विकासन्युज

दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

उदयपुर । जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् । ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन् । त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता खड्काले दुई हप्ताभित्र तरकारी र फलफूलको मूल्य तेब्बरले वृद्धि भएको बताए । ‘असारको दोस्रो सातासम्म गोलभेँडाको प्रतिकिलो ५० रुपैयाँ पर्नेमा अहिले एक सय पचास रुपैयाँ पर्छ’, उनले भने । स्थानीय राजु धमलाले दुई साताभित्रै तेब्बरले मूल्य वृद्धि गरेर व्यापारीले वर्षा र सडकलाई माध्यम बनाएर उपभोक्ता ठगी गरिरहेका बताए । ‘सरोकार भएका निकायको उचित ध्यान जान नसक्दा उपभोक्ता मारमा पर्नुका साथै व्यापारीको कालाबजारी बढ्यो’, उनले भने । असारको १५ गतेसम्म बोडी प्रतिकेजी ६० रुपैयाँ देखि सत्तरी रहेकामा अहिले एक सय ८० देखि दुई सय रुपैयाँ पर्ने गरेको छ । ‘दैनिक तीन सयदेखि चार सयको हाजिरीमा काम गरेर जीविकोपार्जन गर्ने मजस्ता श्रमिकले कसरी यती महँगो तरकारी किनेर खानु’, त्रियुगा–१२ पुरानो गाईघाटका श्रमिक देवेन्द्र चौधरीले प्रश्न गरे । फलफूल तथा तरकारी व्यापारीका अनुसार जिल्लाभित्र उत्पादनमा कमी आउँदा बाहिरबाट ढुवानी गरेर आपूर्ति गर्ने गरिएकाले वर्षासँगै मूल्य वृद्धि भएर आएको बताउँछन् । कृष्णप्रसद खनालले भने, ‘बजार क्षेत्रमा खेतीयोग्य जमिनमा सडक विस्तार, घर निर्माण हुँदा अधिकांशले खेती गर्दैनन् । यहाँ उत्पादन नभएपछि व्यापारीले जति मूल्य भने पनि किनेर खानुपर्ने बाध्यता छ ।’ यहाँ व्यापारीले सिरहाको लाहानबाट सस्तोमा सामग्री खरिद गरेर उपभोक्तालाई महँगोमा बेचिरहेका उनले बताए । यस विषयमा सरोकारा भएका निकायले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले कालोबजारी गरिरहेका यहाँका उपभोक्ता बताउँछन् । रासस

अब हुनेछ अर्थमा विष्णुको विवेकको परीक्षण

काठमाडौं । सात पटक अर्थमन्त्री बनिसकेका काँग्रेस नेता डा. रामशरण महतको रेकर्ड तोड्न संघर्ष गरिरहेका विष्णु पौडेल चौथो पटक अर्थमन्त्री बनेका छन् । आज उनले अर्थमन्त्रीका रुपमा पद तथा गोपनियताको शपथ लिएसँगै अर्थमन्त्रालयमा अर्थमन्त्रीको रुपमा उनको यो प्रवेश चौथो पटक हो । सम्भवतः एमालेबाट चार पटक अर्थमन्त्री बन्ने पहिलो नेता उनै पौडेल बनेका छन् । नेपाली काँग्रेस र नकेपा एमाले लगायत केही साना दलहरूबीच सत्ता साझेदारी गर्ने सहमति भएसँगै मन्त्रीहरुले शपथ लिएर कार्यभार पनि सम्हालिसकेका छन् । अर्थमन्त्री पौडेल पनि राष्ट्रपति भवन शितल निवासबाट सिधैं हुइँकिएर सिंहदरबारभित्र रहेको अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका छन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताए । पौडेलले सोमबार कार्यभार सम्हाल्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसमा सहज नीतिगत व्यवस्था गर्न आवश्यक भएको बताएका हुन् । उनले सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने पनि बताएका छन्। लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनकाे प्रतिबद्दता छ । विष्णुलाई उद्योगी व्यवसायी अर्थात् निजी क्षेत्रले केही मिजासिलो पात्रको रुपमा चिन्छ । शालिन रूपमा रणनीतिक ढंगबाट नीतिगत व्यवस्था गरेर सबैलाई रिझाउन खप्पिस विष्णु पौडेलसँग सेयर लगानीकर्ता पनि सकारात्मक नै देखिन्छन् । त्यो पुष्टि उनी अर्थमन्त्री हुने खबरपछि बढेको सेयर बजारले पनि गरिसकेको छ । पौडेल अर्थमन्त्री हुने खबरपछि हरेक पटक सेयर बजार बढ्ने गरेकाे छ। यो संयोग हो वा उनीप्रति लगानीकर्ताको विश्वास । यो विषय कि त उनै पौडेललाई थाहा छ कि लगानीकर्तालाई नै । सेयर बजारका लागि कुनै सकारात्मक नीतिगत व्यवस्था नगरेर पनि उनको नाम सुन्ने वित्तिकै बजारले उकालोको यात्रा तय गर्छ । उद्योगी व्यवसायी पनि उत्साहित नै हुन्छन् । तर, यस पटक भने अर्थमन्त्री पौडेललाई सहज छैन । देशको अर्थतन्त्र एउटा दुष्चक्रमा फसेको छ । अर्थतन्त्रका सूचकहरू सकारात्मक नै देखिए पनि रियालिटीमा अर्थतन्त्र सही ट्र्याकमा छैन । महँगी बढेको बढ्यै छ । उद्योगी व्यवसायीको मनोबल कमजोर छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी हुन नसक्दा ७ सय अर्ब लगानीयोग्य रकम बैंकमा थुप्रिएको छ । घरजग्गा क्षेत्रमा मन्दी छ । निर्माण क्षेत्र सुस्ताएको छ । युवा जनशक्ति धमाधम विदेश पलायन भइरहेको छ । यो बिग्रदो वातावरणका बीच अर्थमन्त्री पौडेललाई काम गर्न त्यति सहज छैन । तात्कालिक निर्णय र कार्यक्रममा रमाउने बानी परेका पौडेलले दीर्घकालीन नीतिगत व्यवस्था र वर्तमान सकस सहज हुने कार्यक्रम नल्याउँदासम्म वर्तमान बिग्रदो वातावरण सुधार हुन्छ भन्नु दिवास्पन हुन्छ । यसअघिको कमजोर गठबन्धनको सरकारको कारण मनोबल कमजाेर बनाएका उद्योगी व्यवसायीहरू दुई ठूला दल मिलेकाे खबरले पक्कै पनि उत्साहित छन् । तर, त्यो उत्साहले सार्थकता पाउन त्यति सहज छैन । उसो त प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वाससिला पात्र भएकाले पनि पौडेलले ओलीबाट जुनसुकै निर्णय गराउन पनि पछि पर्दैनन् । तर, त्यो आँट अर्थमन्त्री पौडेलले गर्नु पर्नेछ । विगतमा कुनै प्रभावकारी काम तथा नीतिगत व्यवस्था नगरेरै भएपनि एक किसिमको सन्तुलित अर्थमन्त्रीको छवि बनाएका विष्णुको विवेकको परीक्षण भने यस पटकको कार्यकालमा हुनेछ । पौडेल यसअघि २०७२ साल असोजमा ओली नेतृत्वको सरकारमा पहिलो पटक अर्थमन्त्री बनेका थिए । यस्तै २०७७ मा डा. युवराज खतिवडाको अर्थमन्त्रीको रुपमा दुई वर्षको कार्यकाल सकिएपछि २०७७ असोजमा पौडेल दोस्रो पटक अर्थमन्त्री बनेका थिए । त्यस्तै, २०७९ पुसमा प्रचण्ड नेतृत्व सरकारको अर्थमन्त्री बनेका थिए । प्रचण्डसँग उनको त्यो दोस्रो सहयात्रा थियो । त्यसअघि २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा पौडेल ऊर्जामन्त्री बनेका थिए । पौडेल २०५३ मै पहिलो पटक मन्त्री भएका थिए । लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनी युवा, खेलकुद तथा संस्कृति मन्त्री भएका थिए । त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए । हाल पौडेल नेकपा एमालेका उपाध्यक्षको जिम्मेवारीमा छन् । बाटो बिराएको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनु पर्ने चुनौती अहिले उनीसामू छ । लघुवित्त र सहकारीको समस्या त्यस्तै छ । यी विभिन्न समस्याको समाधान गर्दै अगाडि बढ्नु पर्ने दबाब र चुनौती उनीमाथि छ । अर्को महत्वपूर्ण विषय भनेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र पौडेलको ट्युनिङ मिल्ने जानकारहरु बताउँछन् । त्यसले पनि अर्थतन्त्रमा एक किसिमको टेवा पुग्नेछ । धेरैले अर्थमन्त्रालय नेतृत्व र गभर्नर अधिकारीको ट्युनिङ नमिल्दा पनि अर्थतन्त्रमा समस्या सिर्जना हुने गरेको टिप्पणी गर्ने गरेका छन् । त्यो समस्याको समाधान पौडेल आएपछि हुने देखिन्छ । गभर्नर अधिकारीको पनि अब कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा उनी पनि केही खुकुलो नीति बनाएर बाहिरिने मुडमा देखिन्छन् । उनको त्यो मुडले पौडेललाई थोरै भएपनि सहज हुनेछ । पौडेलको त्यो दुई महिना पौडेल यसअघि दुई महिना मात्रै अर्थमन्त्री बनेका थिए । २०७९ पुस ११ गते अर्थमन्त्रीका रुपमा जिम्मेवारी पाएका उनले त्यसको दुई महिनापछि अर्थात् फागुन १५ गते पदबाट राजीनामा दिएका थिए । त्यतिबेला पनि देशको अर्थतन्त्र सही दिशामा थिएन । यसअघि अर्थमन्त्रीका रुपमा नियुक्त हुँदा पनि सुरुमा सेयर बजार बढेको थियो । तर, त्यसले निरन्तरता पाउन सकेन । त्यतिबेला पनि अर्थमन्त्रालयमा उनको आगमनले अर्थतन्त्र सुधार हुने अपेक्षा थियो । तर, त्यो अपेक्षाले सार्थकता पाएन । दुई महिनाको अवधिमा उनले उद्योगी व्यवसायीका सुझाव तथा राय लिने र औपचारिक कार्यक्रममा उपस्थित हुने बाहेकको काम गर्न सकेनन् । उनी दुई महिनाको कार्यकाल सकेर बाहिरिँदा अर्थतन्त्र सुधार भएको दाबी गरेर बाहिरिएका थिए । आफू अर्थमन्त्री बनेपछि राजस्व वृद्धिमा विशेष पहल भएको, सेयर बजारमा सकारात्मक प्रभाव देखिएको, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय भएको, पूँजीगत खर्चमा वृद्धिका लागि विशेष पहल, वैदेशिक सहयोगका लागि थप पहल र वैदेशिक मुद्रा सञ्चितीमा विशेष ध्यान दिएको बताएका थिए । उनले आफ्नो कार्यकालमा राष्ट्र बैंक नेतृत्वसँग भने समधुर सम्बन्ध नै राखे । त्यसअघिका अर्थमन्त्री जनार्दन शर्माले बिगारेको माहोल उनको आगमनले सुधार हुन पुगेको थियो । यस्तै, अधिकांश व्यवसायीहरुले पौडेलले अर्थमन्त्रालय सम्हालेपछि अर्थतन्त्र सुधारको दिशामा गएको र आफुहरुको मनोबल बढेको धारणा विभिन्न सार्वजनिक कार्यक्रममा राख्दै आएका थिए । उनले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुलाई मन्त्रालयमै बोलाएर नआत्तिन सुझाव दिइरहेका थिए । त्यसले एक किसिमको सकारात्मक सन्देश उद्योगी व्यवसायीमा प्रवाह भएको थियो । उनी अर्थमन्त्रीमा नियुक्त हुँदै गर्दा उद्योगी उद्योगी व्यवसायी ब्याजदर वृद्धिको विरुद्दमा आन्दोलनमा थिए । उनैको नेतृत्वमा त्यो आन्दोलन रोकियो । उनले दुई महिनाको अवधिमा खर्च कटौतीको निर्णय पनि गरे । उनले अर्थमन्त्रालयको बागडोर सम्हालेपछि गरेको महत्वपूर्ण निर्णय नै चाल खर्च कटौती गर्ने थियो । उनले चालु खर्च घटाउनेसम्बन्धी मापदण्ड–२०७९ जारी गर्दै १५ प्रतिशतले खर्च घटाउने निर्णय गरेका थिए । उनले बोतलको पानी प्रयोग नगर्ने, अतिरिक्त भत्ता नदिने, सरकारी खर्चमा हुने वैदेशिक भ्रमण कटौती गर्ने लगायतको प्रयास पनि गरेका थिए ।

रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८१’ छात्रवृत्ति वितरण

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रालाई ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८१’ छात्रवृत्ति प्रदान गरेको छ । विशेष कार्यक्रम आयोजना गरी मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए ल्याएकी रितिका छत्कुलीलाई सम्मान स्वरूप नगद १० हजार १ रुपैयाँ प्रदान गरिएको हो। यस छात्रवृत्ति कार्यक्रममा १ सय ४५ विद्यार्थीहरु सहभागी थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना पनि गरिएको थियो । यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार रुपैयाँ, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा १ हजार ५ सय एक वर्षसम्म उपलब्ध गराइने छ । साथै मकवानपुर जिल्लाबाट एसईईमा उत्कृष्ट अंक ल्याउन सफल विद्यालय बाल जागृति इंग्लिस बोर्डिङ स्कुलका प्रधान अध्यापक, सुरक्षा प्रदान गरिदिने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञ तथा जिल्ला शिक्षा इकाइ समिति, हेटौंडा उपमहानगरपालिका ५ तथा सम्पूर्ण संस्थाहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सहज र सरल रुपमा पाउने गरी काम गर्ने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले राष्ट्रिय क्यान्सर रणनीति २०२४/२०३० स्वीकृत गर्ने पहिलो निर्णय समेत गरेका छन् । काठमाडौं क्षेत्रनम्बर ५ बाट निर्वाचित उनले पहिलो पटक मन्त्री हुँदै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका हुन् ।

खानेपानीमन्त्री प्रदीप यादवले गरे पदभार ग्रहण

 काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री यादवलाई कर्मचारीहरूले स्वागत गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका यादव प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्या मन्त्री थिए ।

यस्तो बन्यो ओली नेतृत्वको मन्त्रिमण्डल

काठमाडाैं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनको नेतृत्वको मन्त्रिमण्डलले पद तथा गोपनीयताको शपथ लिएको छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् । यी हुन् नयाँ मन्त्रीहरु प्रकाशमान सिंह – उपप्रधान एवम् सहरी विकास मन्त्रालय विष्णु पौडेल –उपप्रधान एवम् अर्थ मन्त्रालय पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रमेश लेखक – गृह मन्त्रालय शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आरजु राणा – परराष्ट्र मन्त्रालय प्रदीप पौडेल – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रामनाथ अधिकारी – कृषि तथा पशुपक्षी मन्त्रालय प्रदीप यादव – खानेपानी मन्त्रालय बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तेजुलाल चौधरी – युवा तथा खेलकुद मन्त्रालय अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मानवीर राई – रक्षा मन्त्रालय दीपक खड्का – ऊर्जा, सिचाइँ तथा जलस्रोत मन्त्रालय राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ऐनबहादुर शाही – वन तथा वातावरण मन्त्रालय

आक्रमणमा मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियो : अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने सम्भावना’ बाट उम्केको बताएका छन् । रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भने, ‘सायद, म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।’ उनले आफ्नो दाहिने कानमा सेतो पट्टी बाँधेर सुनाएको यो ‘अति वास्तविक अनुभव’ भएको पत्रिकाले उल्लेख गरेको छ । शनिबार एक चुनावी र्‍यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानमा लछार्दै गएको थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको, एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए । ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए । उनले भने, ‘घटनापछि धेरैले भनिरहेका छन् कि “भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।’ गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उनले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे । उनले भने, ‘उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको मलाई बताइएको छ ।’ ‘उनीहरूले उत्कृष्ट काम गरे,’ उनले भने, ‘यो हामी सबैका लागि अवास्तविक छ ।’ सिक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई घेरा हालेर भीडबाट निकाल्दै गर्दा मुठ्ठी उठाएको तस्बिर संसारभरका पत्रिकाको फ्रन्ट पेजमा छापिएको थियो । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । ‘धेरै मानिसहरूले यो आफूले देखेको सबैभन्दा प्रतिष्ठित तस्वीर भएको बताउँछन्,’ पूर्व राष्ट्रपतिले न्यूयोर्क पोस्टसँग भने ‘उनीहरूले सही भनेका हुन् । आक्रमणबाट म बाँच्न सफल भएको छु । सामान्यतया पत्रपत्रिकामा यस्तो चर्चा एक जीवित व्यक्तिका लागि विरलै हुने गर्छ ।’ रासस

हुन्डाइ फेस्टिभल डिलाइट २०८० को विजेता घोषित

काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ । ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफर अनुरुप अलायन्स मोटर्स प्रालि, हुन्डाइ बिर्तामोडका ग्राहक सुनसरीका ईन्द्र प्रसाद गुरागाइँले हुन्डाइ एक्स्टर बम्पर लक्की ड्र जितेका छन् । उनको कुपन नम्बर ५३ थियो । यस अफर अनुरुप हरेक नयाँ हुन्डाइ गाडीको खरिदमा ग्राहकहरुले ६ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्र्याच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत १ जना विजेतालाई हुन्डाइ एक्स्ट्रा जित्ने मौका हुन्छ। ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफरको विजेताको घोषणा हुन्डाइ नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते ११ बजे गरिएको थियो । कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल कार्यक्रमको मुख्य अतिथिको रुपमा थिइन् ।