नेपाल टेलिकमको खुद नाफा ५ अर्ब ५९ करोड
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको जनाएको हो । टेलिकमको यो नाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा ३.३५ प्रतिशतले बढी हो । गत वर्ष टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी भने घटेको छ । टेलिकमले गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको थियो । हाल कम्पनीको सञ्चालन आम्दानी घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यस्तै, वित्तीय आम्दानी पनि ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ । टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी भने बढेको छ । उक्त आम्दानी १६ करोड ११ लाख रुपैयाँबाट बढेर ५३ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ सय १२ रुपैयाँ ९९ पैसा छ ।
१५ करोड ३७ लाख नोक्सानीमा सिटी होटल, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
काठमाडौं । सिटी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । होटलले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा होटलको नोक्सानी घटेको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २१ करोड २१ लाख रुपैयाँ नोक्सनी व्यहोरेको थियो । चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो । एक वर्षको अवधिमा सञ्चालन आम्दानी भने १३.५२ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष होटलको सञ्चान आम्दानी ३२ करोड ७२ लाख रुपैयाँ थियो । हाल होटलको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा छ ।
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो । रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गरेका हुन् । सो अवसरमा वडाध्यक्ष महतोले आर्थिक अभावका कारण घर बनाउन सक्ने अवस्थामा नरहेका समुदायलाई सपना भिलेजसँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरिएको बताए । प्रतिघर निर्माण गर्न सात लाख ५० हजार खर्च भएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । भिलेजले प्रतिघर सात लाख र वडा कार्यालयले प्रतिघर ५० हजार रुपैयाँ लगानी गरेका छन् । सपना भिलेजका अध्यक्ष गिरीका अनुसार २०६९ सालदेखि विपन्नका लागि आवास निर्माण थालिएको हो । सीमान्तकृत मुसहर समुदायका लागि २१ घर पुनःनिर्माणसहित जिल्लाका विभिन्न पालिकाका अतिविपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको उनको भनाइ छ । सपना भिलेजले अहिले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायका लागि काम गरिरहेको छ । चेपाङ समुदायका लागि जीविकोपार्जनको आधार तयार गर्न, विद्यालय खाजा कार्यक्रम, विद्यालय भवन निर्माण, चेपाङ समुदायकै सहभागितामा कफी खेती, तरकारी खेतीलगायत काम भइरहेको छ । इच्छाकामना–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय भाराङ्मा आवाससहितको पक्की भवन निर्माण भइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।
कोरियामा बन्ने सबै प्रकारका हुण्डाई गाडी नेपालमा बनाउँछौं : अन्जन श्रेष्ठ
लक्ष्मी ग्रुपअन्तर्गत लक्ष्मी मोटर्स कर्पोरेशनले नवलपरासीकाे परासीस्थित रामग्राममा हुण्डाई ब्राण्डमा कार एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याएको छ । १० बिगाहा जमिनमा स्थापना भएको यो प्लान्टबाट तत्काल भेन्यू उत्पादन सुरु भएको छ । केही महिनामा आईटेन र क्रेटा उत्पादन गरिने र एक वर्षभित्र हुण्डाईका इलेक्ट्रिक कार पनि उत्पादन हुने जनाइएको छ । प्रारम्भिक लगानी करिब साढे २ अर्ब रुपैयाँ छ भने प्लान्टको एसेम्ब्ली क्षमता वार्षिक पाँच हजार यूनिट रहेको छ । यो उद्योगमा हुण्डाई मोटर्सको पनि लगानी हुने र त्यसमा ३० अर्ब रुपैयाँ लगानी हुन सक्ने लक्ष्मी मोटर्स कर्पोरेशनका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले बताएका छन् । प्रस्तुत छ आर्थिक मन्दीका बीच यति ठूलो परियोजना अगाडि बढाउँदै गरेका नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसमेत रहेका लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठसँग विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस: नेपालमा कार उत्पादन जस्तो अत्यन्तै साहसिक र प्रशंसनीय कार्य थाल्नुभयो । कसरी सम्भव भयो ? हामीले सन् २००९ बाट हुण्डाईको आधिकारिक बिक्रेताका रूपमा नेपालमा काम गर्दै आएका छौं । त्यतिबेलै कुनै दिन एसेम्ब्ली प्लान्ट सञ्चालन गर्ने मनमा थियो । त्यो उत्साह र कुतकुती सधैं रहिरह्यो । १५ वर्षपछि आज हामी सफल भएका छौं । हण्डाई कम्पनीको कार एसेम्ब्ली हुनु भनेको नेपालमा उद्यमीहरूको उत्कृष्ट नमुना हो । किनभने छोटो अवधिमा प्लान्ट तयार पार्नु आफैंमा चुनौतीको विषय हो । लक्ष्मी समूह ५० वर्ष पुग्दा एसेम्ब्ली प्लान्टको स्थापना भएको छ । ३ सय रुपैयाँ पुँजीबाट सुरु भएको लक्ष्मी समूहकाे व्यवसाय ५० वर्षमा एसेम्ब्ली प्लान्ट बनाउन सफल भएको छ । अथवा अटोमोबाइल बनाउने उद्योगमा पुगेको छ । साथै, नेपाल-कोरिया दौत्य सम्बन्ध ५० वर्ष पुगेकै वर्ष र लक्ष्मी समूह पनि ५० वर्ष पुगेको सुखद क्षणमा हुण्डाई गाडी स्वेदशमै उत्पादन सुरु भएको छ । नेपालमा सीयो पनि उत्पादन हुँदैन भनिन्थ्यो । तर, अहिले गाडी उत्पादन भइरहेका छन् । प्रविधि र अटोमोबाइल क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ । नेपाल सरकारले औद्योगिकीकरणको ४.० (औद्योगिकीरणका विभिन्न चरण मध्ये एउटा चरण) सुरुवात गरेको छ । अहिले विश्व औद्योगीकीकरणको चौथो चरणमा आइपुग्दा सरकारले घोषणा गरेबमोजिम हुण्डाई गाडी स्वदेशमै एसेम्ब्ली हुनु नेपालमा पनि ४.० सुरु भएको छ । अब अन्य उद्योग स्थापना गर्ने वातावरण सुरु भएकाले नेपालमा औद्योगीकरणको नयाँ आयाम थपिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग उद्घाटन तथा अवलोकन गर्नुभयो, चारैतिरबाट बधाई तथा शुभकामना पाइरहनुभएको छ । कस्तो अनुभूति भइरहेको छ ? राष्ट्र र समाजका लागि योगदान पुग्ने काम गरेको हुँदा मनमा छुट्टै किसिमको अनुभूति भइरहेको छ । मनमा उर्जा, उत्साह छाएको छ । ठूलो उपलब्धि प्राप्ति गरे सरह गर्व लागेको छ । लक्ष्मी समूह ५० वर्ष पुग्दा एसेम्ब्ली सञ्चालनमा सफल हुँदा गौरवको अनुभूति भइरहेको छ । सँगसँगै गाडी उत्पादन जस्तो ठूलो र निकै प्रतिस्पर्धात्मक उद्योगमा लगानी गर्दा मनमा डर पनि होला नि ? गाडी एसेम्ब्लीका विभिन्न चरणहरू हुन्छन् । जसमध्ये अहिले हुण्डाईको एसकेडी प्लान्ट बनेको छ । एसकेडीबाट सीकेडी चरणमा जान्छौं । त्यसपछि सीबीयू (कम्पिलिट व्यूल्ट युनिट) प्लान्ट स्थापना गर्नेछौं । त्यसका लागि हुण्डाई कम्पनी पनि लगानी गर्न तयार छ । सीबीयू प्लान्ट स्थापना गर्ने चरणमा पुग्दासम्म करिब ३० अर्ब रुपैयाँ लगानी आवश्यक हुन्छ । ठूलो लगानी गर्न प्रोत्साहन गर्ने काम राज्यले गर्नुपर्ने हुन्छ । हाम्रो राज्यले बनाएका कानुनहरू कार्यान्वयन गर्दा विभिन्न कोणबाट व्याख्या गर्ने, त्यसको स्पष्टता र निरन्तरता नहुने, प्रक्षेपणयुक्त नहुने समस्याका कारण अलिकति मनमा शंका लाग्छ । तर, यतिको लगानी भएको वा अझै योभन्दा बढी लगानी हुन सक्ने गरी अगाडि बढिरहेको उद्योगलाई राज्यले पक्कै पनि सहयोग गर्छ भन्ने अपेक्षा छ । त्यसका लागि हामीले राज्यसँग पनि अनुरोध गरिसकेका छौं । राज्यप्रति विश्वास लिएर अगाडि बढिरहेका छौं । नेपालका व्यवसायीहरू ट्रेडिङ र सेवा व्यवसायमा बढी केन्द्रित छन् । ट्रेडिङ र सेवा व्यवसायमा जस्तो छिटो र उच्च दरको नाफा उत्पादन मुलक उद्योगमा हुँदैन भनिन्छ । तपाईंहरू हुण्डाईको आधिकारिक बिक्रेताका रूपमा काम गरिरहनुभएको छ । उद्योग सञ्चालन गर्नुपर्छ भनेर किन सोच्नुभयो ? लक्ष्मी समूहको सुरुवात भनेको उत्पादनमुलक उद्योगबाट नै भएको हो, व्यापारमा हामीले पछि हात हालेका हौं । त्यसकारण उत्पादनमुलक उद्योगमा हाम्रो इच्छा बढी छ । हाम्रो धेरैभन्दा धेरै लगानी उत्पादनमुलक उद्योगमा नै छ । तर, अटोमोबाइल क्षेत्र ग्ल्यामर भएकाले यसले लक्ष्मी ग्रुपलाई बढी चिनायो । तै पनि हामी उत्पादनमुलक उद्योगमा काम गरिरहेका छौं । फूड प्रोसेसिङ, डेरी, प्लास्टिङ, प्याकेजिङ, स्टिल उद्योग अहिले पनि सञ्चालनमा छन् । त्यसमा अर्को नयाँ उद्योग कार एसेम्ब्ली प्लान्ट थपेका छौं । उद्योगको सुरुवात व्यापारबाटै हुने हो । किनभने, व्यवसाय ठूलो आकारमा हुन थाल्यो भने उद्योगमा रूपान्तरण हुने चाहना सबैको हुन्छ । तर, सरकारले औद्योगिकीकरणका लागि व्यापारको भन्दा फरक वातावरण बनाउनुपर्छ । अहिले व्यापार र उद्योगलाई हेर्ने नजर एउटै छ । यसलाई परिवर्तन गर्न जरुरी छ । र, फरक दृष्टिबाट हेर्नुपर्छ । सरकार, कर्मचारीतन्त्र, समाजले उद्योगलाई सकारात्मक कोणबाट हेर्नुपर्छ । उद्योग र व्यापारलाई दिने सहुलियत फरक हुनुपर्छ । उद्योग सञ्चालन गर्न लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ । किनभने, विगतमा उद्यमशीलता मर्ने गरी व्यवहार भएका प्रशस्त उदाहरण छन् । सरकारले उद्योगहरूका लागि बनाएको विशेष आर्थिक क्षेत्र घाम पानी खाएर बसिरहेको छ । तर, तपाईंले १० विगाहा जमिन किनेर प्लान्ट लगाउनुभएको छ । नेपालमा जग्गा महँगो भएकाले लगानी जुटाउन गाह्रो छ । जमिन टुक्राटुक्रा भएकाले फराकिलो क्षेत्रफलको जग्गा पाउन पनि कठिन छ । तपाईंहरूले निजी जग्गा किनेर प्लान्ट बनाउनुपर्ने अवस्था किन आयो ? भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) १८/२० वर्ष अगाडि स्थापना भएको हो । सेजको आकार सानो छ भने अहिले पनि पर्याप्त पूर्वाधार छैनन् । अहिले पनि त्यस क्षेत्रमा पर्खाल लगाइएको छैन । उद्योगका लागि सामान्य घेरबार हुनुपर्छ । २० वर्ष हुँदा पनि अहिलेसम्म जग्गा घेरबार भएको छैन । र, विद्युतको सप्लाइ गर्न भरपर्दो माध्यम पनि बनिसकेको छैन । उद्योगलाई प्रोत्साहन कसरी गर्ने भन्ने पनि थाहा छैन । सेजले राज्यलाई कर संकलन र रोजगारी दिने हो । तर, भाडा संकलन गरेर नाफा मात्रै गर्ने मानसिकतामा सेज चलिरहेको छ । साथै, सेजका धेरै प्रावधानहरू निजी क्षेत्रका लागि परिवर्तन गर्नुपर्ने छन् । म सेजको बोर्डमा हुँदा दिएका सुझाव अहिले पनि लागु हुन सकेका छैनन् । त्यसकारण उद्योगहरू सेजमा जान नचाहेका हुन् । त्यस्तै, हामीलाई जग्गा बढी चाहिने भएकाले आफैं व्यवस्था गरेका हौं । आगामी दिनमा उद्योगको विस्तार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले अहिले नै बढी जग्गा लिएका हौं । केही उद्योगलाई सेजमा स्पेस नदिएका घटनाहरू पनि छन् । उद्योग सञ्चालन गर्दा ऋण लिनुपर्ने हुन्छ । तर, सेजको जग्गा सरकारी भएकाले उद्योग लगाउन बैंकबाट कर्जा पाउन पनि सहज छैन, किनकी जग्गा धितो राख्न मिल्दैन । औद्योगिक क्षेत्रमा कर्जा दिने व्यवस्थालाई सहजीकरण गर्नुपर्छ । एउटा मेसिन राख्न पनि लगानी गर्न गाह्रो छ । यस्तो अवस्थामा कसरी सेजभित्र उद्योग सञ्चालन गर्ने ? यसमा सेजले सहजीकरण वा ग्यारेन्टी बस्नुपर्छ । कर्जाका लागि ग्यारेन्टी बस्ने होइन कि कर्जा पाउने गरी व्यवस्थामा सहजीकरण गर्नुपर्छ । बङ्गलादेश, भारतको तुलनामा नेपालका सेजलाई धेरै सुधार गर्नुपर्ने छ । अहिले हाम्रो उत्पादन निर्यात गर्नको लागि होइन । तर, सेजमा सञ्चालन भएका उद्योगले ६० प्रतिशत निर्यात गर्नुपर्छ । पहिला ७५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था थियो । उद्योग सञ्चालन गर्ने बित्तिकै सुरुमै नै निर्यात हुँदैन । यसलाई सजिलो बनाउनुपर्छ । विगत २ वर्षमा बैंकको ब्याजदर उच्च बिन्दुमा थियो । बैंकबाट कर्जा लिन कठिन थियो । आर्थिक मन्दीका कारण कारोबार ठप्प थियो । उद्योगी व्यवसायीहरूले कर्जा लिएनन्, नयाँ व्यवसाय सुरु गरेनन् भन्ने सुनिन्थ्यो । यस्तो कठिन समयमा कसरी स्टिल उद्योग स्तरवृद्धि र कार एसेम्ब्ली युनिट स्थापाना गर्नुभयो ? स्टिल उद्योगमा त बाध्यात्मक रूपमा लगानी गर्नुपरेको हो । कसरी लगानी गरेको र कसरी जोहो गरेको हो भन्ने विषय हामीलाई मात्रै थाहा छ । एसेम्ब्लीमा बैंकहरूले सहयोग गरेका छन् । स्टिल उद्योगमा बैंकहरूले सहयोग गरेका हुन् । तर, कर्जाको ब्याज उच्च छ । यो उद्योग दगो बनाउन असहज स्थिति छ । अहिले बैंकको ब्याज एकल अंकमा झरेको छ । नयाँ कर्जा मात्र सस्तो छ । आधार दर पनि ८ प्रतिशतमा झरिसकेको छ । तर, पुरानो कर्जामा ब्याज अझै महँगो परेको छ । यसमा राष्ट्र बैंकले नीति ल्याएर सहज व्यवस्था गर्नुपर्छ । किनभने पुराना व्यवसायहरू धस्सिएका छन् । उनीहरू तंग्रिन सकिरहेका छैनन् । विगतमा बजारको डिमाण्ड र सप्लाइको कारण ब्याजदर उच्च नभई राष्ट्र बैंकको नीतिका कारण बढेको हो भन्ने त सबैलाई छर्लङ्ग छ । बैंकले ब्याज घटाउनेभन्दा पनि उद्योगलाई दिगो हुने गरी कायम गर्नुपर्छ । किनभने, पुरानो कर्जाहरू सस्टेन हुन सक्ने स्थितिमा छैनन् । त्यसकारण पुराना कर्जाहरू बारम्बार रिस्ट्रक्चरिङ गर्नुपरेको छ । पुस र चैतमा रिस्ट्रक्चरिङ भयो । र, अब असारमा पनि गर्नुपर्ने अवस्था छ । त्यसकारण एक्जिस्टिङ कर्जामा पनि ब्याजदर घट्नुपर्छ । नेपालको पहिलो कार उत्पादन प्लान्ट सञ्चालन गर्दै गर्दा उद्घाटनको दिन प्रधानमन्त्रीले कुनै प्रोत्साहन दिने, सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ? हामीले ४ बुँदामा माग राखेका छौं । प्रधानमन्त्रीले यस विषयमा छलफल गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । के छन् ती बुँदामा ? उद्योगलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने नै हो । उद्योगमैत्री वातावरण हुनुपर्यो । सरकारको नीति स्थिर हुनुपर्यो । व्यापार घाटा कसरी कम गर्न सकिन्छ भनेर सरकारले पनि सोच्नुपर्यो । नेपालमा एसेम्ब्ली भइसकेपछि कारको मूल्य घट्छ भन्ने धेरैको अपेक्षा छ । मूल्य कति घट्छ ? लागतको विषयमा हिसाबकिताब भइरहेको छ । एक/दुई दिनमा मूल्य सार्वजनिक हुन्छ । मूल्य सार्वजनिकसँगै हामी सकारात्मक सन्देश दिनेछौं । अबका योजना के-के छन् ? अब आइटेन क्रेटा एसेम्ब्ली गर्ने तयारी छ । अर्को वर्षदेखि हुण्डाईको इलेक्ट्रिक कार पनि एसेम्ब्ली गर्छौं । त्यो हुण्डाई डेडिकेडेट प्लान्ट हो । हुण्डाइका कोरिया, भारतमा बन्ने गाडीहरू सबै निर्माण हुन्छन् । अहिलेसम्म हामीले मात्रै लगानी गरेका छौं । हुण्डाई मोटर्स पनि लगानी गर्न इच्छुक छ । प्लान्टलाई अर्को चरणमा लैजाने विषयमा छलफल भइरहेको छ । अहिले एसकेडी प्लान्ट हो । एसकेडीबाट सीकेडी प्लान्ट गर्ने र सीकेडी प्लान्टबाट सिबियू (कम्प्लिट व्यूल्ट युनिट) प्लान्ट बनाउने लक्ष्य छ । सीबीयू प्लान्ट बनाउन करिब ३० अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ । अहिलेसम्म साढे २ अर्बदेखि ३ अर्ब रुपैयाँ मात्रै लगानी भएको छ ।
दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को यही वैशाख २७ को निर्णयबाट बढुवा भएका दुई एआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा दुई प्राविधिक डिआइजी डा. देउती गुरुङ र इन्जिनियर नविन्द अर्याललाई आइतबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदोन्नति भएका अधिकृतले पदोन्नतिसँगै जिम्मेवारी बोध गरी सङ्गठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामूहिक प्रयाससहित सङ्गठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्वास र थप कर्तव्य बोधका साथ पूरा गर्ने बताए । पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने
काठमाडौं । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानमा साथै तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उदासी उपेन्द्र, महत्वाकांक्षी मन्त्री
काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्रीबाट हट्ने डिलमा छन् उपेन्द्र यादव । सरकारमा सहभागी भएको दुई महिनामै सरकारबाट बाहिरिनु स्वयम् उपेन्द्र र उनको पार्टीका लागि पनि दुर्भाग्य र दुःखद हो । त्यो भन्दा बढी दुःखद आम जनताको लागि हो । राजनीतिक दल र नेताहरू निहित स्वार्थका लागि काम गर्दा जनताले सास्ती भोग्नु परेको छ । व्यक्तिगत महत्वाकांक्षाले नै नेताहरू दिनप्रतिदिन कमजोर बन्दै गएका छन् । सोही कमजोरीको एउटा नायक हुन् उपेन्द्र यादव । वि.सं २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा ५२ सिट ल्याएर संसद्को चौथौ ठूलो राजनीतिक दलका नेता बनेका उनलाई अहिले कमजोर पात्रका रूपमा चित्रण गरिन थालिएको छ । पहिलो संविधान सभाको निर्वाचनमा बलियो बनेका उपेन्द्र दोस्रो संविधानसभाको निर्वाचनमा भने कमजोर देखिए । उनको पार्टीले प्रत्यक्षतर्फ २ सिट र समानुपातिकतर्फ ८ सिट मात्रै जित्यो । त्यसपछि उनको राजनीतिक यात्रा खासै सुखद हुन सकेको छैन । दिनप्रतिदिन उनी कमजोर बन्दै गएका छन् । राजनीतिक वृतमा पनि उनी छायामा पर्न थालेका छन् । नेपाली राजनीतिमा सबैभन्दा बढी पार्टी परिर्वन तथा विभाजन गर्ने नेतामध्येमा पनि पर्छन उपेन्द्र । विद्यार्थी जीवनदेखि सुरु गरेको नेपाल कम्युनिस्ट पार्टीको राजनीति, त्यसपछि प्रगतिशील विद्यार्थीमा आवद्ध हुँदै, मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी फोरम, नयाँ शक्ति हुँदै जसपा नेपालसम्म आइपुग्दा उनले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गठबन्धन गरे, सहकार्यको प्रयास गरे, पटक-पटक मन्त्री तथा उपप्रधानमन्त्री भएर सत्ताको स्वाद पनि चाखे । तर, उनको जीवनमा टुटफुटको कहानी भने चलिरह्यो । अघिल्लो साता मात्रै जसपा नेपाल विभाजन भएको छ । अशोक राई पक्ष विभाजन भएर अर्कै पार्टीमा उभिसकेका छन् । त्यसले उनलाई थप कमजोर बनाएको छ । हाल उनीसँग पाँच जना मात्रै सांसद छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री बनेको दुई महिनामै उनी स्वास्थ्य मन्त्रीबाट बाहिरिनु पर्ने स्थिति सिर्जना भएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने गरी उपेन्द्र गत फागुन २४ गते सरकारमा सहभागी भएका थिए । जसपा नेपालले स्वास्थ्य, वन तथा वातावरण मन्त्रालय र राज्यमन्त्री गरी तीन वटा मन्त्री पाएर सरकारमा सहभागी भएको थियो । तर, अहिले वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडि र राज्यमन्त्री दिपक कार्की नै यादवको विपक्षमा छन् । जसपा नेपालबाट विभाजित अशोक राई नेतृत्वको टीमले वर्तामान सरकारमै रहने धारणा राखिसकेको छ । १२ जना सांसद रहेको जसपाको पार्टी फुटले स्वास्थ्यमन्त्रीको पद नै धरापमा छ । यादवले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर सरकारबाट बाहिरिने जानकारी गरिसकेको बुझिएको छ । जनता समाजबादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले अहिले सरकारमै बस्ने वा बाहिरिने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले राई नेतृत्वको समूहले पार्टी विभाजन गरेपनि आफूहरूलाई फरक नपर्ने धारणा राखे । ‘अहिलेसम्म सरकारमै छौं, सरकारमै बस्ने वा बाहिरिने भन्ने विषयमा छलफल हुँदैछ, पद आउँछन्, जान्छन् यसमा केही फरक पर्दैन,’ उनले भने । महत्वाकांक्षी मन्त्री उपेन्द्र यादव महत्वाकांक्षी नेतामध्येमा पर्छन् । उनको महत्वाकांक्षा र निहित स्वार्थका कारण नै उनले पटक-पटक पार्टी विभाजन भोग्नु परेको छ । महत्वाकांक्षाले नै उनी जुनसुकैको नेतृत्वमा सरकार बने पनि सत्तामा सहभागी हुन्छन् । आफ्नै नेतृत्वमा सरकारमा जान्छन् र मन्त्री बन्छन् । उनी पदमा मात्रै होइनन्, निर्णयमा पनि महत्वाकांक्षी बन्न पुग्छन् । गत फागुनमा स्वास्थ्य मन्त्रीकोरूपमा पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा शल्यक्रियामा देखिएको ढिलाइलाई छिटो बनाउने र संघीय निजामती सेवा ऐनमा स्वास्थ्य सेवा ऐन समायोजनका लागि कार्यदल बनाउने, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि गर्ने निर्णय गरेका थिए । तर, यी दुवै निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेनन् । नेपालमा राजनीतिक स्थायित्व छैन । यसैको कारण देशको उधो गति लागेको विज्ञहरू बताउँछन् । स्वयं यादवमा देखिएको अस्थिरता नै उनको उँधोगतिको कारण हो । महिना महिनामा हुने सरकार परिवर्तनले शिक्षा र स्वास्थ्य जस्ता संवेदनेशील क्षेत्र बढी अस्तव्यस्त भइरहेका छन् । ९ वर्षमा १३ स्वास्थ्य मन्त्री नेपालमा संघीयता आएको एक दशक भयो । नागरिकले संघीयता आएपछि स्थायी सरकार गठन होला र नागरिकका समस्या समाधान होलान् भन्ने अपेक्षा गरेका थिए । तर, संीयतामा आम नागरिकका लागि झन महँगो बनेको छ । वर्सेनिको सत्ता परिवर्तनले मन्त्री पनि फेरबदल भइरहन अभ्यासले नागरिक आजित बनेका छन् । आम सर्वसाधारणमा नैराश्यता छाएको छ । एक दशकको अवधिमा स्वास्थ्य मन्त्री मात्रै १३ जना बनेका छन् । पटक–पटक हुने मन्त्री फेरबदलले स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त बनेको छ । हरेक महिना आउने नयाँ मन्त्रीसँग एक किसिमको सम्झौता भएर कार्यान्वयन हुन नपाउँदै फेरि नयाँ मन्त्री आउँदा समस्या हुने गरेको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी मन्त्री फेरबदलले स्वास्थ्यक्षेत्रको दरबन्दीदेखि हरेक क्षेत्रमा समस्या भइरहेको बताउँछन् । ‘अहिले देशभर जनशशक्ति अभाव छ , नागरिकले सेवा नपाएको गुनासो गरिरहेका छन्,’ उनी भन्छन्, ‘हरेक महिना हुने मन्त्री फेरबदलले काम गर्नै समस्या भएको छ, हामी समस्या समाधानका लागि मन्त्रीसँग एक किसिमको छलफल गर्छौ, कार्यान्वन हुने बेला मन्त्री परिवर्तन हुन्छन्, काम नै रोकिन्छ ।’ मन्त्रालयमा काम गर्ने कर्मचारीलाई मात्रै होइन राजनीतिक अस्थिरताले स्वास्थ्यका अन्य क्षेत्रमा पनि उत्तिकै समस्या छ । नयाँ मन्त्री आउँदा नयाँ निर्णय हुन्छ, फेरि अर्को मन्त्री आउँदा निर्णय फरक हुन्छ, त्यसैले पनि सेवा प्रवाहमा समस्या हुने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । केपीशर्मा ओली प्रधानमन्त्री भएको साढे ३ वर्षको अवधीमा ६ जना स्वास्थ्यमन्त्री र राज्यमन्त्री भएका थिए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एक वर्षको अवधिमा पनि चार जना स्वास्थ्यउ मन्त्री बने । पहिलो पाँच वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापती शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा राज्यमन्त्री सहित १० जना स्वास्थ्यमन्त्री भए । तर, कसैले पनि स्वास्थ्यका विषयमा गम्भीर भएर काम नगरेको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् । त्यसको ज्वलन्त उदाहरण बनेका छन् उपेन्द्र यादव ।
टीकापुरको ३० बिघा जग्गा प्रकरणमा सीआईबीले थाल्यो कीर्तेमा अनुसन्धान
काठमाडौं । टीकापुरको ३० बिघा सरकारी जग्गा अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कीर्तेतर्फ अनुसन्धान सुरु गरेको छ । टीकापुर बजार क्षेत्र आसपासको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा कर्यकर्ता र आफन्तलाई वितरण गरिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अख्तियारले पत्राचार गरेपछि ब्यूरोले कीर्तेतर्फ अनुसन्धान सुरु गरेको सीआईबीले जनाएको छ । ‘टीकापुर नगरपालिका–१ स्थित टीकापुर बजार क्षेत्रको करिब ६ सय रोपनी जग्गा नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष, पदाधिकारी एवं कर्मचारीको संलग्नतामा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचबिखन गरेको’ यसअघि अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।