विकासन्युज

५ अर्ब डलरको सेयर बेच्दै जेफ बेजोस, धमाधम किन बेच्दैछन् सेयर ?

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको २ करोड ५० लाख कित्ता सेयर बेच्ने योजना बनाएका छन् । साे सेयरको मूल्य करिब ५ अर्ब डलर  छ । अमेजनको सेयर मूल्य बढेपछि उनले सेयर बिक्री गर्ने याेजना बनाएका हुन् । सेयर बिक्रीपछि कम्पनीमा बेजोसको सेयर ९१२ मिलियन वा ८.८ प्रतिशतमा घट्नेछ । अमेरिकी स्टक एक्सचेन्जलाई उनले सेयर बिक्री गर्ने जानकारी गरिसकेका छन् । मंगलबार सेयरमा उछाल विगत केही दिनदेखि अमेजनको सेयर निरन्तर वृद्धि भइरहेको छ । मंगलबार कम्पनीको सेयरले २०० डलर नाघेर २००.४३ डलरको स्तर छोएर नयाँ कीर्तिमान बनाएको हो । यद्यपि, बुधबार १.२१ प्रतिशतले घटेर १९७.५९ डलरमा बन्द भएको थियो । अब जब अमेजनको स्टक २००.४३ को स्तर पार गर्दछ, जेफ बेजोसले थप सेयर बेच्ने योजना बनाउनेछन् । यस वर्ष फेब्रुअरीमा जेफ बेजोसले लगभग ९.५ बिलियन डलरको अमेजन सेयरहरू बेचेका थिए । विश्वको दोस्रो धनी  जेफ बेजोस हाल विश्वका एलोन मस्कपछि दोस्रो धनी व्यक्ति हुन् । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार एलोन मस्क २ सय ५२ अर्ब डलरका कुल सम्पत्तिको साथ विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । योसँगै जेफ बेजोस २ सय १९ अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा छन् । केही समयअघि पहिलो स्थानमा रहेका फ्रान्सका बर्नार्ड अर्नाल्ट अहिले २ सय १ अर्ब डलरको सम्पत्तिसहित तेस्रो धनी व्यक्ति हुन् । जेफ बेजोस अन्तरिक्ष अन्वेषण कम्पनी ब्लू ओरिजिनका संस्थापक पनि हुन् । यसैबीच, अमेजनले ले बुधवार साना र मध्यम आकारका व्यवसायका लागि आफ्नो सुरक्षा रोबोट एस्ट्रो फर बिजनेस बन्द गर्ने बताएको छ । किनकि कम्पनीले आफ्नो ध्यान घरेलु रोबोटमा दिइरहेको छ । रोयटर्सको रिपोर्टअनुसार एस्ट्रो फर बिजनेस रोबोटले सेप्टेम्बर २५ देखि काम नगर्ने भन्दै कम्पनीले ग्राहकहरूलाई इमेल पठाएको छ । ई-कमर्स एमेजनले पहिलो पटक २०२१ मा घरेलु प्रयोगको लागि कुकुर जस्तो रोबोट लन्च गरेको थियो । गत वर्ष नोभेम्बरमा अमेजनले रिटेल, उत्पादन र स्वास्थ्य जस्ता धेरै क्षेत्रहरूमा ग्राहकहरूका लागि व्यवसायका लागि एस्ट्रो सुरु गरेको थियो । एजेन्सी

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा पाइने

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार प्रेस विज्ञप्तिमार्फत नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मीले कोनामा ‘जिरो इमिसन, जिरो इन्टरेस्ट’ योजना ग्राहक माझ सार्वजनिक गरेको बताएको छ । दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता थप मजबूत गर्न यो योजना ल्याएको कम्पनीले जनाएको छ । जसअनुसार ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् । उत्कृष्ट डिजाइन, पर्फमेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीका दाबी छ । हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएलको मूल्य ५९ लाख ९६ हजार र जीएलएसको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिन्छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्छ । नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको हाइ भोल्टेज ब्याट्री चेकअप क्याम्पमा ५०० भन्दा बढी विद्युतीय सवारीसाधनमा परीक्षणको नतिजा अनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९८ प्रतिशत भन्दा बढी पाइएको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४ भन्दा बढी स्थानमा चार्जिङ प्वाइन्ट स्थापना गरी सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

बैंकले कुल कर्जाको ३ प्रतिशत विद्यार्थीलाई ऋण दिनुपर्ने, सरकार जमानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कुल कर्जाको ३ प्रतिशत रकम स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहने युवाहरूलाई शैक्षिक कर्जाका रुपमा प्रदान गर्न छुट्याउने व्यवस्था गर्नु पर्ने राय दिएको छ । विदेशी सम्बन्धनका नेपाली कलेजको अध्ययन गर्न बनेको समितिले सरकारलाई यस्तो राय दिएको हो । इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोशिएसन नेपाल (आईप्यान) ले सो समितिलाई दिएको सुझावलाई प्रतिवेदनमा उल्लेख गर्दै समितिले हाललाई १.५ प्रतिशत रकम बराबरको कर्जा प्रवाहलाई अनिवार्य गर्दै क्रमशः ३ प्रतिशत रकम बराबरको कर्जा प्रवाहलाई अनिवार्य गर्नु पर्ने व्यवस्था गर्न राय दिएको हो । सो प्रतिवेदनमा शैक्षिक कर्जा प्रदान गर्दा शिक्षण शुल्कका साथ-साथै खाना बस्नको लागि लाग्ने अनुमानित रकम समेतलाई पुग्ने गरी शैक्षिक कर्जा प्रदान गर्नुु पर्ने उल्लेख छ । यस्तै, स्वदेशी शिक्षण संस्थामा उच्च शिक्षा हासिल गर्ने युवाहरूलाई बैंक तथा वित्तीय संस्थाहरू मार्फत प्रदान गर्ने शैक्षिक कर्जाको व्याजमा सरकारले ५० प्रतिशत सहुलीयत प्रदान गर्नु पर्ने र अध्ययन अवधिभर कर्जाको ब्याजलाई पूँजीकरण गरी अध्ययन पुरा भईसके पछिको दोस्रो वर्षबाट मात्रै सावाँब्याज भुक्तानीका लागि किस्ता प्रारम्भहुने व्यवस्था गर्नु पर्ने प्रतिवेदनमार्फत् सुझाव दिइएको छ । यस्तै, दलित, अल्पसंख्यक, पिछडिएको क्षेत्र, शहिद परिवार र गरिबीको रेखामुनि रहेका परिवारका सदस्यहरू (विद्यार्थी) लाई प्रदान गरिने शैक्षिक कर्जाको जमानी सरकार बस्नु पर्ने राय पनि प्रतिवेदनमा छ । यस्तै, उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरूको हकमा स्वदेशीमा सञ्चालित शिक्षण संस्थामा उच्च शिक्षा हासिल गर्ने युवाहरूलाई प्रदान गरेको कुल कर्जा रकमको ५० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गर्नु पर्ने राय राखिएको छ । कर्जाको धितो मुल्याङ्कन गरी कर्जा प्रवाह गर्दा एफएमभीको ५० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गर्ने, विदेश अध्ययनका लागि शैक्षिक कर्जा प्रदान गर्दा शिक्षण शुल्कको ५० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गर्ने र आयस्रोत पेश गर्दा कर चुक्ता गरेको प्रमाण–पत्र पेश गर्ने व्यवस्था अनिवार्य गर्नु पर्ने राय प्रतिवेदनमा छ । यस्तै, विदेशी मुद्रा सटही सुविधा दिँदा आयस्रोत खुल्ने कागजात र कर चुक्ता गरेको प्रमाण पत्र पेश गनु पर्ने व्यवस्थालाई अनिवार्य गर्नु पर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।

देशका यी स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ । विभागका अनुसार बिहीबार अपराह्न कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ । भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गर्ने भएको छ । वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए । महासचिव राईले भने, ‘परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ ।’ जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र केयर मेडिकल सेन्टरबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्योरेन्स लिमिटेड र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेटबीच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी शरण रेग्मी र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक राहुल सिंघानियाले हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ । सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले केयर मेडिकल सेन्टर प्राइभेटले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने बताए । साथै, उनले अस्तालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरे ।

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनपनि १६ सयले बढेर प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै, बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

राजीनामा नदिई फर्किए रास्वपाका मन्त्री, विश्वासको मत लिने प्रधानमन्त्रीको वचन

काठमाडौं । राजीनामा दिन पत्र बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि राजीनामा नदिएर फर्किएका हुन् । राजीनामा दिने तयारीका साथ रास्वपाका मन्त्रीहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिएर फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । रास्वपाका मन्त्रीहरूले पनि प्रधानमन्त्री दाहाललाई संसदबाट छिटो विश्वास मत लिन आग्रह गर्दै त्यो बेलासम्म आफूहरूले साथ दिने बताएका छन्। दाहाल नेतृत्वको सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री छन्। यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिइसकेका छन्। अब दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ।  प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।