसभामा यो समीकरण सरकार गठनका लागि पर्याप्त हुँदैन ।
एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने
काठमाडौं । नयाँ सत्तासमिकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्ने नयाँ मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्ने भएका हुन् । यस पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो । उनीहरुको नाम समेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको कार्यालयको भनाई छ । योसँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ ।
नक्कली थाईभाटसहित पाकिस्तानी नागरिक पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । ‘ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्’, प्रहरी प्रवक्ता ढकालले भने । रासस
ज्योति क्यापिटलले ल्यायो ‘नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ । सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि सेयर बजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको छ । उक्त योजना अवधिभर नेपाली नारीहरु नाबालक देखि साबालक सम्मले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन् । ज्योति क्यापिटलले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो । ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा क्लिक गरी खोल्न सकिनेछ । उक्त योजना मिति फाल्गुण २४ गते देखि ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । साथै ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।
यूनाइटेड बिजनेश होटलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया
काठमाडौं । यूनाइटेड बिजनेश होटलले आइपीओ निष्काशन गर्ने भएको छ । यसैबीच कम्पनीले आइडिया टु आइपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो । काठमाडौं वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौं रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेश होटललाई क्यापिटलको ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित युनाइटेड बिजनेश होटललाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्काशन गर्नको लागि सो सम्झौता भएको हो । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटललाई सम्पर्क गर्न सक्ने छन् ।
भाटभटेनी सुपरमार्केटको २७औं आउटलेट झापाको दमकमा
काठमाडौं । रिटेल चेन भाटभटेनी सुपरमार्केटको २७औं आउटलेट झापाको दमकमा खुलेको छ । कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो । सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवा विस्तार गरेको हो । उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिइएको छ । ‘ग्राहकको सन्तुष्टि हाम्रो लक्ष्य’ नाराका साथ अघि बढेको भाटभटेनी सुपरमार्केट देशभरका ग्राहकले रुचाएको किनमेल गन्तव्यमा पर्छ । भाटभटेनीमा घरासयी आवश्यकताका सबै सामान पाइन्छन् । संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा दर्जनभन्दा बढी सुपरमार्केट सञ्चालन गरिरहेको भाटभटेनीका सुपरमार्केटहरु देशका सबैजसो प्रमुख सहरहरुमा खुलिसकेका छन् । सन् १९८४ मा काठमाडौंको भाटभटेनीमा करिब १२० वर्गफिटको एउटा सटरमा सीमित कोल्डस्टोरबाट खोटाङमा जन्मिएका मिनबहादुर गुरुङले शुरु गरेको भाटभटेनी यतिबेला रिटेल सेक्टरको सबैभन्दा ठूलो करदाताको रुपमा उभिएको छ । करिब पाँच हजारजना पूर्णकालीन कर्मचारी रहेको भाटभटेनी सुपरमार्केटमा दैनिक ८ करोड रुपैयाँ हाराहारीको कारोबार हुन्छ । देशभरका भाटभटेनी सुपरमार्केटमा दैनिक सवा लाख जति ग्राहक पुग्छन् । नेपालमा डिपार्टमेन्टल स्टोर संस्कृतिको विकासमा समेत अग्रणी योगदान रहेको भाटभटेनी सुपरमार्केटमा ताजा तरकारी र फलफूलदेखि विश्वविख्यात ब्रान्डसमेतका गरी एक लाख ५० हजार थरी वस्तु पाइन्छ ।
मन्त्रिमण्डलमा पुरानै अनुहार, एमालेबाट कनिष्ठ नेतृत्व
काठमाडौं । सत्ता गठबन्धनले नयाँ बन्ने मन्त्रीकाे नाम टुंग्याएको छ । जसमा एमाले र माओवादीबाट अधिकांश पुरानै अनुहार मन्त्रिमण्डलमा सहभागी हुने भएका छन् । नयाँ मन्त्रीहरुको सपथ आजै गर्ने तयारी भएको छ । बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको सपथ गराउने तयारी गरिएको हो । तीन दिनको निरन्तर छलफलपछि बुधबार टुंगिएको मन्त्री बाँडफाँटमा एमालेले ८, माओवादीले ५, रास्वपाले ४, एकीकृत समाजवादीले २ र जसपाले २ मन्त्रालय पाउने सहमति भएको छ । एमालेको तर्फबाट रघुविर महासेठ, पदम गिरी, दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी सरकारमा सहभागी हुने भएका छन् । सरकारमा एमालेको तर्फबाट सचिव रघुविर महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने हरि उप्रेती रक्षा मन्त्रालय, भगवति चौधरी महिला बालबालिका मन्त्रालय, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग मन्त्रालय, ज्वालाकुमारी साह, कृषि र बलराम अधिकारी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय र पदम गिरीलाई कानुन मन्त्रीको जिम्मेवारी दिइएको छ । एमालेले सरकारमा पठाएका मन्त्रीहरूमध्ये बलराम अधिकारी बाहेक सबै पुराना अनुहार हुन् । त्यस्तै, माओवादी केन्द्रको तर्फबाट सरकारमा नयाँ अनुहारले अवसर पाएनन् । माओवादीको तर्फबाट परराष्ट्र मन्त्रीमा नारायणकाजी श्रेष्ठ र अर्थमन्त्रीमा वर्षमान पुनले जिम्मेवारी पाउने भएका छन् । त्यस्तै, रेखा शर्मा, शक्तिबहादुर बस्नेत र हितबहादुर तामाङ पनि माओवादीको तर्फबाट सरकारमा सहभागी हुने भएका छन् । रेखाले सञ्चार, शक्तिले उर्जा र तामाङले पर्यटन मन्त्रालय पाउने भएका छन् । माओवादीबाट सरकारमा सहभागी हुने सबै अनुहार पुरानै हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता समीकरणको क्रममा पाएको चार वटा मन्त्रालयमध्ये २ वटामा नयाँ अनुहारलाई जिम्मेवारी दिने निर्णय भएको छ । सभापति रवि लामिछानेले गृह, उपसभापति डिपी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका छन् । रास्वपाको तर्फबाट सरकारमा सहभागी हुने सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ मन्त्रिमण्डलमा नयाँ अनुहार हुन् । सत्ता समीकरणको क्रममा बुधबार टुंग्याइएको १९ वटा मन्त्रालयमध्ये २ वटा मन्त्रालय जनता समाजवादी पार्टीलाई छुट्याइएको छ । तर, जसपाले मन्त्रीमण्डलमा ककसलाई सहभागी बनाउने भन्ने विषय टुंग्याइसकेको छैन । त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि दुइटा मन्त्रालय पाउने बुझिएको छ । तर, मन्त्री बन्ने नेताको नाम भने टुङ्गिएको छैन । नयाँ सत्ता समीकरणपछि बन्ने मन्त्रिमण्डलमा एमालेको उच्च पदाधिकारीको सहभागिता नदेखिनुमा धेरैले शंसय पैदा गरेका छन् । एमालेमा धेरै नेताहरू परिपक्व र काम गर्न सक्ने क्षमतावान हुँदाहुँदै बरियतामा कमजोरलाई एमालेले मन्त्री बनाउने भएको हो । धेरैले यो विषयमाथि शंका उत्पन गरेका छन् । एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यस विषयमा आफूले प्रतिक्रिया नदिने बताए ।