विकासन्युज

टाटा र पीएसएमसीले ९ खर्ब लगानीमा सेमिकन्डक्टर चिप उद्योग खोल्दै

काठमाडौं । भारतीय व्यावसायिक घराना टाटा समूह र पीएसएमसीले ९ खर्ब १० अर्ब रुपैयाँ लगानीमा मेगा सेमिकन्डक्टर फेब्रिकेसन सुविधा निर्माण गर्ने निर्णय गरेका छन् । टाटा समूहले पीएमसीसँगको सहकार्यमा फेब्रिकेसन सुविधा स्थापना गर्न लागेको छ । यो सुविधाले प्रत्येक महिना ५० हजार वेफर उत्पादन गर्न सक्छ । भारतको पहिलो अर्धचालक चिप सन् २०२६ मा बाहिर आउन सक्ने बताइएको छ । ताइवानको पावर चिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसन वा पीएसएमसीका अध्यक्षले टाटा समूहसँग गुजरातको धोलेरामा निर्माण भइरहेको प्लान्टले २८ नानोमिटर चिप्स बनाएर सञ्चालन सुरु गर्ने बताएको छ । जसलाई पछि २२ नानोमिटरमा ल्याउन सकिने छ । गुजरातको धोलेरामा उक्त लगानीमा निर्माण हुने मेगा सेमिकन्डक्टर फ्याब्रिकेसन सुविधा टाटा इलेक्ट्रोनिक्स र पीएसएमसीले संयुक्त रूपमा सञ्चालन गर्नेछन् । यस निर्माण सुविधाले प्रतिमहिना ५० हजार वेफरहरू उत्पादन गर्ने छ र नेक्स्ट जेनेरेसन फ्याक्ट्री अटोमेसनमा पनि काम गरिरहेको छ । कम्पनीले डाटा एनालिटिक्स र मेसिन लर्निङ प्रयोग गरेर उद्योगको उत्कृष्ट कारखाना दक्षतामा काम गर्न गइरहेको छ । उच्च क्षमताको कम्प्युटर चिप्स बनाउनुका साथै यस सुविधाले विद्युतीय सवारीसाधन, टेलिकम, डिफेन्स, अटोमोटिभ, कन्जुमर इलेक्ट्रोनिक्स, डिस्प्ले पावर, इलेक्ट्रोनिक्स आदिमा प्रयोग हुने पावर म्यानेजमेन्ट चिपहरू पनि बनाउने छ । पावर चिप्स हाई भोल्टेज, हाई करेन्ट एप्लिकेसनका लागि डिजाइन गरिन्छ। पीएसएमसी तर्क र मेमोरी फाउन्ड्री क्षेत्रमा एक अग्रणी कम्पनी हो मेमोरी पीएसएमसीको ताइवानमा ६ वटा अर्धचालक फाउन्ड्री छन् । मोदी मन्त्रिपरिषद्ले भारतमा तीन सेमिकन्डक्टर योजनाहरूको प्रस्तावलाई अनुमोदन गरेको छ, जसमध्ये दुई गुजरात र एक असममा छन् । तिनीहरूको अनुमानित लागत १२ खर्ब ६० अर्ब रुपैयाँ छ । भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले भने, ‘सामान्य सेमिकन्डक्टर फ्याबले तीन/चार वर्षमा उत्पादन सुरु गर्छ, तर हामी त्योभन्दा चाँडै उत्पादन सुरु गर्ने योजनामा ​​छौं।’ एजेन्सी

यो सरकार मैले र प्रचण्ड मिलेर बनाएको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनमा आफ्नो र प्रचण्डको मुख्य भूमिका रहेको बताएका छन् । आज संसदमा बोल्दै अध्यक्ष ओलीले सरकार परिवर्तनमा विदेशीको भूमिका भएको विषयतर्फ ईंगित गर्दै सो बताएका हुन् । ‘प्रचण्ड जी मुख्य हो साथ दिने मैले हो यो सरकार परिवर्तन गर्ने यति कामको जस त हामीलाई दिनुस न’, अध्यक्ष ओलीले भने । साथै उनले प्रधानमन्त्रीको विश्वासको मत प्रस्तावमा सबैले मत हाल्न आवश्यक भएको पनि बताए । उनले नेपाली कांग्रेसले अघिल्लो वर्ष प्रचण्डलाई समर्थन गर्ने अहिले किन गर्न नहुने भन्दै प्रश्न समेत गरेका छन् । ‘नेपाली कांग्रेसले पोहोरसाल भोटै नमागीकन हौसिएर नयाँ ब्याट्री हालेजस्तोगरी समर्थन गरेको थियो, यसपाली किन नहाल्ने ?’, अध्यक्ष ओलीले भने ।

विवादास्पद व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले वर्तमान मन्त्रिपरिषद्मा विवादास्पद छवि भएका व्यक्ति रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाइन् । उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उनका परिवारका सदस्य सुन तस्करीमा संलग्न भएको देखिएको अवस्थामा कुनै कारबाही नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सचेतक थिङले उपरोक्त सबै विषयमा राम्ररी छलफल नगरी सदन प्रभावकारी रुपमा सञ्चालन हुन नसक्ने बताइन् ।

अहिले मैले प्राप्त गरेको प्रधानमन्त्री नेपाली कांग्रेसले दिएको विश्वासघातमा खडा भएको हो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री नेपाली कांग्रेसको विश्वासघातको आधारमा भएको बताएका छन् । उनले संसदमा सम्बोधन गर्दै आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुरलाई दुई पटक प्रधानमन्त्री बनाएको र आफू एक पटक मात्रै प्रधानमन्त्री भएको समेत बताएका छन् । उनले आफ्नो विकास र समृद्धिको लागि सरकार पुर्नगठन आवश्यक भएर गरिएको समेत बताएका छन् । ‘सरकार पुर्नगठन गर्नैपर्ने अवस्थाको मैले महसुस गरेँ । हामीले विकास र समृद्धि जुन संकल्पका साथ अगाडि बढाउन खोजेका थियौं त्यो यो बाट सम्भव छैन भन्दै आएको थिएँ, तर त्यो गठबन्धनबाट सम्भव भएन । नेपाली कांग्रेसका केही साथीहरुले निजी ढंगले आक्षेप पनि लगाउनुभयो’, उनले भने, ‘निजी आरोप र प्रत्यारोपका लागि आज यो उपयुक्त ठाउँ पनि होइन । तर, संसदको रेकर्डमा रहेका विषयको प्रतिवाद नगर्दा इतिहासमा राम्रो जान्न की भनेर केही भन्ने कोशिश गर्छु ।’ उनले आफूले नेपाली कांग्रेसभित्रका विचार समूहले प्रतिवाद गरिरहेको मैले महसुस गरेको र आजित भएको बताए । ‘पछिल्लो समयमा कांग्रेस भित्रका विचारसमूहले गरेको विरोधले म आजित भएको थिएँ, र अहिले नेपाली कांग्रेसभित्र देखिएको युद्धविरामले म खुसी भएको छु । त्यसले देशको लोकतन्त्र सुदृढ बनाउन जोडबल नै पुग्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल बिजनेश एसोसियसन कतारको प्रमुख सल्लाहकारमा गुरूङ नियुक्त

काठमाडौं । नेपाल बिजनेश एसोसियसन कतारको प्रमुख सल्लाहकारमा युवा उद्यमी प्रविण गुरूङ नियुक्त भएका छन् । नेपाल व्यवसायी संघको प्रमुख संरक्षकमा कतारस्थित नेपाली राजदूतावासका राजदूत डा. नरेश विक्रम ढकाल र प्रमुख सल्लाहकारमा गैरआवासीय नेपाली संघका उपमहासचिव एवं कतारका सफल व्यवसायी गुरुङ्ग मनोनित भएका छन् । गुरूङ यसअघि एक कार्यकाल संघको सल्लाहकार रहिसकेका छन् । गुरूङ करिब २ दशकदेखि कतारमा रहेर विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । अहिले नियुक्त सल्लाहकारको अवधि आगामी ४ वर्ष अर्थात् सन् २०२८ सम्मको हुनेछ । संघको २०२४-२८ कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको दोस्रो पूर्ण बैठकबाट सोहि कार्यकालका लागि ढकालको संयोजकत्वमा संरक्षक समिति र गुरुङ्गको संयोजकत्वमा सरल्लाहकार समिति गठन गरिएको हो । संरक्षक समितिको सदस्यहरुमा डा. देव काजी डंगोल, बद्रि प्रसाद पाण्डे र समिर मास्के रहेका छन भने सल्लाहकार सदस्यहरुमा सागर नेपाल, प्रोफेसर मोहम्मद रमजान मिया (कानुनी), ई. अर्जुन भट्टराई, विकास प्रसाई, परशुराम दाहाल, धन बहादुर बलायर र होमनाथ शर्मा छन् । कतारलाई व्यवसायिक कर्मथलो बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्तित्वहरुलाई समेटेर संरक्षक तथा सल्लाहकार समिति गठन गरको संघले कतार सरकारमा रजिष्ट्रर भई मान्यता प्राप्त पहिलो र एक मात्र सामाजिक संस्थाका रुपमा आफूलाई स्थापित गरेको छ । नेपाल सरकारसंग समेत एमओयू गरि आधिकारीकता प्राप्त गरेको संघले नेपालमा भएका विभिन्न दैविक प्रकोप लगायत विविध क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ भने विभिन्न व्यवसायीक परियोजना सहित दिर्घकालिन योजनाहरुलाई समेत तिव्रता दिएको संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले जानकारी दिए ।

तोलामा १ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि घटेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिनिधिसभा : कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीले बुधबार लिने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । सोको प्रक्रिया र आगामी १५ दिनका लागि संसद्को कार्यतालिका बनाउन परामर्श समितिको बैठक भएको हो । बैठकमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, संसद्मा रहेका विभिन्न दलका प्रमुख सचेतक/सचेतकहरूको उपस्थिति रहेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे राखिएको छ । सत्ता गठबन्धनमा हेरफर भएपछि गत १५ दिनको कार्यतालिका प्रभावित भएको थियो ।

बगरखेतीमा आकर्षित हुँदै बाँकेका किसान

राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसान बगरखेतीतर्फ आकर्षित भएका छन् । राप्ती नदीको डुबान र कटानबाट प्रभावित राप्ती सोनारी–५ बिनौना ललहीवासीले सामूहिक बगरखेती गर्दै आएका हुन् । उनीहरू बगरखेती गरेर आर्थिक उपार्जनमा जोडिएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि अहिले व्यावसायिकरूपमै बगरखेती गर्न आफूहरू लागिपरेको ललही बगरखेती समूहका अध्यक्ष टेकराज थारूले बताए । ‘पहिला थोरै थोरै खेती गर्ने गरेका थियाँै, अहिले सामूहिक र व्यक्तिगतरूपमा बगरखेती गर्न लागिपरेका छौँ’, उनले भने, ‘अहिले तर्बुज, खर्बुज र लहरे तरकारी लौका, घिरौला काँक्रालगायतका तरकारी रोपेका छौँ ।’ राप्ती सोनारी–५ बिनौनास्थित ललहीवासीले सामूहिक बगरखेती गर्न थारूको अध्यक्षतामा १६ सदस्यीय ललही बगरखेती समूह गठन गरेका छन् । सामूहिकरूपमा खेती गर्दा सबै कुरामा सहज र रमाइलो हुने गरेको समूहकी सचिव सीता चौधरीले बताए । समूह गठन भएपछि गाउँका सबैजसो दाजुभाइ तथा दिदीबहिनीले खेर गइरहेको बगरमा खेती गर्नेतर्फ चासो दिन थालेको उनको भनाइ छ । समूहका अध्यक्ष थारुले पहिलादेखि नै व्यावसायिकरूपमा बगरमा तर्बुजलगायत तरकारीखेती फलाउँदै आएका छन् । उनले गाउँमा उत्पादन भएको तरकारी उचित मूल्यमा गाउँमै खपत हुने गरेको बताए । राप्ती सोनारी –१ जरुवा निवासी मानबहादुर रानामगरले पनि बगरखेती गर्दै आएका छन् । नदीले कटान गरेको बगरमा तरकारी फल्न थालेपछि अहिले गाउँका अन्य साथीभाइसमेत बगरखेतीतर्फ आकर्षित भएको उनले बताए । राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । बगरखेती गर्ने किसानलाई पाँच लाख रुपैयाँसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले बताए । यस वर्ष राप्ती सोनारी–५ बिनौनास्थित ललही बगरखेती समूह र वडा नं १ का बगरखेती किसान मानबहादर रानामगरलाई पाँच लाख रुपैयाँ बराबरको अनुदानको सम्झौता गरिएको उनले जानकारी दिए । बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । उनले बगरखेती किसानले उत्पादन गरेको कृषि उपज बजारीकरण गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरे। रासस