राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा लोहनी चयन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) काे पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०५१ मा कम्युटर प्रोग्रामर (तह ७)को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् ।
१ लाख लगानीबाट सुरु भएको वेदिकाको एडुकेश, विदेशमा पनि पुर्याउने योजना
काठमाडौं । केही गर्न त मन थियो । तर, पैसा छैन, कसरी गर्नु ? हामी कुनै व्यापार व्यवसाय गर्ने सोच बनाउँदा पहिले पैसाको खोजी गर्छौं। तर, व्यवसाय गरिरहेकाहरू भने थौरै लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिने बताउँछन् । व्यवसायका लागि सबैभन्दा पहिले इच्छा र उपाय चाहिन्छ । इच्छा शक्ति र उपाय भएपछि सानै लगानीले पनि काम गर्न सकिने उनीहरूको अनुभवले बताउँछ । उनलाई सानैदेखि फरक व्यवसाय गर्न मन थियो । आमाबुवा पनि व्यावसायी नै । उनलाई परिवारमा बाआमाले गरेको भन्दा र अन्यको भन्दा फरक व्यवसाय गर्न मन थियो । उनलाई सबैभन्दा मन पर्ने क्षेत्र शिक्षा थियो । शिक्षा क्षेत्रमै केही गर्ने हुटहुटी थियो उनीमा । उनी अर्थात ‘इडुकेश’ की संस्थापक वेदिका मुरारका । उनले नेपालको ग्रामिण क्षेत्रमा रहेका विद्यार्थीलाई लक्षित गरी ‘इडुकेश झोला’ बनाउने काम सुरु गरेको करिब तीन वर्ष भयो । विदेशमा पढेर नेपालमा शिक्षा क्षेत्रमा फरक व्यवसाय गरिरहेकी उनी अहिले काठमाडौंमा बसेर विद्यार्थीलाई किताब बोक्न पनि मिल्ने र टेबल पनि बनाउन मिल्ने झोलाको व्यवसाय गरिरहेकी छन् । करिब ३ वर्षको अवधिमा डोल्पा र हुम्लासहित तराईका विभिन्न स्कुलका विद्यार्थी अहिले त्यही झोला प्रयोगमा ल्याइरहेका छन् । अहिलेसम्म करिब ४ हजार ८ सय झोला विद्यार्थीले प्रयोग गरिसकेका छन् । किताब बोक्न पनि मिल्ने, फोल्ड गरेर डेस्क÷टेबल पनि बनाउन मिल्ने ‘एडुकेश’ बनाइरहेकी वेदिकालाई भेट्दा हामीले झोला र व्यवासायबारे जिज्ञासा राख्यौँ ‘एडुकेश’ केहो ? उनले भनिन् ‘एउटा नर्मल झोला (ब्याग) हो । तर, यसमा केही नवीकरण (इनोभेसन) छ ।’ उनी सरकारी विद्यालयमा पढ्ने ग्रामिण क्षेत्रका विद्यार्थीलाई केद्रीत गरि यो व्यवसाय सुरु गरेको बताउँछिन् । घरमा पनि टेबुल जस्तै बनाएर पढ्न मिल्ने र स्कुलमा पनि डेस्क बेन्चको काम गर्न सकिने यो झोला विद्यार्थीका लागि सजिलो र टिकाउ हुने उनको भनाइ छ । ‘धेरै जसो गाउँको स्कुल र तराईका स्कुलमा अझै राम्रो डेस्क बेन्चको सुविधा छैन । भएका ठाउँमा पनि विद्यार्थीको साइज अनुसार हुँदैन,’ उनी भन्छिन्, ‘विद्यार्थीलाई कसरी बच्चामैत्री बनाउने भन्दा झोलाबाट गर्दा उत्तम हुन्छ भन्ने लागेर मैले यो व्यवसाय सुरु गरेँकी हुँ ।’ अहिले धेरै नेपाली युवाहरू देश छोडेर परदेश गइरहेका छन् । नेपालमै भएकाहरू पनि सरकारी जागिरको पछाडि लागेका छन् । नेपाली युवा विदेश गइरहेको बेला विदेशबाट नेपाल फर्केर व्यवसाय गरिरहेकी तपार्इंलाई व्यवसायमा लाग्न केले अभिपे्रत ग¥यो भन्ने प्रश्नमा उनी जवाफ दिन्छिन्, ‘म आफ्नो व्यक्तिगत अनुभवबाट यो क्षेत्रमा लागेकी हुँ । आफ्नै कम्पनी दर्ता गरेर काम गर्दा सेल्फ फ्रिडम हुन्छ । केही नयाँ काम गर्न मन लाग्यो भने गर्न मिल्छ । तर, कर्मचारी भएर जागिर गर्दा मन लागेको कुरा पनि मनमै राखेर बस्नुपर्छ त्यसैले पनि मैले व्यवसाय रोजेँ ।’ कसरी सुरु भयो ‘एडुकेश’ ? एडुकेश वेदिका र उनकी साथी नेहा अहमदले ल्याएको आइडिया हो । उनीहरू दुवै जना क्लासमेट हुन् । नेहा पाकिस्तानकी हुन् । उनीहरू दुवैजना लन्डन स्कुल अफ इकोनोमिक्स कलेजमा सोसिअल इनोभेसन एन्ड आन्ट्रपेनरसिपमा स्नातकोत्तर गर्दै थिए । कक्षामा प्रोजेक्टको काम गर्नुपर्यो जसमा बिजनेस आइडिया दिनुपथ्र्यो । त्यहीबेला उनीहरूले यो आइडिया प्रस्तुत गरे । उनीहरूको यो आइडिया शिक्षक र अन्य विद्यार्थीलाई पनि मन प¥यो । राम्रो आइडिया ल्याएको भन्दै उनीहरूले १ हजार पाउण्ड पुरष्कार पनि पाए । त्यसपछि उनलाई लाग्यो अब यही कामलाई व्यवसायमा परिणत गर्नुपर्छ । उनकी साथीले पनि यसमा सहमति जनाइन् । त्यसपछि वेदिका नेपाल आइन् । उनले नेपालको बजार र यहाँको व्यवसायका विषयमा बुझ्न थालिन् । करिब २÷३ वर्षको तयारी पछि २०२१ मा अन्ततः आयो ‘एडुकेश झोला’ । नेपालको बजार र व्यवसायका विषयमा बुझेपछि वेदिकाले शिक्षा क्षेत्रमा काम गर्न ईच्छा भएका र गरिरहेका एनजिओ, आइएनजिओलाई भेटिन् । आफ्नो आइडिया ‘सेयर’ गरिन् । यति गर्दैगर्दा बिचमा कोरोना महामारी फैलियो । कोरोनाका कारण भएको लकडानले उनलाई पनि असर ग¥यो । उनलाई व्यवसाय गर्न कम्पनी दर्ता गर्न, झोला बनाउने फ्याक्ट्री खोज्नु थियो । यतिमात्र होइन् उनकासामु बजार विश्वासको पनि चुनौती थियो । शिक्षा क्षेत्रमा फरक त्यो पनि दुर्गम क्षेत्रका विद्यार्थीका लागि झोला बनाउन डिजाइन त पहिले नै तय थियो । तर, त्यसमा थप नयाँ कसरी गर्न सकिन्छ भन्ने चिन्ता थियो । सुरुमा डिजाइन गरेको झोला फेरी उनीहरूलाई नै मन परेन ११ औँ पटक बनाएको डिजाइनन राम्रो भयो । त्यहीबेला धेरै झोला बजारमा गयो । अहिले फेरि १२ औँ पटक झोलाको डिजाइनमा नयाँ के थप्न सकिन्छ भन्नेमा उनको ध्यान छ । एक लाख लगानीबाट सुरुवात कुनै पनि व्यवसाय सुरु गर्न पैसा चाहिँन्छ । घरभित्रैबाट व्यावसायिक यात्रा गर्दा पनि पैसा चाहिन्छ । वेदिका र नेहासँग धेरै पैसा थिएन । उनीहरूले कलेजमा राम्रो आइडिया सेयर गरेवापत पाएको एक लाख ३० हजार रुपैयाँ थियो । त्यही पैसाले व्यवसाय सुरु गरे । ‘हातमा धेरै पैसा थिएन, हामी केही नयाँ गर्छौं भनेर कलेजमा भनेको थिएँ, घरमा पनि यही पैसाबाट काम थाल्छु भनेको थिएँ’ उनी भन्छिन्, ‘यही पैसाले गर्न सक्छु भनेर विश्वास दिलाउनु थियो, त्यसैले पनि हार मानिन ।’ उनलाई सुरुवातमै ५/६ हजार झोला बनाएर बजारमा लग्नु थियो । नाफा भन्दा पहिले कसरी आफुले गरेको कामको विश्वास दिलाउन सक्छु भन्ने चुनौती थियो । बजारमा नआएको, कसैले प्रयोगमा नल्याएको बिलकुल नयाँ झोला बनाउनु थियो । झोला बनाउने फ्याक्ट्री र बजारमा ग्राहकको मन जित्नु थियो । वेदिकाले सबैभन्दा पहिले काभ्रेका दुइटा स्कुल छनोट गरिन् । त्यहाँ परीक्षण गरिसकेपछि उनी शिक्षा क्षेत्रमा काम गरिरहेका संस्थासँग कुरा गरिन् । उनले आफ्नो कामको बारेमा बताइन् । केही सामान उत्पादन गर्नुछ भने सबैभन्दा पहिले फ्याक्ट्री खोज्नुपर्छ । यसका लागि मेसिन, र मेट्रियल सामान, मान्छे धेरै लगानी चाहिन्छ । तरल त्यति लगानी थिएन । वेदिकाले फ्याक्ट्रीलाई पार्टनरसिपमा काम गर्न अनुरोध गरिन् । उनले आफ्नो डिजाइन दिइन् । फ्याक्ट्री पनि तयार भयो । फ्याक्ट्री खोज्न नै धेरै समय लागेको अनुभव उनले सुनाइन् । कच्चा पदार्थ आयात यो झोला नेपालमा बन्छ । तर, ययका लागि चाहिने आवश्यक सामाग्री (कच्चा पदार्थ) नेपालमा छैन । झोला बनाउन प्रयोग हुने फ्याब्रिक बाहिरबाट ल्याउनुपर्छ । केही बकल नेपालमै पाइए पनि आफुलाई चाहिने बलियो खालको मेट्रियल फ्याब्रिक र बकल चीन र भारतबाट ल्याउनु परेको उनको भनाइ छ । झोला भित्र कागजको कुट राखिन्छ । भित्रको हार्ड मेट्रियल कार्डबोर्ड हो । यो नेपालमा नै म्यानुफ्याक्चर हुन्छ । यो झोला बनाउन चाहिने सबैभन्दा महत्वपूर्ण भनेको फ्याब्रिक हो । कार्डबोर्ड पनि चाहिन्छ । अरु सबै वस्तु नेपालमै पाइन्छ । यो झोलामा प्लाष्टिक प्रयोग गरिँदैन । कुट प्रयोग गरिन्छ । दुई हजार मुल्य प्रायः झोला किन्ने मान्छे झोला पसलमा जान्छन् । टेबल किन्ने मान्छे फर्निचर पसलमा जान्छन् । टेबल र झोला दुवैको काम गर्ने यो झोला खोज्दै बजारमा कोही पनि आउने नगरेको उनी सुनाउँछिन् । उनले बजारभन्दा विभिन्न एनजीओ आइएनजीओलाई केन्द्रिंत गरिन् । आफुले बनाएको झोला देखाइन् । धेरैजस्तो संघ संस्थाले स्कुलमा कापी कलमसँगै झोलाहरू वितरण पनि गर्छन् । वेदिकाले त्यस्ता संस्थालाई आफुले बनाएका झोलाहरू लिन आग्रह गरिन् । धेरैजस्तो संस्थाले सहकार्य पनि गरे । अहिले कतिपय संस्था आफै झोला खोज्दै आउँछन् । कतिपयले सामाजिक सञ्जालमै पनि अर्डर गर्छन् । वेदिका अहिले पनि बजार सहज रुपमा बनिनसकेको बताउँछिन् । उनी अहिले पनि दिनमा १० भन्दा बढी संस्थासँग आफुले बनाएको झोलाका बारेमा जानकारी गराउँछिन् भने कतिपयसँग भेट्छिन् । उनले बनाएको झोला विशेषगरी दुर्गम र तराइ क्षेत्रका बालबालिका जो विद्यालय गइरहेका छने उनिहरूलाई लक्षित हो । तर, आजभोलि प्रायः अफिसमा काम गर्ने घरमै बसेर काम गर्नेहरूले पनि यो झोला किनिरहेका छन् । डोल्पा र हुम्ला लगायतका विभिन्न ठाउँमा यो झोला पुगेको छ । यो झोलाको मुल्य दुई हजार रुपैयाँसम्म पर्छ । तर, धेरै झोला एकै पटक लिँदा केही सस्तो पर्ने उनको भनाइ छ । उनी यो झोला अरुभन्दा टिकाउ पनि रहेको बताउँछिन् । झोलाको बाहिरको फ्याब्रिक बजारमा पाइने झोला भन्दा बलियो छ । वाटरप्रुफ पनि भएकाले भित्रको कार्डबोर्डपनि बिग्रदैन । यदि बिग्रिहो पनि डिजाइन यति सजिलैछ त्यसलाई रिप्लेस बनाउन सजिलो छ । यो झोला सर्वसाधारणको भन्दा विद्यार्थीको लागि हो । उनले अहिले ४ हजार ७ सय झोला बिक्री भइसकेको बताइन् । परदेशमा पढाइ वेदिकाका तीन जना दिदी भाइ छन् । उनी माइली हुन् । उनको घर सिराहको लाहान हो । व्यापारको सिलसिलामा आमाबाुवा काठमाडौँ आए । उनी काठमाडौंमै जन्मिन् । पढ्दै गर्दा नेपालमा शान्तिपूर्ण वातावरण थिएन । जनयुद्ध चलिरहेको थियो । त्यो बेला उनी कक्षा ४ मा पढ्थिन् । कहिले बन्द, कहिले आन्दोलनले विद्यालय सातामा दुई दिन पनि खुल्न गाह्रो हुन्थ्यो । त्यहीबेला उनको परिवारले वेदिकालाई भारतमा लिएर पढाउने निधो गर्यो । उनलाई भारतको राजस्थानमा होस्टेलमै राखेर पढ्न राख्यो । नेपालमा कक्षा ४ सम्म पढिसकेपछि भारत गइन् । उनी पढ्ने स्कुलमा धेरै नेपाली विद्यार्थी थिए । ‘एक्लै बस्दा धेरै काम आफंै गर्न सक्ने आँट आउँदो रहेछ,’ उनी भन्छिन्, ‘सबै काम आफैं गर्नुपथ्र्यो, सानैदेखि आफ्नो काम आफैं गरियो अथवा यही कुराले पनि जे काम पनि आफैं गर्नुपर्छ भन्ने आँट आएको हो ।’ बच्चादेखि नै जोखिम लिरहेकोले पनि व्यवसायमा लाग्दा त्यति समस्या नभएको उनको भनाइ छ । भारतबाट १० कक्षाको पास गरिसकेपछि ११ र १२ मा व्यवस्थापन पढिन् । स्नातक भारतको बैंलोरमै पढिन् । त्यसपछि उनी स्नातकोत्तर पढ्न लण्डन गइन् । विदेशमा पढेर नेपालमा व्यवसाय नेपालमा केही गर्न सकिँदैन, बाहिर नै गएर काम गर्नुपर्छ भन्ने आम नेपाली युवाको मानसिकता छ । तर, वेदिका भने विदेशबाट आएर नेपालमै केही गर्नुपर्छ भनेर लागिरहेकी छन् । जहाँ समस्या त्यहाँ समाधानका उपाय पनि धेरै हुन्छन् भन्ने सोचले उनी नेपाल आइन् र व्यवसायमा लागिन् । ‘विद्यार्थी बाहिर पढ्न जानु नराम्रो होइन । तर, पढेर नेपालमै नफर्की उतै बस्नु नराम्रो हो,’ उनी भन्छिन्, ‘बाहिर पढेको फाइदा धेरै हुन्छ, विश्वमा हरेक क्षेत्रमा इनोभेसन धेरै अगाडि बढेको छ, बाहिरको हेरेर देखेर र सिकेर पनि नेपालमा केही नयाँ गर्न सकिन्छ ।’ वेदिका सानैदेखि नेपाल बाहिर हुँदा नेपाली बोल्न र पढ्न गाह्रो थियो । उनले सिक्दै गर्दै गइन् । उनी अर्काको देशमा देखेर महसुस गरे जस्तो सहज नहुने बताउँछिन् । पढ्न गएका विद्यार्थीलाई पनि एक्लो भएर बस्न गाह्रो हुने उनको अनुभव छ । अहिले अनलाइनमा धेरै काम हुन्छ । डिजिटल समयमा जो जहाँ बसे पनि काम गर्न सकिन्छ । नेपालमा बसेर मान्छे भेट्ने काम वेदिकाले गर्छिन् भने के गर्ने कसरी गर्ने भन्ने आइडिया साथीसँग पनि सोधखोज गर्छिन् । उनकी साथी नेहा पाकिस्तानबाटै यो व्यवसायमा सहयोग गरिरहेकी छन् । अहिले वेदिकाले इन्र्टनसीपमा काम गर्ने कर्मचारी पनि राखेकी छन् । उनीहरूले सामाजिक सञ्जालदेखि लिएर अन्य आवश्यक काममा सघाउने काम गरिरहेका छन् । भारत र पाकिस्तानमा पनि व्यवसाय गर्ने यो झोलाका लागि उनलाई विभिन्न देशबाट फोन आउने गर्छ । कसैले सँगै मिलेर काम गरौं भनिरहेका छन् भने कतिपयले फोन गरेर झोला पठाइदिन आग्रह गरिरहेका छन् । भारत र पाकस्तानमा पनि दुर्गम ठाउँ धेरै छ । नेपालको भन्दा धेरै समस्या ती देशको दुर्गम ठाउँमा पनि छ । अफ्रिकाबाट पनि हामीसँगै काम गर्नुस् भनेर फोन आउने गरेको उनले बताइन् । वेदिकाका योजना अब फेरि झोलामा नयाँ केही डिजाइन थप्ने तयारी छ । झोलालाई अब नेपाल बाहिर पनि लग्ने योजना छ । अहिले विद्यालय उमेरका बालबालिका लागि केन्द्रित यो झोला अब शिक्षकमैत्री कसरी बनाउने भन्ने पनि सोचिरहेको बताउँछिन् । वेदिका नेपाली युवालाई व्यवसायमा केन्द्रित गर्न शिक्षा क्षेत्रमा उद्यमशिलताको कुरा समावेश गरिनु पर्ने बताउँछिन् । ‘हाम्रो अभिभावकले तिमी डाक्टर इन्जिनियर बन्नुपर्छ भन्नुहुन्छ, कलेजमा पनि उद्यमशिलताको कुरालाई त्यति जोड दिएको पाइँदैन जसका कारण युवालाई व्यवसाय गर्न मन हुँदैन,’ उनी भन्छिन्, ‘जागिर भन्दा पनि व्यवसायमा जोड दिनुपर्छ ।’
केईको इलेक्ट्रीक मोडल एक्स-३ प्रोको बुकिङ खुला, सुरुवाति मूल्य ४६ लाख ९६ हजार
काठमाडौं । केई मोटर्सको आधिकारीक वितरक लक्ष्मी ई-मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स-३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाट भटेनीमा सुविधा सम्पन्न शोरुम निर्माण गरेर शोरुम सञ्चालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो । कम्पनीले बिहीबार एक विज्ञप्तिमार्फत सुरुमा एक्स–थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको जानकारी दिएको छ । अहिले केई एक्स-३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध हुनेछ । इन्टोडक्टरी प्राइसको हिसावले डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहने कम्पनीको भनाई छ । कटिङ एज टेक्नोलोजी, स्लीक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स-३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शान्दार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ । यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ । कम्पनीका अनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ । यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ । साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स-३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ । ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस रहनेछ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । पछाडि भने मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ । ग्राहकले यसमा विभिन्न ५ कलर अप्सन पाउने कम्पनीले जानकारी दिएको छ । ‘वातावरण मैत्री इलेक्ट्रीक एसयूभीको पर्फमेन्ससँगै स्लीक डिजाइन र मोर्डन फिचरहरु रहेका छन् । केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन् । १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चालकलाई पृथक ड्राइभिङ अनुभव प्रदान गर्न सक्ने किसिमले डिजाइन गरिएको एक्स–३ प्रो सुरक्षाको हिसावले पनि उत्कृष्ट रहेको कम्पनीको भनाई छ । एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन् । एडास भित्र विशेष गरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् । यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । सुरक्षाको हिसावले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटर लगायत इलेक्ट्रीकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बाढी, पहिरो र चट्याङबाट प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति दिन माग
फाइल फाेटाे काठमाडौं । सांसदहरूले बाढी पहिरो र चट्याङबाट मृत्यु भएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्ति दिन माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका हुन् । बैठकमा प्रतिनिधिसभा सदस्य इश्वरीदेवी न्यौपानेले चट्याङ लागेर कैलालीमा २ जनाको ज्यान जानुका साथै अन्य घाइते भएको बताइन् । त्यस्तै, अर्का सांसद मानवीर राईले असार ११ र १२ गते परेको अविरल बर्षाबाट सोलुखुम्बु जिल्ला पनि प्रभावित भएको भन्दै बाटो, पुल, व्यक्तिका घर पहिरोले क्षति पुर्याएको भन्दै ध्यानाकर्षण गराए । उनले प्रभावित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । यसैगरी माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मोरङको विराटनगर जलमग्न भएको र आवतजावत प्रभावित भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए । सांसद रामहरि खतिवडाले बाढी पहिरोबाट जनधनको क्षति भएको भन्दै ओखलढुंगामा गएको पहिरोबाट देवकुमारी खत्रीको मृत्यु र तीन जना घाइते भएको जानकारी दिए । सांसद मनबहादुर गुरुङले कास्कीको पोखरामा पहिरोले घर पुर्दा र चट्याङ लागेर २ जनाको निधन हुनुका साथै ठाउँ ठाउँमा सडक अवरुद्ध भएको भन्दै राहत र उद्धारको काम गर्न सरकारको ध्यानाकर्षण जनाए । त्यस्तै सांसद उर्मिला माझीले पनि देशभर भएको जनधनको क्षति भएको भन्दै लमजुङ पनि त्यसबाट अछुतो नरहेको बताइन् । उनले जिल्लामा बाढी पहिरो र चट्याङबाट ६ जनाले ज्यान गएको जानकारी समेत गराइन् ।
धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता, ८ किलोमिटर पदमार्ग निर्माण
म्याग्दी । सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजीकको जङ्गलमा बास बस्छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेतसहित करिब ३० जनाको टोली दुई महिनादेखि जङ्गलमै बास बस्दै आएका हुन् । म्याग्दी र मुस्ताङलाई पदमार्गले जोड्ने धवलागिरि आइसफल ट्रेकमा दुई वर्षदेखि पदमार्ग निर्माण भइरहेको छ । पर्यटन विभागसँग दुईवटा प्याकेजमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले आइसफल पदमार्ग बनाउन थालेको हो । गत वर्षदेखि पदमार्ग बनाउने काम गरेको कम्पनीले प्रतिकूल मौसम र बाढी, पहिरोका कारण योजनालाई सम्पन्न गर्न दुई वर्ष लागेको जनाएको छ । बस्तीदेखि टाढा र हिमालको नजिकका भूभागमा पदमार्ग बनाउन मजदुर र व्यवस्थापकहरू वनजङ्गलमै त्रिपाल टाँगेर बास बस्ने गरेका छन् । हिमालको फेदी नजिकै बाटो बनाउनुपर्ने भएकाले जङ्गलमै बसेर काम गर्नुपरेको बस्नेतले बताए । आर्थिक वर्ष २०७९/८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट सुरु भएको आइसफल पदमार्ग निर्माण योजनाअन्तर्गत अहिले सिँढी चिनेर पदमार्ग बनाउने कामले गति पाएको छ । निर्माण कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले दुई वटा प्याकेजमा कुल एक करोड ५४ लाख रुपैयाँबजेटबाट ठेक्का सम्झौता गरेको र अहिलेसम्म आठ किलोमिटर बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए । ‘यो वर्षमात्रै तीन किलोमिटर बढी पदमार्ग बनाएका छौँ, असारभित्रमा योजनालाई सम्पन्न गर्ने गरी काम भैरहेको छ, अक्करे भिरबाहेक अन्य ठाउँको पदमार्ग बनाएर सक्ने हाम्रो लक्ष्य हो, विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था बाहेकका अन्य सबै अप्ठेरो ठाउँमा सहज रूपमा आवतजावत गर्न सक्ने गरी काम गरिरहेका छौँ’, उनले भने । यसवर्ष छिस, कछुवा ओढार हुँदै धवलागिरि भ्यू प्वाइन्ट हिलसम्मको नदी किनार र घना जङ्गलमा व्यवस्थित पदमार्ग बनाउने काम भैरहेको छ । पदमार्ग बनाउन सोलुखुम्बु, उदयपुर, पाल्पा, नुवाकोट, रसुवालगायतका जिल्लाबाट मजदुरहरू यहाँ आएका छन् । दुई समूहमा बाँडिएर झाँडी फाँडेर पदमार्ग बनाउने गरेको फुर्वा तामाङले बताए । जङ्गल, भिर पहाड र खोला किनारमा दुई मिटर फराकिलो सिँढी चिनेको पदमार्ग निर्माण हुन थालेपछि पर्यटकहरूलाई धवलागिरि आइसफल आधार शिविर पुग्न सहज हुन थालेको छ । परम्परागत गोरटो बाटोमा सिँढी चिनेपछि पदमार्ग चिटिक्क भएको छ । उच्च हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक हुने र हिमपात तथा वर्षाको प्रतिकुलताका बीच पदमार्ग बनाउने कामलाई तीव्रता दिएको कार्यक्षेत्रमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि लाक्पा लामाले बताए । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधाराक्षेत्रबाट गत वर्षदेखि पदमार्ग निर्माण थालिएको थियो । यस पदमार्गअन्तर्गत कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ । यसअघि चिमखोलाका स्थानीयले कोखे भिरमा पहाड काटेर पदमार्ग बनाउने प्रयास गरे पनि कडा चट्टानको कारण उक्त भिरमा अझै ५० मिटर बढी पहाड काट्न काट्न बाँकी रहेको छ । धवलागिरि भ्यू हिलको भिर र खोँचमा पदमार्ग बनाउन कठिनाई भएपछि पर्यटन विभागले पुल बनाउने गरी अध्ययन गरिरहेको जनाएको छ । गत वर्ष ससलधारादेखि पदमार्ग बनाउन सुरु गरेकोमा यस वर्ष कालीबराह दोभान अघिदेखि काम भैरहेको छ । चिमखोलादेखि घ्यासीखर्क हुँदै आधार शिविर जाने बाटोमा कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको भिरबाहेक अन्य सबै ठाउँमा सुविधाजनक पदमार्ग निर्माण हुन लागेको वडा नं ७ अध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए । ‘आइसफल पदमार्ग सहज बन्दै गएको छ, हामीले पदमार्गसँगै खोलाहरू पुल र ठाउँ–ठाउँमा आश्रयस्थल पनि बनाउनपर्छ भनेर पहल गरिरहेका छौँ, दुई ठाउँको भिरमा पदमार्ग छिचोलियो भने एक दिनमै सहजै आधार शिविर पुग्ने पूर्वाधार तयार हुन्छ’, वडाध्यक्ष पाइजाले भने । उनले पदमार्ग निर्माणसँगै कालीबराह खोला र रघुगङ्गा नदी समेतमा झोलुङ्गे पुलहरू बनाउन आवश्यक रहेको बताए । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने गरी २०६८ सालमा पहिलोपटक सम्भाव्यत्ता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय ८२ किलोमिटर लामो आइसफल पदमार्ग तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ । नेपाल सरकारले धवलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुइसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो । तर पूर्वाधार र आवश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि नयाँ वैकल्पिक पदमार्गको रुपमा धवलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भैरहे पनि सूचनामूलक संकैतबोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लजहरू निर्माण हुन सकेका छैनन् । धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जङ्गली पशुपक्षी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा, भुरुङ, दानालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । रासस
मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु
काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते०सम्ममा भएका विपदबाट बिहीबारसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् । मनसुन भित्रिएको जेठ २८ देखि असार १२ गतेसम्म कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै, मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । चट्याङबाट क्षति सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना (असार ११ र १२ गते) को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा ९ जना चट्याङबाट र ९ जना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए ।
मुग्लिन-पोखरा साढे ५३ किलोमिटर सडक कालोपत्र
तनहुँ । मुग्लिन-पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन-पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ । असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय हुने भएकाले हाललाई कालोपत्र गर्न छाडेर पानी निकासका निम्ति नाला, ‘रिटेनिङ वाल, कल्भर्ट’लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयोजना कार्यालय, पश्चिमका इन्जिनियर नारायण पौडेलले बताए । पूर्वी खण्डमा निर्माणधीन ठूला तीन पुलमध्ये डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ । तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ । हालसम्म उक्त पुलको ३० प्रतिशत काम पूरा भएको इन्जिनियर पाण्डेले बताए । एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजनामार्फत काम जारी छ । सडक विस्तारको कार्य शीघ्र सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम थालिएको हो । चार लेनमा विस्तार गर्ने उक्त सडकको काम चिनियाँ कम्पनीले गरिरहेको छ । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किलोमिटर क्षेत्र पश्चिम खण्डमा पर्छ । यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किलोमिटर सडक पूर्वी खण्डमा पर्छ । पश्चिम खण्डको निर्माणका लागि रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का सम्झौता भएको हो । पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ हो । सम्झौताअनुसार आयोजनाको काम आगामी भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ पदमुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह पदमुक्त भएका छन् । ४ वर्षे कार्यकाल छँदै सीईओ शाह पदमुक्त भएका हुन् । कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको बैठकले असार १३ गतेदेखि लागु हुने गरी सीईओ शाहलाई पदमुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुब प्रसाद न्यौपानेले बताए । उनका अनुसार संचालक समितिका अध्यक्षको निर्देशन बमोजिम पुल्चोक ललितपुरमा बुधबार साढे ३ बजे बैठक आह्वान गरेको थियो । सोही बैठकले सीईओ शाहलाई पदमा वहाल नरहने गरी निर्णय गरेको उनले बताए । सीईओ शाह वि.सं २०७८ फागुन १ गते कम्पनीको सीईओमा नियुक्त भएका थिए । साथै नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको उनको भनाइ छ ।