टरवाइनको परीक्षण अन्तिम चरणमा, वार्षिक ६१ करोड युनिट विद्युत् उत्पादन हुने
रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले निर्माण गरेका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो । तीनवटा युनिटमध्ये दुईको सफल परीक्षण सम्पन्न भइसकेको र बाँकी एकको परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेका अनुसार रसुवागढी नजिक भोटेकोशीमा बाँध बाँध्ने कार्य, बालुवा थिग्रयाउने, तीन पोखरी तथा रेडरेस एवं पेनस्टक सुरुङ र विद्युत्गृहसमेतका संरचना सम्पन्न गरी जडान गरिएका सबै उपकरणको परीक्षणमा पूर्ण रूपको सफलता मिलेकाले हालसम्म कार्यरत प्राविधिक उत्साहित भएका छन् । सो हाइड्रोपावरले वार्षिक रूपमा ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् उत्पादन हुने आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताए । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दा वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदको याममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिट प्राप्त हुने बताइएको छ । निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको प्राविधिकले बताएका छन् । राष्ट्रिय प्रसारण लाइन निर्माणका लागि प्राविधिक तथा मजदुर अहोरात्र खटिरहेका छन् । नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण लाइन महाशाखा प्रमुख थर्कबहादुर थापाका अनुसार टावर निर्माणकार्य द्रुत रूपमा अगाडि बढिरहेको छ । दैनिक रूपमा पाँच सय ५० मजदुर तथा दर्जनौँ प्राविधिकले रसुवाका डाँडापाखामा काम गरिरहेका छन् । उनका अनुसार समग्रमा टावर निर्माणको प्रगति ९५ प्रतिशत पूरा भइसकेको छ । अब एक महिनाभित्र रसुवागढीले उत्पादन दिने तर राष्ट्रिय प्रसारण लाइन भने कहिलेसम्म तयार हुन्छ भन्ने जानकारी प्राप्त भएको छैन । थाम्वुचेतबाट त्रिशूलीसम्म २८ किमी र त्रिशूलीबाट मातातीर्थसम्म ४८ किमी दूरी रहेको छ । निर्माण गर्नुपर्ने राष्ट्रिय प्रसारण लाइनका ७५ टावरमध्ये भौगोलिक विकटताका कारण अब निर्माण पूरा गर्न बाँकी १० वटा रहेका जनाइएको छ । ती टावरको काम यथाशक्य छिटो सम्पन्न गराउन प्रसारण महाशाखाका सम्पूर्ण प्राविधिक रसुवा केन्द्रित भइरहेको बताइएको छ । निर्माणको चरणमा १३ अर्ब ६० करोड रूपैयाँको लागत अनुमानबाट सम्पन्न हुने सुरुको प्रक्षेपण गरिएको भए पनि भौगोलिक विकटता बाढीपहिरो सामान ढुवानीमा ढिलाइ, भूकम्प, कोभिड–१९ महामारीजस्ता विविध कारणले निर्माणमा ढिलाइ हुँदा वर्तमान अवस्थाको लागत ब्याजबाहेक १८ अर्ब ४७ करोड रूपैयाँको हाराहारीमा खर्च हुने जनाइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको सामाजिक कार्यअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाले थुप्रै काम सम्पादन गरेको छ । सम्पादित काममा टिमुरेको तल तातोपानी पोखरी र पाटी निर्माण, टिमुरे गाउँमा भित्री सडक तथा नाली निर्माण, टिमुरे–खैदी बाटो, तातोपानी–दालगाउँ सडक, रोङ्गा–थुमन सडक, थुमन गाउँमा गुम्बा, फोहर व्यवस्थापन गर्न टिमुरेमा ल्याण्डफिल साइट, धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका लागि तीनतले कार्यालय भवन निर्माणलगायत आकस्मिक रूपमा परिआउने दर्जनौँ काम निर्माण सम्पन्न गरिसकेको र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत सहयोग गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । वर्षायाममा स्याफ्रु–रसुवागढी खण्डको सडक दैनिक अवरुद्ध भइरहँदा आयोजना निर्माणको समयदेखि नै जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा रसुवागढी जलविद्युत् आयोजनाले सडकको अवरोध हटाएको थियो । नेपाल–चीनको आयात तथा निर्यात हुने मालसामान बोकेका कन्टेनर गुडाउन र स्थानीय बासिन्दाको आवतजावतमा सहज पारेर सडक यातायात सञ्चालनको सहजताले भन्सारको राजस्व असुलीमा सहयोग पुग्दै आएको गोसाइँकुण्ड गाउँपालिका–२ को कार्यालयले जनाएको छ । यस्तै रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन माथिल्लो र तल्लो साञ्जेन–२ जलविद्युत् आयोजनामध्ये १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनबाट विद्युत् उत्पादन भई उत्पादित विद्युत् चिलिमे केन्द्रको हवबाट राष्ट्रिय प्रसारण लाइनमा पठाइसकिएको छ । यसैगरी ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको पनि निर्माण कार्य पूरा भई उपकरण तथा संरचना परीक्षण कार्य भइरहेका कारण सो आयोजनासमेत राष्ट्रिय प्रसारण लाइनको पर्खाइमा रहेको प्राविधिकले बताएका छन् । राष्ट्रिय प्रसारण लाइनको काम यति समयसम्म सकिन्छ भन्ने जिम्मेवार प्राविधिकले अझै टुङ्गो लगाउन सकेका छैनन् । अब निर्माणको चरणमा अगाडि बढेका आयोजनालाई निर्माण भइरहेको राष्ट्रिय प्रसारण लाइनले साञ्जेन र रसुवागढीका अलावा २० मेगावाट लाङ्टाङ खोला, एक सय २० मेगावाट भोटेकोशी, दुई सय १६ मेगावाट अपरत्रिशूली–१, छ मेगावाट सुपर मैलुङ, ७३ मेगावाट सालासुङ्गी, १४ दशमलव तीन मेगावाट माथिल्लो मैलुङ, २० मेगावाट फलाखु खोला, ३७ दशमलव तीन मेगावाट त्रिशूली थ्रीबीका विद्युत् एकीकृत रूपमा केन्द्रीकृत गरी राष्ट्रिय प्रसारण लाइनमा पठाउन सहज हुने प्राविधिकले बताएका छन् । यसभन्दा अगाडि निर्माण भएको २२ मेगावाट चिलिमे, पाँच मेगावाटको मैलुङ दोभान, १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, २२ मेगावाटको चिलिमे विद्युत् स्याफ्रुबेँसी–माद्रेढुङ्गा ३८ किमी दूरीको राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् प्रवाह भइरहेको बताइएको छ । चिलिमेबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजान निर्माण गरिएको लाइनलाई दीर्घकालीन सोचले बढी पावरको लाइन निर्माण हुन नसक्दा पछिल्लो समय उत्पादित बिजुली प्रसारण गर्न समस्या आएको बताइएको छ । रासस
ग्लोबल आइएमई र आईएफसीबीच जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी
काठमाडौं । ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता भएको छ । बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउईबीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । यस सम्झौता बमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तराष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरुप परिमार्जन गर्ने लगायतका विषयहरुमा परामर्श प्रदान गर्नेछ । आईएफसीले जलवायु वित्त क्षमता निर्माणको लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरुमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ । साथै आईएफसीले ग्लोबल आइएमई बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरुलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिनेछ । आर्ईएफसीको यस सम्भौताअनुसारको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैङ्गिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा बैंक विश्वस्त रहेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
राजेश मेटल क्रयाफ्टको व्यापार ४८ प्रतिशतले घट्यो, दबाबमा साढे ५ अर्ब ऋण
काठमाडौं । स्टील पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको राजेश मेटल क्रयाफ्ट (आरएमसी) को व्यापार ४८ प्रतिशतले घटेको छ । विगत एक वर्षको तुलनामा सन् २०२३ मा कम्पनीको व्यापार ४७.९२ प्रतिशतले घटेको हो । उद्योगले सन् २०२२ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ व्यापार गरेको थियो । तर २०२३ मा व्यापार घटेर ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँमा खुम्चिएको छ । कोरोना महामारीपछि लय समातेको कम्पनीको व्यापारमा पुनः ब्रेक लागेको छ । २०१९ मा कम्पनीको व्यापार ७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँ थियो । त्यसपछि २०२० मा झन् घटेर ५ अर्ब ५६ करोड ४३ लाख रुपैयाँमा झरेको थियो । र, २०२१ र २०२२ मा भने कम्पनीको व्यापार बढेर क्रमशः ७ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ र ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ बराबरको पुगेको थियो । तर उक्त वृद्धिमा ब्रेक लागेर पुनः २०२३ मा कम्पनीको व्यापार खस्किएको छ । सन् १९९३ मा पब्लिक लिमिटेडको रुपमा स्थापना भएको राजेश मेटल क्राफ्ट उद्योग सन् २०१६ मा प्राइभेट लिमिटेडमा रुपान्तरण भएको थियो । पारिवारिक स्वामित्वमा रहेको यस उद्योगमा श्रवण अग्रवाल र उनका दुई छोराहरु (राजेश के. अग्रवाल र विष्णु के. अग्रवाल) को लगानी रहेको छ । स्टील पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको आरएमसीले हट रोल क्वाइल्स (एचआरसी) को आयात गरेर यसलाई कोल्ड रोल क्वाइल्स (सीआसी)मा प्रशोधन गर्छ । त्यसपछि तयारी वस्तुको उत्पादन गर्छ । कम्पनीले कच्चा वस्तु भने भारतबाट आयात गर्दै आएको छ । यसअघि पनि ५ अर्ब ५० करोडको ऋणको लागि रेटिङ्ग गराएको कम्पनीले पुनः ५ अर्ब ५० करोडको ऋण रेटिङ्ग गराएको छ । कम्पनीले रेटिङ्ग एजेन्सी इक्रा नेपालमा दीर्घकालीन कर्जाको लागि एक अर्ब ५० करोड र अल्पकालीन कर्जाको लागि ४ अर्ब रुपैयाँ बराबरको रेटिङ्ग गराएको छ । तर इक्रा नेपालले दुबैलाई कर्जाको रेटिङ्गलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेशन’ मा राखेको छ । जसले क्रेडिट मूल्याङ्कनमा डाउनग्रेड हुने सम्भावना बढी रहेको बुझाउँछ । यससँगै कम्पनीको उक्त साढे ५ अर्बको ऋण दबाबमा रहेको देखिन्छ ।
भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु
काठमाडौं । गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा थिइन् । एकबिहानै सुलोचनाका देवरले फोन गरे । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनाको खबर सुनेसँगै देवरले बुटवलबाट काठमाडौं आउँदै गरेका आफ्ना दाई प्रकाश पाठकको खबर सोध्न फोन गरेका रहेछन् । मध्यरातको २ बजे श्रीमान्सँग फोन सम्पर्क गरेर सुतेकी सुलोचना देवरको फोनसँगै आत्तिइन् । उनले श्रीमान्लाई पटकपटक फोन सम्पर्क गर्न खोजिन् तर श्रीमान्को फोन लागेन । त्यसपछि तत्काल सुलोचनाका देवर, जेठाजु र आफन्त गजुरी गए । सुलोचनाको भने जाने हिम्मत बनेन । उनी पछि मात्र त्यहाँ पुगिन् । प्रकाश पहिले पनि दुर्घटनामा परेका थिए । सो बस दुर्घटना हुँदा प्रकाशसहित १२ जनाको ज्यान गयो । स्थानीयवासी, आफन्तजन र प्रहरीको अथक प्रयासमा प्रकाशको शव दुर्घटना भएको ३६ घण्टापछि मात्र भेटिएको थियो । त्यो ३६ घण्टा सुलोचनाका लागि ज्यादै पीडादायी बन्यो । ‘प्रकाशको शवमा कुनै चोट लागेको थिएन, समयमा नै शव भेटिएको भए बचाउन सकिन्थ्यो भन्ने लाग्छ, छोराले बाबा कहिल्यै नआउने हो भनेर बेलाबेलामा सोधिरहन्छ’, सुलोचना भन्छिन् । वित्त विषयमा एमफिल पूरा गरेकी सुलोचना विद्यावारिधिको तयारीमा थिइन् । श्रीमान्को निधनसँगै उनको उक्त सपनासमेत तत्कालका लागि तुहिएको छ । नेपालको ट्रेड युनियन आन्दोलनमा सक्रिय प्रकाश नेपालमा उत्पादित खाद्यान्न र तरकारीलाई विदेशसम्म लैजाने योजनाका साथ अगाडि बढेका थिए । उनको निधनसँगै देशले पनि एक होनहार युवा व्यवसायी गुमाएको छ । लुम्बिनीबाट चालक दलका सदस्यसहित ५४ यात्रु बोकेर काठमाडौं आएको लु२ख २१२१ नम्बरको बस सडकबाट अन्दाजी १०० मिटर तल त्रिशूली नदीमा खस्दा १२ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन् । उक्त दुर्घटना सडकको दुरावस्थाका कारण भएको प्रहरीले निस्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक गौतमकुमार केसी सडकको जीर्ण अवस्थाका कारण गजुरीमा दुर्घटना भएको बताउँछन् । ‘एकातिर जीर्ण सडक र अर्कातिर क्षमताभन्दा धेरै यात्रु भएको कारण खाल्डोमा गएर बसको टायर ठोकिएको र उफ्रेर अगाडि बढ्न खोज्दा बस पल्टन गएको अनुसन्धानमा देखिएको छ’, उनी भन्छन् । यस्तै गत चैत ५ गते सोमबार रुकुम पश्चिमबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको यात्रुवाहक बस बागलुङमा दुर्घटना हुँदा रुकुमका पत्रकार विक्रम परियारसहित नौ जनाको मृत्यु भयो । पत्रकार परियार दलित पत्रकार सङ्घको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन गाडी चढेर काठमाडौं आउँदै थिए । दलित पत्रकार सङ्घको महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने सपनाका साथ काठमाडौं आएका पत्रकार परियारको बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा भएको दुर्घटनामा मृत्यु भयो । पत्रकार परियार बुबा रनवीर र आमा रश्मीका कान्छो छोरा थिए । उनका जेठो दाइ अमृत परियार परिवारसँग दाङमा बस्दै आएका छन् । बुबाको पहिले नै मृत्यु भइसकेकाले आमाको हेरचाह गरेर परियार रुकुममा बस्दै आएका थिए । दुर्घटनामा विक्रमको मृत्युसँगै आमा रश्मीको साहारा गुमेको छ । बागमती प्रदेशको ०१–००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा निधन भएको थियो । बस सडकबाट अन्दाजी एक सय ५० मिटर तल खस्दा भएको दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइतेको हाल बाग्लुङ, पोखरा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गत पुस २७ गते बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै भे१ख ३९१२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो । राति १० बजेको समयमा दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा ती व्यक्तिहरूले ज्यान गुमाएका थिए । सोही दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । यसैगरी गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौंको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स र छोरी स्मारिकाको ज्यान गयो । उक्त दुर्घटना बाटोको दुरावस्थाका कारण भएको काठमाडौं प्रहरीले जनाएको छ । माथि उल्लेखित दुर्घटना केवल प्रतिनिधिमूलक घटनामात्र हुन् । नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् । सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा एक हजार तीन सय तीन जनाले अकालमा ज्यान गुमाएका छन् । यसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताउँछन् । यस्तै, लुम्बिनी प्रदेशमा दुई सय ६१, कोशी प्रदेशमा दुई सय १९, बागमती प्रदेशमा एक सय ७३, सुदूरपश्चिम प्रदेशमा एक सय चार, गण्डकी प्रदेशमा एक सय, काठमाडौं उपत्यकामा ९६ र कर्णाली प्रदेशमा ६० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । सोही अवधिमा २३ हजार पाँच दुर्घटना भएका छन् । दुर्घटना भएकामध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ११ हजार छ सय १९, मधेस प्रदेशमा पाँच हजार ८०, कोशी प्रदेशमा दुई हजार आठ सय ३०, बागमती प्रदेशमा एक हजार दुई सय २१, लुम्बिनी प्रदेशमा नौ सय २९, कर्णाली प्रदेशमा आठ सय छ, गण्डकी प्रदेशमा दुई सय ९२ र सुदूरपश्चिम प्रदेशमा दुई सय २८ दुर्घटना भएको प्रहरी प्रवक्ता ढकाल बताउँछन् । चालु आवको साउनदेखि माघ मसान्तसम्म सवारी दुर्घटनाबाट तीन हजार छ सय ४३ यात्रु गम्भीर घाइते भएका छन् भने १५ हजार सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आव २०७६र७७ मा दुई हजार दुई सय ५१, आव २०७७र७८ मा दुई हजार पाँच सय, आव २०७८र७९ मा दुई हजार आठ सय ८३ र आव २०७९र८० मा दुई हजार तीन सय ६८ ले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । यस्तै आव २०७६र७७ मा चार हजार छ सय १५, आव २०७७र७८ मा छ हजार चार सय ४८, आव २०७८र७९ मा सात हजार दुई सय ८२ र आव २०७९र८० मा पाँच हजार सात सय ३८ जना सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका छन् । उपत्यकामा मात्र सवारी दुर्घटनाबाट एक सय १७ को मृत्यु सवारी दुर्घटनाबाट देशभर हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदा काठमाडौं उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका छन् । काठमाडौंं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दिएको जानकारीअनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा भएका विभिन्न दुर्घटनामा परेर एक सय १७ जनाले अकालमा ज्यान गुमाएका हुन् । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ उपत्यकामा चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । ‘साँघुरो सडकमा चालकले लापरवाही गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको देखिन्छ’, उनी भन्छन् । कार्यालयका अनुसार चालु आवमा चालकको लापरवाहीबाट चार हजार तीन सय ४५, तीव्रगतिका कारण एक हजार नौ सय ४८, मादक पदार्थ सेवनका कारण चार सय ७५, यान्त्रिक गडबढीका कारण ६४, ओभरटेकका कारण ७६, सडकको अवस्थाका कारण १३ र अन्य कारण ९७ दुर्घटना भएका छन् । सडक दुर्घटनाका मुख्य कारण सडक सञ्जाल थपिएसँगै नेपालमा पछिल्लो समय सवारी दुर्घटनासमेत बढ्दै गएको छ । सवारी दुर्घटना र यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ गठन गरेको थियो । उक्त कार्यदलले एक वर्ष लगाएर यातायात क्षेत्रको सुधारका लागि अध्ययन गरेर गत माघमा सरकारसमक्ष प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त प्रतिवेदनले सडक दुर्घटनाका प्रमुख कारण पाँचवटा रहेको बताएको छ । सडक दुर्घटनाका कारणमा मानवीय कारण, सवारीसाधनको अवस्था, सडकको अवस्था, सडक प्रयोगकर्ता र मौसमको कारण रहेको बताइएको छ । नेपालमा हुने सवारी दुर्घटनाका कारणमध्ये सवारी चालकको कारण ८८ दशमलव ३५ प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै सवारीसाधनको कारण दुई दशमलव ५९ प्रतिशत, यात्रुको कारण चार दशमलव २० प्रतिशत, सडकको अवस्थाका कारण चार दशमलव १२ प्रतिशत र मौसमका कारण शून्य दशमलव ७४ प्रतिशत दुर्घटना हुने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सवारी चालकको शारिरीक र मानसिक अवस्था, ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति र चालकको दक्षता र सीप दुर्घटनासँग प्रत्यक्ष सम्बन्धित रहने बताउँछन् । ‘दक्ष र सीपालु चालक अनुशासित भएर सवारी चलाउँदा दुर्घटनामा कमी आउँछ’, उनी भनरछन् । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु दुर्घटना न्यूनीकरणका लागि सरकारले पूर्वसचिव धनबहादुर तामाङको संयोजकत्वमा ‘सडक दुर्घटना अध्ययन कार्यदल’ गठन गरेर अध्ययन गरिरहेको बताउँछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट गत पुस २९ गते गठन भएको उक्त कार्यदलमा सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरीलगायत सरोकारवाला निकाय सदस्य छन् । उक्त कार्यदलले विगत एक–दुई महिनाभित्र नेपालका विभिन्न भागमा भएका दुर्घटनालाई विस्तृत अध्ययन गरेर अध्ययनको प्रतिवेदन र दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुझाव सरकारलाई बुझाउनेछ । रासस
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने
काठमाडौं । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो । मौसमविद् झाले भने, ‘अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।’
ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु
काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु भएको छ । बिहीबार ललितपुरमा पाटन मल्टिपल क्याम्पसले फस्र्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक, २०२४ (एफआईसिसि २०२४) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु गरेको हो । चैत १५ गते बिहीबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भूटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहेको छ । अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएकाले अर्थशास्त्रले विकासको सवालमा नविन सोच र तयारी तथा नविन ज्ञान आर्जन र शेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको आयोजकले बताएको छ । नेपालजस्तो जटिल र पृथक भूराजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजिकबाट नियाल्न र उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको अवस्थालाई मध्यनगर गरी सम्मेलन गरिएको आयोजकले बताएको छ । सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ । विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अंगिकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको सम्मेलनले खोजि गर्ने विश्वास राखिएको छ । सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्लविद्यालयका विभिन्न आंगिक/सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ । सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रश्तुत हुनेछन् । सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफल हुनेछ । सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ ।
नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : बेलायत
काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ । नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउन इच्छुक रहेको जानकारी दिएका हुन् । राजदूत फेनले नेपालले वैदेशिक लगानीमैत्री वातावरण बनाउँदै गएको भन्दै प्रशंसा गरे । दोहोरो कर प्रणालीसम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्न उनको अर्थमन्त्री पुनसँग आग्रह थियो । राजदूत फेनले लगानी सम्मेलन सफल पार्न आफूहरुले काठमाडौंस्थित अन्य मुलुकका नियोग प्रमुखहरुसँग पनि छलफल र समन्वय गरिरहेको जानकारी समेत दिए । ‘बेलायती लगानीकर्ताको उच्चस्तरीय टोली लगानी सम्मेलनमा आउँदैछ’, उनले भने, ‘हामी लगानी सम्मेलन सफल पार्न सक्रिय भएर लागेका छौं ।’ राजदूत फेनले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र बञ्चितीकरणमा परेका समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए । राजदूत फेनले फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे–लिस्टमा पर्नबाट बच्न नेपालले गरिरहेको प्रयासको पनि सराहना गरे । मन्त्री पुनले बेलायत नेपालको पुरानो मित्र र महत्वपूर्ण वैदेशिक साझेदार चर्चा गर्दै हालसम्म गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । काठमाडौंस्थित बेलायती दूतावासले लगानी सम्मेलन सफल पार्न खेलेको भूमिकाको पनि उनले सराहना गरे । मन्त्री पुनले नेपालले वैदेशिक लगानीलाई स्वागत गर्ने नीति लिएको जानकारी गराउँदै दोहोरो कर प्रणालीसहित अन्तर्राष्ट्रिय लगानीकर्ता र विकास साझेदारले उठाउँदै आएका सवाल सम्बोधन गरिने उल्लेख गरे । वैदेशिक लगानीको वातावरण बनाउन एक दर्जन बढी कानून संशोधनको प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो । मन्त्री पुनले बेलायतले नेपालमा गर्दै आएको लगानी बढाउने अपेक्षा लिइएको बताए । जवाफमा राजदूत फेनले त्यसका लागि सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए । यस्तै उनले गत फागुनमा नेपाल–बेलायत मैत्रीसन्धि भएको शतवार्षिकीका अवसरमा नेपाल आएका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल हेर्ने मन्त्री एन्ड्रयु मिचेलले घोषणा गरेको सहयोग कार्यान्वनको चरणमा रहेको पनि जानकारी दिए । मिचेलले गत ८ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा बेलायतका तर्फबाट नयाँ विकास पोर्टफोलियोमार्फत नेपाललाई आगामी ६ वर्षभित्र ६६ अर्ब ६० करोड रुपैयाँ (४० करोड पाउन्ड) अनुदान दिने प्रतिबद्धता जनाएका थिए । सन् २०३० सम्म कार्यान्वयन हुने उक्त रकम नेपालले जलवायु परिवर्तनका संकटसँग जुध्न, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न, आर्थिक रूपान्तरण गर्न तथा सुशासन र समावेशीकरणमा खर्च गर्नेछ । उक्त रकमबाट १३ हजार पाँच सय रोजगारी सिर्जना हुने तथा २० लाख महिला र बालबालिकाको गुणस्तरीय स्वास्थ्य र शिक्षामा सेवामा पहुँच पुग्ने अपेक्षा दुवै देशको छ ।
विद्यालयमा किन घट्दैछ छात्राको संख्या ?
काठमाडौं । विद्यालय होस् या अन्यन्त्र नेपालमा पुरुषभन्दा महिलाको संख्या बढी छ । नेपालको कुल जनसंख्यामा पनि महिलाको संख्या पुरुषको भन्दा बढी छ । तर, पछिल्ला केही वर्षदेखि भने पुरुषको संख्या बढ्दै गएकाे तथ्यांकले देखाउँछ । पहिले एक दम्पत्तिबाट ५/६ जनासम्म सन्तान जन्माउँदा ३/४ जना छोरी हुन्थे । छोराको संख्या कमै हुन्थ्यो । तर, आजभोलि ठ्याक्कै उल्टो देखिन थालेको छ । अर्थात, छोरीभन्दा अहिले छोराको संख्या बढ्दै गएकाे छ । उदाहरणका लागि चैत १५ गते (आज)देखि सुरु हुने एसईई परिक्षाका विद्यार्थीलाई लिन सकिन्छ । जहाँ छात्राभन्दा छात्रको संख्या बढी छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार यो वर्ष एसईई परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परिक्षार्थी सहभागी हुँदैछन् । जसमा २ लाख ५३ हजार ६ सय २७ छात्र छन् भने छात्राको संख्या २ लाख ५० हजार ७ सय ७२ छ । यो वर्ष परीक्षा दिने विद्यार्थीमा २ हजार ८ सय ५५ छात्र बढी छन् । र १५ जना अन्य छन् । २०७९ को एसईई परीक्षामा पनि छात्रको संख्या नै बढी थियो । २०७९ मा कुल ५ लाख १६ हजार ५ सय ७७ परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५५ हजार ९सय १७ थियो भने छात्रको संख्या २ लाख ६० हजार ६सय ७४ थियो । यो संख्या छात्राको तुलनामा करिब ५ हजार बढी हो । २०७८ सालको एसईईमा पनि छात्रभन्दा छात्रा ३८ ले मात्रै बढी थिए । कुल ४ लाख ८५ हजार ३ सय ९६ जम्मा परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ४२ हजार ७ सय १२ र छात्रको संख्या २ लाख ४२ हजार ६सय ७४ रहेको थियो । त्योभन्दा पहिलेको दुई वर्षमा भने एसईई परिक्षा नै भएन । कोरोना महामारीका कारण विद्यालय आफैंले विद्यार्थीलाई आन्तरिक मुल्यांकन गरेर अंक प्रदान गर्दा छात्र वा छात्राको संख्या कसको बढी थियो भन्ने एकिन छैन । राष्ट्रिय परिक्षा बोर्डका अनुसार विगतका दुई/तीन वर्षदेखि एसईई दिनेमा छात्रको संख्या बढ्न थालेको छ । अहिले १० कक्षाभन्दा मुनिको कक्षामा छात्रको संख्या नै बढी रहेको पाइन्छ । विज्ञहरू भने अबको चार/पाँच वर्ष नेपालमा सन्तान जन्माउने दर र लिंग पहिचान गर्ने काननी छुट भइरहने हो भने आगामी दिनमा अवस्था भयावह हुने बताउँछन् । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन विषयका प्रोफेसर महेन्द्रप्रसाद शर्मा १५ वर्ष मुनिका बालबालिकामा बालकको संख्या बढी भएकाले परिक्षार्थीमा पनि बालकको संख्या बढी भएको बताउँछन् । बालिकाभन्दा बालक धेरै नेपालको जनगणना २०७८ अनुसार नेपालमा बालिकाभन्दा बालकको संख्या बढी छ । जसमा चार वर्ष मुनिको बालक १२ लाख ९० हजार ५ सय २५ (४.४) प्रतिशत हुँदा बालिकाको संख्या ११ लाख ४८ हजार ७ सय ५७ (३.९) प्रतिशत छ । यस्तै ५ वर्षदेखि ९ वर्ष उमेर समूहका बालबालिकामा पनि बालकको संख्या बढी छ । जसमा १४ लाख ४३ हजार ४ सय ५ (४.९) प्रतिशत बालक र १३ लाख २३ हजार २२ बालिका (४.५) प्रतिशत छ । यस्तै १० देखि १४ वर्ष समूहमा पनि बालकको संख्या बढी छ । १४ लाख ९५ हजार ९ सय ५४ (५.१)बालक र १४ लाख १३ हजार ९ सय ११ (४.८) प्रतिशत बालिका छन् । यसरी हेर्दा नेपालमा १५ वर्ष मुनिका बालिकाभन्दा बालकको संख्या बढी छ । नयाँ जनगणनाअनुसार बालकको संख्या बढी भएकाले यसको असर दीर्घकालीनरूपमा पर्ने जनसंख्याविदहरू बताउँछन् । तर, समाजशास्त्री टिकाराम गौतम विगतका वर्षमा केटीहरूको संख्या बढी रहेको बताउँदै अहिले केटाहरूको संख्या बढीलाई समान्यरूपमा लिन्छन् । लिंग पहिचान गर्नेको संख्या बढ्यो प्राकृतिक नियमअनुसार छोराभन्दा बढी छोरी जन्मन्छन् । विश्वका कयौं देशमा हेर्दा यस्तै देखिन्छ । नेपालमा पनि १ सय ७ जना छोरी जन्मदा छोराको संख्या १ सय हुन्छ । तर, पछिल्लो समय प्राकृतिक नियम तोड्दै दम्पत्तिहरू छोरा जन्माउन थालेका छन् । विभिन्न प्रविधिको विकाससंँगै छोरा जन्मने संख्या बढ्न थालेको जनसंख्याविद्हरू बताउँछन् । जनसंख्याविद् शर्मा नेपालमा गर्भको बच्चा छनोट गरेर जन्माउने चलन बढेकाले छोराको संख्या बढ्दै गएको बताउँछन् । नेपालमा अहिले बढीमा दोस्रो नभए एकल सन्तान जन्माउने प्रचलन बढेको छ । ‘पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तानका लागि धेरैले दुःख गर्दैनन्, तर पहिलो सन्तान छोरी हुँदा अधिकांशले छोराका लागि अर्को सन्तान खोज्छन्,’ उनी भन्छन्,‘अहिले मान्छेलाई लिंग पहिचान गरी जन्माउने अधिकार छ यसैको परिणाम स्वरुप यस्तो देखिएको हो ।’ समाजशास्त्री टिकराम गौतम पनि बलियो कानुन नहुनु र गर्भको बच्चा पहिचान गरी छोरा राख्ने प्रवृत्तिले छोराको संख्या बढेको बताउँछन् । नेपालको कानुनले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको बच्चालाई पतन गर्न पाउने अधिकार दिएको छ । यदि जबरजस्ती करणी, हाडानाता करणीको गर्भ छ वा गर्भपात नगराएमा ज्यानै जानेसम्मको अवस्था भए २७ हप्तासम्म पनि पतन गराउन सक्ने भनेको छ । योभन्दा बाहेक अन्य अवस्थामा गर्भवती महिलाको स्वीकृती विना करकाप, धाक धम्की गराइ बच्चा फाल्न लगाए अथवा गर्भमा रहेको बच्चाको लिंग पहिचान गरी गर्भपात गराएको खण्डमा भने दण्डको व्यवस्था गरेको छ । मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८ (ग) मा गर्भमा रहेको भ्रुणको लिंग पहिचानमात्र गराउनेलाई तीन महिनादेखि ६ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि दुई वर्षसम्म कैद गरिने प्रावधान छ । यस्तै मुलुक अपराध (संहिता) ऐन, २०७४ ले १२ हप्तासम्मको गर्भ भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना र २५ हप्ताभन्दा बढीको गर्भ भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । पुरुषको संख्या बढी हुँदा कस्तो पर्छ प्रभाव ? जनसंख्याका जानकार नेपालका दम्पत्ति एउटा त्यसमा पनि छोरामात्र जन्माउन थालेको १० वर्ष भएको बताउँछन् । समाजशास्त्री गौतम अहिले बढीमा दुई सन्तान जन्माउने त्यसमा पनि छोरा बढी हुने समाजको स्वरूप फेरिएको बताउँछन् । उनी अबको ८/१० वर्षमा पनि यही रेसियोमा दम्पत्तिले सन्तान जन्माउने हो भन् अबको १०/१५ वर्षमा छात्रा नहुने, भए पनि कम मात्र हुने बताउँछन् । अहिलेको मात्र संख्याले भोलि समाज कता जान्छ भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको बताउँदै उनी अबको केही वर्षको रेसियोलाई हेरेर समाजमा कस्तो असर पर्छ भन्न सकिने बताउँछन् । प्राध्यापक एवं जनसंख्याका जानकार नीर कुमार राई यस्तै अवस्था लगातार रहने हो भने समाजमा हिंसाका घट्ना बढ्दै जाने बताउँछन् । उनी भन्छिन्,‘केटाको संख्या बढ्यो भने उसलाई आफ्नो जोडी भेटाउन गाह्रो हुन्छ जसको परिणाम समाज हिंसाजनक गतिविधि बढी हुन्छन् ।’