विकासन्युज

किओच काठमाडौं बाल अस्पतालको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका-७ हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन् ।  शनिबार आयोजित कार्यक्रममा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले सो भवनको समुद्घाटन गरे । व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले उक्त भवन निर्माण गर्न रु ७१ करोड चार लाख ४२ हजार २४४ खर्चेको थियो ।       कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरिब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताए । अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाले गैरनाफामूलक संस्थाका रुपमा रहेको यस संस्थाले विशिष्टीकृट स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । व्यवसायी गुरुङले सर्वसाधरण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि अस्पताल स्थापना गरिएको बताए ।       काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित कम्पनीका रूपमा दर्ता तथा समाज कल्याण परिषद्मा आबद्ध भई गैरसरकारी सामाजिक संस्थाका रूपमा सञ्चालनमा छ । उक्त इन्स्टिच्युटको काठमाडौं उपत्यकामा विशिष्टकृट सेवासहित बाल अस्पताल तथा सातवटै प्रदेशमा भौतिक संरचनासहित बाल अस्पताल सञ्जाल निर्माण गरिरहेको छ ।       देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याई उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्ने र शिशु तथा बाल मृत्युदर घटाउने लक्ष्यका साथ उक्त अस्पताल स्थापना गरिएको हो ।   

जीतपुरफेदीका सरोज अर्याल सगरमाथाको शिखरमा

काठमाडौं । तारकेश्वर नगरपालिका–३ जीतपुरफेदीका सरोज अर्यालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । ३१ वर्षीय अर्याल हाल अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यस्थित एडिलेडमा विद्यार्थी भिसामा बसोबास गर्दै आएका छन् । करिब ६ वर्षदेखि अष्ट्रेलियामा रहेका उनी सगरमाथा आरोहणकै लक्ष्यसहित बिदामा नेपाल आएका थिए । कठोर प्रशिक्षण र शारीरिक तथा मानसिक चुनौती पार गर्दै उनले सगरमाथाको चुचुरोमा पुग्न सफलता हासिल गरेका हुन्।  उनको यो उपलब्धिलाई स्थानीय तथा प्रवासी नेपाली समुदायले गर्वका रूपमा लिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया लगायत अष्ट्रेलियामा रहेका नेपालीहरूले अर्यालको सफलताको प्रशंसा गरेका छन् । केही दिनमै अष्ट्रेलिया फर्कने तयारीमा रहेका अर्यालका लागि यो सफलता जीवनकै महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ । 

नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोग

काठमाडौं । नेपालमा नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वाससम्बन्धी रोग) समयअगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखापरेका छन् ।       विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल मृत्युको करिब ७१ प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ । साथै,  सन् २०३० सम्म यो दर ७९ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यस्ता रोगहरूले व्यक्ति, परिवार तथा समग्र स्वास्थ्य प्रणालीमा पर्ने भार निरन्तर बढाइरहेका छन् ।      स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको ‘नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८२)’अनुसार करिब २२ प्रतिशत नेपाली जनता नसर्ने रोगका कारण ३० देखि ७० वर्षको उमेर बीचमै अकाल मृत्युको जोखिममा छन् ।      पछिल्लो समय अधिकांश घरपरिवारमा कुनै न कुनै प्रकारका नसर्ने रोगका बिरामी भेटिन थालेका छन् । यद्यपि, २०७८ माघ २४ गते मन्त्रिपरिषद्बाट स्वीकृत उक्त महत्वाकाङ्क्षी कार्ययोजनाले अपेक्षित रूपमा नसर्ने रोग न्यूनीकरणमा उल्लेखनीय सुधार ल्याउन सकेको छैन ।      नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली पूर्ण रूपमा प्रभावकारी नभएकाले नसर्ने रोगसम्बन्धी राष्ट्रिय मृत्यु–दरका तथ्याङ्क प्राप्त गर्न अझै चुनौती रहेको छ ।      हाल करिब ५० प्रतिशत मृत्यु मात्र दर्ता हुने अनुमान गरिएको छ । सरकारी अस्पतालहरूको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ठूलो हिस्सा नसर्ने रोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । अर्कोतर्फ, भूकम्प, बाढी, पहिरो तथा जलवायुजन्य विपद्जस्ता जोखिमप्रति नेपालको उच्च संवेदनशीलताले कमजोर स्वास्थ्य सेवा प्रणालीलाई पटक–पटक प्रभावित बनाइरहेको छ । नसर्ने रोग भएका व्यक्तिहरूका लागि यस्ता अवरोधहरू झन् प्राणघातक बन्न सक्छन् । यसले नियमित उपचारमा अवरोध, औषधिको अभाव तथा गम्भीर स्वास्थ्य जटिलता निम्त्याउने गरेको छ ।      विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरूको उपचार सेवालाई निरन्तरता दिन विपद्का समयमा नसर्ने रोगसम्बन्धी अत्यावश्यक हेरचाह ‘पेन–डी प्याकेज’  तयार गरिएको हो । यो ‘प्याकेज’ले विपद्का बेला नसर्ने रोगको उपचारमा देखिने महत्वपूर्ण कमी तथा अवरोधलाई सम्बोधन गर्ने उद्देश्य राख्दछ । नेपालले प्राथमिक स्वास्थ्य सेवामार्फत नसर्ने रोग व्यवस्थापनका लागि विश्व स्वास्थ्य सङ्गठनको ‘अत्यावश्यक नसर्ने रोग उपचार प्याकेज’ (डब्लुएचओ – पेन) अवलम्बन गरिसकेको भए पनि विपद्का समयमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अझै पर्याप्त तयारी र संरचना आवश्यक रहेको देखिएको छ ।      ‘पेन–डी प्याकेज’ ले विद्यमान राष्ट्रिय स्वास्थ्य प्रणाली र ‘प्रोटोकल’लाई आधार मानेर आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै सेवाको दायरा विस्तार गर्न सहयोग गर्दछ । यसले नियमित स्वास्थ्य प्रणाली अवरुद्ध भए पनि अत्यावश्यक नसर्ने रोगसम्बन्धी सेवाहरू उपलब्ध, सञ्चालनयोग्य र प्रभावकारी रहने सुनिश्चित गर्दछ । नयाँ ‘क्लिनिकल’ मापदण्ड थप गर्नुको सट्टा यसले उपचार सेवाको निरन्तरतामा विशेष जोड दिन्छ ।       साथै, विपद्अघि, विपद्को समयमा र विपद्पश्चात् औषधि, निदान सेवा, दक्ष जनशक्ति तथा सेवा प्रवाह प्रणालीलाई सक्रिय र सुदृढ राख्न सहयोग पुर्याउँछ ।      ‘पेन–डी प्याकेज’  मुख्य रूपमा एक व्यावहारिक तथा एकीकृत कार्यढाँचा हो, जसले नसर्ने रोगसम्बन्धी सेवाहरूलाई विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका गतिविधिसँग जोड्दछ । यसअन्तर्गत जोखिम नक्साङ्कन, उच्च जोखिममा रहेका बिरामीहरूको पहिचान, आवश्यक औषधि तथा परीक्षण सामग्रीको पूर्व भण्डारण, मोबाइल तथा विकेन्द्रीकृत स्वास्थ्य सेवा सञ्चालन, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, र बिरामीहरूलाई स्व–हेरचाहसम्बन्धी मार्गदर्शन प्रदान गर्ने व्यवस्था समावेश गरिएको छ ।      यसले स्वास्थ्य तथा विपद् व्यवस्थापन प्रणाली बीचको समन्वयलाई प्राथमिकता दिँदै समुदायदेखि स्वास्थ्य संस्था र राष्ट्रिय स्तरसम्मको प्रतिकार्य संयन्त्रलाई जोड्दछ । यसरी ‘पेन–डी प्याकेज’  ले नसर्ने रोगसम्बन्धी सेवाहरूलाई समुदायस्तरीय स्वास्थ्य सेवासँग एकीकृत गरी विपद्को कठिन परिस्थितिमा पनि सेवा निरन्तरता कायम राख्न सक्षम प्रणाली निर्माणमा सहयोग पुर्याउँछ ।      विपद् व्यवस्थापन चक्रका सबै चरणमा ‘पेन–डी प्याकेज’  को भूमिका अत्यन्त महत्वपूर्ण छ । विपद्अघि यसले जोखिममा रहेका व्यक्तिको पहिचान, औषधि भण्डारण, स्वास्थ्यकर्मी तालिम तथा समुदाय सचेतनामार्फत तयारीलाई सुदृढ बनाउँछ । साथै, बिरामीलाई स्व–व्यवस्थापन र आपत्कालीन ‘किट’ मार्फत सशक्त बनाइन्छ भने स्वास्थ्य संस्थाहरूलाई आपूर्ति प्रणाली र समन्वय सुदृढ गर्न सहयोग गरिन्छ ।      त्यसैगरी, पूर्वानुमानमा आधारित पूर्वकार्यअन्तर्गत बाढी वा पहिरोजस्ता सम्भावित विपद्को पूर्वसूचना प्राप्त भएपछि दुई–चार हप्ताका लागि आवश्यक औषधिको पूर्ववितरण, घुम्ती स्वास्थ्य टोली परिचालन, सामुदायिक स्वास्थ्यकर्मी परिचालन तथा उच्च जोखिममा रहेका बिरामीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यहरू सञ्चालन गरिन्छ । सेवा प्रवाहका माध्यममा ‘पेन–डी प्याकेज’  किट, औषधि, नगद वा नगद–सहितको सहयोग, जनचेतना तथा क्षमता विकास कार्यक्रमहरू पनि समावेश गरिएका छन् ।      विपद्को समयमा नसर्ने रोगसम्बन्धी सेवा प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्न पूर्वसूचना तथा पूर्वकार्य प्रणालीलाई स्वास्थ्य सेवासँग एकीकृत गरिएको छ । बाढी तथा पहिरोजस्ता जोखिमसम्बन्धी पूर्वानुमानलाई पूर्वनिर्धारित ‘ट्रिगर’ सँग जोडेर आवश्यक तयारी तथा सेवा सञ्चालन प्रक्रिया सक्रिय गरिन्छ । यसले समयमै सूचना प्रवाह, औषधिको पूर्व भण्डारण तथा स्वास्थ्य टोली परिचालन सुनिश्चित गर्दछ ।       साथै, पूर्वसूचना प्रणालीमा उच्च जोखिममा रहेका बिरामीहरूको सूची, स्वास्थ्य संस्थाको तयारी अवस्था तथा आपूर्ति शृङ्खलासम्बन्धी सूचकहरू समावेश गरिएका छन् ।      विपद्को समयमा ‘मोबाइल क्लिनिक’, ‘टेलिमेडिसिन’, समुदायमा आधारित अनुगमन तथा पूर्व भण्डारित सामग्री वितरणमार्फत सेवा निरन्तरता सुनिश्चित गरिन्छ । अग्रपङ्क्तिका स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले आधारभूत परीक्षण, परामर्श तथा अनुगमन सेवा प्रदान गर्दछन् ।  मस्तिष्काघात (स्ट्रोक) वा मधुमेहजन्य जटिलताजस्ता आपत्कालीन अवस्थाका लागि आवश्यक ‘रेफरल’ प्रणालीसमेत सञ्चालनमा राखिन्छ । विपद्पश्चात् नियमित सेवा पुनःस्थापना, उपचार अवरोधका कारण उत्पन्न जटिलताको व्यवस्थापन तथा सिकाइलाई भावी योजनामा समावेश गरिन्छ ।      ‘पेन–डी प्याकेज’ ले समावेशिता र समानतालाई पनि प्राथमिकता दिन्छ ।  विशेषगरी ज्येष्ठ नागरिक, फरक क्षमता (अपाङ्गता) भएका व्यक्ति तथा सीमित गतिशीलता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर ‘कोही पनि पछाडि नछुटोस्’ भन्ने अवधारणालाई व्यवहारमा उतारिएको छ । समुदायको सहभागिता, कार्य विभाजन तथा विकेन्द्रीकृत सेवा प्रवाहमार्फत स्थानीय क्षमताको उपयोग गर्दै सामुदायिक उत्थानशीलता सुदृढ बनाइन्छ ।  मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, सुरक्षित आश्रयस्थल तथा बिरामी–केन्द्रित सेवा कार्यढाँचाले यसको प्रभावकारिता अझ बढाउँछ ।      राष्ट्रिय स्तरमा ‘पेन–डी प्याकेज’  को अवलम्बन नेपाल सरकारका लागि रणनीतिक आवश्यकता र अवसर दुवै हो । यसले परम्परागत रूपमा आकस्मिक रोगमा केन्द्रित विपद् व्यवस्थापन प्रणालीमा दीर्घकालीन नसर्ने रोगसम्बन्धी सेवाहरूलाई समेट्दै नीति तथा कार्यान्वयनका कमीहरू पूर्ति गर्दछ । साथै, विश्वव्यापी स्वास्थ्य सेवा पहुँच तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धतासँग पनि मेल खान्छ ।       देशव्यापी रूपमा ‘पेन–डी प्याकेज’  को विस्तारले सङ्घीयदेखि स्थानीय तहसम्म तथ्यमा आधारित तथा मापदण्डयुक्त कार्यान्वयन सुनिश्चित गर्नेछ । यसले स्वास्थ्य संस्था, आपत्कालीन प्रतिकार्य प्रणाली तथा सामुदायिक सञ्जाललाई विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरूको सुरक्षा र उपचार निरन्तरताका लागि सक्षम बनाउनेछ ।       साथै, यसले दीर्घकालीन आर्थिक तथा सामाजिक भार घटाउँदै मृत्यु तथा जटिलता न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।      ‘पेन–डी प्याकेज’  नेपालमा स्वास्थ्य तथा विपद् प्रतिकार्य प्रणालीका लागि समयसापेक्ष तथा अत्यावश्यक नवीन पहल हो । यसले नियमित नसर्ने रोगसम्बन्धी सेवा र आपत्कालीन प्रतिकार्यबीचको खाडल पूरा गर्दै सेवा निरन्तरता, समानता तथा उत्थानशीलता सुनिश्चित गर्दछ । यसको संस्थागत अवलम्बनले जोखिममा रहेका समुदायको संरक्षण, स्वास्थ्य प्रणालीको तयारी सुदृढीकरण तथा विपद्को बीच पनि सुरक्षित भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।      ‘पेन–डी प्याकेज’ स्वास्थ्य तथा स्वच्छता मन्त्रालयको मार्गदर्शन तथा सहयोगमा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा विकास गरिएको हो । उक्त प्याकेज निर्माणमा डेनिस रेडक्रस, क्यानाडियन रेडक्रस तथा आरहुस विश्वविद्यालयबाट प्राविधिक सहयोग र नोभो नर्डिस्क फाउन्डेसनबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।       ‘पेन–डी प्याकेज’ : सफल अभ्यास, सबै पालिकामा कार्यान्वयन आवश्यक      नेपाल रेडक्रस सोसाइटीले बर्सेनि बाढी तथा डुबानको उच्च जोखिममा रहेका कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा ‘उत्थानशील नसर्ने रोगः पश्चिम नेपालका विपद्–सम्भावित नगरपालिकाहरूमा नसर्ने रोग उपचार सेवाको उत्थानशीलता सुदृढीकरण’ कार्यक्रम सञ्चालन गरेको थियो ।  कार्यक्रमको मुख्य उद्देश्य विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरूलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने तथा स्थानीय स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धि गर्नु रहेको थियो ।      दुईवर्षे परियोजनाअन्तर्गत हालै विपद्को समयमा ‘पेन–डी प्याकेज’  प्याकेजको परीक्षण तथा कार्यान्वयन तयारीका लागि कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको थियो । विभिन्न प्रोटोकलहरूलाई आठवटा परिदृश्यमा आधारित अभ्यासमार्फत परीक्षण गरिएको थियो । अभ्यासमा पालिका, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र, विषयगत शाखा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था, स्थानीय समुदाय तथा विपद् व्यवस्थापन समितिको सक्रिय सहभागिता रहेको थियो ।      परियोजनालाई स्थानीय तह तथा प्रभावित समुदायले सफल अभ्यासका रूपमा मूल्याङ्कन गरेका छन् । भजनी नगरपालिकाका प्रमुख केवल चौधरीका अनुसार नगरपालिकाका नौवटै वडा बाढी तथा डुबानको उच्च जोखिममा रहेका छन् । विगत केही वर्षदेखि बाढी र डुबानका कारण मानवीय तथा भौतिक क्षति दोहोरिँदै आएको छ ।       उनका अनुसार पछिल्लो समय नसर्ने रोगको बढ्दो भारले बाढीको समयमा समुदायलाई झन् बढी जोखिममा पारेको छ । उनले भने, 'नसर्ने रोगको समस्या निरन्तर बढिरहेको छ । यसको प्रभाव न्यूनीकरण गर्न ‘पेन डी प्याकेज’ प्रभावकारी उपाय बन्न सक्छ । आगामी वर्षदेखि यसलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गर्ने तयारी गरेका छौँ ।'     \ त्यस्तै, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ‘रेजिलियन्स नसर्ने रोग उपचार सेवा’ परियोजना कार्यान्वयनपछि नसर्ने रोगसम्बन्धी धेरै जानकारी र अनुभव प्राप्त भएको बताइन् । उनले भने, 'सरुवा रोगभन्दा नसर्ने रोगले मानिसलाई धेरै प्रभावित बनाइरहेको छ । उपचार खर्च पनि दिनानुदिन महँगो हुँदै गएको छ । झन् विपद्को समयमा यस्ता बिरामीको सेवा निरन्तरता सुनिश्चित गर्नु ठूलो चुनौती बन्छ । त्यसैले ‘पेन डी प्याकेज’लाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेका छौँ । यसमा सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक छ ।'      इपिडिमियोलोजी तथ रोग नियन्त्रण महाशाखा, सामुदायिक स्वास्थ्यविज्ञ डा सबिन पराजुली तथा व्यवस्थापन महाशाखाका सुदीप आलेमगर ‘पेन डी प्याकेज’ प्रमाणीकरण तथा स्वास्थ्य प्रणालीभित्र आबद्ध गरेर सबै पालिकामा कार्यान्वयन आवश्यक  रहेकामा जोड दिए । रासस  

हार्भेष्ट मुन ट्राभल्सले बेच्यो ३.६८ अर्बको हवाई टिकट, भिसा कडाइले घट्यो व्यापार

काठमाडौं । हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स प्रालिले एक वर्षमा साढे ३ अर्ब रुपैयाँ बराबरको हवाई टिकट बिक्री गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ६८ करोड रुपैयाँको हवाई टिकट बिक्री गरेको हो । यो अघिल्लो वर्षको तुलनामा १३.८९ प्रतिशत अर्थात् ५९ करोड ४० लाख रुपैयाँ कम हो । अघिल्लो आव २०८०/८१ मा ४ अर्ब २७ करोड ४० लाख रुपैयाँको हवाई टिकट बिक्री गरेको थियो । कम्पनीले मलेसियाले लागू गरेको श्रमिकसम्बन्धी प्रतिबन्धका कारण गत वर्ष हवाई टिकट बिक्री घटेको जनाएको छ । तर, पछिल्लो समय उक्त प्रतिबन्ध हटेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्नुका साथै हवाई टिकटको माग बढ्दै व्यापारमा सुधार हुने देखिएको कम्पनीको दाबी छ । चालु वर्षको ९ महिनासम्म कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँको हवाई टिकट बिक्री गरेको जनाएको छ । यद्यपि वार्षिक आधारमा करिब ९ प्रतिशत गिरावट आएको कम्पनीको भनाइ छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतासँगै खाडी मुलुकहरूले नेपाली नागरिकका लागि भिसा नियम कडा बनाएपछि व्यापार प्रभावित भएको कम्पनीले जनाएको छ । कम्पनीले आव २०७९/८० मा ६ अर्ब ७९ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ८७ करोड ७० लाख रुपैयाँ, आव २०७७/७८ मा ९१ करोड ६० लाख रुपैयाँ बराबरको हवाई टिकट बिक्री गरेको थियो । सन् १९९९ अगस्टमा स्थापना भएको कम्पनीले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा यात्रा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रवर्द्धक रामप्रसाद श्रेष्ठ र सुलेखा श्रेष्ठ हुन् । उनीहरू सेयर स्वामित्व ५०-५० प्रतिशत रहेको जनाइएको छ । रामप्रसाद कम्पनीको अध्यक्ष र सुलेखा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा छिन् । हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स हार्भेष्ट मुन ग्रुप अन्तर्गतको कम्पनी हो । हार्भेष्ट मुन ग्रुपले ट्राभल, वैदेशिक रोजगारी, रियल इस्टेट, सपोर्ट सर्भिसेस र म्यानपावर व्यवस्थापनलगायत क्षेत्रमा सेवा विस्तार गर्दै आएको छ । ग्रुप अन्तर्गत वाइड स्पेस इन्टरनेशनल, हेलो हिमालय ट्राभल एण्ड टुरिज्म, वाइड स्पेस इन्टरनेशनल र सुहाना ल्याण्ड डेभलपमेन्ट सञ्चालनमा छन् ।  हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स सन् २००७ मा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) बाट मान्यता प्राप्त एजेन्ट र नेपाल पर्यटन तथा ट्राभल व्यवसायी संघ (नाट्टा) को सदस्य समेत हो । अन्तर्राष्ट्रिय हवाई टिकटिङ व्यवसायको सम्भावना आगामी दिनमा अझ सकारात्मक रहने अनुमान कम्पनीको छ । कोभिड-१९ सम्बन्धी कडाइ नियम हटाइनु, पर्यटन गतिविधिमा वृद्धि हुनु तथा नेपाली युवामा वैदेशिक रोजगारी र अध्ययनप्रतिको आकर्षण बढ्दै जानुले यस क्षेत्रलाई थप चलायमान बनाएको कम्पनीले जनाएको छ । सरकारको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतिको संख्या बढ्दो क्रममा रहनु तथा पर्यटक आगमनमा निरन्तर सुधार आउनुले पनि व्यावसायिक सम्भावना बलियो रहेको कम्पनीको भनाइ छ । जसले कम्पनीको आम्दानी आगामी दिनमा पनि वृद्धिको दिशातर्फ रहने अनुमान कम्पनीको छ । कम्पनी वैदेशिक रोजगारीमा आधारित टिकट बिक्री व्यवसायमा केन्द्रित भएकाले गन्तव्य मुलुकका आप्रवासन नीति, श्रम स्वीकृति प्रक्रिया र श्रमिक मागमा आउने उतारचढावले व्यवसायमा प्रत्यक्ष असर पार्ने गरेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा पनि मौसमी प्रभाव देखिने भएकाले विशेषगरी अक्टोबरदेखि डिसेम्बरसम्मको सिजनबाहेक अन्य समयमा कारोबार सुस्त हुने कम्पनीको भनाइ छ ।  सरकारले हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि टिकट महँगो भई समग्र हवाई टिकटिङ उद्योगमै नकारात्मक असर परेको कम्पनीले जनाएको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २५ करोड ६८ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ६८ लाख रुपैयाँ दीर्घकालीन, ६५ करोड रुपैयाँ अल्पकालीन र ६० करोड रुपैयाँ अल्प तथा दीर्घकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो ।      कोभिड-१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । भन्सार कार्यालय सञ्चालन गर्नका लागि बिहीबार नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको उनले बताए । 'नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो । ओलाङचुङ्चुगोलाबाट २४ किलोमिटर दूरी पार गरी नेपाल-चीनको सीमा टिप्तालानाका पुग्न सकिन्छ', वडाध्यक्ष लामाले भने ।       करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न अर्थमन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिए ।      भन्सार कार्यालयमा कर्मचारी पठाउनका लागि जिल्लाका जेनजी अभियन्ताले भन्सार विभागमा पटकपटक ताकेता गरेका थिए । ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व सङ्कलन हुने अपेक्षामा स्थानीय उत्साहित भएका छन् । रासस  

बीपी राजमार्गमा १० दिनभित्र नयाँ ट्रयाकबाट सवारी सञ्चालन गरिने

काठमाडौं । बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ । सङ्घीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिएका हुन् ।  हाल उक्त खण्डमा सवारी साधनहरू तलको डाइभर्सन (वैकल्पिक मार्ग) बाट गुडिरहेका छन् । माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भएपनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छैन । सभापति गजुरेलकाअनुसार उक्त ट्रयाकको फाउण्डेसन तयार भइसकेको छ भने अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी रहेको छ ।  अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो १५ दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । आगामी १० दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै सवारी साधन गुड्ने वातावरण मिलाइने लक्ष्य राखिएको छ । बाढी वा अन्य कुनै संकटकालीन अवस्था आएमा भने अहिले पनि सो ट्रयाक प्रयोग गर्न सकिने अवस्था रहेको प्राविधिक टोलीको भनाइ छ ।  १० किलोमिटरको खण्डमा करिव १०० जना कामदारहरू नियमित खटिएको जानकारी दिइएको छ । बहुसंख्यक सर्वसाधारण र सरोकारवालाहरूले तीन सिफ्टमा काम गराउन सुझाव दिएपनि कामदारको स्वास्थ्य र अर्को दिनको कार्यक्षमतालाई ध्यानमा राख्दै हाल १० घण्टाको कार्यतालिका अपनाइएको उनले स्पष्ट पारे ।  परियोजना अन्तर्गत भकुण्डेबेसी खण्डको जटिल कामहरू सम्पन्न भइसकेकाले यस ४२० किलोमिटरको खण्डलाई अन्तिम क्रिटिकल प्वाइन्टका रूपमा लिइएको छ । सडकको सुरक्षाका लागि माटो भएको स्थानमा रिटेनिङ वाल र चट्टानी भागमा आवश्यक प्रोटेक्सन वाल लगाउने कार्य पनि सँगसँगै अगाडि बढाइनेछ । असार १५ गतेसम्म यो खण्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीब्र पारिएको छ । 

मध्यवर्ती वनको अवरोध हटाएर मयुरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याइने

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवाद तत्काल सुल्झाएर निर्माण कार्य अघि बढाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उक्त क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । लामो समयदेखि चर्चामा रहेको मयुरधाप औद्योगिक क्षेत्र अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन । उक्त क्षेत्रको जग्गा मध्यवर्ती वन क्षेत्रमा पर्ने भएकाले कानुनी तथा व्यावहारिक समस्या उत्पन्न भई योजना अगाडि बढ्न सकेको थिएन । मन्त्री यादवले सरोकारवाला निकायसँग समन्वय गरेर देखिएका अवरोधहरू छिट्टै समाधान गरिने र औद्योगिक क्षेत्र निर्माणलाई गति दिइने बताए । उनले औद्योगिक विकासका लागि यो क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दै ढिलाइ नगरी काम अघि बढाइने स्पष्ट पारे । 

रुपन्देहीमा नक्कली नोट छाप्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । नक्कली नोट छाप्ने र कारोबारमा संलग्न भारतीयसहित दुई जना पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय ३८ वर्षीय अब्दुल हमिद र २२ वर्षीय अनिल पासीलाई पक्राउ गरेको हो । प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको इलाकामा नक्कली नोटको कारोबार हुने गरेको गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान बढाएको थियो ।  प्रहरी कार्यालयका अनुसार खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलिले नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा प्रिन्ट हुन बाँकी, प्रिन्ट गरिएका अवस्थामा रहेका नक्कली नोट समेतका सामानहरू सहित पक्राउ परेका हुन् । नेपाली ५०० दरको ३० थान, नेपाली १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ्ग नगरेको नोट ७ थान रहेका छन् । नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सीपीयु १ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर १ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर १ थान, प्रिन्ट पेपर रिम ४ थान, मोवाईल ८ थान र कैची १ थान रहेका छन् । ।