विकासन्युज

आज पनि थप उद्योगको विद्युत लाइन काट्दै कुलमान, बक्यौता तिराएरै छाड्ने अडान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप उद्योगको बिजुलीको लाइन काट्ने तयारी गरेको छ । बाँकी रहेको बक्यौता तिर्नका लागि बारम्बार ताकेता गर्दा समयावधि दिएको अन्तिम समयसम्म पनि उद्योगहरुले बक्यौता नतिरेपछि प्राधिकरणले आज पनि थप उद्योगको लाइन काट्ने तयारी गरेको हो । मंगलबार साँझ मात्रै प्राधिकरण तीन उद्योगको लाइन काटेको थियो । मंगलबार साँझ प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युतको लाइन काटेको थियो । ती उद्योगले क्रमशः सवा ६० करोड, साढे ४० करोड र पौने ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको २५ प्रतिशत जरिवानासहित बक्यौता १५ दिनभित्र भुक्तानी गर्न उद्योगहरुमा बिल पठाएको थियो । उद्योगीहरु भने प्राधिकरणले बिना प्रमाण बिल पठाएको भन्दै बक्यौता नतिर्ने बताउँदै आएका छन् । मंगलबार मात्रै उद्योगीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै बक्यौता नतिर्ने बताएका थिए । बिना प्रमाण डेडिकेटेड र ट्रंक लाइन बिजुली बक्यौता भुक्तानी गर्न दबाब दिएको आरोप उद्योगीहरुको छ । प्राधिकरणका अनुसार ६१ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ । बक्यौता नतिर्ने उद्योगको आजदेखि निरन्तर लाइन काट्ने तयारी प्राधिकरणको छ ।

नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छ : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपांग संघ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताएका छन् । अस्पतालको निरीक्षणपश्चात नेता डा. कोइरालाले अर्थोपेडिक उपचारसँगै स्नातकोत्तर तहको अध्ययन गर्ने शिक्षण संस्थाका रूपमा यस अस्पतालको विकास गर्दै लैजानुपर्ने बताएका हुन् । अस्पतालको पछिल्लो अवस्था, उपचार पद्दति तथा यसका चुनौतीहरूका बारेमा जानकारी लिँदै नेता डा. कोइरालाले अस्पतालका लागि राज्यका तर्फबाट नियमित बजेटको व्यवस्था र त्यहाँ कार्यरत जनशक्तिका लागि आवश्यक नियमित तालिम र अस्पातलको आधुनिकीकरणका लागि आफूले आफ्ना ठाउँबाट सक्दो पहल गर्ने आश्वासन दिए । त्यस अवसरमा अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले अस्पतालको पछिल्लो अवस्था तथा समस्याका बारेमा जानकारी गराएका थिए । उनले सरकारका तर्फबाट नियमित रूपमा बजेटको व्यवस्थासँगै यस अस्पताललाई प्राथामिकतामा राख्ने कार्यमा सहयोग गर्न नेता डा. कोइरालालाई आग्रह गरेका थिए । अनाथ, असहाय, निम्न वर्गीय तथा अपांगता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।

ऋणपत्र निष्कासन गर्न आईसीएफसी फाइनान्सले दियो धितोपत्र बोर्डमा निवेदन

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका असार १८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

मेटलाइफ इन्स्योरेन्सले सिंगापुरमा पायो २ वटा अवार्ड

सिंगापुर । वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डबाट सम्मानित भएको छन् । वान बाइ मेटलाइफ एपले मंगलबार सिंगापुरमा आयोजित नवौं इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुई प्रतिष्ठित अवार्ड जितेको हो । यस एपलाई दुई उच्च प्रतिस्पर्धात्मक विधाः डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर–नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर–नेपालमा सम्मानित गरिएको थियो । कार्यक्रममा अवार्ड ग्रहण गर्न, मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारी र मेटलाइफको क्षेत्रीय टोलीका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । इन्स्योरेन्स एसिया अवार्डले नवीन उत्पादन, सेवा र समाधानहरू मार्फत आफ्ना ग्राहकहरूमा महत्त्वपूर्ण प्रभाव पार्ने बीमा कम्पनीहरूलाई सम्मान गर्दै आएको छ । यस वर्षको जूरी सदस्यहरूको प्यानलमा एसिया प्यासिफिक क्षेत्रका विभिन्न कम्पनीहरूका उद्योग विशेषज्ञहरू समावेश थिए । मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मलकाजी श्रेष्ठले भने, ‘वान बाइ मेटलाइफले प्रयोगकर्ताहरूलाई स्वस्थ जीवनयापन गर्न मद्दत गरेर, र उनीहरूलाई आवश्यक परेको बेला स्वास्थ्य सेवा र स्रोतहरूमा पहुँच प्रदान गरेर विश्वास र संलग्नता जितेको छ । एपले प्रयोगकर्ताहरूलाई आफ्नो बीमा कभरेज अनलाइन व्यवस्थापन गर्न सजिलो र सुविधाजनक बनाउँछ । यस सम्मानले हाम्रा ग्राहकहरूको भविष्य सुरक्षित गर्नका लागि राम्रो समाधानहरू प्रदान गर्ने हाम्रो अभियानलाई अझ उत्प्रेरित गरेको छ ।’    

 नेक्सजेन म्यानेजमेन्ट र अर्कबो टेकबीच व्यापारिक साझेदारी 

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स र अर्कबो टेक (आइटी कम्पनी) बीच व्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ । नेक्सजेन म्यानेजमेन्टको मैतिदेविस्थित कर्पोरेट कार्यालयमा सोमबार सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र अर्कबो टेकको तर्फबाट संस्थापक र सञ्चालक भुषण गिरीले हस्ताक्षर गरे । सम्झौता पश्चात अर्कबो टेकको व्यापारिक साझेदारको रूपमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले काम गर्नेछ । यस सम्झौताले नेपाली बजारमा नवीन प्रविधिहरू र उच्चस्तरीय सेवाहरूको पहुँचलाई अझ फराकिलो बनाउने विश्वास गरिएको छ । अर्कबो टेकले आवश्यक सफ्टवेयर विकसित गर्ने र नेक्सजेन म्यानेजमेन्टले त्यसको बजारीकरण गर्ने गरी दुबै कम्पनी बीच साझेदारी भएको अर्कबो टेकका सञ्चालक भुषण गिरीले बताए । सम्झौता अनुसार, नेक्सजेन म्यानेजमेन्टले अब नेपालभर अर्कबो टेक्नोलोजीको सुचना प्रविधि सम्बन्धी प्रोडक्टहरूको पहुँच र प्रयोगलाई व्यापकता दिन रणनितिक साझेदारी र सहयोग गर्नेछ । ‘पूर्व बैंकरहरू समेतको लगानीमा सञ्चालित नेक्सजेन म्यानेजमेन्टले सञ्चालनको छोटो अवधिमा लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ । नेपालभित्र पनि विभिन्न कम्पनिहरूसँग सम्झौता गरि नयाँ कम्पनि स्थापना, सञ्चालित कम्पनिलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उद्योग र बैंकरबीचमा समन्वय गर्न तथा कम्पनीहरूको योजनाअनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको अवगत गराउन चाहन्छौं’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग

काठमाडौं । नबिल बैंकले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रममका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । साँचो हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको प्रतिक्रिया दिए । उनले यस्तो संस्थालाई नबिल बैंकले सघाउन पाउँदा खुसी लागेको बताए । अध्यक्ष पौड्यालले राज्यसँगै नागरिक र संस्थाहरूको पनि उत्तिकै उत्तरदायित्व रहेको बताए । त्यस्तै, सीईओ ढुंगानाले नबिल बैंक सधैँ मानव सेवाका कार्यहरूमा तयार रहेको बताए । उनले मानव सेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व भएको र भविष्यमा पनि यस्ता कार्यहरूमा साझेदारी गर्न बैंक इच्छुक रहेको बताए । साथै, नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मानव सेवा आश्रमले बेसहारा बनेका मानिसहरूलाई खाना, सुरक्षा, र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए । मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाए । बैंकबाट प्राप्त गाडीहरूले सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने बताए । ‘सडक आश्रित व्यक्तिहरूको उद्धार तथा उपचारका लागि ट्याक्सी लगायतका सवारी साधनले आनाकानी गर्दा समस्या भइरहेको थियो। अब यी गाडी प्राप्त भएपछि सेवा सहज र शीघ्र बनाउन सकिने विश्वास छ,’ उनले भने, ‘यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौ ।’

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम बोनसदर ७० रुपैयाँसम्म निर्धारण

काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को  नयाँ बोनसदर सार्वजनिक गरेकाे छ । कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन तथा बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले गत असार २३ गते स्वीकृत गरेको थियो । कम्पनीले २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरूमा आव २०७९/८० का लागि नयाँ बोनसदर कायम गरेको हो । कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने निर्णय गरेको छ । सावधिक तथा आजीवन जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । त्यसैगरी कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा बीमितलाई बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमा (समुन्नति योजना) मा कम्पनीले बीमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम २४ रुपैयाँसम्म बोनस दिने कम्पनीले जनाएको छ ।