सरकारको सफलता नै सरकार ढाल्ने आधार बन्यो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूले भ्रष्टाचार गर्नेहरुसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गरे । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भूटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरु डराएको बताए । यस्तै, उनले बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बलिएको बताए । सोही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गरे । जनताले आफ्नो शक्ति नदेखाए पुनः सरकार माफियाहरुको हातमा जाने जिकिर गरे । ‘सरकार परिवर्तनमा संलग्न पात्रहरूलाई हेर्नोस्, परिवर्तनको कारण त्यसै थाहा हुन्छ । सरकारको सुशासन अभियानले हिजोसम्म कानूूनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो, जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पुरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ’, उनले भने । प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफूले पूर्ण निष्पक्ष ढंगले गरेको बताए ।
देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसक्यो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम नरहने जिकिर गरे । सरकारको नेतृत्व लिने बेला देशको अर्थतन्त्रको अवस्था र अहिले धेरै फरक भइसकेको बताए । उनले अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकोले समष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएको बताए । गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यस वर्ष करिव दोब्बर ३.८७ प्रतिशत हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य रहेको बताए । ब्याजदर पनि क्रमशः कम हुँदै गएको र वित्तीय पहुँचमा वृद्धि भएको जानकारी दिए । ‘तथ्यांक नै हेर्दा गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यो वर्ष करिब दोब्बर ३.८७ प्रतिशत हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य छ’, उनले भने, ‘यो लक्ष्य केवल प्रचार र ढाडसको होइन, अन्तर्राष्ट्रिय निकाय तथा नेपालकै विज्ञ एवं अर्थशास्त्रीहरूकले पनि वास्तविक मानेको प्रक्षेपण हो, ६ अर्ब लगानीको प्रतिवद्धतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ ।’ प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।
काँग्रेस र एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् । प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको जिकिर गरे । आफूले विधिको शासन शुरु गरेको जिकिर गरे । काँग्रेस—एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाए । उनले भने, ‘काँग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौं । त्यो सत्य होइन । तपाईहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । सिधै काँग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ ।’ उनले अपमान र प्रतिशोध नभइ सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी गरे ।
काँग्रेस र एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नजोडेको जिकिर गरे । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने जानकारी दिए । उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको बताए । नयत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा नचाहिने जानकारी दिए । ‘जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन्, उनले भने । उनले झुट र कुतर्कको सहारा र मध्यरात किन चाहियो भन्दै प्रश्न गरे ।
संविधानमा माओवादीको सबैभन्दा धेरै ठूलो लगानी छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन् । आफूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए । अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताए । संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका हुन् । त्यस्तै, उनले एक महिना विश्वासको मत लिन पाउने संवैधानिक अधिकारको प्रयोग गरेको बताए । नैतिक आधारमा अल्पमतमा परिसकेपछि आफूलाई लामो समय विश्वासको मत नलिइ बस्न रुची नरहेको भएकाले नै १० दिनभित्रै विश्वासको मत लिएको जिकिर गरे । ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो, ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ’, उनले भने । प्रधानमन्त्री दाहालले पश्चगामी सोच लिएर काँग्रेस र एमाले मिलेको दाबी गरे ।
रात्रि बस सञ्चालनमा रोक लगाउने सरकारको तयारी
काठमाडौं । सरकारले रात्रि बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो । शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसेको थियो । त्यसपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो । बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।
सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लु क्रस डेन्टल क्लिनिकबीच समझदारी भएको छ । बैंक र ग्वार्को, काठमाडौंस्थित ब्लु क्रस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ब्लु क्रस डेन्टल क्लिनिकमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री दाहालले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेश गर्नुहुने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए । पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको पनि बताए । उनले भने, ‘आज सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेश गर्नुहुँदैछ । हामीले आज विश्वासको मत प्रश्ताव हुँदैछ, त्यसमा सम्माननीय प्रधानमन्त्रीज्युको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ र ह्वीप पनि जारी गरेका छौँ ।’ बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले आफ्नो कार्य प्रगतिबारे जानकारी गराएको र सो विषयमा पनि छलफल भएको बताए ।