राजस्व छलेको आरोपमा सिरहाको शारदा डिस्टीलरी सिल
काठमाडौं । राजस्व छली प्रकरणमा सिरहाको शारदा डिस्टीलरी सिल गरिएको छ । अन्तशुल्कको एउटा स्टीकरलाई दुई टुक्रा पारी मदिराको बोतलमा लगाएर राजस्व छलेको आरोपमा गोलबजारस्थित शारदा डिस्टीलरीको गोदाम सिल गरिएको आन्तरिक राजस्व कार्यालय लहानले जनाएको हो । आन्तरिक राजस्व विभागले प्रदान गर्ने स्टिकरलाई सरोकारवालाको मिलेमतोमै दुई टुक्रा पारेर प्रयोग गरी उद्योगले राजस्व छली गर्दै आएको विशेष सूचनाका आधारमा राजस्वको टोली गोदाममा पुगेको थियो । गोदामबाट शारदा डिस्टिलरीबाट उत्पादित मदिरासहित ३१५ कार्टुन मदिरा बरामद गरिएको छ । थप मदिरा कोठामा बन्द गरेर राखिएका कारण परिणाम यकिन हुन नसकेको बताइएको छ । साथै, उद्योगका प्रतिनिधि सुपरभाइजर लोकबहादुर बस्नेत र सिरहाको माडरस्थित आशीष जनरल स्टोरका प्रोपराइटर ललनकुमार यादव बयान दिन गएका थिए । दुबैजनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।
माछापुच्छ्रे बैंकद्धारा सुदुरपश्चिमको विद्यालयमा ८ वटा शौचालय निर्माण
काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको कैलालीमा रहेको श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा ८ वटा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु चैत ८ गते बिहीबारका दिन एक औपचारिक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तातरण गरिएको हो । उक्त शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी न.पा.वडा नं.०६ का वडा अध्यक्ष जहरु साउदले माछापुच्छ्रै बैंकले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । साथै, उनले आगामी दिनमा पनि माछापुच्छ्रे बैंकले जस्तै अन्य संघसंस्थाहरुले पनि स्थानिय निकायहरुसंग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुँदै जाने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त शैलेश्वरी उच्च माध्यामिक विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जानकारी गराउँदै भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै साही कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए । १८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत उक्त विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरुमध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।
सेन्ट्रल फाइनान्सका विभिन्न शाखाहरूले गरे वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सेन्ट्रल फाइनान्सका विभिन्न शाखा कार्यालयहरूले ग्लोबल मनी विक २०२४ अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नारासहित सञ्चालित कार्यक्रमअन्तर्गत डकाहा, बिर्तामोड, विराटनगर र बर्दिबास शाखाले वित्तीय साक्षरता तथा प्रभातफेरी सञ्चालन गरेका हुन् । सिन्धुली, डकाहास्थित सरस्वती क्याम्पसमा आयोजित उक्त कार्यक्रम डकाहा शाखा प्रमुख दीपेश पाण्डेले बैंक तथा वित्तीय संस्थाहरूबारे विद्यार्थीलाई जानकारी दिएका छन् । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पस प्रमुख, शिक्षक-शिक्षिका, कर्मचारी तथा क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थी उपस्थित थिए । संस्थाको बिर्तामोड शाखाले पनि ग्लोबल मनी विक २०२४ अन्तर्गत बिर्तामोडस्थित महेन्द्र रत्न सेकेन्डरी स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्यो । कार्यक्रममा उक्त शाखाका प्रमुख प्रकाश फुँयालले बचतको विकासले दैनिक जीवनयापन सहज हुने र छरिएका साना रकमलाई एकत्रित गरी पुँजी बनाउन सकिने बताए। यस्तै, विराटनगर शाखाले विराटनगरस्थित रामसीता माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । शाखाका प्रमुख शेखर पोखरेलले बैंक तथा वित्तीय संस्थाबारे विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जानकारी र सुसूचित गर्नुका साथै डिजिटल बैंकिङलगायत बचतका आवश्यकताको विषयमा आफ्ना विचार राखेका थिए । महोत्तरीस्थित संस्थाको बर्दिबास शाखाले बर्दिबासका अन्य बैंक वित्तीय संस्थाहरूसँग मिलेर वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । बैंक वित्तीय संस्था तथा डिजिटल बैंकिङलगायत वित्तीय जानकारी तथा जनचेतनामूलक प्लेकार्डहरूसहित आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रहरीका पेट्रोलपम्प २४सै घण्टा सञ्चालन हुने, गृहमन्त्रीले दिए निर्देशन
काठमाडौं । नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् । उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प २४सै घण्टा खुला गर्न आदेश दिएसँगै चैत ८ गतेदेखि पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । यसअघि प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्पहरू बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित हुँदै आएका थिए । उनले भने, ‘मन्त्रीज्यूले २४सैँ घण्टा खुला गर्न आदेश दिनु भएसँगै हामीले पेट्रोलपम्प पम्प खुला गरेका छौँ ।’ रासस
उपाध्यक्ष महरासँगको बयान सकियो, पुनः नर्भिकमै भर्ना
काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम बिहीबार सकिएको छ । बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए । बयान सकिएसँगै उनलाई पुनःनर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी दिएको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनीमाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरिरहेको छ । आज थपिएको म्याद सकिने अन्तिम दिन हो । उनीमाथि भोलि थप आवश्यक प्रक्रिया अघि बढाइने सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । अघिल्लो पटक सिआइबीले उनीमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । यसैबीच बाँसबारीको जग्गा हिनामिना प्रकरणमा आजै सिआइबीले जिल्ला सरकारी वकीलको रोहबरमा बयान लिइएको छ । बयान दिएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया स्टन्टमात्रै भएको जिकिर गरेका छन् । पिपिपिको उत्कृष्ट मोडललाई राजनीतिकरण गरिएको भन्दै उनले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भन्ने विचार नै विकृत मानसिकताको सोच भएको बताए । उनीमाथि अनुसन्धान भइरहेको विषयमा सिआइबीले हिजोमात्रै सभामुख देवराज घिमिरेलाई संसद् सचिवायलमार्फत जानकारी गराएको थियो । रासस
नीति तथा कार्यक्रमका लागि महासंघले दियो २९ बुँदे सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नीति तथा कार्यक्रमका लागि सरकारलाई सुझाव पेस गरेको छ । महासंघले सरकारलाई बाह्य क्षेत्र सकारात्मक भएपनि आन्तरिक क्षेत्रमा माग बढाउन २९ बुँदे सुझाव बुझाएको हो । अर्थतन्त्रको वाह्य क्षेत्र सकारात्मक भएपनि मुलतः आन्तरिक मागमा आएको कमीका कारण अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न बजारमा रकम प्रवाहका लागि साना मझौला उद्यममा पुर्नकर्जा सुविधा विस्तार, बैंक वित्तीय संस्थाहरूलाई सानो ऋण प्रवाहका लागि प्रोत्साहन गर्ने, उद्यमी व्यवसायीको मनोबल वृद्धि, लगानी प्रवद्र्धन र सामाजिक सेवा एवं सुरक्षामा सुधार गरि सर्वसाधारणको विश्वास जगाउने नीति तथा कार्यक्रम आउनु पर्ने महासंघको माग छ । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रद्धारा प्रवद्र्धित आर्थिक रुपान्तरणका लागि लगानी प्रवद्र्धन विशेष योजनालाई प्रोत्साहन गरिनेछ । स्वदेशी एवं विदेशी लगानी बढाउन ऐन नियममा संसोधन, द्धिपक्षीय लगानी सम्झौता, प्रभावकारी सहायता योजना मार्फत लगानीकर्ताहरुको मनोबल बढाइनेछ । निजी क्षेत्रको नेतृत्वमा नयां पुस्ताको आर्थिक पुनसंरचना कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरिनेछ । आन्तरिक श्रोतको सिमिततासंगै वैदेशिक सहायतामा समेत कमी आइरहेको सन्दर्भमा वैदेशिक लगानी र प्रविधि आकर्षित गर्न वैदेशिक लगानी प्रवद्र्धन दशकका रुपमा आगामी बर्षदेखि विशेष कार्यक्रम संचालन गर्नु पर्ने माग पनि महासंघको छ । बीमा व्यवसाय, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषको न्यूनतम ५० प्रतिशत लगानी उत्पादनमूलक उद्योग र पूर्वाधार क्षेत्रमा लगानी हुने व्यवस्था कार्यान्वयन गरिनुपर्ने माग गरेका छन् । [pdf id=471170]
नेपालमा एफडीआई भित्र्याउन सहयोग गर्न राजदूतहरूलाई अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि सहयोग गर्न विभिन्न राष्ट्रका राजदूतहरूलाई आग्रह गरेका छन् । अवैतनिक कन्सुलर कर्प्स नेपाल-एचसिसिएनद्वारा आयोजित लुम्बिनी कन्क्लेभको अवसरमा लुम्बिनी केबलकार टप स्टेसनमा आयोजित लन्च मिटिङलाई सम्बोधन गर्दै एचसिसिएनका भाइस डीनसमेत रहेका महासंघ अध्यक्ष ढकालले वैदेशिक लगानीका लागि नेपालमा अवसरहरू बढिरहेको तर्फ राजदूतहरूको ध्यानाकर्षण गराएका हुन् । पर्यटन, जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवर्द्धन गरिरहेकाले लगानीकर्ताहरु जुटाउन सामूहिक पहल गर्नु पर्ने समय आएको अध्यक्ष ढकालले उल्लेख गरे । कानुन परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसरहरू सृजना भएको पनि अध्यक्ष ढकालको भनाइ थियो । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पवित्र आध्यात्मिक स्थल सहित यो क्षेत्रको सांस्कृतिक र आर्थिक संवाहकको रूपमा प्रवर्द्धन गर्न समेत अध्यक्ष ढकालले लुम्बिनी कन्केलभ सहयोगी हुने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गरे । लुम्बिनी केबलकारको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले केवलकार संगै लक्जरी होटल, क्यासिनो र सात सय जनाभन्दा बढी व्यक्ति अट्ने फराकिलो हल सहितको पर्यटन पूर्वाधारको विकासमा आफूहरुले काम गरिरहेको उदाहरण समेत प्रस्तुत गरेका छन् । नेपाल सरकार, लगानी बोर्ड र महासंघ समेतले आयोजना गर्न गइरहेको नेपाल इन्भेस्टमेन्ट समिटलाई लगानीको आकर्षक हबको रूपमा उपयोग गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका छन् ।