विकासन्युज

विद्यालयमा किन घट्दैछ छात्राको संख्या ?

काठमाडौं । विद्यालय होस् या अन्यन्त्र नेपालमा पुरुषभन्दा महिलाको संख्या बढी छ । नेपालको कुल जनसंख्यामा पनि महिलाको संख्या पुरुषको भन्दा बढी छ । तर, पछिल्ला केही वर्षदेखि भने पुरुषको संख्या बढ्दै गएकाे तथ्यांकले देखाउँछ । पहिले एक दम्पत्तिबाट ५/६ जनासम्म सन्तान जन्माउँदा ३/४ जना छोरी हुन्थे । छोराको संख्या कमै हुन्थ्यो । तर, आजभोलि ठ्याक्कै उल्टो देखिन थालेको छ । अर्थात, छोरीभन्दा अहिले छोराको संख्या बढ्दै गएकाे छ । उदाहरणका लागि चैत १५ गते (आज)देखि सुरु हुने एसईई परिक्षाका विद्यार्थीलाई लिन सकिन्छ । जहाँ छात्राभन्दा छात्रको संख्या बढी छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार यो वर्ष एसईई परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परिक्षार्थी सहभागी हुँदैछन् । जसमा २ लाख ५३ हजार ६ सय २७ छात्र छन् भने छात्राको संख्या २ लाख ५० हजार ७ सय ७२ छ । यो वर्ष परीक्षा दिने विद्यार्थीमा २ हजार ८ सय ५५ छात्र बढी छन् । र १५ जना अन्य छन् । २०७९ को एसईई परीक्षामा पनि छात्रको संख्या नै बढी थियो । २०७९ मा कुल ५ लाख १६ हजार ५ सय ७७ परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५५ हजार ९सय १७ थियो भने छात्रको संख्या २ लाख ६० हजार ६सय ७४ थियो । यो संख्या छात्राको तुलनामा करिब ५ हजार बढी हो । २०७८ सालको एसईईमा पनि छात्रभन्दा छात्रा ३८ ले मात्रै बढी थिए । कुल ४ लाख ८५ हजार ३ सय ९६ जम्मा परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ४२ हजार ७ सय १२ र छात्रको संख्या २ लाख ४२ हजार ६सय ७४ रहेको थियो । त्योभन्दा पहिलेको दुई वर्षमा भने एसईई परिक्षा नै भएन । कोरोना महामारीका कारण विद्यालय आफैंले विद्यार्थीलाई आन्तरिक मुल्यांकन गरेर अंक प्रदान गर्दा छात्र वा छात्राको संख्या कसको बढी थियो भन्ने एकिन छैन । राष्ट्रिय परिक्षा बोर्डका अनुसार विगतका दुई/तीन वर्षदेखि एसईई दिनेमा छात्रको संख्या बढ्न थालेको छ । अहिले १० कक्षाभन्दा मुनिको कक्षामा छात्रको संख्या नै बढी रहेको पाइन्छ । विज्ञहरू भने अबको चार/पाँच वर्ष नेपालमा सन्तान जन्माउने दर र लिंग पहिचान गर्ने काननी छुट भइरहने हो भने आगामी दिनमा अवस्था भयावह हुने बताउँछन् । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन विषयका प्रोफेसर महेन्द्रप्रसाद शर्मा १५ वर्ष मुनिका बालबालिकामा बालकको संख्या बढी भएकाले परिक्षार्थीमा पनि बालकको संख्या बढी भएको बताउँछन् । बालिकाभन्दा बालक धेरै नेपालको जनगणना २०७८ अनुसार नेपालमा बालिकाभन्दा बालकको संख्या बढी छ । जसमा चार वर्ष मुनिको बालक १२ लाख ९० हजार ५ सय २५ (४.४) प्रतिशत हुँदा बालिकाको संख्या ११ लाख ४८ हजार ७ सय ५७ (३.९) प्रतिशत छ । यस्तै ५ वर्षदेखि ९ वर्ष उमेर समूहका बालबालिकामा पनि बालकको संख्या बढी छ । जसमा १४ लाख ४३ हजार ४ सय ५ (४.९) प्रतिशत बालक र १३ लाख २३ हजार २२ बालिका (४.५) प्रतिशत छ । यस्तै १० देखि १४ वर्ष समूहमा पनि बालकको संख्या बढी छ । १४ लाख ९५ हजार ९ सय ५४ (५.१)बालक र १४ लाख १३ हजार ९ सय ११ (४.८) प्रतिशत बालिका छन् । यसरी हेर्दा नेपालमा १५ वर्ष मुनिका बालिकाभन्दा बालकको संख्या बढी छ । नयाँ जनगणनाअनुसार बालकको संख्या बढी भएकाले यसको असर दीर्घकालीनरूपमा पर्ने जनसंख्याविदहरू बताउँछन् । तर, समाजशास्त्री टिकाराम गौतम विगतका वर्षमा केटीहरूको संख्या बढी रहेको बताउँदै अहिले केटाहरूको संख्या बढीलाई समान्यरूपमा लिन्छन् । लिंग पहिचान गर्नेको संख्या बढ्यो प्राकृतिक नियमअनुसार छोराभन्दा बढी छोरी जन्मन्छन् । विश्वका कयौं देशमा हेर्दा यस्तै देखिन्छ । नेपालमा पनि १ सय ७ जना छोरी जन्मदा छोराको संख्या १ सय हुन्छ । तर, पछिल्लो समय प्राकृतिक नियम तोड्दै दम्पत्तिहरू छोरा जन्माउन थालेका छन् । विभिन्न प्रविधिको विकाससंँगै छोरा जन्मने संख्या बढ्न थालेको जनसंख्याविद्हरू बताउँछन् । जनसंख्याविद्  शर्मा नेपालमा गर्भको बच्चा छनोट गरेर जन्माउने चलन बढेकाले छोराको संख्या बढ्दै गएको बताउँछन् । नेपालमा अहिले बढीमा दोस्रो नभए एकल सन्तान जन्माउने प्रचलन बढेको छ । ‘पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तानका लागि धेरैले दुःख गर्दैनन्, तर पहिलो सन्तान छोरी हुँदा अधिकांशले छोराका लागि अर्को सन्तान खोज्छन्,’ उनी भन्छन्,‘अहिले मान्छेलाई लिंग पहिचान गरी जन्माउने अधिकार छ यसैको परिणाम स्वरुप यस्तो देखिएको हो ।’ समाजशास्त्री टिकराम गौतम पनि बलियो कानुन नहुनु र गर्भको बच्चा पहिचान गरी छोरा राख्ने प्रवृत्तिले छोराको संख्या बढेको बताउँछन् । नेपालको कानुनले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको बच्चालाई पतन गर्न पाउने अधिकार दिएको छ । यदि जबरजस्ती करणी, हाडानाता करणीको गर्भ छ वा गर्भपात नगराएमा ज्यानै जानेसम्मको अवस्था भए २७ हप्तासम्म पनि पतन गराउन सक्ने भनेको छ । योभन्दा बाहेक अन्य अवस्थामा गर्भवती महिलाको स्वीकृती विना करकाप, धाक धम्की गराइ बच्चा फाल्न लगाए अथवा गर्भमा रहेको बच्चाको लिंग पहिचान गरी गर्भपात गराएको खण्डमा भने दण्डको व्यवस्था गरेको छ । मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८ (ग) मा गर्भमा रहेको भ्रुणको लिंग पहिचानमात्र गराउनेलाई तीन महिनादेखि ६ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि दुई वर्षसम्म कैद गरिने प्रावधान छ । यस्तै मुलुक अपराध (संहिता) ऐन, २०७४ ले १२ हप्तासम्मको गर्भ भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना र २५ हप्ताभन्दा बढीको गर्भ भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । पुरुषको संख्या बढी हुँदा कस्तो पर्छ प्रभाव ? जनसंख्याका जानकार नेपालका दम्पत्ति एउटा त्यसमा पनि छोरामात्र जन्माउन थालेको १० वर्ष भएको बताउँछन् । समाजशास्त्री  गौतम अहिले बढीमा दुई सन्तान जन्माउने त्यसमा पनि छोरा बढी हुने समाजको स्वरूप फेरिएको बताउँछन् । उनी अबको ८/१० वर्षमा पनि यही रेसियोमा दम्पत्तिले सन्तान जन्माउने हो भन् अबको १०/१५ वर्षमा छात्रा नहुने, भए पनि कम मात्र हुने बताउँछन् । अहिलेको मात्र संख्याले भोलि समाज कता जान्छ भन्ने अहिले नै भन्न  सकिने अवस्था नरहेको बताउँदै उनी अबको केही वर्षको रेसियोलाई हेरेर समाजमा कस्तो असर पर्छ भन्न सकिने बताउँछन् । प्राध्यापक एवं जनसंख्याका जानकार नीर कुमार राई यस्तै अवस्था लगातार रहने हो भने समाजमा हिंसाका घट्ना बढ्दै जाने बताउँछन् । उनी भन्छिन्,‘केटाको संख्या बढ्यो भने उसलाई आफ्नो जोडी भेटाउन गाह्रो हुन्छ जसको परिणाम समाज हिंसाजनक गतिविधि बढी हुन्छन् ।’

गरिमा विकास बैंकको सीईओमा माधवप्रसाद उपाध्याय

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १४ गते बसेको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिँदैछ । त्यसैले २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई बैंकको सीईओमा नियुक्त गरेको कम्पनी सचिव अनिल रेग्मीले जानकारी दिए । उनका अनुसार उपाध्यायलाई आगामी ४ वर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको हो । हाल उपाध्याय नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर काम गरिरहेका छन् । स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका उपाध्यायसँग १५ वर्षको अध्यापन/प्रध्यापक अनुभव छ । उनले बैंकमा हुँदा कम्पनी सचिव, शाखा प्रमुख, प्रशासन प्रमुख तथा क्रेडिट रिकभरी समितिको संयोजक भएर काम गरेका छन् ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ । ‘होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्’, प्रवक्ता झाले भने । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् । रासस

तोलामा ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार नौ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख २६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

युक्रेनसँग लडिरहेको रसियामा कामदार पठाउने श्रम मन्त्रालयको निर्णय

काठमाडौं । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियामा कामदार पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ । गत पुस १९ गतेदेखि रसियामा कामदार पठाउन श्रम स्वीकृति रोकिएकोमा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको वैदेशिक रोजगार विभागले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । ‘श्रम स्वीकृति रोकिएको कारणबाट रुसमा विभिन्न पेशा व्यवसायी गरी नेपालमा बिदामा आएका कामदारहरुको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) मिति २०८०/११/०९ को निर्णयले पुनः श्रम स्वीकृति सुचारु गरिएको’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै रसियाको ब्लगोभेचेन्सेक सहरमा सिनोपी इन्जिनियरिङ रसिया ग्रुप एलएलसी कम्पनीमा कामदार पठाउने छनौट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका कामदारहरुको हकमा सचिवस्तरबाट फागुन १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको विभागले जनाएको छ । रसियामा धेरै नेपाली युवाहरु गैर कानुनी बाटोबाट पुगेर त्यहाँको सेनामा भर्ना भई मृत्यु भइरहेको र सम्पर्कबिहीन भइरहेको बेलामा श्रम मन्त्रालयले फेरि औपचारिक रुपमा कामदार पठाउने निर्णय गरेको हो । मन्त्रालयले पूर्व श्रम मन्त्री शरदसिंह भण्डारीकै समयमा फागुन ९ र १६ गते नै सो विषयमा निर्णय गरेपनि गोप्य रुपमा राखिएको सो निर्णयलाई नयाँ मन्त्री डोलप्रसाद अर्याल आएपछि मात्रै चैत १४ विभागको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । जसले मन्त्रालयको निर्णय प्रकृयालााई थप सशंकित बनाएको छ ।

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर, प्याराग्लाइडिङले पर्यटक बढे 

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए । ‘हप्ताको दुई/तीन दिन चिनियाँ पर्यटक करिब पाँच/छ सयका दरले आउने गरेका छन्’, उनले भने, ‘जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।’ कोरोनाको समयपछि यहाँका होटल व्यवसायले विस्तारै गति लिन थालेकाले व्यवसायी उत्साहित भएर लागेको उनले बताए । ‘पछिल्लो समय विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या केही घटेको छ’, उनले भने, ‘दैनिक करिब तीन सयको सङ्ख्यामा स्वदेशी पर्यटक आउने गरेका छन् ।’ प्याराग्लाइडिङले पर्यटक बढे त्यसैगरी साहसिक खेल प्याराग्लाइडिङले बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढाएको छ । बन्दीपुरको भञ्ज्याङ चौताराबाट सिमलटारसम्म गरिने प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको हो । समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको भञ्ज्याङ चौताराबाट उडान सुरु भई करिब १०० मिटरसम्मको उचाइमा मुकुन्देश्वरी डाँडा छेउ हुँदै मनोरञ्जन लिन सकिनेछ । उडानका क्रममा बन्दीपुरको ‘एरियल भ्यु’का साथै मस्र्याङ्दी उपत्यका धौलागिरिदेखि लाङ्टाङसम्मको एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ । विगत पाँच वर्षदेखि यो प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । ब्लुस्काइ कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गरी मनोरञ्जन प्रदान गर्दै आएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । प्याराग्लाइडिङका लागि फागुन, चैत र वैशाख महिना उत्तम मौसम मानिने भएकाले पर्यटकको चहलपहल बढ्न थालेको हो । उक्त स्थानबाट ३०/४० जनासम्म उड्नसक्ने क्षमताको रहेको छ । उड्नुअघि गाउँपालिकाबाट अनुमति लिनुका साथै प्रतिव्यक्ति एक हजार रुपैयाँ राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको उनले बताए । नेवारी तथा आदिवासी जनजातिका संस्कृतिसँगै प्राकृतिक छटाले भरिपूर्ण बन्दीपुरमा सयौँ वर्ष पुरानो बजार, मठ, मन्दिर, गुफा, आँखै अगाडि देखिने हिमालको मनोरम दृश्य तथा साहसिक गन्तव्यले पर्यटकको मन लोभ्याउने गर्दछ । प्रि–बुकिङमार्फत १५ देखि ३० मिनेटको उडान र त्यसभन्दा माथि ४५ मिनेटदेखि करिब एक घण्टासम्मको उडान चरा झैँ उडेर गर्न प्याराग्लाइडिङ पाइलट समय प्रधानले बताए । बन्दीपुरमा स्थायी घर भएका प्रधानले समय र मौसम अनुकूल प्याराग्लाइडिङको मज्जा लिन सकिने बताए । हाल पोखरामा प्याराग्लाइडिङ सेवामा कार्यरत रहेका प्रधान निकट भविष्यमा बन्दीपुरमै प्याराग्लाइडिङको सेवा विस्तार गर्न आफू लागिपरेको उनले जानकारी दिए । केही दिनअघि प्याराग्लाइडिङको अनुभव लिएका बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले बन्दीपुरलाई साहसिक गन्तव्यस्थल बनाउन पर्याप्त सम्भावना रहेको बताए ।  गाउँपालिकाले मात्रै बजेट व्यवस्थापन गरेर नपुग्ने भएकाले पर्यटन प्रवद्र्धनका लागि प्रदेश तथा सङ्घीय सरकारमा बजेट व्यवस्थापनका लागि आग्रह गरिएको उनले बताए।  रासस

ग्लोबल मनी वीकमा जीवन विकासको २४ स्थानमा गोष्ठी र साक्षरता

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक सन् २०२४’ को अवसर पारेर लघुवित्तले चैत ५ देखि चैत ११ गतेसम्म २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । लघुवित्तले चैत ५ गते झापाको पथरिया, तेह्रथुमको बसन्तपुर, सिरहाको कर्जन्हा, सप्तरीको बोदेबर्साइनमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको थियो । चैत ६ गते झापाको पृथ्वीनगर संखुवासभाको चैनपुर, सिरहाको कल्याणपुर र सप्तरीको छिन्नमस्तामा कार्यक्रम आयोजना गरेको थियो । चैत ७ गते इलामको दानावारी, तेह्रथुमको म्याङलुङ, सिरहाको सुखीपुरमा पर्ने दहीपौडी बजार, सप्तरीको हनुमाननगरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । चैत ८ गते झापाको सुरुङ्गा, धनकुटाको धनकुटा बजार, मोरङको बेलबारी र उर्लाबारीमा कार्यक्रम आयोजना गरेको थियो । चैत ९ गते झापाको शिवगञ्ज, धनकुटाको राजारानी, सुनसरीको अमाहीबेल्हा र लौकहीमा कार्यक्रम आयोजना गरेको हो । चैत १० गते मोरङको केराबारी, धनकुटाको बुधबारे, मोरङको अमरदह र रामचोकमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको लघुवित्तको प्रवक्ता सुदिपकुमार मण्डलले जानकारी दिए । कार्यक्रम आयोजना गरेका २४ वटा शाखाले आफ्नो शाखाका उत्कृष्ट ३ जनाका दरले ७२ जना सफल उद्यमी, ७२ जना उत्कृष्ट बचतकर्ता र ७२ जना उत्कृष्ट ऋणीलाई लघुवित्तले पुरस्कृत गरेको थियो । २४ शाखाका ७२ जना ह्युमन एटिएम (अधिकृत टेलर सदस्य) र हरेक शाखा अन्तरगतका उत्कृष्ट ५ वटा केन्द्र(समूह)का दरले १२० वटा लघुवित्तको केन्द्रलाई पनि पुरस्कृत गरेको थियो । २४ वटा शाखाले पाँच जनाका दरले १२० जना विपन्न समुदायका बालबालिकालाई ‘एडप्ट’ गर्दै एक वर्षका लागि शैक्षिक सामग्री प्रदान गरेको थियो । केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमका लागि प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, आइएसडी विभाग प्रमुख विजयकुमार मण्डल र मानव संसाधन विभाग प्रमुख सुदिपकुमार मण्डलको नेतृत्वमा छुट्टा–छुट्टै टोली खटिएको थियो । ‘प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा लघुवित्तका सदस्यलाई संस्थाको तालिम विभाग प्रमुख रञ्जना निरौला, लेखा विभाग प्रमुख अंजयकुमार मण्डल, लघुवित्त विभाग प्रमुख मनोजकुमार साह र आइटी विभाग प्रमुख रमेश रायले वित्तीय साक्षरता सम्बन्धी तालिम दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु सम्बन्धित(कार्यक्रम आयोजना गरिएको) वडाका वडा अध्यक्ष, पालिका प्रमुख,उपप्रमुख, प्रदेश सांसद तथा प्रतिनिधीसभा सांसदको पनि उपस्थीति रहेको थियो । लघुवित्त सदस्यलाई वित्तीय ज्ञान अभिवृद्धि गर्ने उदेश्यले ग्लोबल मनी वीक २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरिएको लघुवित्तको प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । कार्यक्रमले लघुवित्तको ऋण सहयोगमा काम गरिरहेका सदस्यहरुलाई उत्साह मिलेको उनले बताए । ‘कार्यक्रमले लघुवित्त र सदस्यबीचको सम्बन्ध थप मजवुत बनाएको छ,’ उनले भने,‘ उद्यम गरिरहेका सदस्य र संस्थाका कर्मचारीलाई काम गर्ने थप उत्साह मिलेको छ ।’ कार्यक्रममा सहभागि सदस्यलाई लघुवित्तले घरआँगनमा तरकारी खेती अभियान अन्तगत उन्नत जातका विभिन्न तरकारीका बिउ पनि वितरण गरेको थियो । लघुवित्तका अन्य शाखाले पनि ग्लोबल मनी ह्वीकमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए । जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा कार्यालय मार्फत २४ जिल्लामा तीन लाख २४ हजार ५ सय ७२ सदस्यसँग वित्तीय सेवा पुर्याइरहेको छ । लघुवित्तले सदस्यका लागि २६ अर्ब ६६ करोड, ८१ लाख,२८ हजार ६ सय १५ रुपैयाँ ऋण लगानी गरेको छ ।

मानव सेवा आश्रमलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । मानव सेवा आश्रम बिराटनगरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको हो । घरबारविहिन, बेसाहारा, अशक्त, असहाय, अनाथ सडक आश्रित करिव १३० नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्री लगायत अन्य आवश्यक सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सेवा आश्रम संचालन भइरहेको छ । सेवा आश्रममा बिहीबार आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले मानव सेवामा समर्पित आश्रम संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको कुरा व्यक्त गरे । उनले दीन दुस्खी बेसाहाराहरुलाई सानो भएतापनि सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । हाल ५५ जिल्लामा  सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।